• नेपाली टाईम एण्ड नेपाली स्टाइल 

  • हाम्रो नेपाली समाज एकदमै खोटरहित वा दागरहित अवश्य पनि होईन। अरु समाजहरुमा झैं यसमा पनि धेरै कुरिती र विसंगती पाईन्छ। नेपाली समुदायकाबीच रहिआएका केही कमी-कम्जोरीलाई ब्यङ्ग्य गर्नुको कारण चाँही हाम्रो कमी कम्जोरीलाई सुधार गरौं भन्ने अभिप्राय नै हो। यसलाई बयानबाजी वा अन्यथा लिनुहुन्न भन्ने आशा गरेको छु। आउनुहोस् यो लेखको सुरुवात गरौं।
    ‘नेपाली टाईम’ एउटा कुख्याती कमाएको शब्द हो। नेपालमा धेरै सुनिएको वाक्यांश हो। विशेषगरी धेरै ढिलो गरी कुनै कार्यक्रम सुरु गर्ने वा ढिलो कार्यक्रममा उपस्थिति जनाउने अथवा कुनै काम ढिलो गरी पुरा गर्ने अवस्थालाई नै इङ्गित गर्दा यो शब्दको प्रयोग गरिन्छ। आमन्त्रित प्रमुख अतिथी पनि ढिलो गरी कुनै कार्यक्रममा पुग्ने पुरानै चलन हो। दश बजे सुरु गर्नुपर्ने कार्यक्रम सुरु हुनुपर्नेमा दिउँसो दुई बजे पनि सुरु नभएको कति देखियो कति भोगियो हिसाबकिताब छैन। प्रमुख अतिथी ढिलो गरी आइपुग्दा कार्यक्रम संचालन गर्‍यो, अनि उनी आइपुगे पछि अन्तिममा कार्यक्रम सकिएपछि ‘कार्यक्रम उद्घाटन’ गरेको पनि देखियो। यो ‘रोग’ नेपालमा मात्र होइन, विदेशमा पनि जहाँ-जहाँ नेपालीहरु पुगेका छौं, त्यो-त्यो ठाउँमा यो ‘सरुवा रोग’लाई पुर्याउन सहयोग गरेका छौं। सामाजिक संजालहरुको भित्तामा कार्यक्रम हुने समय र स्थान पोस्ट त गर्‍यो, तर पोस्ट गर्ने उही कार्यक्रम संचालक तथा ब्यवस्थापकहरु नै ढिलो पुग्ने गरेको देखियो विदेशमा पनि। हङकङकै आफ्नो भोगाईको कुरा गर्दा, केही हप्ता अगाडिको कुरा हो एउटा मीटिङमा जाने निमन्त्रणा आयो सामाजिक संजालबाट। त्यती जाने बानी नभए पनि केही होला कि भनेर मिटिङमा गएँ। दिउँसोको एक बजे सुरु गर्नुपर्ने कार्यक्रम बल्ल-तल्ल तीन बजे सुरु भयो। आफ्नो बानी त कार्यक्रमस्थल जाँदा बाटो बिराइएन भने कार्यक्रम सुरु हुने समयभन्दा दश-पन्ध्र मिनेट छिटो पुग्ने बानी छ। आफुलाई पनि यो सरुवा रोग लाग्ला भन्ने चिन्ता पो भयो! धेरै समय पहिला एकजना महानुभावबाट सुनेको थिएँ, ‘मिटिङमा ढिलो गयो भने आफ्नो महत्व झल्काउन सकिन्छ’ भनेर। कति सत्य हो त्यो कुरा, अहिलेसम्म बुझेको छैन।
    होला, एउटा बाध्यता छ विदेशमा। सबैजना काम गर्ने हुनाले विदाको दिनमा मात्र मिटिङ गर्ने चलन छ। व्हाट्सएयाप, भाईबर, फेसबुक लगायत सामाजिक संजालमा समुह बनाएर गफ लडाउन भ्याउनेहरुले एउटा समय निर्क्योल गरेर भेटघाट, मिटिङ लगायत गर्न सक्छन्। नानाभाती ठुल-ठुला कुरा गर्न भ्याउने, तर ठीक समयमा कार्यक्रम गर्न नसक्ने? तर, यो नेपाली टाईमको रोग अझ नयाँ पुस्ताहरुमा पनि पुस्तान्तरण पो होला भन्ने डर भईसकेको पो छ। भग्वानले रक्षा गरुन् हामी नेपालीहरुलाई!
    विदेशीहरुले वा विदेशमा हाम्रो मित्र वा समकक्षीहरुले पनि हाम्रो यो नेपाली टाईमको गोलमालबारे बुझ्न थालीसकेका छन्। विदेशमा बस्ने हामीले यो बानी नसुधारेको कारण विदेशको सरकारी कार्यालय र अस्पतालहरुको ‘एपोईन्टमेन्ट टाईम’ मा नगएको कारण महत्वपूर्ण कामहरु छुटेको धेरै कथा र उदाहरणहरु हामी बीचमा नै छ। विदेशमा समयको पावन्दी छ। समयमा सबै कामहरु गर्नुपर्छ। ढिलो पुग्नुभएको अवस्थामा अरुलाई सेवा दिने समयमा सदासायता देखाएर तपाईंको काम अवश्य पनि कसैले गर्दिदैन। यही नेपाली टाईमको रोगको संक्रमणमा पर्दा कति जनाले ट्रेन, गाडी वा हावाईजहाज पनि छुटाउनु भएको होला। काममा ढिलो जाँदा हकिमको खप्की वा कार्वाही भोग्नु भएको होला।
    अब नेपाली स्टाइलको कार्यक्रमबारे कुरा गरौं। पर्खिनु त एउटा समस्या हो। नेपाली स्टाईलको कार्यक्रमको चर्चा गर्दा आसन ग्रहण र भाषण ग्रहणको कुरा नगरी यो अपूर्ण हुन जान्छ। सारा मान्छेहरुलाई आसन ग्रहण गराउनुपर्ने समस्या त छँदै छ। भाषण ग्रहणको लामो कार्यक्रम सहनुपर्ने अर्को समस्या हो। सबैलाई फुलमाला पहिर्याएर, दोसल्ला अोढाएर, ब्याच लगाइदिएर, पानसमा बत्ती बालेर वा आयोजकको के-के छ उसैको तजबिजमा अब औपचारिक कार्यक्रम सुरु हुन्छ। देशमा त फुर्सदिला मान्छे धेरै हुन्छन र कार्यक्रम हेर्न पनि आउने हुनाले स्टेजमा आसन ग्रहण गर्ने भन्दा धेरै तल दर्शक दिर्घामा बस्ने मान्छे धेरै हुन्छन्। तर, विदेशको अवस्था एकदमै ‘बिचरा’को अवस्थाबाट गुज्रिन्छ धेरैजस्तो अवस्थामा। मानिसको उपस्थिति कम हुने चाँही सामाजिक कामका लागी गरिने कार्यक्रमहरुमा नै हो। नाचगान हुने र मासु पोलेर खाने प्रोग्राम होस् त, मान्छे अटिनअटि, तँछाड र मछाड गरी पुग्छन्। अनि यस्तो कार्यक्रममा हुने भाषण ग्रहणले ‘स्यालको मृत्‍यु’ भोग्छन्। सुन्ने कसैले होईन त! भर्खरै एउटा कार्यक्रम जो वर्षको दुई पटक हुन्छ, त्यो प्रोग्राममा यसपाली नेपालमा गएको विनाश्कारी भुकम्पको कारण नाचगाना नहुने सुचना जारी भयो। हङकङको पहाडी डाँडामा सधैं हजारौं भेला हुने ठाउँमा पचास-साठी जनाको मात्र उपस्थिति देखियो। आफ्नो संस्कृति बचाउन आफ्नो संस्कृतिसँग सम्बन्धित प्रोग्राम गर्छन् कि मनोरञ्जनको लागि मात्र गर्छन्, प्रश्न टड्कारो छ। कि नाचगानको कार्यक्रमले हाम्रो संस्कृति जोगाउन सहयोग गरेको छ? यो पनि एउटा प्रश्न हो। भाषण ग्रहणको कुरा गर्दा, सबैले माईकमा लामा-लामा भाषण गर्नैपर्छ र भाषण गरेपछि निर्लज्ज तरिकाले ‘मेरा दुई शब्द यही टुङ्याउँछु’ भनेर आफ्नो भाषणको अन्त्य गर्दछन्।
    नेपाली स्टाइलको कार्यक्रमको अर्को विशेषता भनेको कार्यक्रममा अरुको बद्ख्वाईं नगरी त्यसको अन्त्य नहुनु हो। अरु विरोधी चाहे त्यो राजनीतिक, धार्मिक वा आफ्नो क्षेत्रको अर्को विरोधी जो छ त्यसको उछितो काडेकै हुनुपर्छ। विरोधीलाई नराम्रो नभनी धेरै प्रोग्रामको अन्त्य हुँदैन। अरुको निन्दा गर्ने गुण हामीले जन्मदा देखि नै लिएर आएको हुन्छौं। ‘म राम्रो अनि अरु सारा खराब। मेरो सोचाई सही अनि अरुको सोचाई चाँही गलत। कुनै संस्थाको कमिटीमा मैले पद धारण गर्न पाए भने त्यो साह्रै असल, मैले पद पाईन भने त्यो खराब।’ हामीमध्ये धेरैजनामा यस्ता यावत सोच हाबी छ।
    यति भन्दा भन्दै पनि सार्है छरितो तरिकाले सम्पन्न नेपाली कार्यक्रमहरुमा पनि कहिलेकाहीँ जाने मौका मिलेकै छ।  यस्ता विना ढर्रा आयोजना हुने कार्यक्रमहरुमा उपस्थिति हुन पाउँदा बडा आनन्द महसुस गर्ने गरेको छु। अतिथीहरुको मान-सम्मानमा धेरै ध्यान दिंदा कार्यक्रम हेर्न आउने दर्शकहरुको स्वाभिमानमा पुग्नसक्ने चोटलाई पनि त ध्यान दिनुपर्छ।
    अन्त्यमा, यो आसन ग्रहण र भाषण ग्रहण एउटा कार्यक्रमको औपचारिकता हो। यसलाई पुरै नकार्न सकिने अवस्था छैन। कार्यक्रममा उपस्थित साराले मानमर्यादा खोजेर हुन्न। यसलाई एकदमै छिटो र छरितो बनाएर कार्यक्रमको मुख्य लक्ष्यमा ध्यान पुर्याउन सके सुनमा सुगन्ध हुने थियो। कार्यक्रम संचालकहरुले यसतर्फ ध्यान दिन सके कति राम्रो हुन्थ्यो होला? कसैले यसो गरिरहनु भएको छ वा गर्ने सोचमा हुनुहुन्छ भने मेरो शुभकामना छ। हैन पुरानै ढर्रामा नै चल्ने सोचविचार हुनेलाई एउटै भनाई राख्न चाहन्छु, ‘भिर जाने गाईलाई राम भन्न सकिन्छ, काँधमा हाल्न सकिन्न’।

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad