• तमुको समस्या अरुमा संभावना

  •  

     

    हङकङमा तमु एकता र एकै ठाउँमा ल्होछार÷ल्होसार मनाउँने विषयमा बहस चलेको एक दशक भयो । ल्होछार आउने बेलामा यो बहस शुरु हुन्छ र सकिएपछि एक वर्षको लागि बन्द हुन्छ । यो पटक तमु जातिको उद्गम स्थल गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा यस विषय चर्चाको विषय बन्यो । स्वयं मुख्यमन्त्री गुरुङले नेपालको उदाहरण प्रस्तुत गर्दै इच्छाशक्ति भएमा एकै ठाउँ ल्होसार÷ल्होछार मनाउँन सकिन्छ र तमु एकता पनि हुन्छ भन्दै शुभकामना दिए ।

    नब्बेको दशकको उत्तरार्धमा हङकङमा नेपाली संघसंस्था खुल्न शुरु भएसंगै यहाँ रहेका गुरुङ (तमु) जातिले तमु ट्हो ह्युलको स्थापना गरेका हुन् । संस्था स्थापनासंगै ल्होछारको शुरुवात भएको पाइन्छ । त्यसको आधा दशकपछि तमु प्ये ल्हु संघ स्थापना भएपछि ल्होसारको शुरुवात भएको हो । यतिसम्म भयो कि दुवै संस्थाको कार्यक्रम एकै दिन । त्यसपछि तमु एकता र एकै ठाउँमा ल्होछार÷ल्होसारको आयोजना भन्ने बहस शुरु भयो । यसका लागि स्थानीय बाहेक नेपालको प्रतिनिधिमूलक तमु संस्थाका अध्यक्ष र अन्य नेतासम्मका प्रयास भए तर समस्या समाधान भएको छैन ।

    दुई संस्थाबीच समन्वय गराउने प्रयास भइरहेकै अवस्थामा तमु ट्हो ह्युलको सातौं अधिवेशनपछि अस्तित्वमा आएको विद्रोही समूहले तमु समाजको स्थापना गरेका छन् भने उक्त संस्थाले पनि छुट्टै ल्होसारको आयोजना शुरु गरेको छ । त्यसो त प्रदेश, जिल्ला, गाउँ र टोल स्तरीय संघसंस्थाका ल्होछार पनि दर्जनौं हुने गरेका छन् ।

    गुरुङमा रहेको समस्या अरु जातिमा पनि रहेको छ, फरक मात्रामा रहेको छ । अन्य जातिको समस्या कम रहेकोले अहिले सतहमा आएको छैन । कतिपय सवालमा सम्बन्धित संस्थाले समन्वयको पहल गरेर विद्रोहको अवस्था सिर्जना भएको छैन ।

    हरेक जातिमा विविधता रहेका छन् । एकै जातिमा रहेका भाषिक, धार्मिक र सांस्कृतिक विविधतालाई समावेश गर्न नसक्दा विग्रह र विद्रोहको अवस्था सिर्जना भएको पाइन्छ । प्रमुख रुपमा राईहरुमा मात्र भाषिक विविधता रहेको छ भने प्राय सबै जातमा धार्मिक र सांस्कृतिक विविधता रहेको छ । अधिकांश जातीय संस्थामा विवादको विषय धर्म रहेको देखिन्छ । शुरुवातमा गुरुङमा देखिएको समस्या राई हुदै लिम्बूमा देखिएको छ । पछिल्लो स्थितिमा लिम्बूको समस्या विकराल हुनेतर्पm अघि बढेको छ । मगरमा पनि नदेखिएला भन्न सकिन्न ।

    नेपालका अधिकांश आदिवासी जनजातिहरु शुरुवातमा प्रकृतिपूजका रुपमा रहेका थिए । समयान्तरमा अरु धर्मको प्रभाव परेको देखिन्छ । अहिलेको अवस्थामा हरेक जातिमा बहुधर्मावलम्बी रहेका छन् ।

    आपूmलाई प्रतिनिधिमूलक संस्थाको रुपमा दावी गर्ने संस्थाले आफ्नो जातिभित्र रहेको बहुलतालाई समावेशी बनाउँन नसक्दा समस्या भएको देखिएकोले यसमा सम्बन्धित संस्थाको ध्यान जान आवश्यक छ ।

  • कमेन्ट गर्नुहोस्