नासिदैछ गोरखा इतिहास !
हङकङमा बेलायतकालीन ऐतिहासिक स्मारकहरू बग्रेल्ती भए पनि त्यो कालको अभिन्न अंगको रूपमा रहेको बेलायती गोरखा इतिहास झल्कने स्मारकको अभाव छ । करिब ३० हजारको संख्यामा रहेका तिनका सन्तति जातीय अल्पसंख्यक नेपालीले भौतिक रूपमा अनुभूत गर्नसक्ने एक मात्र स्मारक सान्तिन (क्यासिनो लाइन)स्थित गोरखा समाधिस्थल रहेको छ ।
हङकङ मूलभूमि चीनमा पुनःएकीकरण भएसँगै हजारौं गोरखा सैनिक रहने दर्जनको हाराहारीका ब्यारेक जनमुक्ति सेनाको अधीनमा छन् । तीमध्ये त्युनमुनस्थित पेरोन ब्यारेक र फान्लिङस्थित क्वीन्स हिल (बर्मा लाइन) ब्यारेक जनमुक्ति सेनाले प्रयोग गरेको छैन । क्वीन्स हिल ब्यारेक हाउजिङ अथोरिटीले लिएपछि त्यहाँ आवासीय भवनहरू निर्माण भइरहेका छन् ।
क्वीन्स हिल ब्यारेकको समथर भूभागमा रहेका बेलायतकालीन संरचना मासेर गगनचुम्बी भवन ठड्याइएका छन् । भिरालो र डाँडामाथि जंगलमा गोरखा सैनिक इतिहास बोकेका संरचनाहरू भने जीर्ण अवस्थामा छन् । त्यसमध्येको हिन्दू मन्दिरलाई हङकङ एन्टिक्युटिज एण्ड मनुमेन्ट (पुरातत्व तथा स्मारक) अफिसले तेस्रो दर्जाको पुरातात्त्विक स्मारकको रूपमा वर्गीकरण गरेको भए पनि संरक्षणको अभावमा नासिने अवस्थामा रहेको छ ।
फान्लिङस्थित क्वीन्स हिल (बर्मा लाइन) ब्यारेकको ‘हिन्दू टेम्पल’ परिसरमा ब्रिटिस गोरखा भूतपूर्व सैनिकद्वय क्या. नामसिंह थापा मगर (बायाँ) र त्रिलोक गुरुङ । गुरूङले बर्मा लाइन ब्यारेकमा केही समय बिताएका थिए । तस्वीरः विक्रम गुरुङ
ब्यारेकमा गैर–सैनिकको प्रवेश सहज नहुने भएकोले त्यहाँभित्रका संरचनाको विषयमा जानकारी हुने वातावरण थिएन । जब क्वीन्स हिल ब्यारेक हाउजिङ अथोरिटी अन्तर्गत आयो र भवनहरू निर्माण हुन थाले अनि त्यसभित्रका संरचनामा सर्वसाधरणको नजर पर्न थाल्यो । त्यसै क्रममा त्यहाँ पुग्ने नेपालीलगायतले त्यहाँस्थित मन्दिरको भिडियो खिचे र सामाजिक सञ्जालमा पोस्ट गरे ।
सामाजिक सञ्जालमार्फत उक्त विषय सार्वजनिक भएपछि त्यहाँ जाने र चासो राख्ने नेपालीलगायतकको संख्यामा बढोत्तरी आउन थाल्यो । त्यही क्रममा गैर–आवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङ र महासचिव गोकर्णप्रसाद ढकालले भर्खरै कार्यभार सम्हालेका नेपाली महावाणिज्यदूत उदयबहादुर रानामगरलाई अवलोकन गर्न त्यहाँ पुर्याए ।
गोरखा इतिहाससँग जोडिएको मन्दिर बेवारिसे अवस्थामा रहेको देखिएपछि त्यसको संरक्षण र सम्बर्द्धन सम्बन्धमा बुझ्ने क्रममा जब नर्थ जिल्ला परिषद् सभापति जास्पर लाउ तिङ–ताकसँग सम्पर्क भयो, तब नेपाली समुदायलाई नै झट्का लाग्ने स्थिति उजागर भयो । उक्त मन्दिर भारतीय समुदायको ‘द हिन्दू एसोसिएसन’, ह्यापी भ्यालीस्थित हिन्दू मन्दिर सञ्चालकले मर्मत, पुनर्निर्माण र सञ्चालनका लागि योजनाको खाकासहित लिजको लागि निवेदन गरेको छ ।
द हिन्दू एसोसिएसनलाई ल्याण्ड डिपार्टमेन्ट नर्थ डिस्ट्रिकले निवेदन प्राप्त भएको र सम्बन्धित निकायबाट योजनालाई समर्थन प्राप्त भएमा आवश्यकीय प्रक्रियाका लागि अगाडि बढाइने जवाफ दिएको छ । (हेर्नुस् पत्र)
बेलायतकालीन हिन्दू मन्दिर
हेरिटेज आर्किटेक्चर कर्रि चेका अनुसार बेलायतकालीन ७ वटा गोरखा ब्यारेकमा मन्दिर रहेका थिए । तीमध्ये पाँचवटा ब्यारेकमा हाल जनमुक्ति सेना रहेका छन् र त्यहाँका मन्दिरहरू भत्काइसकिएका छन् । प्यारोन ब्यारेक र क्वीन्स हिल ब्यारेकमा रहेका मन्दिर बाँकी छन् ।
बेलायतकालीन गोरखा ब्यारेकका दुईमध्ये क्वीन्स हिलको मन्दिर अहिले चर्चामा छ । चर्चा हुनुको कारण हो– तेस्रो दर्जाको पुरातात्त्विक स्मारक रहेको मन्दिर संरक्षण र सम्बद्र्धनको अभावमा मासिने क्रममा रहनु । उक्त मन्दिर कहिले र कसले बनायो भन्ने आधिकारिक कुनै रेकर्ड छैन । मन्दिर बाहिरको भित्तामा रहेको स्टिल प्लेटमा लेखिएको विवरणले पनि त्यही झल्काउँछ । त्यहाँको विवरणमा सन् १९६० सालतिर उक्त क्याम्पमा तैनाथ गोर्खाजका लागि बनाइएको भन्ने उल्लेख गरिएको छ ।
विवरणमा मन्दिर हिन्दू धर्मअनुसार सुन्दरता र पवित्रताको प्रतीक कमलको फूल आकारमा बनेको र शिव भगवानप्रति समर्पित भनिएको छ । सन् १९९६ सालदेखि खाली रहेको मन्दिरमा हिन्दू चाडपर्व मनाइन्थ्यो । छकुने मन्दिर हङकङमा दुर्लभ र अद्वितीय संरचना रहेको उल्लेख गरिएको छ ।
उक्त विवरणसँग गोरखा भूतपूर्व सैनिक संघका उपाध्यक्ष ईश्वर गुरुङ असहमति व्यक्त गर्छन् । उनको दावीअनुसार मन्दिर भनिएको भवन गोर्खाजका लागि बनाइएकै होइन । गोरखा पल्टन बस्नुअघि त्यहाँ गोरा पल्टन रहेको थियो र त्यो भवन उनीहरूको चर्च हो । त्यो वेला गोर्खाजका लागि मन्दिर बनाएको भए कि पशुपतिनाथ, कि पाटनको कृष्ण मन्दिरजस्तो बनाइन्थ्यो ।
अहिले पनि अधिकांश हिन्दू मन्दिर प्यागोडा र गुम्बज शैलीमा निर्माण गरिने भएकोले ७० वर्षअघि ती दुई भन्दा फरक शैली कसैले परिकल्पना गर्ने सम्भावना कम देखिन्छ । क्वीन्स हिलको मन्दिरका झ्याल र ढोका पनि अन्य मन्दिरका भन्दा पृथक छन् ।
ईश्वर गुरुङको दाबीलाई काठमाडौंमा रहेका क्या. भरतसिंह क्षेत्री फोन सम्पर्कमा पुष्टि गर्दै भन्छन्, “सबैभन्दा पहिला त्यो ब्यारेकमा बस्ने गोरखा पल्टन २/२ जीआर हो । भर्ती भएर म सन् १९६३ मा त्यहाँ पुग्दा त्यो चर्चजस्तो बिल्डिङमा मन्दिर थियो । वालको माथितिर राखिएको सिसा हेर्नुस् न, मन्दिरमा त्यस्तो कहाँ हुन्छ !”
सन् १९६१ जनवरीमा कर्नल इन चिफ भिस्काउण्ट मोन्टगोमरीले क्वीन्स हिल ब्यारेक भ्रमण गर्दा त्यहाँ गोरा सैनिक नै रहेका थिए । हङकङको इतिहाससम्बन्धी अनलाइन ‘गुलो’ (प्राचीन)मा रहेको एक तस्वीरमा कर्नल इन चिफलाई गोरा सैनिकले स्वागत गरिरहेका छन् ।
कर्नल इन चिफ भिस्काउण्ट मोन्टगोमरीलाई स्वागत गर्दै गोरा सैनिकहरू । तस्वीर सौजन्यः गुलोडटकम
पुरातात्त्विक स्मारकको रूपमा रहेको भवनको अगाडि काठ र टिनले बनाइएको प्यागोडा शैलीको सानो मन्दिर रहेको छ । सोही क्याम्पमा सन् १९८१ मा बसेका उदिम सुनारका अनुसार उक्त मन्दिर भने गोर्खाज कार्पेन्टरहरूले बनाएका हुन् । पशुपतिनाथ मन्दिरको प्रतिमूर्ति बनाउन पुजारीले कार्पेन्टरहरूलाई अनुरोध गरेपछि त्यसको निर्माण गरिएको हो ।
स्मारक संरक्षणमा आ–आफ्नै चासो
पुरातात्त्विक स्मारकको रूपमा रहेको क्वीन्स हिल ब्यारेकस्थित हिन्दू मन्दिर संरक्षणीय छ, सरोकारवालाहरू पनि त्यसका लागि आवाज उठाइरहेका छन् र पहलकदमीमा लागेका छन् ।
आवाज उठाउने र पहलकदमी गर्नेहरूको मनस्थिति तीन किसिमको रहेको देखिन्छ । दुर्लभ र अद्वितीय संरचना रहेकोले त्यसको संरक्षण हुनुपर्छ भनेर गैरनेपाली संरक्षणकर्मीहरू लागेका छन् । उनीहरू उक्त संरचनामा गोर्खाजको इतिहास जोडिएको हुनाले नेपाली समुदायलाई पनि झकझाइरहेका छन् ।
अभियन्ताहरू हङकङमा लामो इतिहास रहेकोले गोर्खाजसँग सम्बन्धित संरचनाहरू संरक्षण हुनुपर्नेमा जोड दिइरहेका छन् । उनीहरू ती संरचनाहरू धार्मिक भन्दा पनि ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताउँछन् । पुरातात्त्विक स्मारकको संरक्षणसँगै इतिहास सच्याउनुपर्ने उनीहरूको तर्क रहेको छ । ब्रिगेड अफ गोर्खाजलाई जबरजस्ती हिन्दूकरण गरिएको इतिहास क्वीन्स हिल ब्यारेकमा दोहोरिन नदिन उनीहरू खबरदारी गरिरहेका छन् ।
धार्मिक समूह भने यसलाई धर्मकै नाममा अगाडि बढाउन चाहन्छन् । द हिन्दू एसोसिएनको इन्ट्री पनि त्यही रूपमा भएको हो । थोरै भए पनि हङकङका नेपाली हिन्दू भएकोले उनीहरूको पनि आफ्नै किसिमको चासो रहेको छ । धार्मिक रुपले नै स्थापित गराउन उनीहरू तल्लीन छन् । धर्मभीरुहरूले गैरकानूनी रूपमा भए पनि २७ वर्षपछि पूजाआजा गर्न थालेका छन् ।
आफूलाई आर्यन तन्त्रको रूपमा चिनाउने एक स्थानीय चिनियाँ हिन्दूले १० जुलाईका दिन औपचारिक रूपमा पूजा कार्यक्रमको आयोजना गरेका थिए । सामाजिक सञ्जालमा व्यापक प्रचार गरिएको भए पनि एक दर्जनको उपस्थिति रहेको कार्यक्रममा उनले आरतीसहित शंख, डमरु बजाउँदै पूजा गरेका थिए ।
आफूलाई आर्यनतन्त्रको रूपमा चिनाउने स्थानीय चिनियाँ आरतीसहित पूजापाठ गर्दै । तस्वीरः एभरेष्टखबर
तारबारसहित घेरा हालिएको उक्त स्थानमा पुग्नको लागि त्यति सहज भने छैन । तारमा प्वाल पारिएको ठाउँबाट छिर्नु वा बार नाघेर जानुपर्ने ठाउँमा अनौपचारिक रूपमा पुग्नेले पनि पूजा गर्ने गरेको त्यहाँ ओइलिएर रहेका फूल, धुप, तेल र दियोले झल्काउँछ ।
द हिन्दू एसोसिएसनको प्रवेश
हाउजिङ अथोरिटीले प्रयोग गरे बाहेकको क्वीन्स हिल ब्यारेक क्षेत्र अहिले ल्याण्ड डिपार्टमेन्टको अधीनमा छ । आफ्नै निर्वाचन क्षेत्रमा रहेको तेस्रो दर्जाको पुरातात्त्विक स्मारकको रूपमा रहेको मन्दिरको विषयमा नर्थ जिल्ला परिषद् सभापति जास्पर लाउ तिङ–ताकलाई चासो रहनु स्वाभाविक हो ।
हाउजिङ डिपार्टमेन्टको भवन चाँडै पूरा हुँदैछ र त्यहाँ ३० हजारभन्दा बढी मानिस बसोबास गर्दैछन् । सुरक्षाको कुनै व्यवस्था नभएको कारण सम्पदाको तोडफोड हुनसक्ने कुराले जिल्ला सभापति लाउ चिन्तित छन् । उनी त्यस क्षेत्रको संरक्षण र सम्बर्द्धन होस् भन्ने चाहना राख्छन् ।
मन्दिरको बाहिरी भित्तामा रहेको अभिलेखमा ‘हिन्दू मन्दिर’ लेखिएकोले उनी सम्बन्धित धर्मसँग सम्बन्धित संस्था खोज्न लागे । खोज्ने क्रममा उनको ह्यापी भ्यालीस्थित ‘द हिन्दू एसोसिएसन’सँग सम्पर्क भयो । त्यसपछि उक्त क्षेत्र लिजमा लिनको लागि योजना बन्यो र त्यही अनुरुप सम्बन्धित निकायमा निवेदन गरिएको छ ।
जिल्ला सभापति लाउले ‘द हिन्दू एसोसिएसन’को निवेदनलाई सिफारिस गर्दै तीन पन्नाको सुझाव–पत्रसमेत पेस गरेका छन् । उनको सुझाव पत्रमा उक्त सम्पदालाई संरक्षण गरिनुपर्नेमा जोड दिएको छ । त्यसबाट जातीय अल्पसंख्यकको इतिहास झल्काउन सकिने र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ ।
नेपालीको सम्पर्कपछि उनी इतिहास, धर्म, प्राविधिक, संरक्षणकर्मीसहित छलफलमा आएका थिए । गैर–आवासीय नेपाली संघको कार्यालयमा गोरखा भूतपूर्व सैनिकहरूसहितको छलफलले उक्त मन्दिर संरक्षण, सम्बद्र्धन र सञ्चालनको लागि पहल गर्ने समझदारी बनाएको छ ।
नेपाली समुदायको चासो
नयाँ महावाणिज्यदूत उदयबहादुर राना मगरले शुरूवातदेखि नै एनआरएनएलगायत समुदायका प्रतिनिधिमूलक संस्था हङकङ नेपाली महासंघ, नेपाली आदिवासी जनजाति महासंघ र नेपाल चेम्बर अफ कमर्ससँग मासिक रूपमा समसामयिकलगायतका विषयमा नियमित बैठक गरिरहेका छन् । उक्त बैठकमा क्वीन्स हिल हिन्दू मन्दिरको विषयले प्रवेश पाएसँगै नेपाली समुदायको तर्फबाट पनि सरोकार रहने अन्य संस्थासहित सम्बन्धित निकायमा निवेदन दिने निर्णय भयो ।
सोही निर्णय बमोजिम ब्रिटिस गोरखा भूतपूर्व सैनिक संघको तर्फबाट माथि उल्लेखित प्रतिनिधिमूलक संस्था, गोरखा सिमेट्रिज ट्रस्ट एवं हङकङ नेपाल हिन्दू एसोसिएसनको समर्थन र सहयोग रहने जानकारी गराउँदै गृह मामिला विभागमा निवेदन दिइएको छ । संघका तत्कालीन अध्यक्ष हेमप्रताप गुरुङका अनुसार नर्थ जिल्ला परिषद्, जिल्ला ल्याण्ड डिपार्टमेन्ट, होम अफेयर्स डिपार्टमेन्ट र एन्टिक्युटिज एण्ड मनुमेन्ट अफिसलाई बोधार्थ दिइएको छ ।
पुरातत्त्व स्मारकको अगाडि रहेको प्यागोडा शैलीको मन्दिर । तस्वीरः एभरेष्टखबर
होम अफेयर्स ब्युरोमा बुझाइएको पत्रमा गोरखाको इतिहाससँग जोडिएको मन्दिर पुनर्निर्माण, मर्मत र सञ्चालनको लागि गैरनेपाली समुदायबाट निवेदन गरिएकोमा गम्भीर आपत्ति प्रकट गरिएको छ । पत्रमा यदि उक्त स्थल समुदायलाई हस्तान्तरण गरिने हो भने नेपालीलाई प्राथमिकता दिइनुपर्ने माग गरिएको छ ।
“नेपाल हिन्दू राष्ट्र रहेको समयमा ब्रिटिस गोरखा सैनिक ब्यारेकमा हिन्दूजन्य धार्मिक गतिविधि गर्न मात्र छुट रहेको थियो । अहिले नेपाल धर्म निरपेक्ष राष्ट्रमा परिवर्तित भइसकेको छ । बेलायतले हङकङ छाडेपछि क्वीन्स हिल (बर्मा लाइन) ब्यारेकस्थित ‘मन्दिर’मा धार्मिक गतिविधि भएको छैन । यस पृष्ठभूमिमा उक्त मन्दिर धार्मिक रूपले भन्दा पनि ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ ।” पत्रमा उल्लेख गरिएको छ ।
भूतपूर्व सैनिक संघका अनुसार यस विषयमा सम्बन्धित निकायमा कुरा राख्न केही वर्षअघि पहल भएको थियो । यसका लागि संस्थाको तर्फबाट संयोजन गरिरहेका मेजर शरणकुमार लिम्बूको नेपाल गएका वेला निधन भएपछि उक्त काम अघि बढ्न सकेन ।
“स्थानीय टिभीले गोरखा इतिहाससँग जोडिएको मन्दिरको विषयमा सानो क्लिप बनाउने भनेर हामीसँग सम्पर्क गरेको थियो,” संघका निवर्तमान अध्यक्ष हेमप्रताप गुरुङ भन्छन्, “त्यहीवेला त्यो क्षेत्रमा कन्स्ट्रक्सनको काम शुरू भएकोले यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर सम्बन्धित निकायसँग सम्पर्क र सहकार्यको तयारी गर्ने जिम्मा मेजर शरण सा’बलाई दिएका थियौं । उहाँ बित्नुभयो र हामीले कुनै डकुमेन्ट फेला पार्न सकेनौं, च्याप्टर क्लोज भयो ।”
नेपालीका पुर्खा गोरखासँग सम्बन्धित रहेकोले यस क्षेत्रको संरक्षण र सम्बर्द्धनका लागि संयुक्त रूपमा अगाडि बढ्न नेपाली महावाणिज्यदूतावासको रोहबरमा ब्रिटिस गोरखा भूतपूर्व सैनिक संघ संयोजक र गोरखा सिमेट्रिज ट्रस्ट सचिव रहेको समिति गठन गरिएको छ । उक्त समितिमा गैर–आवासीय नेपाली संघ, हङकङ नेपाली महासंघ, नेपाली आदिवासी जनजाति महासंघ, नेपाल चेम्बर अफ कमर्स र हङकङ नेपाल हिन्दू एसोसिएसन सदस्य रहेका छन् ।
नेपालीलाई प्राथमिकता दिइनुपर्छ
राधिका गुरुङ, सल्लाहकार, हङकङ नेपाल हिन्दू एसोसिएसन
अहिले चर्चामा रहेको हिन्दू मन्दिर संरक्षण गर्न आवश्यक छ । थोरै संख्यामा भए पनि हङकङमा नेपाली हिन्दू रहेका छन् । गोर्खाजहरू नेपालीकै पुर्खा हुन् । त्यसकारण यो मन्दिरको संरक्षणले उनीहरूको इतिहास संरक्षण हुन्छ र सम्मान पनि ।
यहाँ रहेका भारतीय हिन्दूका लागि उनीहरूको कर्मकाण्ड गर्न ह्याप्पी भ्यालीमा मन्दिर रहेको छ तर नेपाली हिन्दूको छैन । धार्मिक हिसाबले सबै हिन्दू एउटै भए पनि भाषा र सांस्कृतिक रुपले हामी फरक छौं ।
स्थानीय मुस्लिम र क्रिश्चियनका लागि स–साना समूहलाई मस्जिद र चर्चका लागि सरकारले भवन र जग्गा उपलब्ध गराए पनि नेपालीका लागि कुनै पनि धर्मको नाममा सरकारले सहयोग गरेको छैन । यसकारण नेपालीसँग जोडिएको ऐतिहासिक स्थल हाम्रो समुदायले पाउनुपर्छ ।
क्वीन्स हिलको हिन्दू मन्दिर संरक्षण र सञ्चालनका लागि यदि समुदायलाई दिइने हो भने नेपालीलाई प्राथमिकता दिइनुपर्छ । नेपाली समुदाय पनि आफ्नो समुदायको लागि आवश्यकीय काम गर्न सक्षम छ ।
पुरातात्त्विक सम्पदामा पर्नु धार्मिक कारण होइन
कर्रि चे, हेरिटेज आर्किटेक्चर
हेरिटेज आर्किटेक्चर भएकोले हङकङमा भएका पुरातात्त्विक सम्पदाको संरक्षणसम्बन्धी योजनामा विगत दुई दशकदेखि काम गरिरहेको छु । सन् २००८ मा हङकङ सरकारले ‘पुरातात्त्विक सम्पदाको पुनर्जीवन’ भन्ने परियोजना सञ्चालन गरेको थियो । उक्त परियोजना अन्तर्गत क्वीन्स गोरखा इन्जिनियर पल्टन रहेको पेरोन ब्यारेकको ‘वाटर–भ्यु हाउस’लाई पुनर्जीवन दिने काममा संलग्न भएको थिएँ ।
यस परियोजना अन्तर्गत काम गर्ने क्रममा धेरै गोर्खाजहरूसँग मेरो सम्पर्क भयो । यसपछि गोर्खाजको बारेमा मलाई धेरै कुरा थाहा भयो र यस सम्बन्धमा अध्ययन गर्ने क्रम बढाएको छु । क्वीन्स हिलमा रहेको हिन्दू मन्दिर गोर्खाजसँग सम्बन्धित छ । त्यो भवन ग्रेड थ्रीको पुरातात्त्विक सम्पदाको रूपमा रहेको छ ।
क्वीन्स हिलको हिन्दू टेम्पल धार्मिक हिसाबले पुरातात्त्विक सम्पदामा परेको होइन । जुन बिल्डिङ छ, त्यसको डिजाइन र बनावट दुर्लभ अनि अद्वितीय छ । हिन्दू टेम्पल नै पुरातङ्खवमा पर्ने हो भने त हङकङमा रहेका गोर्खाजका सातवटै पर्ने थिए । पुरातात्त्विक महत्त्व नभएका पाँचवटा मन्दिर भत्काइसकिएको छ । पेरोन ब्यारेकको मन्दिर पनि अहिलेसम्म संरक्षित छ ।
समुदायसँग सम्बन्धित पुरातात्त्विक सम्पदाको संरक्षण गर्न यसकारणले पनि महत्त्वपूर्ण छ कि त्यसबाट उनीहरूको इतिहास संरक्षित हुन्छ । जातीय अल्पसंख्यकहरू हङकङको समाजको अभिन्न अंगको रूपमा रहेका छन् । स्थानीय समाज विकासमा उनीहरूको योगदान पनि महत्त्वपूर्ण छ ।
ग्रेड थ्रीसँगै अन्य घरको संरक्षण होस्
ईश्वर गुरुङ, उपाध्यक्ष, ब्रिटिस गोरखा भूतपूर्व सैनिक संघ
क्वीन्स हिल ब्यारेकमा आउने पहिलो र अन्तिम पल्टन हाम्रै १/२ जीआर हो । सन् १९९१ देखि १९९४ सम्म म त्यहाँ बसें । सन् १९९४ को आखिरी (नोभेम्बर–डिसेम्बर)तिर हामीले ब्यारेक पीएसए (पब्लिक सर्भिस अथोरिटी)लाई जिम्मा लगाएका हौं ।
पहिला भर्ती हुँदा हिन्दू भने पनि नेपालमा भएको परिवर्तनले हामीमा चेत आइसकेको थियो । त्यही भएर जसले आफूलाई हिन्दू मान्थे उनीहरू पूजा गर्न जान्थे, हामी जाँदैनथ्यौं । प्रत्येक आइतबार बिहान हामीलाई मन्दिर लगिन्थ्यो । टिनको छाना भएको मन्दिरमा पुजारीले पूजा गर्थ्यो र हामीलाई टीका लगाइदिन्थ्यो । चर्चजस्तो घरभित्र कुनै मूर्ति थिएन ।
पुराना गुरुजीहरूले भनेअनुसार गोरा पल्टन बस्दा बनाएको चर्च हो त्यो । पछिसम्म झ्यालको सिसामा क्रुसको नक्सा थियो रे ! पछाडि पुजारीहरूले कम्प्लेन गरेपछि रंग मिल्दो सिसा फेरेको भन्थे !
डाँडाको पछाडि सर्ट सुटिङ रेन्ज र अप्सट्याकल थियो । ती संरचनाहरूमा पछि कुकुर राख्ने ठाउँ बनाइएछ । फेमिली लाइनमा अहिले हाउजिङको घर बनेको छ । सिपाहीहरू बस्ने डाँडाका घरहरू चाहिं अझै रहेछन् ।
यो ठाउँसँग ब्रिटिस गोरखाको इतिहास जोडिएकोले त्यो झल्काउने गरी संरक्षण गर्नसके राम्रो हुनेथियो । ग्रेड थ्रीमा परेको बिल्डिङसँगै गोरखालीले प्रयोग गरेका घरहरू पनि संरक्षण होउन् भन्छु ।
चर्चजस्तो बिल्डिङमा मन्दिर थियो
क्या. भरत सिंह क्षेत्री
म सन् १९६० मा भर्ती भएको हुँ । ट्रेनिङपछि हाम्रो पल्टन १/२ जीआर सन् १९६३ मा क्वीन्स हिल ब्यारेक पुग्दा २/२ जीआर त्यहाँ थियो । सन् १९६२ देखि गोरखा पल्टन त्यहाँ बस्न शुरू गरेको हो र त्यो पहिलो पल्टन २/२ जीआर हो ।
म त्यहाँ पुग्दा त्यो चर्चजस्तो बिल्डिङमा मन्दिर थियो । वालको माथितिर हेर्नुस् न, मन्दिरमा त्यस्तो कहाँ हुन्छ ! म त पूजा गर्न जान्नथें, जानेहरूले भनेको– पहिला त्यहाँ क्रुसको नक्सा थियो रे ! पछि पुजारीहरूले कम्प्लेन गरेपछि हटाइएको भन्थे ।
शुरूवातदेखि त्यहाँ बस्नुहुने मेजर हरिबहादुर गुरुङ, मेजर दिलबहादुर गुरुङलगायतले बताउनुभए अनुसार उहाँहरू त्यहाँ पुग्नु हुँदा त्यो बिल्डिङ बनिसकेको थियो । त्यो अगाडिपट्टिको सानो मन्दिर चाहिं पछि बनाइएछ । दोस्रो पटक पनि म त्यहाँ बसेको थिएँ । सन् १९७९ को अप्रिलसम्म त्यो बनेको थिएन ।
इतिहासको गल्ती दोहोरिन हुन्न
अमोद राई, सचिव, गोरखा सिमेट्रिज ट्रस्ट
गोर्खाजको इतिहासमा गल्ती भएको छ, राज्यले जबरजस्ती हिन्दूकरण गरेर । क्वीन्स हिलको हिन्दू मन्दिर संरक्षणको नाममा गल्ती दोहोरिने हो कि भन्ने डर छ । पुरातात्त्विक भएको हुनाले त्यो भवनको संरक्षण हुन आवश्यक छ तर मन्दिरको रूपमा होइन ।
नेपाल हिजो हिन्दू अधिराज्य थियो, तर अहिले धर्म निरपेक्ष राष्ट्र हो । त्यसकारण ऐतिहासिक स्थललाई धर्मको नाममा धमिल्याउन हुँदैन । यदि गोर्खाज इतिहाससँग जोडिएको स्थललाई धार्मिक रूपमा संरक्षण गरियो भने हङकङका सबै नेपाली हिन्दू भन्ने म्यासेज जान्छ, जसबाट इतिहासको गल्ती दोहोरिन्छ ।
म हङकङमा रहेका नेपाली हिन्दूलाई रेस्पेक्ट गर्छु र उहाँहरूले धार्मिक क्रियाकलापका लागि ठाउँ पाउनुपर्छ । अन्य धर्मावलम्बीहरूलाई हङकङ सरकारले धार्मिकस्थल उपलब्ध गराइरहेको छ भने नेपाली हिन्दूलाई किन नगराउने ? त्यसकारण उहाँहरूले माग गर्नुहुन्छ भने सरकारले उपलब्ध गराउनुपर्छ ।
अहिले चर्चामा रहेको मन्दिर गोर्खाजको सन्तति भएको हिसाबले हङकङका सम्पूर्ण नेपालीको चासोको विषय हो । त्यसकारण कुनै जाति वा धर्म विशेषको रूपमा यसको उपयोग गरिनु हुँदैन । यस स्थललाई सांस्कृतिक रूपमा उपयोग गर्न सकिन्छ ।
गोर्खाजसँग जोडिएको क्वीन्स हिलमा मन्दिर मात्र रहेको छैन, त्यहाँ अरु संरचना पनि छन् । मन्दिरसहित त्यो डाँडालाई नै गोर्खाज म्युजियम बनाउन सकिन्छ । त्यसले हङकङमा गोरखाको इतिहास झल्काउन सकिन्छ । गोरखा इतिहास भनेको हङकङको इतिहासको एउटा पाटो हो ।
यी घरहरूसँग गोर्खाजको इतिहास जोडिएको छ
त्रिलोक गुरुङ, भूपू गोर्खाज
म धेरै बसिनँ क्वीन्स हिल ब्यारेकमा तर पनि मेरो लागि यो ठाउँ अविस्मरणीय छ । करिब एक वर्ष बसेपछि सन् १९९२ को फेब्रुअरीमा मैले ब्रिटिस गोरखा आर्मीको लाइफ नै अन्त्य गरेर नेपाल फर्किएको हुँ ।
यो डाँडाको पछाडि सर्ट सुटिङ रेन्ज थियो, २५ मिटरसम्मको प्राक्टिस र राइफल चेक गर्न प्रयोग हुन्थ्यो । डोरीमा झुण्डिने, वाल नाघ्ने, कुद्ने लगायतका एक्सरसाइज गर्ने ठाउँ थियो त्यो ।
मन्दिरमा नियमित पूजा बाहेक नानीहरूको न्वारान, पास्नीलगायतका कार्य पनि हुने गर्थे । ढोलक, हार्मोनियमलगायतका बाजा बजाउने र भजन–कीर्तन गर्ने लगायत भइरहेको देख्थें । दशैंमा राँगा मार हान्ने, हातहतियारको पूजा पनि हुने गरेको थियो ।
३० वर्षपछि यो ठाउँमा आउँदा म एकदमै नोस्टाल्जिक भएको छु । म यो घरमा एक वर्ष बसेको थिएँ । मलाई यहाँको कोठा, भित्ता, छाना, आँगनको एक–एक याद आउँछ । यी घरहरूसँग मजस्तै हजारौं गोर्खाजको इतिहास जोडिएको छ ।
गोर्खाजले प्रयोग गरेका घर, मन्दिरलगायत बेवारिसे अवस्थामा देख्दा नरमाइलो लाग्यो । मन्दिर रहेको बिल्डिङ ग्रेड थ्रीको पुरातत्त्व रहेको थाहा पाउँदा खुशी लागेको छ । हङकङ सिस्टममा चलेको ठाउँ भएकोले यसको संरक्षण त हुन्छ नै, मन्दिरसँगै अन्य घरहरू पनि संरक्षण हुनसके सुनमा सुगन्ध हुनेथियो ।