देवाली हेर्ने रहर
सानै हुँदादेखि मैले गाईवस्तु चराउने जाेगीडाँडाबाट अलि पश्चिम-उत्तरकाे थामखोरीडाँडा (अहिले त्याे डाँडामाथि दिक्तेल बहुमुखी क्याम्पस बनेकाे छ)काे फेदमा वर्षकाे एक पटक सेताे धाेती लाएर छ/सात जना दाहाल क्षेत्रीहरू `हेर्, हँ, मष्ट, हेर् हेर्´ भनी उफ्रिन्थे। म कान ठाडाे बनाएर सुन्थेँ, आँखा तिखाे बनाएर हेर्थेँ। उनीहरूले के भन्न खाेजेका र के गरिरहेका छन् भन्ने जान्ने इच्छा भित्री मनमा थियाे। तर त्यति नजिक भएकाे स्थल म कहिल्यै गइनँ र त्यहाँकाे वातावरणकाे अध्ययन कहिल्यै गरिनँ।
देवाली गरेकाे र मष्ट जगाकाे भन्ने अरूकाे मुखबाट सुनेँ। मलाई त्याे उफ्रेकाे दिन पारेर जाने ठूलाे इच्छा थियाे। तर देवाली गरेकाे भाेलिपल्ट भुलिहाल्थेँ। यस्ताे किन पनि भयाे भने हामीले खसीकाे मासु खानु नहुने र त्याे ठाउँमा जाँदा लसपस हुने डर आमाबाबुलाई थियाे। त्यै भएर उहाँहरूकाे नजाने आदेश थियाे। आमाबाबुकाे आदेश हुँदाहुँदै पनि म उहाँहरूलाई थाहै नदिई जाने दृढ इच्छा त थियाे तर किन गइनँ हाेला भनेर मलाई थकथकी लागिरहेकाे छ।
जाेगीडाँडाकाे पूर्वमा छकालुङ खाेलाे छ। खाेलाे काटेपछि क्षेत्री(खत्री) गाउँ आउँछ। दाहाल खत्रीहरूकाे बस्ती दिक्तेल बजार ठाेकिन्छ। यिनै खत्रीहरूकाे देवाली पूजा त्याे थामखाेरीडाँडामा हुन्थ्याे, अहिले पनि भइरहन्छ। क्याम्पस जाँदा आउदा त्यसैकाे नजिकबाट हिडेँ तर हेर्न र बुझ्न खाेजेकाे पाखाेलाई कहिल्यै याद गरिनँ। जब हिजो काठमाण्डुमा रहेका रामकाजी खत्रीसँग कुरा भयो, मलाई झल्यास्स त्याे देवाली थानकाे याद आयाे। याद यस कारणले आयाे कि त्याे बेला रामकाजीकाे बाबु मूलमष्ट या त्याे उफ्रिनेहरूकाे मूलधामी थिए। उनकाे नाम मानबहादुर थियाे तर सबैले पधेरा पारिका माने भन्थे। उनी त्याे गाउँकाे केही हुनेखानेमा गनिन्थे। म उहाँलाई बडाबाउ भन्थेँ। गाउँलेले उहाँलाई मनि भका मान्छे भन्थे। सबैले निकै आदर गर्थे।
छकालुङले काटेकाे पूर्व राईहरूकाे वस्ती छ। तर राईहरूकाे छेवैमा घर परेकाेले हाम्राे बाबुलाई छेउघरे भनिन्थ्याे। मलाई चाहिँ भनिहालेका छैनन्। छकालुङ पश्चिम देवाली गरिन्छ भने पूर्व साकेला । साकेलामा हाम्रा आफन्तजनबाहेक छकालुङ पश्चिमका खत्रीहरू धेरै आउथे, आउँछन्, रमाउछन् । यसमा हाम्राे माया स्नेह, सद्भाव बढेकाे महशुस हुन्छ। अचेल त बिहे कार्जेमा सरबर आउने जाने गरिँदाे रहेछ। यसले त हामीभित्र परम मित्रताकाे आभास मिल्छ। यस्तै गरेर हाम्रा आमाबाबुले देवाली पूजामा, त्यस्तै उनीहरूकाे बिहे कार्जेतिर हामीलाई जान दिएकाे भए अझ धेरै गाढा प्रेम बसिसक्थ्याे। मेराे देवाली जाने इच्छा पहिल्यै पूरा भइसक्थ्याे। यसरी अधुराे इच्छा पालेर त बस्नु नपर्थ्याे। तर आघुम गाउँ निक्लँदा चाहिँ सकभर देवाली पूजाकाे दिन, नभए अरु दिन त्याे पाखा गएर मज्जाले घुमेर आउने विचार गरेकाे छु। अनि देवाली गरिने विधि र नियमहरू पनि सिकेर आउने छु, जसले आउने पिँढीलाई बताउन सकियोस्।