• मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचारगोष्ठी सम्पन्न

  •  

    काठमाडौँ ।  अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२१ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भाषा आयोग र युनेस्को काठमाडौँसँगको सहकार्यमा ‘मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचारगोष्ठी आयोजना गरियो । गोष्ठी उद्घाटन सत्रको अध्यक्षता नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गर्नुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक  भानुभक्त ढकाल हुनुहुन्थ्यो ।

    त्यसैगरी नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, भाषा आयोगका अध्यक्ष, डा. लवदेव अवस्थी, नेपालका लागि बङ्गलादेशका महामहिम राजदूत सलाहउद्दिन नमन चौधरी, युनेस्को काठमाडौँका प्रमुख डा. क्रिस्टियन म्यानहार्ट कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

    त्यसैगरी कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिगठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, नेपाल प्रज्ञा–प्रतिष्ठानका मातृभाषा (मातृभाषा, कोश र व्याकरण) विभाग प्रमुख प्राज्ञ प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रतिष्ठानकै मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ लक्ष्मी माली, प्राज्ञ परिषद्का सम्पूर्ण सदस्ययहरू, आजीवन सदस्यहरू, प्राज्ञ सभाका सदस्यहरू, आमन्त्रित विद्वान्, विदुषी एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    राष्ट्रिय गानको प्रस्तुतिपछि गोष्ठीका संयोजक प्राज्ञ प्रा.डा. योगेन्द्रप्रसाद यादवले स्वागत मन्तव्य एवम् कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले अन्तर्राट्रिय मातृभाषा दिवसको परम्परा र नेपालमा मातृभाषाको अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो । त्यसपछि पानसमा दीप प्रज्वलन गरी प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले विचार–गोष्ठीको समुद्घाटन गर्नुभएको थियो ।

    सो अवसरमा मन्त्री ढकाल र अन्य अतिथिहरूबाट नेपाल प्रज्ञा–प्रतिष्ठानको मातृभाषा विभाग र मातृभाषा साहित्य विभागबाट प्रकाशित मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी प्रकाशित ६ ओटा पुस्तकहरू लोकार्पण गरिएको थियो । लोकार्पण गरिएका पुस्तकहरू (अ) Perspectives on Mother Tongue–Based Multilingual Education in Nepal (Editor: Prof. Dr. Yogendra Prasad Yadav & Dr. Lava Deo Awasthi), (आ) मातृभाषाको रूपरेखा (सम्पादक: प्रा.डा. योगेन्द्रप्रसाद यादव र डा. कर्णाखर खतिवडा), (इ) मगही लोककथा सङ्ग्रह (सम्पादक: वीरबहादुर महतो), (ई) मातृभाषा साहित्यको इतिहास भाग २ (सम्पादक: लक्ष्मी माली र तिलक चाम्लिङ), (उ) मातृभाषा कविता (राष्ट्रिय मातृभाषा कविता महोत्सव २०२०), (ऊ) मुन्दुम (सम्पादक: भोगीराज चाम्लिङ) रहेका छन् ।

    प्रमुख अतिथि मन्त्री ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै मातृभाषा बलियो भए मात्रै देश बलियो हुन्छ भन्ने विचार व्यक्त गर्नुभएको थियो । उक्त विचार–गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री ढकालले मातृभाषाको महत्वलाई जनस्तरसम्म पुर्‍याइनुपर्नेमा जोड दिनुभयो । उहाँले सेमिनार र गोष्ठी मात्र गर्ने भन्दा जनस्तरमा मातृभाषाको कार्यक्रम लैजानु राम्रो हुने र त्यस कार्यमा सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले एक दिन मात्र सम्झनुभन्दा पनि वर्षैभरि अभियानका रूपमा मातृभाषाको संरक्षणका लागि काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो । मन्त्री ढकालले मातृभाषाका कारण कतिपय देशहरु जन्मिएको बताउँदै त्यसको उचित संरक्षण र प्रवर्द्धन गर्न नसक्दा त्यस्ता देशहरूको अस्तित्व नै मेटिने खतरा औँल्याउनुभयो ।

    कुलपति उप्रेतीले उद्घाटन समारोहको समापन गर्नुभएको थियो । उहाँले मातृभाषा र मातृभाषा साहित्यको संरक्षण र प्रवर्द्धनका लागि प्रज्ञा–प्रतिष्ठानबाट भइरहेका कार्यहरूबारे प्रकाश पार्दै आगमी दिनमा अझ सार्थक परिणाम आउने गरी काम गरिने बताउनुभएको थियो ।

    यसैगरी उद्घाटन सत्रमा समारोहलाई सम्बोधन गर्दै युनेस्को काठमाडौँका प्रमुख डा. क्रिस्टियन म्यानहाटले नेपालमा सङ्घीयताको प्रार्दुभाव भएपश्चात् समावेशीकरणको सिद्धान्तअनुरूप मातृभाषामा आधारित बहुभाषिक शिक्षासम्बन्धी कानूनी प्रावधान ल्याउनुपर्नेमा जोड दिनुभयो ।  उहाँले भन्नुभयो– “यसका लागि अन्तर्राष्ट्रिय मातृभाषा दिवसका सन्दर्भमा भएको यो विचार गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने मैले ठानेको छु । आगमी वर्षदेखि आदिवासी भाषा दशक (२०२२–२०३२) शुरू हुन लागेको र यसका लागि युनेस्को नेपालका भाषा, संस्कृति र शिक्षाका क्षेत्रमा बढीभन्दा बढी सहयोग गर्न तयार छ ।”

    नेपालका लागि बङ्गलादेशका महामहिम राजदूत सलाहउद्दिन नमन चौधरीले बङ्गलादेश जस्तै नेपालमा पनि बहुभाषिकता र भाषिक विविधताको संरक्षण र संवर्द्धनका लागि भइरहेको प्रयास सराहनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “यसका लागि नेपालसँग सहकार्य गर्न बङ्गलादेश सधैँ तत्पर छ ।”

    कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले धन्यवाद व्यक्त गर्नुभएको थियो । सो अवसरमा उहाँले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा भएका मातृभाषा राष्ट्रिय कविता महोत्सवका साथै मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठीमा युनेस्को काठमाडौँको सहकार्यका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    गोष्ठीको दोस्रो सत्रमा मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचारगोष्ठीको आयोजना गरियो । प्राज्ञ प्रा.डा. योगेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको गोष्ठीमा चारओटा कार्यपत्र प्रस्तुत भएका थिए ।

    गोष्ठीमा डा. लवदेव अवस्थीबाट ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा (२०२२–२०३२) दशकको सन्दर्भमा मातृभाषा शिक्षाका लागि नेपालमा स्थानीय तहको भूमिका’, प्रा.डा. दुबिनन्द ढकालबाट ‘नेपालमा बोलिने भाषाहरूको सङ्कटापन्नता’,  उप प्रा. कृष्णप्रसाद चालिसेबाट ‘नेपालमा लुप्त प्रायः भाषाको अभिलेखीकरण : बराम भाषाका अनुभवहरू’ र लोचनतारा तुलाधरबाट ‘नेपाली मातृभाषा साहित्यमा महिला साहित्यकारहरूको सहभागिता, सम्भावना र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुति गरिएको थियो ।

    अन्त्यमा सहभागीहरूबाट विषयगत जिज्ञासा र सुझाव आएका थिए । सम्बन्धित कार्यपत्र प्रस्तोताबाट ती जिज्ञासाउपर जवाफ दिने काम भएको थियो । कार्यपत्र प्रस्तोता र प्रतिवेदकलाई कुलपतिले प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।

    गोष्ठी सत्रको अन्त्यमा सभाध्यक्ष प्रा.डा. यादवले धन्यवाद मन्तव्यसहित गोष्ठीसत्रको समापन गर्नुभएको थियो ।  कार्यक्रमको सञ्चालन नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad