• एभरेष्ट अब पाक्षिक र अनलाइनमा

  •  

     

    यस अंकदेखि ‘एभरेष्ट’ पाक्षिक रुपमा प्रकाशन हुने छ । प्रकाशनको १८ वर्ष ३ महिनापछि दैनिक, साप्ताहिक हुदै पाक्षिक बनेको छ ‘एभरेष्ट’ । सन् २००० मे १ का दिन दैनिक शुरु भएको ‘एभरेष्ट’ सन् २००३ फेब्रुअरी २६ देखि साप्ताहिक रहेको थियो । पाक्षिक भएसंगै ‘एभरेष्ट’को अनलाइन ‘एभरेष्ट खबर डटकम’ पनि शुरु भएको छ ।

    प्रविधिको विकाससंगै हरेक क्षेत्रमा परिवर्तन भइरहेका छन् । यस सन्दर्भमा सञ्चार क्षेत्र अछुतो रहन संभव छैन । प्रविधिले सञ्चारको साधनमा परिवर्तन ल्याएको छ । अखबार, रेडियो, टेलिभिजन, कम्प्युटरपछि अहिले स्मार्ट फोन सञ्चारको साधन बनेको छ । समाचारको लागि निश्चित समयको पर्खाइमा रहनु पर्ने बाध्यता छैन अहिले । सेकेण्ड–सेकेण्डमा समाचार अद्यावधिक हुने गरेका छन् । यस स्थितिबाट हङकङका नेपाली पनि प्रभावित नहुने कुरै भएन । यहाँका हरेक नेपालीका हात–हातमा स्मार्ट फोन रहेको छ ।

    हङकङको नेपाली गतिविधिलाई प्रमुख विषय बनाएको ‘एभरेष्ट’ पनि समय र प्रविधिसंगै अघि नबढे अस्तित्व लोप हुने अवस्था सिर्जना भएकोलाई हृदयङ्गम गरी अनलाइन संस्करण शुरु गरिएको हो । यसको शुरुवातसंगै स्थानीय नेपाली गतिविधिका लागि साप्ताहिक र आजदेखि पाक्षिक रुपमा प्रकाशन हुने एभरेष्टको प्रतिक्षा गर्न पर्ने छैन हाम्रा पाठकहरुले, अनलाइनमा यथासक्य अद्यावधिक गर्ने हाम्रो प्रयास रहने छ ।

    यति हुदाहुदै पनि अखबारको आफ्नै महत्व र औचित्य रहेको छ । नेपाल र भारत बाहेक सबै भन्दा लामो समयदेखि प्रकाशन हुने नेपाली भाषाको एक मात्र अखबार ‘एभरेष्ट’ ऐतिहासिक पनि रहेको छ । हङकङको सन्दर्भमा सरकारी सूचना नेपाली समुदायमा पु¥याउने निर्विकल्प साधनको रुपमा रहेको ‘एभरेष्ट’ अखबारलाई निरन्तरता दिन आवश्यक रहेको स्थितिलाई मध्य नजर राखेर पनि ‘पाक्षिक’को रुपमा प्रकाशनलाई सुचारु गर्न लागिएको हो । प्रविधिले फड्को मारे पनि कतिपय प्रसंगमा परम्परागत मान्यता अकाट्य रहने छ । अखबारमा प्रकाशित सामग्री प्रमाणको रुपमा भरपर्दो हुने भएकोले पनि यसको महत्व आफ्नै प्रकारको रहेको छ ।

    पाठक, विज्ञापनदाता, ग्राहकलगायतको साथ र सहयोग स्थापनाकालदेखि नै एभरेष्टले प्राप्त गरिरहेको छ जुन १८ वर्षे यात्रामा उर्जाको रुपमा रहेको छ । अबको पाक्षिक र अनलाइन संस्करणमा पनि त्यसले निरन्तरता पाउने अपेक्षा गर्दछौं ।

  • कमेन्ट गर्नुहोस्