समाजवादी पार्टी वैकल्पिक शक्ति : डा भट्टराई
जुलाई २ । समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुराना पार्टीहरुबाट देशको अग्रगमनको नेतृत्व सम्भव नभएको बताउनुभएको छ ।
सङ्घीय समाजवादी फोरम र नयाँशक्ति पार्टी नेपालको प्रदेश समिति समायोजन घोषणा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा नेपाली काङ्ग्रेस लगायतका पार्टीबाट देशको अग्रगमन, सुशासन र दिगो विकास नहुने भएकाले समुन्नत र सङ्घीय समाजवादको वैचारिक आधारमा वैकल्पिक राजनीतिक शक्तिको रुपमा समाजवादी पार्टी गठन गरिएको बताउनुभयो ।
फोरम र नयाँ शक्तिबीचको एकता केवल पार्टी एकता मात्र नभएको भन्दै डा भट्टराईले भन्नुभयो, “हामीहरुबीचको एकता पार्टी एकता मात्र होइन, सम्पूर्ण लोकतन्त्र, अग्रगति, शान्ति, समावेशीता, समाजवाद र धर्मनिरपेक्षताको मान्यताप्रति प्रतिबद्ध जनतालाई सङ्गठित गरेर देशलाई आगामी ५० वर्षसम्म नेतृत्व गर्ने र विश्वसामु नेपाललाई समुन्नत रुपमा लैजाने गरी एकताको प्रस्थान विन्दु हो ।”
समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई सपथ गराउँदै पार्टी संघीय परिषद्का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई । तस्वीरः कृष्ण दवाडी ।
पार्टीका उपाध्यक्ष हेमराज राईले बहुजातीय र बहुभाषिक चरित्र भएको देशमा पहिचानका आधारमा राज्यको पुनः संरचना हुनुपर्ने बताउनुभयो । कार्यक्रममा समाजवादी पार्टीको ५३ सदस्यीय गण्डकी प्रदेश कमिटी घोषणा गरिएको थियो । पार्टीको प्रदेश समितिको अध्यक्षमा मोति रिजाल, उपाध्यक्षमा दीपक तामाङ, गुणाखर बस्याल, हेमबहादुर थापा, रमेश पोखरेल र काशीमाया गुरुङ हुनुहुन्छ ।