• चेतनाथ सरको जागिर खोसिदा

  •  

    कक्षा ६ मा पढ्दै थिएँ, त्यहीँ बेला एक जना नयाँ शिक्षकलाई हाम्रो विद्यालयले आफ्नो परिसरमा स्वागत गर्यो ।

    एउटा निजी अनुभवको सङ्गालो यहाँ पस्कन चाहेँ । म पासाङ ल्हामु मेमोरियल कलेजमा पढाउँदै गर्दा त्यहाँका तत्कालिन स्नातकतर्फ मानविकी सङ्कायका प्रमुख कमल पौडेलसमक्ष एक दिन जिज्ञासा राखेँ, “तपाईंलाई श्रीधर लोहनी सरले पढाउनुभयो नै होला, उहाँको नाम रोशन बहुतै सुनेको छु । कसरी पढाउनुहुन्थ्यो उहाँले ?”

    “सिम्प्लिसिटी”, कमल सरको मेरो जिज्ञासा मेटाउने एउटै मात्र शब्द ।

    अर्थात्, विषयको सरलता । उहाँबाट यस्तो कुरा सुनेपछि मैले पनि त्यो सलरता विधि अपनाएँ, प्राध्यापनको समयमा ।

    मैले कक्षा ६ मा पढ्दा पनि यस्तै सरलताबाट अध्यापन शैली अपनाएर अँग्रेजी पढाउने एक जना गुरुसँग पढ्ने अवसर पाएँ ।

    सरकारी विद्यालयमा पढ्ने विद्यार्थीका लागि अँग्रेजी विषय एउटा हाउगुजी । मैले चाहिँ लाहुरे बुबा आसबहादुर यक्सो लिम्बूबाट उहाँले जानेको ‘गोर्खे अँग्रेजी’बाट काम चलाऊ गर्ने हुँदा अँग्रेजीमा खासै दुःखको भुक्तमान गर्नु परेन । तर सहपाठीहरुमध्ये अधिकाँशको नयाँ गुरुबाट कान मज्जाले निमोठिन्थ्यो,“ए ल्वाँठ, यति पनि जान्दिनस् ?”

    गुरुको यो ‘ल्वाँठ’ शब्दमा लिङ्गभेद थिएन । उहाँ यो शब्द छात्र र छात्रा सबैको लागि साझा रुपमा प्रयोग गर्नुहुन्थ्यो । तर कान निमोठिने चाहिँ छात्रहरु मात्र हुन्थे । छात्राहरुलाई उहाँले कहिले पनि हात हाल्नु भएन ।

    मैले भने यी गुरुलाई आफ्नो कान निमोठ्ने अवसर दिइनँ । उहाँले विद्यालयको आँगन टेक्दा म कक्षामा सेकेण्ड ब्वाई थिएँ । उहाँको शिक्षणविधिबाट सबैजसो पाठ कण्ठस्थ हुन्थ्यो । सोध्नासाथ हाजिरीजवाफ गरेपछि कान ननिमोठिदो रहेछ ! हा…हा…!

    गुरुको स्वागतमा हर्ष

    यी गुरु हामीहरु पढिरहेको विद्यालय तत्कालिन भाषा निमावि (हालः भाषा क्याम्पस)मा आउनुभए पछि हाम्रा फस्ट ब्वाई रामप्रसाद वाग्ले (हालः नेपाल सरकारका उपसचिव) खुसीले उफ्रे । म त झन खुसी । रामप्रसादको खुसी सम्भवतः वाग्ले हुनुको कारण थियो वा के, मैले यसबारे अहिले टिप्पणी गर्नु छैन । तर म चाहिँ विविध कारणले नयाँ गुरुलाई स्वागत गर्न पाएकोमा खुसी थिएँ ।

    छिमेकी सधियार, अँग्रेजी, पढालेखा, भद्रभलाद्मी, अनुशासित गुरु । त्योभन्दा पनि ठूलो सम्बन्ध, आन्दोलन, त्यो पनि बाम आन्दोलन । नवगुरुसँग बाम आन्दोलनका कारण मसँग उहाँको निकटतामा थप सघनता सम्भव भयो ।

    हाम्रो तत्कालिन भूमिगत मालेलाई दिएको सेल्टरमा उहाँ नियमित आगन्तुक हुनुहुन्थ्यो ।

    आमाको आशौचमा जागिर चट्

    हामीलाई बडो गजबले अँग्रेजी घुमाई फिराई पढाउँने र बुझाउँने यी गुरुलाई मातृशोक प¥यो । हामी विद्यार्थी पनि शोक संतप्त भयौँ । छिमेकी सधियारी भएको नाताले मेरो शोकको अन्य सहपाठीको भन्दा केही गुणा उच्च थियो । त्यसमा हामीबीच भएको तत्कालित परिवर्तनको अपेक्षा, अभिलाषा वा आकाँक्षाले पनि यी गुरुसँगको मेरो भावनात्वक सम्बन्ध सघन भएको हुनुपर्छ ।

    एकातिर गुरुज्युको मातृवियोेग अर्कातिर ती गुणी शिक्षकको अनुपस्थिति । हाम्रा कक्षाका फस्र्ट ब्वाई रामप्रसाद वाग्ले छटपटिदै थिए,“सरले पनि खै कता हो सही गर्नु भएछ, त्यसैले सरलाई यहाँबाट निकालेको अरे …!”

    हामी कक्षा ७ मा पढ्दै गर्दा र ती गुरुले हामीलाई पढाउँदै गर्दा उहाँको जागिर खोसियो । त्यसपछि केही दिन शून्य रह्यो हाम्रो कक्षा ।

    कुरा के परेको रहेछ भने उहाँ शिक्षक हक हितको लागि मरिमेट्ने नेपाल राष्ट्रिय शिक्षक संगठनको धनकुटा जिल्ल्ला कार्य समितिमा चयन हुनुभयो । त्यसपछि पारो चढ्यो, तत्कालिन धनकुटाका अनुदारवादी प्रमुख जिल्ला अधिकारी भगवान सिंहलाई । यी मधेशी हुन्, उनी नागरिकता बनाउन जिल्ला प्रशासनमा धाउने नेपालीलाई पनि आफ्ना सुरक्षागार्डबाट डण्ठी खोसेर राजाको फोटोजस्तै हाउभाउ गरेर थर्काउँथे, “यो राजदण्ड हो…!”

    यिनै प्रजिअले दवाव दिदारहेछन्, तत्कालिन भाषा निमावि रहेको साविकको तत्कालिन धनकुटा नगर पञ्चायत वडा नम्बर २ का वडाध्यक्ष भक्तबहादुर थापालाई र थापाले विद्यालयका तत्कालिन कामु प्रधानाध्यापक कृष्णबहादुर कार्कीमार्फत सन्देश प्रकट गर्नुहुँदोरहेछ, “कि तपाईंले संगठन छाड्नु प¥यो कि त जागिर ।”

    पटकपटक यस्तो कुरा आयो । भर्खरै आमाको निधनबाट परेको चोटले बर्सिएको आँसुबाट आँखा ओभानो नहुँदैको त्यो क्षण । यतिखेरै पञ्चहरुलाई उहाँको बामपन्थी संलग्नताबाट कि छुटकारा दिलाउने नभए जागिरबाटै हटाउँने ठूलो प्रपञ्च रच्ने अवसर मिल्यो । उहाँको प्रतिवद्धता कायम थियो । कपाल खौरेर, सेतो धोती पाटो लगाएर आमाको आशौच बारिरहेको बेला उहाँले खाइरहेको लियन पदका शिक्षिका कमल शर्मालाई विद्यालयमा हत्तपत्त हाजिर गर्न बोलाइयो र उहाँ अर्थात् चेतनाथ वाग्लेको बामपन्थी भएकै कारण भोलिपल्टै अर्थात्, आशौचमै रहेको समयमा जागिर खोसियो । कुरा प¥यो, २०४२ सालको ।

    चेतनाथ सरलाई हामीले ‘मिीस ग¥यौँ’ अर्थात् गुमाइरह्यौँ ।

    आफ्नै पढाईको चिन्ता थियो । उहाँ कता जानुभयो ? पछि धनकुटा बहुमुखी क्याम्पसमा खासगरी झापाको महारानी झोडाबाट आएका विद्यार्थी साथीहरुले पो चेतनाथ सरको गाथा गाउन थाले । म पनि त्यो समय (२०४७–४८)मा सिर्जनात्मक रचनामार्फत तत्कालिन अखिलको कामलाई जारी राखिरहेको थिएँ । त्यतिखेरै सुन्थेँ, चेतनाथ सरका शिक्षण शैली र उहाँप्रति समर्पित उहाँका पूर्वविद्यार्थीहरुबाट ब्यक्त सद्भावका सन्देशहरु, जो मेरो समिपमा आए।

    उहाँलाई आफ्नो आस्थाका कारण धनकुटामा टिकिखानु भएन र रोज्नुभयो, झापा जिल्लालाई ।

    सङ्घर्षै सङ्घर्ष

    चेतनाथ सरले परिवर्तनको बाटो रोज्नुभयो । त्यसैले भाषा स्कूलको जागिर छाडेर झापा झर्नुभयो । आमाको आशौचको समय पञ्चहरुले जागिर खोसेको त्यो समयलाई सम्झदै बहुदलीय प्रजातन्त्र आएपछि चेतनाथ सरको घरपायककै शैक्षिक उन्नतीमा जुट्न पुनरागमन भयो । ओहो, त्यत्रो व्यवस्था परिवर्तनका लागि जुटेका यी गुरुको लागि जागिर स्थायी गर्न संघर्षको बाटो नै एउटा रह्यो । संघर्ष समितिमा सक्रिय रहँदा बल्ल उहाँले जागिरमा स्थायित्व प्राप्त गर्नुभयो, हालै सेवानिवृत्त पनि हुनुभयो ।

    उहाँ, यस्तो विद्यालयबाट प्रधानाध्यापक पदबाट सेवानिवृत्त हुनुभयो, जहाँबाट उहाँले लियन पदबाट शिक्षण पेशा प्रारम्भ गर्दा बाम आन्दोलनमा लागेवापत जागिर खोसुवामा पर्नु परेको थियो, जुन विद्यालयबाट जागिर खोसुवामा पर्नुभयो । उहाँको पूर्वविद्यार्थी भएकोले उहाँले प्रधानाध्यापक पदबाट जुन निवृत्ति लिनुभयो, मनन गर्छु सार्थक छ यी बधाइका पात्रको जीवन ।
    जय गुरुदेव !

  • कमेन्ट गर्नुहोस्