हङकङ आन्दोलन र मेरी छोरी
ह्वाइ पोलिस म्यान आर डोइङ लाइक दिज ड्याडी ? हङकङ आन्दोलनको शुरुवाती दिनहरुमा एक्स्ट्राडिसन बिल अर्थात सुपुुर्दगी विधेयक खारेजीको माग गर्दै लाखौं हङकङेली जनताहरु सडकमा उत्रिएको र प्रदर्शनको क्रममा हङकङ प्रहरी र प्रदर्शनकारीहरुबीच भएको ठेलाठेल, प्रहरीद्वारा प्रदर्शनकारीहरु माथि टियर ग्यास र पेपर स्प्रे प्रहार गरेको भिडियो फुटेज सहितको टीभी समाचार हेर्दै छोरी सुनिस्काले मलाई सोधिन् ।
सामान्यतः पाँच दश जना मिलेर आन्दोलन गर्ने गर्दछन् यहाँ । बीस–पच्चिस जना हुनु भनेको त यहाँको लागि ठूलो जनसहभागिता हो । एक पटक ड्यूटीकै क्रममा सेङवानस्थित मेडिकल जादा हातले लेखेको एउटा ब्यानर बोकेर एक जना स्थानीय चिनियाँ घण्टौंसम्म चर्को घाममा सडक पेटीमा उभिरहेको देख्यौं । पछि बुझ्दा मालिकले कामबाट निकालेको र उचित क्षतिपूर्ति नदिएकोले आन्दोलनमा उत्रिएको रहेछ, उसको कुरा सुनेर हामी भरैसम्म सम्झी–सम्झी हाँसिरह्यौं ।
एक जनाले त आन्दोलन गर्ने यो देशमा दुई–चार जना भए त काफी नै हुन्छ । किन कि कसैलाई फुर्सद नै छैन आन्दोलन गर्न यहाँ । कामदारहरु काम घर, घर काम र व्यापारीहरु आफ्नो ब्यापार विस्तार मै व्यस्त हुन्छन् । नेपालीबीच एउटा चल्तिको उखान छ ‘नो काम नो माम’ । तर हिजो आज विवादस्तद सुपुुर्दगी विधेयकले भने खुबै चर्चा पाएको छ, लाखौं जनताहरुलाई यसले सडकमा उतारेको छ । आन्दोलनको शुरुवातीमा आन्दोलनकारीहरुद्वारा माग गरिएको सुपुर्दगी विधेयक त हङकङ सरकारले फिर्ता लिइसक्यो तर आन्दोलनरत पक्षको मागहरु भने अझ बढ्दैछन, अन्य चार मागहरु पूरा नभएसम्म आन्दोलन रोकिने छाटकाट देखिन्न ।
हङकङमा मात्रै नभएर यो आन्दोलनले विश्वलाई तानेको छ । खास कुरोको चुरो के हो ? हरेकको बुझाई अलग–अलग रहेको छ । नेपाली छापामा पनि यसले हेडलाइन पाएको छ तर समाचार प्राय सबै अड्कलबाजी मै रहेको पाउँछु । स्थानीय चिनियाँ मात्रै नभएर हङकङबासी नेपालीहरु पनि दुई धारमा उभिएको पाइन्छ । कोही हामी जस्तो सोझा सिधा गरी खाने साधारण जनताहरुलाई यो विधेयकले केही फरक पार्दैन भन्ने पक्षमा छन् भने कोही चाइनाको यो पहिलो कदम हो यसले हङकङलाई बिस्तारै तहसनहस नै बनाएर लान्छ । गम्भिर प्रकृतिका अपराधी मात्र नभएर मुख्य भूमि चीनको विपक्षमा बोल्नेलाई सिधै चीनको कानुन अनुसारको कार्बाही गर्नुको साथै भोलिका दिनमा गैर चिनियाँहरुलाई हङकङबाट लखेट्छन् भन्ने सम्मको बुझाई रहेको पाइन्छ । हुन त भोलि चीनले खेदाई हाल्छ भन्दै इन्सुरेन्स गर्न, एमपीएफ जम्मा गर्न र घर अर्थात फ्लाट किन्न डराउँनेदेखि अब दुई चार वर्ष कमाएर नेपाल फर्कन्छु भन्दै दशकौंसम्म हङकङमा बस्ने नेपालीहरु पनि नभएका भने होइनन् ।
आनदोलन बारे स्थानीय चिनियाँहरुबीचमै पनि मत भिन्नता रहेको पाइन्छ । कतिपय धनाढ्यहरुले यो विधेयक पारित भए आफ्नो व्यापार तहसनहस हुने भन्दै हङकङबाट सिंगापुर, जापान तथा युरोपियन देशहरुमा लगानी सार्ने भनिरहेका छन् । बोसको घरबाट सेन्ट्रलस्थित आन्दोलन स्थल हुदै अफिस आउने क्रममा कार पार्कबाट लिफ्ट चढेर जादै गर्दा हाम्रो टिम सुपरभाईजरले बोससंग हास्दै आन्दोलनको प्रसंग झिक्नु भयो । ‘हङकङ पिपुल इज सो स्टुपिड’ बोसले एकै वाक्यमा कुरा टङ्गयाउँनु भयो । लाग्यो अन्य चिनियाँ धनाढ्यहरुले यो आन्दोलनलाई सपोर्ट गरिरहेको भएता पनि तिनै धनाढ्य मध्येका एक हाम्रो बोसलाई भने यो आन्दोलन पटक्कै मन परेको रहेन छ ।
यो आन्दोलनलाई हेर्दा २०१४ मा यल्लो अम्ब्रेला ग्रुपले गरेको सेन्ट्रल अकुपाई आन्दोलनलाई सम्झाई दिन्छ । करिब १ महिनासम्म चलेको उक्त आन्दोलनले पनि यसै गरी विश्वको ध्यान खिचेको थियो । उक्त आन्दोेलनमा नेपालमा झै न कुनै त्यस्तो ठूलो तोडफोड भयो न कुनै मानिसको मृत्यू । तर यस पटकको आन्दोलनकारीहरु भने उग्र हुदै गएका छन् । एमटीआर, सपिङ मल लगायत धेरै ठाउँको भौतिक संरचना माथि प्रहार गरिरहेका छन् ।
‘सर नमस्कार ! हङकङमा त प्रदर्शन भइरहेको छ नि, त्यहाँको जनजीवनमा के कस्तो प्रभाव पारेको छ ? त्यहाँ नेपाली समाजको अवस्था के कस्तो छ,’ पत्रकार भीम देवानज्यूले नेपालबाट फेसबुक म्यासेन्जरमा सोध्नुभयो । प्रदर्शन त भइरहेछ सर तर निश्चित क्षेत्रमा । बाहिर सुनिए र समाचारले हल्ला गरेजस्तो खासै केही छैन । झन नेपालीहरु त यसबाट टाढै छन्, अहिलेसम्म आन्दोलनले प्रत्यक्ष रुपमा नेपालीहरुलाई खास छोएको छैन मैले वहाँलाई भने ।
हुन पनि त्यत्रो दश लाख बढी मानवसागर ओइरिएर गरिएको प्रदर्शनले पनि हङकङलाई खास असर पार्दैन । काम गर्नेहरु आफ्नो काममा व्यस्त छन् । विरोध प्रदर्शन गरिएको निश्चित क्षेत्रमा बाहेक अरुतिर यातायातका साधानहरु निर्वाध चलिरहेका छन् । अझ अचम्म त के छ भने विरोध प्रदर्शनस्थल नजिकका पसल र रेष्टुरेण्टहरुलाई त आन्दोलनले भाग्यै चम्काइदिन्छ । विरोध प्रदर्शनका क्रममा भोकाएका र तिर्खाएकाहरुले उनीहरुको व्यापार खुब राम्रो गरिदिन्छन् ।
सन् २०१४ को सेन्ट्रल अकुपाई आन्दोलनमा पनि आन्दोलन अवधिभर मिड लेभलमा बस्ने बोसलाई काउलुन साईडको अफिस लान ल्याउँन खुब घुमाउँरो बाटो प्रयोग गर्नु परेको थियो । यस पटक पनि आइतबार ड्यूटी नभएकोले दोस्रो पटक बुधबार आयोजित विरोध प्रदर्शनस्थल छलेर बेलुका बोसलाई घर लानु भने समस्यै पर्यो । विरोध प्रदर्शनमा दश लाख बढी मानिसहरुले सहभागिता जनाएको र दिन भर प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा प्रहरीद्वारा टियर ग्याँस र पेपर स्प्रे प्रयोग गरेको भिडियो तथा समाचारहरु सामाजिक सञ्जालभरी भाइरल बनिरहेका थिए ।
संयोगवस उक्त दिनको ड्यूटी टिम आईसी मै परेको थिएँ । चीनबाट आएका भीआईपी गेष्टहरुलाई कजवेको रिगल होटलमा ड्रप अफ गरेर बोसलाई घर लानु थियो । आन्दोलनको कारण सेन्ट्रल एरियातिर प्राय सबै रोडहरु ब्लक गरिएको रहेछ । यता जाउ ब्लक, उता जाउँ ब्लक । बल्लतल्ल ट्राफिक जाम पार गर्दै अगाडी बढेर हाइवे मात्र के पुग्नु उताबाट प्रहरीले प्रदर्शनकारीहरुलाई खेदाउँदै ल्यायो । कार अगाडि बढाउँनु त के यू टर्न गरेर फर्काएर लानु नै गाह्रो पर्ने भयो, रिभर्स गर्नु पनि पछाडी अरु कारहरुको ताँती । हजारौ प्रदर्शनकारीहरु त छाड र मछाड गर्दै होहल्ला सहित हामी भएतिर दौडिदै आए । बाहिर नदेखाए पनि भित्रभित्रै चै हामी सबै केही अत्तालियौं । किन कि आन्दोलनमा प्रदर्शनकारी र प्रहरी भन्ने वित्तिकै हाम्रो मन मष्तिस्कमा नेपालकै घटना आइहाल्छ । जहाँ दुवै पक्ष उग्र हुन्छन् । झडप, तोडफोड, लाठी चार्ज, गोली प्रहार, घाइते र मृत्यू बिनाको त कुनै आन्दोलन नै हुदैन उता ।
जनधनको क्षति बिनाको आन्दोलन नहुने परिवेशमा जन्मि हुर्केका हामीलाई डर लाग्नु पनि स्वाभाविक नै हो । अब कसरी बोसलाई सुरक्षित बाटोबाट सहि हालतमा घर प¥याउनु ? हाम्रो ध्यान त्यतातिर तानियो । पर्सनल बडीगार्ड, हाम्रो काम भनेकै बोसलाई ड्यूटी अवधी भर सुरक्षा दिनु हो । बिहान घरबाट निक्लिए पछि बेलुकी घर सुरक्षित तबरले पुर्याउँनु नै हाम्रो मुख्य काम र कर्तव्य हो । जसका लागि हङकङका धनाढ्यहरुले मिलियन डलर खर्च गरेर सयौंलाई रोजगारी दिइरहेका छन् ।
केही सेकेण्ड कार होल्ड गरेर अब कता जाने र के गर्ने भनी सोच्दासोच्दै आन्दोलनकारी मध्येकै ३–४ जना हाम्रो कार नजिक दौडिदै आएर मौ ह्वाई, चाउला चाउला… भन्दै अन्य आन्दोलनकारीको हुललाई ह्याण्ड सिग्नलले रोकेर ट्राफिकले झै हाम्रो कारलाई यु टर्न गरी फर्कन सहयोग ग¥यो । अघि आकै बाटो हुदै फर्किएर हामी माथिल्लो लेभलको खुल्ला र सुरक्षित बाटो समात्दै अगाडि बढ्यौं र बोसलाई सुरक्षित रुपमा घर पु¥याउँन सफल भयौं । सामान्यतः बीसदेखि तीस मिनेट लाग्ने बाटोमा उक्त दिन भने झण्डै डेड घण्टा बढी लाग्यो । जे होस् आन्दोलनको बीचमा फसेर पनि बोसलाई सुरक्षित तवरले घर पुर्याउँन सफल भयौं ।
आन्दोलनकारी भनेको त उग्र हुनु पर्ने तर यहाँ लाखौं आन्दोलनकारीहरु सडकमा उत्रिदा पनि अति नै संयमित हुने । दश लाख बढी आन्दोलनको भीडले सार्वजनिक बस, ट्राम, कार, एम्बुलेन्स र प्रहरीको भ्यानहरुलाई बाटो छाडिदिएको ड्रोन फोटो र भिडियो फुटेजहरु त सामाजिक संजालहरुमा भाइरल भइरहेछन् । आन्दोलनकारीहरु मात्रै नभई प्रहरीहरु पनि उत्तिकै संयमित भएर आफ्नो ड्यूटी पूरा गरिरहेका छन् । तर आन्दोलनका शुरुवाती दिनहरुमा आन्दोलनकारी र प्रहरीहरु जति संयमित बनेका थिए पछिल्ला दिनहरुमा दुवै पक्ष उग्र रुपमा प्रस्तुत भइरहेको देख्न सकिन्छ । तथापि नेपालमा भए यत्तिको आन्दोलनमा सयौं घाइते र दर्जनौको मृत्यु भइसकेको हुने थियो । करिब तीन महिना पुगिसकेको हङकङ आन्दोलनको क्रममा भौतिक क्षति भएता पनि मानवीय क्षति भने भएको छैन ।
गत अगष्ट महिनामा हङकङ साहित्यिक साझा श्रृंखलाको ८ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भयो । नयाँ समितिको चयन, विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मानसंगै सृजना वाचन समेत रहेको उक्त कार्यक्रममा छोरी सुनिस्काले पनि ‘म माया गर्छु’ शिर्षकको कविता वाचन गरिन् । सम्युक्त डान्स स्टुडियो मार्फत शिक्षिका शारदा गुरुङबाट केही महिना यता अतिरिक्त नेपाली कक्षा लिइरहेकी छोरी सुनिस्काले कविता वाचन त गरिन् तर जब मैले उसलाई सुहाउँने कविता कोरेर दिएँ उसले कविताको अन्तिम हरफ ‘म नेपाललाई माया गर्छु, म हङकङलाई माया गर्छु’ प्रति असन्तुष्टी जनाईन् । ड्याडी ह्वाट इज द मिनिङ अफ “म हङकङलाई माया गर्छु ?” नेपाली राम्रोसंग बोल्न र थोरै लेख्न पढ्न जान्ने भएता पनि अलि कन्फ्युज भएर होला उनले मलाई सोधिन् ।
म हङकङलाई माया गर्छु भनेको ‘आइ लभ हङकङ’ भनेको हो छोरी, मैले उनलाई प्रस्ट्याइदिएँ ।
“बट आइ डन्ट लभ हङकङ” छोरीले सटिक उत्तर दिइन् ।
“किन र ? तिमी त हङकङमै जन्मेको, यहीँ हुर्किदै छौं, यहीँको स्कुलमा पढ्दैछौं, यु ह्याभ टु लभ एण्ड रेस्पेक्ट हङकङ ।”
“किन भने यहाँ राम्रो छैन नि त अहिले । जहिल्यै प्रोटस्ट मात्रै हुन्छ । जताततै पिपुल र पुलिसहरु फाइट मात्रै पर्छ त्यै भएर म हङकङलाई माया गर्दिन, नेपाललाई मात्रै माया गर्छु ।”
मनमनै सोचे आन्दोलनले बाल मनस्थितिलाई समेत त्यति गहिरो असर पार्दो रहेछ । आशा छ सय दिनको हाराहारीमा पुगिसकेको हङकङ आन्दोलनले चाडै निकाश पाउने छ र हामी जस्ता अल्पसंख्यक सर्व साधारणले पनि विगतका दिनहरुमा झै ढुक्कसंगले आफ्नो रोजिरोटी गरि खान पाउने छौं । सुनिस्का जस्ता स–साना छोराछोरीले पनि हङकङलाई हिजो झैं माया र गर्व गर्ने दिनहरु आउने छ ।
सेप्टेम्बर ३, २०१९ ।