• एकल साँझको नाममा दास प्रवृत्ति

  •  

     

    भद्रकला एकल साँझ २०१९ मा गायक राजेशपायल राईको पहिलो प्रस्तुतिको बीचैमा आयोजक भद्रकला आङबुहाङ राईका श्रीमान् ओमप्रकाश राईले गीतको ट्रयाक रोकेको घटनाले चर्चा पायो । आयोजक र गायकबीच पर्दा पछाडि भलाकुसारी भएपछि उनले त्यही गीत दोहोर्याएर  गाएपछि भद्रकलाका गीतलगायत अन्य गीत प्रस्तुत गरे । कार्यक्रमका लागि यस्तै गीत गाउनु पर्छ भन्ने कुनै सम्झौता भएको पाइएन ।

    प्राय एकल साँझ कि गायकको कि सङ्गीतकारको हुने गरेकोमा आजभोलि रचनाकारहरुले पनि एकल साँझको आयोजना गर्ने गरेको पाइएको छ । रचनाकारहरुले संग्रह निकाल्ने परिपाटि पनि शुरु भएको छ । हङकङका गीतकारहरुले पनि शुरुवातमा पुस्तिका प्रकाशित गरेका भए पनि आजकल सीडी तथा भीसीडी प्रकाशित हुन थालेका छन् । यस्तो पनि देखिएको छ कि कहिल्यै गीतलगायत कुनै रचना नगर्नेहरु पनि नेपाल गएर आउदा एकल गीतका सीडी र भीसीडी लिएर आउने र विक्री गर्ने गरेका छन् । पैसा दिएर नाम चलेका लेखकलाई लेख्न लगाइने गरिएको पनि चर्चा हुने गरेका छन् । एक पटक चर्चामा आएका ती साहित्यकार तथा गीतकारहरु अहिले गुमनाम भइरहेका घटनाले पनि ती चर्चामा सत्यता छ कि भन्ने देखिन्छ ।

    भद्रकला आङबुहाङ पनि पैसाको माध्यमबाट चर्चामा आउने एक पात्रको रुपमा परिचित छन् । केही समयअघि नेपाली रुपैयाँ १२ करोड ४१ लाखको गाडि किनेको भनेर चर्चामा आएकी थिइन् । जब कि उक्त गाडिको मूल्य १ करोड ३० लाख रुपैयाँ मात्र रहेको छ ।

    हङकङमा एकल साँझहरु पटक–पटक भएका छन् । दिनेश सुब्बा, अम्बर गुरुङलगायतका एकल साँझहरु भइसकेका छन् भने दुई हप्ताअघि मात्रै दीप श्रेष्ठको एकल साँझ भएको थियो । ती एकल साँझहरुमा सम्बन्धित श्रष्टाका बाहेकका रचनाहरु पनि प्रस्तुत भएका थिए ।

    यस पृष्ठभूमिमा भद्रकला एकल साँझको घटनाले दास प्रवृत्तिको झल्को दिएको छ । रचनाकार भने पछि मालिक र गायक–गायिकाहरु दास हुन् भन्ने मान्यता स्थापित गर्न खोजिएको देखियो । पैसाले जोकोहीलाई दास बनाउन सकिन्छ भन्ने प्रयास गरिएको पाइयो । धन्य राजेशपायल राईले रोकिएको गीतलाई पुन प्रस्तुत गरेर दास प्रवृत्तिलाई चुनौति दिए ।
    यस घटनाबाट पाठ सिकेर आउदा दिनमा श्रष्टाहरुले अर्को श्रष्टा वा चर्चा कमाउन चाहनेहरुबाट बच्न र बचाउन आवश्यक छ । होइन भने गीत–सङ्गीतको क्षेत्रमा दास प्रवृत्तिले जरो गाड्ने छ, चेतना भया !

  • कमेन्ट गर्नुहोस्