• बालप्रज्ञाको नयाँ अङ्क प्रकाशित

  •  

    नेपाल प्रज्ञा–प्रतिष्ठानबाट अर्धवार्षिक रूपमा प्रकाशन हुने बालपत्रिका ‘बालप्रज्ञा’को तेस्रो अङ्क प्रकाशन भएको छ । यस पत्रिकाले बालस्रष्टादेखि प्रौढ स्रष्टासम्मका बालउपयोगी सामग्रीहरू प्रकाशन गर्दै आएको छ । विशेष गरी बालबालिकालाई ज्ञान र मनोरञ्जन प्रदान गर्नुका साथै तिनमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले यस बालपत्रिकाको प्रकाशन शुरू गरिएको र तेस्रो अङ्कसम्म आइपुग्दा यो बालसाहित्यप्रेमी प्रौढ पाठक र सिर्जनाप्रेमी धेरै बालबालिकाका बीचमा लोकप्रिय बनेको जानकारी प्रज्ञा–प्रतिष्ठानले दिएको छ ।

    ‘बालप्रज्ञा’को यस अङ्कमा नेपाली बालसाहित्यका विशिष्ट स्रष्टा शान्तदास मानन्धरको रोचक बालापन समेटिएको छ भने बालबालिकालाई सत्कार्यमा हौसला प्रदान गर्ने खालका कुलमान घिसिङ र स्टेफेन हकिङको उत्प्रेरणामूलक जीवनी प्रस्तुत गरिएको छ । विशेषतः बाह्र वर्षमुनिका बालबालिका र सोह्र वर्षमुनिका किशोरकिशोरीहरूको रुचि, भाषिक क्षमता र विषयक्षेत्रलाई समेट्ने खालका कविता, गीत, गजल, कथा, निबन्ध, एकाङ्की र विविध जानकारीहरू यस अङ्कमा प्रकाशित छन् । साथै ‘हाम्रा सिर्जना’ स्तम्भअन्तर्गत बालबालिकाका सिर्जनाहरू, ‘हाम्रो कुची’ स्तम्भअन्तर्गत बालबालिकाले बनाएका चित्रहरू, ‘हाम्रो मातृभाषा’ स्तम्भअन्तर्गत बालबालिकाले नै लेखेका मातृभाषाका सिर्जनाहरू समेटिएका छन् । यसरी नै बालबालिकाको बौद्धिक विकास गर्ने खालका भाषिक खेल तथा कोठेपदहरू यहाँ प्रकाशित छन् भने ‘अनुभूति’ स्तम्भअन्तर्गत सातै प्रदेशका बालबालिकाका कोरानासम्बन्धी अनुभूतिहरूलाई यहाँ प्रकाशन गरिएको छ । साथै स्वास्थ्य सचेतताका लागि डा. रवीन्द्र समीरको कोरोना के हो र यसबाट कसरी बच्न सकिन्छ भन्ने जानकारीमूलक लेख पनि यहाँ समेटिएको छ भने ‘हाम्रो भूगोल’ स्तम्भअन्तर्गत प्रदेश नं. २ को भौगोलिक एवं सांस्कृतिक परिचय दिइएको छ ।

    प्रज्ञा–प्रतिष्ठानले बालबालिकाको प्रतिभाको सम्मान गरी सिर्जनात्मक विकासको लक्ष्य राखेर बालपत्रिकाको थालनी गरेको हुँदा यसलाई चाँडै नै योजनाबद्ध तरिकाले देशभरिका बालबालिकासम्म पुर्‍याउने लक्ष्य राखिएको जानकारी पत्रिकाका प्रधान सम्पादक प्राज्ञ डा. देवी नेपालले दिएका छन् । प्रा.डा. ध्रुवकुमार घिमिरे कार्यकारी सम्पादक र नवराज रिजाल, गोपीकृष्ण ढुङ्गाना र देवु लुइटेल सम्पादक रहेको एवं राजेश मानन्धरका भावअनुकूल चित्रहरू रहेको बहुरङ्गी ८० पृष्ठको उक्त पत्रिका नेपाल प्रज्ञा–प्रतिष्ठानमा हाल भइरहेको पुस्तक प्रदर्शनीमा समेत राखिएको जानकारी प्राज्ञ तथा सञ्चार शाखा प्रमुख शशी लुमुम्बुले दिएका छन् ।

  • कमेन्ट गर्नुहोस्