• पार्टीका तत्कालिन सचिव

  • आगन्तुकहरु दुई खालका हुन्थे हाम्रो घरमा । उनीहरुमध्ये आफै पकाएर खाने अनि आफै सुत्ने व्यवस्था गर्नेलाई ‘परदेशी’ भन्थ्यौं । तर जसका लागि गाँस र बासको व्यवस्था हामीले मिलाउनु पर्ने हो, उनीहरुलाई ‘पाहुना’ भन्थ्यौं । हाम्रो घर न होटल, न त गेस्ट हाउस । हामी त्यो बेलाको मूलबाटोको बासिन्दा भएकाले घरमा बास बस्न आउनेलाई आश्रय वा सहयोग गर्ने मात्र गथ्र्यौैं ।

    संखुवासभा, तेह्रथुम र ताप्लेजुङबाट तराई ओहोर–दोहोर गर्नेहरु हाम्रो टोलमा बास बस्नुपर्दा प्रायः हाम्रै घरमा बस्थे । यसरी बास बस्नेहरु कोही परदेशी हुन्थे कोही पाहुना । आगन्तुकहरुको सेवा गरे वापत हाम्रो घरले कुनै शुल्क तोकेको थिएन, गच्छे अनुसार दिन्थे र जान्थे । फेरिफेरि फर्केर आउँथे, हाम्रै घरमा बास बस्न ।

    धनकुटा नगरको हाम्रो घरमा बास बस्ने आउनेहरुको लर्को लाग्थ्यो । हाम्रो पुख्र्यौली घर ताप्लेजुङ हाङपाङ हुनु पनि हुन सक्छ, यस्तो लर्को लाग्नुका कारण ।

    यसरी कति आए, कति गए ।

    जब धरान, धनकुटा बजारबाट हिले बजार, सिधुँवा र बसन्तपुर हुँदै माथिमाथि मोटरबाटो तन्कियो, त्यस पछि पैदल हिड्नु पर्ने बाध्यताबाट हाम्रो घरका आगन्तुकहरुले मुक्ति पाए । सम्भवतः कतिपय पाहुनाहरुले सार्वजनिक यातायातमा यात्रा गर्दा हाम्रै घरमुनिको सडकबाट हाम्रो घर देखाउँदै भने होलान्, ‘पहिले उकाली–ओह«ाली गर्दा, हामी त्यहीँ घरमा बास बस्ने गथ्र्यौं ।’

    यसरी हाम्रो घरले धेरै आगन्तुकहरुको स्वागत ग¥यो । यो समयमा म बालकै थिएँ ।

    सुटुक्क आउने जानेहरु

    यस्ता आगन्तुकहरुमध्ये केही पाहुनाका रुपमा आउँथे, जो कति खेर आउँथे, हाम्रो घरलाई थाहा हुँदैनथ्यो, कतिखेर जान्थे त्यो पनि हामीलाई थाहा नहुने । आउँथे, लेख्थे । कोठामा बसेर सानो स्वरमा गुनगुनाउँथे । खाना खान बोलाइन्थ्यो, आउँथे खान्थे । केही दिन बस्थे । मेरा दाइ पुस्तासँग छलफल गर्थे । सुटुक्क हिँड्थे ।

    एकजना गहिरो आँखा भएका प्रायः खैरो रङको सर्ट लगाएर आउने पाहुनालाई केही पटक आएको देखेँ । उनी बसेको कोठामा म बेलाबेलामा पुगि रहन्थे । पछि पत्ता लगाउँदा उहाँ रमेश खनाल हुनुहुँदो रहेछ, धरान विजयपुर बासिन्दा । पाँच वर्ष जति धरान बसेँ, तर उहाँसँग मेरो भेट भएन । सायद मैले खोजिनँ । पछि काठमाडौंमा उहाँका छोरासँग बासुदेव ढुङ्गेल दाइले भेट गराउनु भयो । भन्नुभयो, ‘तपाईंले कुरा गरिरहनुहुन्छ नि रमेश खनालको, उहाँकै छोरा हुन्, यी भाइ ।’

    आफू बालकै छँदा भूमिगत रुपमा हाम्रो घरमा आश्रय लिनुहुने अग्रज रमेश खनालको सम्झना भयो, जब भेटेँ, ती भाइलाई बासुदाइसँगै काठमाडौं पुरानो बसपार्कमा ।

    खैरो सर्ट लगाउने रमेश खनाल भन्दा प्रायः निलो सर्ट लगाउने पाहुनाको हाम्रो घरमा बास अलि लामै भयो । बानी थियो पढिरहने कि लेखिरहने । पाहुना बसेको कोठामा म फुत्त फुत्त पुगिरहन्थेँ । चुलबुले थिएँ म । लेख्दाखेरि मसिनो अक्षरमा लेख्ने अक्षर त म चिन्थेँ, तर भेउ पाउदिनथेँ, के लेखेका होलान् !। लेख्दा एउटा हातमा कलम चलिरहेको हुन्थ्यो, अर्को हातका औंलाले च्यापेको बिँडीको धुँवा निस्किरहेको हुन्थ्यो ।

    कहिलेकाहिँ चिया पकाएर खुवाउने जिम्मा मेरै हुन्थ्यो, ती पाहुनालाई । हाम्रो घरमा चिया पिउने चलन नभएको र चिनी पनि नहुने भएकोले कालो चियामा नून हालेर दिनुपर्ने । स्टील वा सिसाका गिलास थिएनन् हाम्रो घरमा । त्यसैले काँसको डबकामा चिया पुर्याइदिन्थेँ ।

    यस्ता पाहुनाहरुको आगमन हुने त्यो घरमा एउटा हिटरको व्यवस्था पनि थियो । पाहुनाहरुलाई तातोपानी पिउन सजिलो होस् भनेर यस्तो व्यवस्था गरिएको थियो भन्ने लाग्छ, अहिले । त्यो हिटर चलाउँदा म पहिलो पटक करेन्टबाट नराम्ररी झस्केको छु ।

    यसरी आउन त धेरै आए पाहुनाको रुपमा हाम्रो घरमा । तर यो प्रसङ्गमा म उनै निलो सर्ट लगाएर आउने, बिँडी तान्दै, मसिनो स्वरमा गुनगुनाउँदै लेखिरहने पाहुनामाथि केन्द्रीत भइरहेको छु ।

     

    गैरीबारीको कुवामा

    पाहुना सरसफाईमा सचेत । टोलको सार्वजनिक धारामा सरसफाई गर्न पनि नहुने । दाजु डम्बरबाट ममाथि आएको आदेश अनुसार मैले पाहुनालाई अलि पर एकान्तमा लैजानु पर्ने ।

    बुवाले हामी सन्तानका लागि धनकुटा नगरमा जोडिदिनु भएको जग्गामा पानीको सुविधा रहेको छ । बुवा भन्नुहुन्थ्यो, ‘मैले धनकुटामा जग्गा जोड्न खोज्दा धेरैले धेरै ठाउँ देखाए । तर जुन जग्गामा कुवा थियो, त्यहीँ ठाउँ मैले रोजेँ ।’

    पानीको स्रोत जहाँ हुन्छ, बुवाले पनि त्यहीँ ठाउँमा जग्गा जोड्नु भयो । हाम्रो गैरीबारीमा पनि कुवा थियो, त्यहीँ म ती पाहुनालाई नुहाईधुवाईका लागि लैजान्थेँ । पाहुना मलाई भन्नुुहुन्थ्यो, ‘कान्छाले पनि नुहाउनुपर्छ है !’

    अनि म पनि पाहुनासँगै नुहाउँथेँ ।

    मेरा यी सम्झनाहरु ०३७÷३८ सालका हुन् ।

     

    पार्टीका जिम्मेवार नेता

    यसरी बारम्बार गोप्य रुपमा हाम्रो घरमा पाहुना बनेर आउने व्यक्ति त तत्कालिन नेकपा(माले)का जिम्मेवार नेता पो रहेछन् । मैले यो वास्तविकता २०४४ सालतिर मात्रै थाहा पाएँ । विभिन्न ठाउँमा नाम परिवर्तन गर्दै हिड्नु पर्ने भूमिगत नेताहरुको त्यो बाध्यतामा उहाँ कहिले ‘गगन’, कहिले ‘दिलिप’ र कहिले ‘सागर’ भएर पार्टीको काममा हिड्नु भयो । उहाँको खास नाम चाहिँ चित्र निरौला हो ।

    त्यो बेला उहाँ धनकुटा मालेको सचिव हुँदो रहेछ । पहिले इलाम, त्यस पछि धनकुटा र फेरि इलामको सचिवको जिम्मेवारी उहाँको काँधमा थियो । २०३७ र २०३८ सालमा उहाँ हाम्रो घरको गोप्य पाहुना बनेर आएको समय उहाँ धनकुटाको तत्कालिन पार्टी सचिव हुनुहुँदो रहेछ । उहाँले नै यो कुराको पुष्टि पनि गर्नुभयो, मसँगको फेसबुक संवादमा ।

     

    धनकुटासँगको साइनो

    उहाँले किन धनकुटा रोज्नुभयो, मैले सोधेको छैन । उहाँको यस बारेमा कुनै विचार व्यक्त भएको पनि थाहा छैन । तर उहाँले छिन्ताङ हत्याकाण्डपछि धनकुटाको नेतृत्व सम्हाल्नुभयो, यो त स्पष्ट छ । छिन्ताङ काण्डका समय त्यहाँ रहेर आन्दोलन उत्प्रेरक भूमिका निर्वाह गर्नुभयो, बम देवान, यमनाथ बराल र गोविन्द विकलले ।

    धनकुटासँग चित्र निरौलाको साइनो शिक्षण पेशासँग पनि जोडियो । उहाँ डाँडाबजारको भानु माध्यमिक विद्यालयमा अँग्रेजी शिक्षकका रुपमा २०३१ सालतिरै प्रवेश गर्नुभयो । यसको चार–पाँच वर्षअघि महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको उपसभापतिमा उहाँ निर्वाचित हुँदा सभापति चाहिँ धनकुटा, तेलियाका हिम्मतसिंह खजुम हुनुहुन्थ्यो । भानु माविमा उहाँ अँग्रेजी शिक्षक हुँदा कृष्ण ब्लोन प्रधानाध्यापक हुनुहुन्थ्यो । कृष्ण ब्लोनको भाइ रेख ब्लोन २०३५ सालदेखि नै बाम आन्दोलनमा सक्रिय भएर देखापर्नु भयो ।

    निरौला हाम्रो घरमा पाहुना भई आएको बेला गोपाल गुरागाईँ पनि आइरहनु हुन्थ्यो । यी दुई त्यतिखेर धनकुटाका ठूला जिम्मेवारीका नेता भएकाले होला ।

    ‘तपाईं धेरै पटक हाम्रो घरमा बास बस्नुभएको छ नि’, मैले फेसबुक संवादमा यी अग्रजसँग सोधेँ ।

    भन्नुभयो, ‘धनकुटाको पनि मलाई धेरै ऋण छ ।’

    पंचायतकालमै उहाँ बिक्नुभयो रे ! रानीको नजिक पुग्नुभयो रे ! भन्ने पनि सुनेँ । हो, होइन यो तथ्य पत्ता लगाउनतिर लागिनँ । तर उहाँ समाज कल्याण परिषद्मा जागिर खान गएको चाहिँ प्रष्ट भयो ।

    एक दिन धरान नगरपालिकामा उनै अग्रजसँग भेट भयो । हार्दिकतापूर्वक नमस्कार गरेँ । भनेँ, ‘म फलानोको भाइ हुँ, तपाईं त हाम्रो घरमा आइरहनु हुन्थ्यो नि !’

    हामी यसरी बोलिरहेको बेला पत्रकार भवानी बरालको उपस्थिति भयो । आफ्नै शैलीमा भवानी दाइ प्रस्तुत हुनुभयो, ‘तपाईंले उहाँलाई रातै देखेको होला, उहाँ त उहिल्यै पहेलोँ भइसक्नुभयो ।’

    रातो अर्थात् क्रान्तिकारी, पहेँलो अर्थात् निर्दलीय पञ्चायती व्यवस्थाका समर्थक ।

    चित्र निरौलाले त्यो बेला विनयशील भावमा भन्नुभयो, ‘होइन, म रातै छु ।’

    रातो वा पहेँलो को हो ? त्यो त सबैले देखेकै होलान् । रातो झन्डा समूहलाई तत्कालिन मालेमा मिलाउने चित्र निरौलाको बारेमा यो लेखकको मूल्याङ्कन चाहिँ के हो भने उहाँले माले पार्टी छाडे पनि त्यो पार्टीको अहितमा बोल्ने, लेख्ने र सङ्गठन गरिहिड्ने गरेको चाहिँ मैले आजसम्म देखेको छैन ।

  • कमेन्ट गर्नुहोस्