• १४औं बुङ्वाखा वार्षिकोत्सव सम्पन्न

  • प्रमुख अतिथि उदय राई र प्रा.डा. नोवल किशोर राईले सगुन सुसारालाई बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार’ प्रदान गर्दै ।

    ‘बुङ्वाखाको १४औं वार्षिकोत्सव’ तथा ‘१४औं बान्तावा कविता प्रतियोगिता’ इलामस्थित सन्दकपुर गाउँपालिका २ माइमझुवा, टोड्केमा सम्पन्न भएको छ । गत मङ्सिर २४ गते आयोजित सो कार्यक्रमको प्रमुख अतिथि सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले १४ वटा दियोमा बत्ती बाली सभाको उद्घाटन गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘मातृभाषा देशको सम्पदा भएकोले बान्तावा भाषामा प्रकाशित हुने बुङ्वाखाजस्तो मातृभाषी पत्रिकाहरूलाई राज्यले कदर गर्नुपर्छ ।’ बुङ्वाखा संरक्षक प्रा.डा. नोवल किशोर राईले हामीले भाषासँगै संस्कार पनि सिक्दै जानुपर्ने कुरा बताएका छन् ।

    कार्यक्रममा काठमाडौं, भारतको सिक्किम र १ नं प्रदेशका कवि र साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

    वर्षेनी फरक ठाउँमा आयोजना गरिने बुङ्वाखाको १५औं वार्षिकोत्सव काठमाडौंमा हुने आयोजकले बताएका छन् ।

    सगुनलाई राष्ट्रिय पुरस्कार

    १४औं बान्तावा कविता प्रतियोगिताका विजयी कविहरू क्रमशः दाहिनेबाट देब्रे नरेन्द्र राई कश्चित, कुमार राई र इनुमा रुङमाहाङ ।

    पाँचथरका सगुन सुसारालाई ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार–२०७५’ प्रदान गरिएको छ । ताम्रपत्रसहित पुरस्कारको राशी ४० हजार १ सय ९१ रुपैयाँ रहेको छ । उनको ‘लुङ्टा नङ साम्सिबुङ’ बान्तावा गजलसङ्ग्रह कृतिको लागि सो पुरस्कार प्रदान गरिएको हो । प्रमुख अतिथि उदय राई र प्रा.डा. नोवल किशोर राईले सो पुरस्कार प्रदान गरेका थिए । पूर्व मुख्य अञ्चलाधीश स्व. मकर बहादुर बान्तावा र  श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा कान्छा छोरा राजेन्द्र बान्तावाको विशेष पहलमा सो पुरस्कारको लागि बुङ्वाखामा अक्षयकोष स्थापना गरिएको हो ।

    त्यस्तै, बान्तावा गायक तथा वाद्यवादक कृष्णभक्त राईलाई ‘बुङ्वाखा–पञ्च कुमारी सङ्गीत पुरस्कार–२०७५’ प्रदान गरिएको छ । धनकुटामा जन्मिएका राईले कदरपत्रसहित ३० हजार राशीको सो पुरस्कार प्राप्त गरेका हुन् । आमा पञ्च कुमारी राईको सम्मानमा दाजुभाइद्वय गीतकार जीवन मुकारुङ र गायक तथा सङ्गीतकार अशोक मुकारुङले सो पुरस्कारको लागि अक्षयकोष स्थापना गरेका हुन्। प्रमुख अतिथि र अक्षयकोषदाता संस्थापक सदस्य जीवन मुकारुङले कृष्णभक्त राईलाई पुरस्कार र कदरपत्र प्रदान गरेका थिए ।

    टकलाल राईलाई बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार

    बुङ्वाखा धनकुटा संवाददाता टकलाल राईलाई ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार–२०७५’ प्रदान गरिएको छ । ६ हजार राशीको सो पुरस्कार बुङ्वाखा सल्लाहकार चन्द्र कुमार हतुवाली र परिवारले आफ्ना बजु रनमाया राईको स्मृतिमा स्थापना गर्न लागेका हुन् । प्रमुख अतिथि र प्रस्तावित अक्षयकोषदाता सदस्य उद्धिम राईले टकलाल राईलाई पुरस्कार र कदरपत्र प्रदान गरेका थिए ।

    दमक निवासी बुङ्वाखाका नियमित स्तम्भकार हरि बहादुर राईलाई ‘बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कार–२०७५’ प्रदान गरिएको छ । कदरपत्रसहित रु. ५ हजार राशीको सो पुरस्कार आफ्ना भाइको अल्पायुमै स्वर्गारोहण भएकोमा दाजु टीकाराम बादिहाङ राईको पहलमा यो पुरस्कार स्थापना गरिएको हो । प्रमुख अतिथि र अक्षयकोषदाता संस्थापक सदस्य टीकाराम बादिहाङले पुरस्कार र कदरपत्र प्रदान गरेका थिए ।

    ‘कश्चित’ प्रथम

    गंगाराज राईको हातबाट पुरस्कार ग्रहण गर्दै प्रथम कवि नरेन्द्र राई ‘कश्चित’ ।

    बुङ्वाखाको १४औं वार्षिकोत्सवको अवसरमा आयोजित बुङ्वाखाको १४औँ बान्तावा कविता प्रतियोगितामा धनकुटाका नरेन्द्र राई ‘कश्चित’ प्रथम भएका छन् । त्यस्तै पाँचथरका कुमार राई दोस्रो र सोही जिल्लाकै इनुमा रुङमाहाङ तेस्रो भएका छन् । नरेन्द्र छलङ राई भाषी हुन् भने कुमार साम्पाङ भाषी राई हुन् ।

    पहिलो, दोस्रो र तेस्रो हुने कविहरूलाई ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति अक्षयकोष’बाट क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार राशी प्रदान गरिएको छ । विशेष अतिथिद्वय अखिल किरात राई सङ्घ सिक्किमका अध्यक्ष चन्द्र खालिङ, किरात राई बान्तावाखिमका अध्यक्ष ज्ञान किराती र अक्षयकोषदाता प्रतिनिधि तथा पूर्व किरात राई यायोक्खा अध्यक्ष गंगाराज राईले विजेता कविहरूलाई पुरस्कार र प्रमाणपत्रहरू प्रदान गरेका थिए ।

    श्यामराज दुब्देङहाङका छोरी मीना राई र भतिजी अञ्जना राईले बुबा-काकाको स्मृतिमा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गरेका हुन् ।

    प्रतियोगितामा कूल २८ जना कविहरूमध्ये ‘उत्कृष्ट १४’ कविहरूले इलामस्थित माइमझुवा टोड्केमा उपस्थित भई कवितावाचन गरेका थिए ।

    ‘चेइन्येन्ओ यङ’ विमोचन
    कार्यक्रममा बान्तावा शब्दसङ्ग्रह ‘चेइन्येन्ओ यङ’ बान्तावाकृति विमोचन गरिएको थियो । रीता राई (राराहाङ)द्वारा सङ्कलित सो सङ्ग्रह प्रमुख अतिथि उदय राई, सङ्कलकका बुबा तुल बहादुर राराहाङ, आमा कृष्णमाया राई, विशेष अतिथि र अतिथिहरूले संयुक्त विमोचन गरेका थिए ।

  • कमेन्ट गर्नुहोस्