• आदित्य र तमन्ना बने लिटिल स्कुल स्टार

  • बुटवलमा आयोजित लिटिल स्कुल स्टारको उपाधि आदित्य श्रेष्ठ र तमन्ना लम्सालले जितेका छन् । विजेता दुवै एभरेष्ट इंगलिस बोर्डिग स्कुलका हुन् । अन्तरनिहित प्रतिभा प्रस्फुटनका निमित्त आयोजित उक्त प्रतियोगितामा स्थानीय विद्यालयका ६० विद्यार्थीहरुले सहभागिता जनाएका थिए । करिव एक महिनाको प्रशिक्षणमा विभिन्न चरण पार गर्दै सहभागीहरु फाइनल पुगेका हुन् ।

    गायनमा रुचि राख्ने ११ वर्षीय आदित्यले शिर्ष उपाधिसँगै मोस्ट ट्यालेन्टको उपाधि पनि चुमे । हङकङमा जन्मिएका आदित्यले कक्षा ३ सम्म जोर्डन प्राइमरी स्कुलमा पढेका हुन् ।

    प्रदेश पाँचको राजधानीमा गत बुधबार आयोजित यसै प्रतियोगितामा ब्लेस सुवेदी र दिप्सा कर्माचार्य फस्ट रनरअप र स्मृत खत्री र क्रिस्टिना थापा मगर सेकेण्ड रनरअप बने । गृवाण सिंह क्षेत्री र किरण जिसी भिवर्स च्वाईस बनेको प्रतियोगितामा अर्गनाईजर च्वाईस युनेश घताने र लिसा थापा मगर बने । भिवर्स च्वाईस विजेता मध्य गृवाणले साईकल र किरणले थाइल्याण्ड टुरकाे पुरस्कार जितेका छन् ।

    प्रमुख निर्णायक नायिका प्रियंका कार्की र आयुष्मान जोशीको उपस्थितिले प्रतियोगितामा बेग्लै उत्सुकता थपेको थियो । यी दुवैले आफ्नो बाल्यकाल स्मरण गर्दै प्रतियोगी बालबालिकाहरुलाई उत्कृष्ट प्रतिभा प्रर्दशन गर्न हौंस्याइरहे । राजीव भूषाल, दुर्गा थापामगर र लक्ष्मण छन्त्याल अन्य निर्णायक रहेका थिए ।

    आयोजक एसपीएम क्रियशन रुपन्देहीका अध्यक्ष पवन आचार्यले बालबालिकाहरुले राम्रो प्रर्दशन गर्न सकेकामा खुशी प्रकट गर्दै यसलाई निरन्तरता दिने जनाए । यस्ता कार्यक्रमले बालबालिकाहरुको क्षमता अभिवृद्धिमा ठुलो सघाउ पुग्ने प्रमुख अतिथि समेत रहेकी प्रदेश नम्बर ५ की सांसद कमलादेवी विश्वकर्माले बताईन् । कोरियोग्राफर समेत रहेका रेशम न्यौपानेले संचालनमा गरेको कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु पनि देखाइए ।

    तस्बिर: एसपीएम क्रियशन

  • कमेन्ट गर्नुहोस्