ओहो, त्यो जुत्ताको माला
“जापानिज, ए जापानिज ! स्कूल हिँडिस् ? ल ठीक छ, राम्ररी पढ् है ।” “ओहो, जापानिज आयो है, स्कूल जाँदैछ । हेर त यसको अनुहार पनि ठ्याक्कै जापानिज जस्तो छ ।…”
त्यो बेला म परेँ, एउटा स्कूले बालक । जब म किताब कापी च्यापेर विद्यालयतिर गइरहेको हुन्थेँ, एक जना अग्रजबाट यस्तै सम्बोधन पाउने गर्थेँ । यसमा कुनै व्यङ्ग्य नभएर प्रेमभाव भएको अनुमानका आधारमा म मख्ख पर्थेँ । यस्तै सोचेर मख्ख पर्दै एक्लै मुसुमुसु हाँस्थेँ । “आहा, म पनि जापानिज जस्तो !”
जब मैले कक्षा ३ उत्तीर्ण गरेँ, तब विद्यालय फेर्नुपर्ने भयो । म पढिरहेको गणेश प्राथमिक विद्यालयमा कक्षा ३ सम्मको मात्र पढाई हुन्थ्यो । तत्कालिन शैक्षिक व्यवस्था अनुसार जब मैले कक्षा ३ उत्तीर्ण गरेँ, त्यहीँ सालबाट कक्षा ५ सम्मलाई प्राथमिक शिक्षा तोकियो । तर म पढेको विद्यालयमा केवल कक्षा ३ सम्म पढाई हुन्थ्यो । त्यसैले मैले अर्को विद्यालयमा स्थानान्तरण हुनु अनिवार्य थियो ।
धनकुटा नगरको पनि अलि ग्रामीण भेगजस्तो लाग्ने वारीपात्लेस्थित तत्कालिन भाषा निम्न माध्यमिक विद्यालय रोजेँ मैले । केही साथीहरुले बजारतिरको विद्यालयमा पढ्न जाऊँ भनी धेरै कर गरे । तर मैले मान्दै मानिनँ ।
इतिहास अध्ययनतिरको मोहका कारण मैले आफूलाई ‘इतिहासप्रेमी’ भन्ने गरेको छु । एउटा मीठो संयोग, मैले पनि त्यस्तो ऐतिहासिक विद्यालय रोजेछु, जुन नेपालको तेस्रो पुरानो विद्यालय हो, जसले २०५७ मै शतवार्षिकी मनायो । हालः यहाँ स्नातक तहसम्मको पढाई हुन्छ । पहिलो काठमाडौंको दरबार हाइस्कूल, दोस्रो भोजपुर दिङ्लाको षडानन्द मावि र तेस्रो मैले पढेको धनकुटाको भाषा निमावि ।
कक्षा १ बाट २ मा जाँदा म दोस्रो भएँ, कक्षा २ बाट ३ मा जाँदा पहिलो भएँ । कक्षा ३ बाट कक्षा ४ मा पुग्दा पनि पहिलो भएँ । तर ममा कक्षामा आफूले पाएको स्थानबारे कुनै पनि प्रकारको घमण्ड थिएन । तर मलाई पर्यवेक्षण गर्नेहरुको मप्रतिको आफ्नै मूल्याङ्कन रहेछ । जब म विद्यालयतिर उक्लिरहेको हुन्थेँ, तब एक जना दाइ आगनमा बसेर तिखो स्वरले भनिहाल्थे,“ल है जापानिज आयो, यसको अनुहार ठ्याक्कै जापानिज जस्तो छ । यसको पढाई पनि राम्रो छ ।”
कुरा हो, २०४० साल मंसिरको । कक्षा ५ मा पढ्थेँ । त्यहीँ सालदेखि कक्षा ५ मा जिल्ला स्तरीय परीक्षा सुरु भयो । जब परीक्षा दिएर घर फर्किरहेको हुन्थेँ, तब उनै मलाई ‘जापानिज’ भन्ने दाइ बाटामा भेटिइन्थे । उनी भन्थे,“खोई हेरौँ त तेरो क्वइसन पेपर ।” म थपक्क गोजीबाट झिकेर आफूले परीक्षा दिएर आएको प्रश्नपत्र उनको हातमा सुम्पन्थे । उनी एक एक गरेर प्रश्नपत्रका प्रश्नहरु जवाफ मसँग माग्थे । म पनि कुनै अलमल नगरीकन प्रश्नको उत्तर दिन्थेँ ।
“लु यसले बिताउने भएछ”, ती दाइको छेउमै रहेका उनका दाइ (मामाको छोरा) ले प्रतिक्रिया जनाए ।
त्यो सालदेखि मैले रामप्रसाद वाग्ले (हालः नेपाल सरकारका उपसचिव)लाई दोस्रो स्थानबाट पछ्याइरहेँ, भाषा निमाविमा पढुन्जेल । एउटा गजबको प्रसङ्ग चाहिँ वाग्लेले मलाई पढाईमा पछाडी पारे पनि उनीसँग जति कविता प्रतियोगितामा म भिडेँ, उनी कहिल्यै पुरस्कृत भएनन्, मैले चाहिँ पहिलो स्थान ओगटी रहेँ, त्यो बेला । त्यहीँ लक्षणका कारण उनी हालः निजामति सेवाका प्रशासक छन्, म चाहिँ एउटा सामान्य लेखक । लेखनको सुरुआती दिन आफू कवितातिर आकर्षित भएर होला, साह्रै भावुक भइएछ, कहिल्यै निजामति सेवामा जाने रहरै पालिएन ।
ती मायालु दाइ
एक समय मैले पासाङ ल्हामु मेमोरियल कलेजमा पढाएँ, आमसञ्चार तथा पत्रकारिता विषय । आठ वर्षको प्राध्यापक अनुभव संगाल्ने अवसर पाएँ । विद्यार्थीलाई प्रयोगात्मक भ्रमण गराउनु पर्ने थियो । विषय आमसञ्चार तथा पत्रकारिता भए पनि म आफू इतिहास र पुरातत्व विषयको अतिरिक्त जिज्ञासु परेँ । आमसञ्चार माध्यममा पनि यस्तै विषयहरुले स्थान पाए, राष्ट्रिय गौरव होला भन्ठान्थे । त्यसैले उनीहरुलाई बुढानिलकण्ठ लगेर एउटा वृत्तचित्र बनाउने योजना बनाएर त्यसतर्फ जाँदै थिएँ गोँगबुबाट बुढानिलकण्ठतिर हिडिरहेका हामी महाराजगञ्जमा गाडीबाट उत्रियौँ ।
“सर, गाडीमा नजाऔँ, बरु हिड्दै जाऔँ न”, गाडीभित्रै एक विद्यार्थीको प्रस्ताव । सुमी गुरुङको यस्तो प्रस्ताव आएपछि म आफू अलमल्ल परेँ । अरु विद्यार्थीलाई सोध्दा उनीहरुले पनि हिँड्दै जाने पक्षमा सहमति जनाए । त्यसपछि हामी महाराजगञ्जबाट बुढानिलकण्ठतर्फको पैदलयात्री भयौँ । उनीहरु चाहन्थे, फुक्काफाल पैदल यात्रा, हाँस्दै, खेल्दै रमाउँदै हिड्नेगरी ।
जब मैले महाराजगञ्जबाट दुई पाइला सारेँ, एक जना आत्मीयको सम्झना भइहाल्यो । मोबाइल झिकेर भनेँ,“दाइ तपाई कहाँ हुनुहुन्छ ? म तपाईँ भएतिरैबाट आउँदैछु है ।”
“लु भाइ, म बाटोमा पर्खिरहेको हुनेछु”, दाइको जवाफ ।
ती दाइलाई टाढैबाट देखिहालेँ । दाइसँगको एकछिनको भलाकुसारी हुँदै थियो, साथमा रहेकी एक छात्रा सरिता पाण्डेले त एउटा प्रस्ताव पो राखिन्, “सर, आज चटपटे खाने ।” त्यसपछि उनै दाइको पसलमा हामीले केही सपिङ गर्यौँ । सोचेँ, आज ड्राइ पिकनिक हुने भयो । बुढानिलकण्ठको नारायण मन्दिरमा सुटिङ सकिएपछि शिवपुरी क्षेत्रमा हाम्रो अध्ययन यात्रा ड्राई पिकनिकतिर मोडियो ।
त्यो भेटपछि प्रत्यक्ष दाइसँग मेरो भेट हुन पाएको छैन । तर उहाँले मप्रति व्यक्त गर्नुभएको शब्दहरु मेरा लागि भावपूर्ण थिए । दाइले भनिरहनु भएको थियो,“ओहो, राजकुमार भाइ ! कति खुसी लाग्यो आज भाइलाई आफ्ना विद्यार्थीहरुसँग यसरी हिडिरहेको अवस्थामा भेट्दा ।” मेरो कानमा चाहिँ त्यतिखेर गुन्जिरहेको थियो,“जापानिज, ए जापानिज ! हेर त यो जापानिज जस्तै छ ।”
सायद ती दाइ त्यो बेला त्यस्ता एक स्वप्नजिवी, जो नेपाललाई जापान जस्तै विकसित देख्न चाहनुहुन्थ्यो, त्यसैले म र मजस्ताहरुमा उहाँले जापानी अनुहारको प्रतिविम्व पाउनु हुन्थ्यो । अहिले देश जस्तोसुकै अवस्थामा भए पनि भविष्यमा जापानजस्तै बन्ने सपना चाहिँ देख्न नछाडौँ । जापान र नेपालबीच एउटा समानता चाहिँ पक्कै छ, त्यो हो यी दुई देशमा भूकम्प आइरहन्छ । उता चारवटा प्लेट जुध्छ र भूकम्प आउँछ, यता दुई वटा प्लेट जुध्छ र भूकम्प आउँछ । मलाई यस्तो प्रेमपूर्ण सम्बोधन गर्ने दाइ अर्थात विजयमान श्रेष्ठ ।
वकीललाई जुत्ताको माला
बालकै थिएँ, तर विजय दाइहरुको गतिविधि संवेदनशील भएर हेरिरहन्थेँ । दाइको घर प¥यो, हाम्रो टोलभन्दा थोरै माथिको टोल । कागते पोखरीबाट अलि तल । उहाँ बजार क्षेत्रतिर पढेर वा अन्य कुनै गतिविधि गरेर फुत्त हाम्रो घरमा छिर्नुहुन्थ्यो । बालबालिका र वृद्धवृद्धासँग पनि असाध्यै घुलमिल गर्न रुचाउने उहाँ मेरा बुबासँग पनि निक्कै आत्मियतापूर्वक कुराकानी गर्नुहुन्थ्यो । मूलघर त भइहाल्यो, हाम्रो अर्को घरमा पनि विजय दाइको उपस्थिति रहने गरेको थियो । त्यो अर्को घर त तत्कालिन माले पार्टीका लागि दिइएको सेल्टर थियो ।
विजय दाइ एक साँझ बडो उत्साहसाथ हाम्रो घरभित्र प्रवेश गर्नुभयो, मेरा बुबालाई नमस्कार गर्दै भन्नुभयो,“कप्तान बा, सञ्चै हुनुहुन्छ ?”
“अँ, भन्, के गर्दैछस् तँ ?” बुबाको सोधाई । बुबाको पुच्छरजस्तो त्यहीँ थिएँ म ।
“आज त, रामप्रसाद सिटौलालाई जुत्ताको माला लगाएर घुमाइयो नि !” विजय दाइले जोसिदै भन्नुभयो ।
सिटौला त्यतिखेर धनकुटा नगरका स्थानीय मोहनप्रसाद पोखरेलसँग मिलेर ल फर्म चलाउँथे । उनी खाटी काँग्रेसी थिए । तर पोखरेल चाहिँ बामपन्थी पृष्ठभूमी भएका र पञ्चायत प्रवेश गरिसकेका मानिस । एक पटक उनले धनकुटा नगरको प्रधानपञ्च जिते, सूर्यबहादुर थापाको प्यानलबाट । २०४३ सालमा उनी राजेन्द्र प्रधानको निकटतम प्रतिद्वन्द्वीका रुपमा पराजित भए ।
मलाई विजय दाइले सुनाउनुभएको पोखरेलका ल फर्मका साझेदार सिटौलालाई जुत्ताको माला लगाएर नगर परिक्रमा गरिएको विषय चाहिँ विशेष सम्झनायोग्य लागेको छ । कुरा के परेछ भने स्ववियू निर्वाचन आउनै लागेको थियो । पेशागत रुपमा स्थापित हुन खोजिरहेका अधिवक्ता सिटौलालाई पनि स्ववियू निर्वाचन लागेछ । उनी विवाद गर्न पुगेछन्, काजीमान साम्सोहाङ र वीरबहादुर लिम्बूको डेरामा । उनीहरु दुवै त्यसबेला माथिल्लो कोप्चेको लामो समय नेपाल बैंक लिमिटेड रहेको हरिनारायण श्रेष्ठको घरमा डेरा गरी बस्थे । दुवै ताप्लेजुङबाट उच्च शिक्षा पढ्न धनकुटा आइबसेका र अखिलका जल्दोबल्दो कार्यकर्ता ।
“कुटौं यसलाई”, वीरबहादुर तम्सिएछन् । काजिमानले सम्झाएछन्,“हाओ, भोलि कुरा गरौँला !”
भोलिपल्ट अखिलका कार्यकर्ताहरुको रगत तातियो । उनीहरु मध्ये केही धनकुटा गौँडामा रहेका तत्कालिन क्षेत्रीय अदालत पुगे । त्यहाँ बहसका लागि पुगेका थिए, अधिवक्ता सिटौला ।
“लु, हामीसँग एकछिन छलफल गर्न जानु प¥यो ।”, गोविन्द सुब्बा यसो भन्दै क्षेत्रीय अदालत पुगे । सुब्बाका साथमा अरु विद्यार्थीहरु पनि थिए ।
उनीहरुले सिटौलालाई धनकुटा क्याम्पसमा ल्याए । त्यो बेला धनकुटा क्याम्पसको हालको भवन बनिसकेको थिएन । सल्लेरीस्थित हालको प्राध्यापक निवासमा क्यापसको पठनपाठन हुने गरेको थियो । त्यहीँ ल्याएछन्, अखिल कार्यकर्ताहरुले सिटौलालाई । अनेकौ प्रश्न सोधेर ¥याख¥याख्ती पारेछन् । त्यो प्रश्नोत्तर त एउटा निहुँ न थियो । त्यसपछि उत्तर चित्त बुझ्दो नभएको भन्दै काजीमान र गोविन्दहरुले सिटौलालाई जुत्तामा माला पहिराए । अनि पुरा नगर परिक्रमा गराए । यसमा अघिसरा चाहिँ गोविन्द सुब्बा नै हुनुहुन्थ्यो । त्यसको भोलिपल्ट नेवि संघले सिटौलाको शिर उठाउनी गर्दै फूलको माला पहिराई अवीरजात्रा गराएर धनकुटा नगर घुमायो ।
त्यो बेला विजय दाइ गोकुण्डेश्वर माध्यमिक विद्यालयमा पढ्दै हुनुहुन्थ्यो । त्यस विद्यालयमा प्रेम राईको नेतृत्वमा स्ववियू निर्वाचन हुँदा विजय दाइ सचिवमा निर्वाचत हुनु भयो भने, हालका धनकुटाका प्रतिनिधि सभा सदस्य राजेन्द्र राई सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसपछि समशेर राई र राजेन्द्र राई स्ववियू सभापति हुनुभयो । सिटौलालाई क्याम्पसमा ल्याएर प्रश्नोत्तर गर्दा नजिकैको विद्यालयबाट विजय दाइहरु क्याम्पस पुग्नुभएको थियो । विजय दाइ स्कूले विद्यार्थी हुनुहुन्थ्यो । त्यो बेला क्याम्पसमा स्ववियू निर्वाचन लागेको थियो । यस्तो बेला यो घटना भयो । त्यहीँ साल सम्पन्न स्ववियू निर्वाचनमा नारायण डाँगी सभापति वीरबहादुर लिम्बू उपसभापति र गोविन्द सुब्बा सचिवमा निर्वाचित हुनुभयो ।
बहुदलपछि सुब्बाले नेपाल काँग्रेस रोज्नुभयो र २०४९ सालको स्थानीय निर्वाचनमा धरान नगरपालिकाको मेयरमा काँग्रेसबाट टिकट पाएर तत्कालिन एमालेलाई आच्छु आच्छु पार्नुभयो । पछि त्रिभुवन विश्वविद्यालयमा स्थायी हुनुभयो र प्राध्यापकसम्म हुनुभयो । साइनोमा मेरो सोल्टी उहाँ अहिले प्रदेश नम्बर १ को प्रमुख हुनुहुन्छ । त्यहीँ प्रदेशको अस्थायी राजधानी विराटनगरमा वरिष्ठ अधिवक्ताका रुपमा सिटौला चाहिँ ल फर्म चलाएर बस्नुहुन्छ । उहाँ हालः न्याय परिषद्को सदस्य हुनुहुन्छ ।
एक दिन धरानमा पत्रकार दाइ हर्ष सुब्बाको घरमा भेट हुँदा गोविन्द सर भन्दै हुनुहुन्थ्यो,“हाओ, समय बलवान हुन्छ है !” यतिखेर म सुब्बा, सिटौलासँगै आनन्दसन्तोषी राईलाई पनि सम्झिरहेको छु । सुब्बा र राईले बहुदल आएपछि सिटौलाले उहिल्यैदेखि समातेको पार्टीलाई समाते । समय बलवान रहेछ, सुब्बालाई त समयले कहाँ पु¥यायो कहाँ ?
धनकुटाका पुराना बामपन्थी हाल नेपाली काँग्रेसका नेता आनन्द सन्तोषी राईले बेलाबेलामा उहाँकै पुराना इतिहासका फोटाहरु फेसबुकमा टाँसेको देख्न पाउँदा मलाई यस्तो तुलना गर्न मन लाग्छ । आनन्द सन्तोषी दाइ काँग्रेसको अवसरविहीन नेता, त्यसैले उहाँले पुराना फोटोहरु फेसबुकमा राखेर विगतको सम्झना गरिरहेको अनभूति गर्छु म ।
यता त्यो बेलाको साक्षी विजय दाइमा भने कुनै महत्वाकाँक्षा छैन । गुनासो पनि छैन । पञ्चायती कालरात्रीका जूनकिरीका यी रुपलाई पुराना इतिहासका पाना पल्टाउँदै भेटघाटमा हेलो हाई गरे पुग्छ । बेलाबेलामा सञ्चो विसञ्चो सोधे पुग्छ । उहाँ काठमाडौबाट फेरि धनकुटा फर्कनु होला र कसैको भाग खोसिदेला भन्ने डर मान्नु पर्दैन । विजय दाइहरु त कालरात्रीबाट देशलाई उज्यालोतिर डोर्याउनका लागि त्यो आन्दोलनमा होमिनुभएको हो, कुनै पद प्रतिष्ठा पाउनका लागि होइन । यस्ता इमान्दारहरुको इतिहास मेट्ने अधिकार कसैलाई छैन । जस्तो, त्यो समय रेख ब्लोन र डम्बर सुब्बाहरुले गाएको एउटा गीतको टुक्रा मलाई अहिले पनि यसरी नै गुन्गुनाउन मन लाग्छ:
के हामी पाटीमा लेखिएका खरी अक्षर हौँ ?
जो लेखेर मेटे हुन्छ ?