खाजा गफ
छुट्टी मिल्नासाथ कहीँ न कहीँ हाइकिङ वा भेट्नु पर्ने ! घुम्ने समय वा हाइकिङ जान सम्भव नभएको खण्डमा भने कहिलेकहीँ स्टारबक क्याफे वा कुनै पायक पर्ने पार्कतिर भए पनि भेट हुन पर्ने हाम्रो ! मिलेसम्म तीन जनासंगै हिड्ने हुनाले चिनेजानेकालेसम्म दुई जना बाहेक अर्कीलाई नदेखे ‘अर्की खै ?’ भन्ने प्रश्न गर्नु पनि सामान्य भैसकेको छ । पहिलो पटक इन्द्र मैयालाई तिन सुई ह्वाइको डाँडा चढ्ने बेलामा भेट्यौं । दुई जना, म र लोकु दि ! त्यस दिनपछि बोलचाल सुरु भएको हाम्रो भेटघाट निकै बाक्लिदै आयो । यस्तैयस्तै भेटहरुले कहिले स्टेन्ली/ साईकुङ टू साईवान त कहिले लायन रक अनि कहिले क्यासल पिकदेखि हो पुई रिजभ्वेयरसम्म साथ दिएको छ ।
व्यस्त र कोलाहलमय निसासिदो हङकङ शहर ! प्रविधि र विकासले संसारको आठौं विकसित शहर भनेर चिनिने । र नै यहाँका मान्छेहरु मेशिन जस्तै लाग्छन् ! उज्यालो भए पनि ननिदाउदासम्मको भागाभाग । कोही बिलिनियर्स कोही मिलिनियर्स ! सबै सडकमै ! कहिले कहीँ व्यस्त सडकको रेलिङमा बसेर एकोहोरो भागिरहेको भीडलाई हेर्छु ! कस्तो हताशा । अनुहारमा एक रत्ती रौनक नै छैन । तैपनि कृत्रिम कस्मेटिकको धुलोले रंगाएको आधा गाला ! हातमा सिग्रेटको खिल्ली ! एक छिन अघिसम्म प्रेमिकाको ओठ चुमेजस्तो चुमेको सिग्रेटलाई भुइँंमा बजार्नु र सकेसम्म बल लगाएर खुट्टाले माड्नु ! कस्तो अचम्म ! त्यही सिग्रेट ओठमा हुन्जेल चुम्ने र भुइँमा फ्याँकेपछि ….. । महिना नबित्दै पोस्ट बक्समा भरिएका बिलहरुको मर्चेन्ट कोड जस्तो निधारको बीचमा परेको धर्का । मन र भावनाको उपस्थिति त्यो भीडमाझ कतै देख्दिनँ । ल भो नहेरौं ! यस्तो भागाभागमय, कोलाहलमय भीडले त चाडै तनावग्रस्त पार्ला कि … कहिले निको नहुने रोगको मुखमा हुल्नेगरी ! कन्ट्रक्सनको ड्रील मेशिन, प्यानलको नम्बर, स्कापफोल्डिङमा झुन्डिएको जस्तो यो भीडले रोग निम्त्याउन के बेर र …
तर निराश त हुनुहुन्न !
यी सबै झेलझालबीच पनि गुलाफ जस्तै कोमल मन भएका भावनाहरु जीवित नै छन् नि आखिर ! कुरुप भीडमा एक शान्त लहर पनि त बाँच्दछ । जो जीवनका आरोहाअवरोहमा आइपर्ने उतारचढावले जन्माएको निराशाको गर्भलाई हुर्कन दिदैन । त्यो कुनै कन्ट्रक्सन कम्पनीले ठेक्का लिएको प्रोजेक्ट पनि त होइन । त्यो त हामी आफै हौं ! हाम्रो भाव हो । हामीभित्र बनेको भावना र आत्मियताको समाज ।
त्यही भावना र आत्मियताले गाँसेको त हो हामी तीन जनाबीचको साइनो ! त्यो दिन बिहान पनि हामी भेट्यौं ! भेटको सल्लाह अनुसार युङलोङ पार्क जाने उतै नास्तापानी गर्ने पक्का भएको थियो । उनीहरु दुई जना अलिक छिटो पुगेछन्, म ढिलो । भेटपछि मनमा अटेका जति सबै कुराकानी गर्यो, हल्का शरीर तन्काई पनि भो । बडो रमाइलो लाग्ने ती हरेक भेटहरु ।
बिहानको भेट। फर्कने बेला बाटोमा पर्ने चिना रेस्टुरेन्टमा चियानास्ता नै गर्ने निधो गरियो । एक जना भेज दुई जना पक्का ननभेज हामी । गफिदै चियादेखि नास्ता मगाइयो । यताउता टाउको फर्काइयो कोही देखिएनन् । ढुक्कले हाँस्न पाइयो, बोल्न पनि मन लागेको जति पाइयो। भेट भएदेखि आफ्नो कुरा सुनाउन पालो कुर्नको झन्झट नहुने ! एउटाको कुरा सकिन नपाउदै अर्कोको सुरु । मगाए अनुसारको चिया आयो । नास्ता पनि आएछ क्यारे ! गफमा मग्न हुँदा चिया निलेको, नास्ता सकेको पत्तो हुने भए त मरिजाम ।
तीन जनाको गफ । फलानाको स्टाटस अनि लेख । फलाना नेताको समर्थन र विरोध । पत्रकार फलना यस्तो हुन् भन्दै सकेसम्मको बल लगाएर गफियौं । बेस्सरी ताल आउदै थियो गफको । लेडिज गफ हो, गफिने लिमिट कहाँ हुन्छ र । सबै लोकल चाइनिज मात्रै । नेपालीमा बोलेको बुझ्दैन । बाहिर यस्तै सोचले मस्त थिइयो कि हामी ….. ।
रेस्टुरेन्टको भित्रबाट ‘कोही’ मुस्कुराउदै निस्किएर गयो । फोनमा कसैलाई ल आइपुगेँ भन्दै । केही बेरसम्म कोही नेपाली छैन भनेर संस्थादेखि वरिष्ठ, कनिष्ठ प्रवृत्तिका बारेमा गरिएका कुरा जति अचानक दिमागमा रिवाईन्ड हुन लागे ! तीनजनाको हाँसो भने अब पज भयो । हैन बोलिसकेको कुरा, सुन्न मिल्ने जति मात्रै अरुले सुन्न किन नमिलेको होला है !