• मुख्यमन्त्री कप फूटवलको फाइनल धरानमा

    संयोजक किरण राई मुख्यमन्त्री कप प्रदेश लिग फाइनल खेलका विजयी टोलीलाई प्रदान गरिने ट्रफी विराटनगरमा बुधबार सार्वजनिक गर्दै । तस्बिरः मनोज दाहाल
  •  

    मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता–२०७६ को फाइनल खेलका विजयी टोलीलाई प्रदान गरिने चार केजी चाँदीको ट्रफी आज यहाँ सार्वजनिक गरिएको छ ।

    सुनसरीको धरानमा यही असार २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।प्रतियोगिताका संयोजक एवं अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता किरण राईले आज यहाँ पत्रकार सम्मेलन गरी वर्षातले विराटनगरको शहीद रङ्गशाला डुवान भएका कारण खेलस्थल धरानमा सार्नु परेको जानकारी दिनुभयो ।

    लिग कम नकआउट अन्तर्गत हुने हुने खेलमा ‘क’ समूहमा धरान फुटबल क्लब सुनसरी, बौद्धिक विकास समाज समिति, धनकुटा, बेलवारी फुटबल क्लब मोरङ छन् भने ‘ख’ समूहमा सैनिक युथ क्लब, झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्स क्लब इलाम रहेका छन् । फाइनल खेल असार ३१ गते हुनेछ ।

    सञ्चार संयोजक रोहित कोइरालाले मोफसलको क्लबलाई व्यावसायिक बनाउन र खेलाडीले खेलेर जीवनयापन गर्न रोजगारी प्राप्त होस् भन्ने उद्देश्यले प्रतियोगिताकोे आयोजना गरिएको बताउनुभयो । प्रतियोगितामा पुरस्कारतर्फ रु २० लाख रकम छुट्याइएको छ । प्रतियोगिता सम्पन्न गर्न रु एक करोड ३३ लाख खर्च हुने अनुमान छ । खेलको आयोजनाका लागि प्रदेश नं १ सरकारले रु एक करोड तथा अखिल नेपाल फुटबल सङ्घबाट रु ३३ लाख प्रदान गरिएको छ ।

    खेलको पहिलो चरण अन्तर्गत लिगमा प्रदेशका १४ जिल्लाको फुटबल टोलीबीच प्रतिस्पर्धा भई छ टोली फाइनल प्रतियोगितामा प्रवेश गरेका हुन् ।

  • कमेन्ट गर्नुहोस्