• सृष्टिवर्णन: मुन्धुम र मिथकहरू

  • लिम्बू जातिको सृष्टिवर्णन-मुन्धुम(बैरागी काइँलाद्वारा संकलित, सम्पादित, अनुवादित) अनुसार सृष्टिको उत्पत्तिको कथा र विज्ञानले तर्क गर्ने सृष्टिको उत्पत्तिको कथामा धेरै कुराहरू मिल्दाजुल्दा छन् । श्रुति र स्मृतिमा आधारित मुन्धुमहरू येबा र साम्बाहरूले विभिन्न अनुष्ठानहरूमा गाउँदै आएका हुन् । सृष्टिवर्णन(चइ:त् मुन्धुम) तीन दिन तीन रात लगाएर गरिने तङ्सिङमा पाइन्छ ।

    लिम्बू जातिमा पाइने मुन्धुमहरूलाई बैरागी काइँलाले लिम्बू भाषाबाट खस नेपाली भाषामा अनुवाद गरेर मात्रै होइन, येबा र साम्बाहरूको (आङमा देवता चढेर) उनीहरूले विभिन्न अनुष्ठानहरूमा गाएको मुन्धुम र अनुष्ठान विधिहरूलाई लेखन गरेर पनि मुन्धुमको अध्ययन क्षेत्र बढाइदिएका हुन् । मानव जातिको उत्थान या सोचको परम्परा बुझ्न वेद र उपनिषद् जत्तिकै महत्त्वपूर्ण छन् मुन्धुमहरू ।

    संसारको प्राचीन ग्रन्थ मानिने वेदको लेखन संस्कृत भाषामा ईसापूर्व ५०० तिर गरिएको मानिन्छ । त्योभन्दा अगाडि वेद पनि श्रुति र स्मृतिमा मात्रै सिमित थियो । होमरकृत इलियाड र ओडिसीको अस्तित्व पनि सुरुमा श्रुति र स्मृतिमा मात्रै थियो । ईसापूर्व ७०० तिर यसलाई ग्रिक भाषामा लेखन गरियो । संसारको पहिलो लिखित साहित्य चाहिँ मेसोपोटामिया(हालको इराक)को सुमेरियन सभ्यतामा पाइएको “इपिक अफ् गिलगमेश” हो जुन ईसापूर्व २७००तिर लेखिएको पाइन्छ ।

    मुन्धुम वेदजस्तै प्राचीन संज्ञान हो तर यसको लेखन कार्य धेरै पछि मात्रै हुन गएको छ । यसको मुख्य कारण भाषिक, राजनीतिक, आर्थिक र सामाजिक के हुन सक्ला त ? उत्तर खोज्ने जमर्को भएको पाइँदैन । यद्यपि इमानसिंह चेम्जोङले खस नेपाली भाषामा “किरातको वेद” नामक पुस्तक प्रकाशन गरेपछि लिम्बू मुन्धुमहरूले अन्य जाति र समुदायमा पनि परिचित हुने मौका पाएको छ । इमानसिंह चेम्जोङले सुरु गरेको यो अभियानलाई बैरागी काइँला (तिलविक्रम नेम्बाङ, पूर्व कुलपति नेप्रप्र)ले अझै विस्तारित र विकसित गरेको देखिन्छ । किरात राईहरूले पनि पछिल्लो समयमा मुन्दुमको संकलन, सम्पादन र आलेखन कार्यलाई तिब्र पारिरहेका छन् जुन आवश्यक थियो ।

    मुन्धुमहरू मध्ये सृष्टिवर्णन(तङ्सिङ मुन्धुम) सबैभन्दा महत्त्वपूर्ण मुन्धुम हो । बैरागी काइँलाका शब्दमा सृष्टिवर्णन मुन्धुम “विश्वब्रह्माण्डको उत्पत्ति र वनस्पति, जलचर, थलचर (पशु-पन्छी) तथा मान्छेको सृष्टिको आदिम इतिहासको आख्यान” हो । तीन दिन तीन रातको तङ्सिङमा सृष्टिवर्णनको गायन गर्ने गरिए पनि काइँलाका अनुसार “बुढापाकाहरू कुनै पर्व वा अवसरमा भेला हुँदाका बेला अथवा कुनै शुभकार्य वा दु:खका कार्यका अवसरमा जुटेका बेला” पनि सृष्टिको उत्पत्तिको बारे छलफल गर्ने गर्छन् ।

    वैज्ञानिकहरूका अनुसार पृथ्वीको उत्पत्ति साढे चार अर्ब वर्ष अगाडि भएको हो । तेस्तै पुरातत्वविदहरूले खनिखोजी निकालेका मानव हाडखोरहरूको वैज्ञानिक जाँचबाट मानव जाति(होमो सेपियन)को उत्पत्ति आजभन्दा पच्चीस लाख वर्ष अगाडि अफ्रिकाको इथोपियामा भएको अनुमान गरेका छन् । इथोपियाबाट मानव जाति फैलिएको बताउँछन् उनीहरू ।

    मानव जातिको उदगम स्थल अफ्रिका भएको हुँदा मानव विकासलाई बुझ्न अफ्रिकामा पाइने सृष्टि र मानव जातिको उत्पत्तिका मिथक या पुराकथाहरू बारे अध्ययन गर्न आवश्यक छ । लिम्बू जातिमा प्रचलित सृष्टिको उत्पत्ति लगायत अन्य मुन्धुमहरू अन्य जातिमा पाइने सृष्टिको उत्पत्तिका मिथकहरूसँग कतैकतै धेरथोर मिल्छ्न् । संसारका विभिन्न जातिमा पाइने सृष्टिको कथाहरू एकआपसमा थुरिएका पनि छन् । यसले के इङ्गित गर्दछ भने हिजो पृथ्वीमा घटेका घटनाहरू एउटै थिए । मुन्धुम या मुन्दुममा जस्तै अफ्रिकाका आदिबासीहरूले पनि विश्वब्रह्माण्ड बारे तेस्तै कथा हाल्ने गरेका छन् ।

    विभिन्न जातिमा पाइने मिथक या पुराकथाहरूलाई विज्ञानको केन्द्र मानेकी छिन् मेरी मिडग्लेले आफ्नो किताब “द मिथ्स वि लिभ बाइ”मा । मेरी अझै अगाडि थप्छिन्-

    “”मिथक झुठ होइनन् । न ती टुटेका कथाहरू नै हुन् । ती त कल्पनात्मक ढाँचा हुन्, शक्तिशाली प्रतीकहरूको यस्तो संजाल हुन् जस्ले संसारको व्याख्या गर्ने निश्चित बाटो सुझाउँछ ।”

    लिम्बू जातिमा पाइने मुन्धुमहरूको अध्ययनबाट उक्त जातिमा पाइने जीवन र जगत चिन्तन बारे प्रष्ट हुने कुरा त छँदैछ; सिङ्गो मानव जातिका लागि नयाँ दर्शनको सम्भाव्यता पनि खोतल्न सकिन्छ । यति मात्रै होइन, जीवन र जगत दर्शनमा यति सम्पन्न हुँदाहुँदै लिम्बू समाज पछि पर्नुको कारणहरू पनि छर्लङ्ग हुनेछन् ।

    सृष्टिवर्णनमा के छ ?

    स्टेफन हकिङ्सको बिङब्याङको सिद्धान्त अनुसार ब्रह्माण्डको उत्पत्ति महाविस्फोटबाट भएको हो ।

    तङ्सिङ मुन्धुममा गायन गरिने सृष्टिवर्णन अनुसार सुरुमा महाशून्य या महारिक्तता मात्रै थियो अरु केही पनि थिएनन् । यो महाशून्यमा ईश्वर आफ्नै ईच्छाले प्रकट भए । अनि ईश्वरले सृष्टिको सुरु गर्छन् । तर, ईश्वरले सम्पूर्ण सृष्टि गर्दैनन् । ईश्वरले ब्रह्माण्ड, जून, घाम, तारा, नक्षत्रहरू, शुक्र तारा, समुन्द्र, आगो, वायु, पृथ्वीसम्म बनाउँछन् । तेसपछि आफ्नो मानसपुत्र पोरोक्मिबा यम्भामिबालाई बाँकी कार्यभार सुम्पिन्छ्न् ।

    पृथ्वी रित्तो हुन्छ । त्यो रित्तो पृथ्वीमा पोरोक्मिबा यम्भामिबाले पहाडपर्वत, वनजंगल, नदीनाला, थलचर, जलचर, पशु-पन्छी, फूलफलेदो, किटपतङ सबैसबै बनाउँछ । पोरोक्मिबाले नै मान्छे पनि बनाउँछ । सुरुमा पुरुष बनाउँछ । पुरुष बनाइसकेपछि नारी बनाउँछ । बाइबलको मिथकमा ईश्वरले आदम(पुरुष) बनाइसकेपछि उसैको करङबाट इभ(नारी) बनाएको पाइन्छ । तर लिम्बू जातिको सृष्टिवर्णन अनुसार नारीलाई पनि पुरुषलाई जसरी नै छुट्टै माटोले बनाएको पाइन्छ ।

    ईश्वरले पूरा गर्न नसकेको सृष्टिको रचनालाई आफ्नो छोरा पोरोक्मिबामार्फत पूरा गराएको मिथक आफैमा सुन्दर आद्यबिम्ब हो । यसलाई बाबुको सपना छोराले पूरा गर्नुपर्ने अथवा अघिल्लो पुस्ताले पूरा गर्न नसकेको कार्य पछिल्लो पुस्ताले पूरा गर्नुपर्ने सङ्केतका रूपमा बुझ्नुपर्ने हुन्छ । ईश्वरले प्रदान गरेको ज्ञानकै आधारमा पोरोक्मिबाले सृष्टिको बाँकी कार्यभार पूरा गर्छन् ।

    मुन्धुममा वर्णित ईश्वर सोचविचार गरिगरिकन चल्ने एउटा यस्तो सर्वशक्तिमान पात्र हो जसले आगोलाई ध्यानद्वारा उत्पन्न गर्छन् । आगोको उत्पत्ति बारे विभिन्न धर्म र जातिको आआफ्नो कथा पाइन्छ । प्रमिथसले स्वर्गबाट आगो चोरेर ल्याएको भनिन्छ । अफ्रिकाको पिग्मी जातिमा पाइने मिथक अनुसार पिग्मीले चिम्पान्जीबाट आगो चोरेको पाइन्छ ।

    मुन्धुम अनुसार ईश्वरको अस्तित्व सर्वशक्तिमान र स्वैच्छिक प्रवृत्तिको देखिन्छ । अनदेखा ईश्वरको अवधारणा(शक्ति) हिन्दु, क्रीस्चियन, मुस्लिम लगायतका धर्महरूले उभ्याएको ईश्वरसँग मिल्दछ, तर देवताहरूको स्थापना बेगलबेगल छन् । हिन्दु मिथोलोजीमा ब्रह्माले सृष्टि गर्छन्, विष्णुले संरक्षण गर्छन् र शिवले नाश गर्छन् । कामको बाँडफाँड यसरी भएको छ ।

    यसकारण मलाई लाग्छ हामीले मुन्धुम या मुन्दुमको वैज्ञानिक अध्ययन गर्दा विश्वका अन्य जाति या समुदायमा प्रचलित मिथक र विश्वासहरू पनि हेर्न जरुरी छ । तब मात्र हाम्रो समाज पनि गतिशील हुन्छ । प्रकृतिपूजक किरातहरूले आफ्ना मिथक र विश्वासहरूलाई समय अनुसार व्याख्या गर्दै लान उत्तिकै अपरिहार्य छ । नत्र किरातहरू पनि अष्ट्रेलियाका आदिबासीहरू जस्तै ‘दारुवाद’को शिकार हुनेछन् । किरात मुन्धुम या मुन्दुमले मानव ज्ञानको कुरा गर्छ दारुको कुरा गर्दैन ।

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad