• ज्यान हत्केलामा राखेर भिर मौरीको शिकार

    म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जास्थित अग्लो पहाडको भीरमा मौरीको मह निकाल्ने कोसिस गर्दै स्थानीय । तस्बिर: कमल खत्री
  •  

    गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करीब ५०० मिटर अग्लो पहाडमा एकजना पुरुष डोरीको भर्याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवक छन् ।

    पहाडको टुप्पोबाट भिरतर्फ झर्दै गरेका ती पुरुष गुर्जाकै मह शिकारी अमृत छन्त्याल हुन् । पहाडकै फेदी हुँदै बगिरहेको नदीको किनारमा रहेका मानिसहरु गाग्री, डोको र बाटा लिएर बसेका छन् । यो दृश्य धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँदेखि करीब ५ घण्टाको पैदल यात्रापछि पुगिने घ्यासपुर भिरमा स्थानीय बासिन्दाले मौरीको शिकार गर्दै गरेको हो । सडक सञ्जालले नजोडिएको गुर्जा सदरमुकाम बेनीदेखि २६ कोष टाढा दुई दिनको यात्रामा पर्छ ।

    गुर्जामा पुख्र्यौली पेशाको रुपमा भिर मौरीको शिकार गर्ने गरिएको छ । गुर्जामा हरेक वर्ष भिर मौरीको मह काट्ने चलन छ । यस वर्ष गत जेठ १८ गतेदेखि भिर मौरीको मह निकाल्न शुरु गरिएको थियो । झण्डै एक महीनाभन्दा बढी समयसम्म मौरीको चाका हुने प्रायः सबै भिरहरुमा मह शिकार हुने गर्छ । अग्ला पहाडमा हत्केलामा ज्यान राखेर भिर मौरीको मह काढ्ने गरिन्छ । सबैभन्दा जोखिम भिरमा मौरीको चाका नजीक पुगेर मह काढ्ने शिकारी (पराङ्गे) लाई हुने गर्छ ।

    गुर्जाका अक्करे भिरहरुमा मह काढ्न यस वर्ष स्थानीय युवा अमृत छन्त्याल पराङ्गेको रुपमा भिरमा चढ्ने गरेका छन् । निगालोको चोयाबाट बनाइएको डोरीमा काठ राखेर बनाइएको भ¥याङ (पराङ)मा तुरुलुङ्ग भुण्डिएर उनले दैनिक जसो मह काट्ने गरेका छन् । गुर्जाका ६० भन्दा बढी भिरमा भिर मौरीको शिकार हुने गर्छ । घ्यासपुर, छहरा, रिमताला, हुचिन, घुमाउरे, वानथान, फलियाघर, ठूलो भिरलगायतका ठूला भिरमा मह काढ्ने गरिन्छ ।

    मह शिकारी छन्त्यालका अनुसार – “धेरै मह हुने भिरहरुमध्ये घ्यासपुर सबैभन्दा अग्लो र अप्ठ्यारो भिर हो र मह पनि सबैभन्दा बढी यही भिरका चाकाहरुबाट उत्पादन हुने गर्छ । “चोयाकै डोरीले कम्मरमा बाँध्ने गर्छौँ, मुखमा सामान्य रुमालले छेक्ने हो, मौरीको टोकाइ नहुने कुरै भएन, पराङमा बेरिएर ज्यान सुरक्षित गर्नुपर्छ, पुर्खाहरुबाट शीप सिकेर यसरी मह काट्न भिरमा चढ्न थालेको हुँ,” छन्त्यालले भने । भिरमा चढेकाले मह काढेपछि महलाई चोयाबाटै बुनेको टोकरीमा सङ्कलन गरी चोयाको डोरीको सहायताले तल फेदीमा झार्ने गरिन्छ ।

    मह शिकारीले काढेको महलाई भिरको शिरमा बस्नेले डोरी खेलाउने र फेदीमा बस्ने ज्यामीहरुले ठूलो आवाजमा संवाद गरेर तल झार्ने र टोकरीलाई पुनः मह शिकारीको नजीक पु¥याउने गर्छन् । परम्परागत रुपमा गुर्जामा चार समूहले वर्षैपिच्छे पालो लगाएर मह काढ्ने चलन रहेको छ । पहाडको काप अर्थात् पानीले नभिज्ने र हावाहुरीले समेत कम असर गर्ने ठाउँमा हुने भिर मौरीको चाकाबाट मह निकाल्ने काम निकै जोखिमपूर्ण छ ।

    गुर्जामा रहेका २३० घरधुरी चार समूहमा विभाजन भएका छन् । पुस्तौँदेखि मह शिकारलाई व्यवस्थित गर्न यहाँ चार समूहले आलोपालो गरेर मह काढ्ने गर्छन् । एउटा समूहको पालो चार वर्षमा मात्रै आउँछ । यस वर्षका मह शिकारीहरुको समूहमा ३७ घरधुरी आबद्ध छन् । प्रत्येक घरका कम्तीमा एकजना मह शिकारको काममा व्यस्त छन् ।

    गुर्जालीले मह शिकारलाई पुख्र्यौली पेशाको रुपमा मात्रै जोगाएका छैनन्, उनीहरुले सामूहिक रुपमा आयआर्जनको काम पनि गरेका छन् । कोही भिरमा चढ्छन्, कोही फेदीमा बस्छन् । कसैले खाना र खाजा बनाउने गर्छन् भने कसैले सङ्कलन भएको महलाई बोकेर गाउँमा पुर्याउने काम गर्छन् । एक महिनाभन्दा बढी समय खर्चिएर भिरबाट सङ्कलन गरिने महलाई पकाएर परम्परागत रुपमा प्रशोधन गरी उनीहरुले बिक्री गर्छन् । भिरमा चढ्ने व्यक्तिलाई दोब्बर र अन्य व्यक्तिहरुले समान रुपमा मह बाँडफाँड गर्ने चलन छ । मह शिकारको कम्तीमा एक महीना यहाँका मह शिकारीहरुको टोली जङ्गल र गोठहरुमा बास बस्ने गर्छन् । यस वर्ष खास्कादेखि नजीकको खर्कमा रहेको गोठ र केही दिन जङ्गलमै त्रिपाल टाँगेर उनीहरुले मह शिकार गर्ने गरेका छन् ।

    हरेक भिरमा मह काढ्नु पूर्व जिउज्यानको रक्षाको कामनासहित देवीदेवतालाई सम्झिएर धजा चढाउने गरिन्छ । भिरको शिरमा गाडिने किलोमा सकभर नफुक्ने गरी बाँधेर चोयाको पराङलाई पहाडतर्फ खसालिन्छ । भिरमा मह काढ्ने शिकारीले मह काढ्ने सामानको बन्दोबस्तसहितको झोला बोकेर निगालोको लौराहरुसहित पराङ चढ्छन् । मौरीको चाका नजीक पुगेपछि शिकारीले निगालोको लौरालाई भिर पहाडको कापमा ठोकेर पराङलाई बाँधेर सामान्य सन्तुलनमा राख्ने काम गर्छन् । फेदीमा बसेका र भिरको शिरमा बसेका सहयोगीहरुले चोयाकै डोरीको सहायताले फेदीबाट आगोको मुस्लो शिकारीसामु पु¥याउने गर्छन् । शिकारीले आगोको मुस्लोलाई मौरीको चाका नजीक पुर्याउँछन् । आगोको धुवाँले मौरीलाई भगाउने र लठ्ठ्याउने काम गरिन्छ । धुँवा लगाएपछि लठ्ठिएर मौरीले टोक्न नसक्ने भएपछि शिकारीले मह काढ्न शुरु गर्छन् ।

    भिरमा माहुरीले चाका छाडेपछि देखिने पहेँला चाका फालेपछि देखिने सेतो पोलामा बल्न मह भेटिने स्थानीय युवा थमबहादुर छन्त्यालले बताए । अक्करे भिरमा डोरीको सहायताले मह काढ्ने गरेको दृश्य कहालिलाग्दो देखिन्छ । भिरमा चढेका शिकारी, भिरको टुप्पोमा बसेका सहयोगी र फेदीमा बसेका मह सङ्कलनकर्ताबीचको सहज संवादका लागि भिरको अगाडि पर्ने डिलमा केही हेरालो बस्ने गर्छन् । उनीहरुले तीन ठाउँबीचमा आइपर्ने समस्या र गर्नुपर्ने कामलाई ठूलो स्वरमा कुर्लिएर सम्बन्धित ठाउँमा खबर पुर्याउने गरेको दृश्यले मह शिकारको छुट्टै र फरक अनुभूति दिने पहिलो पटक मह शिकार हेर्न पुगेका बेनीका अमित विश्वकर्माले बताए ।

    गुर्जामा भिर मह स्थानीय बासिन्दाको आयआर्जनको बलियो स्रोत बनेको छ । पुख्र्यौली पेशाकै रुपमा निरन्तरता पाएको मह शिकारबाट एउटै भिरमा बढीमा ४०० लिटरसम्म मह सङ्कलन हुने गरेको छ । भिरमा मौरीको चाकाबाट निकालिएको काँचो महलाई गाउँ पुर्याएर प्रशोधन गर्ने र स्थानीय तथा राष्ट्रिय बजारहरुमा बिक्रीका लागि पु¥याउने गरिन्छ । मह राम्रो उत्पादन भएको वर्ष १५ देखि २५ लाख रुपैयाँसम्म मह बिक्रीबाट गाउँमा रकम भित्रिने गरेको स्थानीयवासी भीमबहादुर छन्त्यालले बताए । नौ वर्षसम्म भिरमा चढेर मह शिकारीको रुपमा मह काढेको अनुभव सङ्गालेका छन्त्यालले हरेक वर्ष एक घरमा न्यूनतम ३० हजारदेखि अधिकतम ८० हजार रुपैयाँसम्म आम्दानी हुने बताए ।

    मुखमा राख्दा गुलियो र स्वादिलो हुने भिर मौरीको मह औषधिको रूपमा प्रयोग हुन्छ । जङ्गलमा चहारेर मौरीले विभिन्न जडीबुटीको रसबाट मह बनाउने भएकाले भिर मौरी जडीबुटीको रुपमा प्रयोग गरिँदै आइएको पाइन्छ । स्थानीयसँगै अन्तर्राष्ट्रिय बजारबाट समेत भिर महको माग आउने गरेको छ । खासगरी नेपालबाट चीन र दक्षिण कोरियाका नागरिकहरुले मह लैजाने गर्छन् । रोग प्रतिरोधात्मक र शक्तिबर्द्धक मानिने भिर मह पहिले घरायसी रुपमा मात्रै प्रयोग हुने गरेको भए पनि अहिले भने बजारको माग पुर्याउनै मुश्किल हुने गरेको गुर्जाका स्थानीयवासी प्रेम छन्त्यालले बताए । उनका अनुसार अहिले गाउँबाटै प्रतिलिटर एक हजार ५०० रुपैयाँमा मह बिक्री हुने गरेको छ ।

    म्याग्दीमा गुर्जासँगै मुदी, मल्कबाङ, लुलाङ, निस्कोट, बरंजा, कुइनेमंगले, चिमखोला, हिस्तानलगायतका क्षेत्रमा वर्षेनी मह शिकार हुने गरेको छ । चैत महिनामा बेंशीका भिरबाट मह निकालिने भए पनि उच्च पहाडी क्षेत्रका पहाडमा असारसम्म पनि मह निकाल्ने गरिन्छ । गर्मी शुरु भएपछि माहुरीहरु लेकमा र जाडो शुरु भएपछि बेंशीमा बसाइसराई गर्ने भएकाले दुबै क्षेत्रमा भिर माहुरीको सम्भावना छ । भिर माहुरीको चरन क्षेत्र फराकिलो हुने र विभिन्न फलफूलदेखि जडीबुटीहरुका समेत रस खाने भएकाले भिर मह कडा हुन्छ । यसलाई एकैपटक धेरै खान नहुने जानकारहरु बताउँछन् ।

    धवलागिरि गाउँपालिकाले मह शिकारलाई सुरक्षित र व्यवस्थित बनाएर स्थानीय बासिन्दाको पुर्ख्यौली पेशाको संरक्षण गर्ने र पर्यटनसँग जोडेर लाने रणनीति तय गरेको छ । मह शिकार गर्ने परम्परागत विधि र शैलीलाई आधुनिकीकरण गर्ने, सुरक्षा संवेदनशीलतामा ध्यान दिने र प्रशोधनका लागि नयाँ प्रविधिको खोजी गर्ने गुर्जाका वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता झक बहादुर छन्त्यालले बताए । “मह शिकार यहाँका स्थानीय बासिन्दाको पुख्र्यौली पेशा हो, सुरक्षाको हिसाबले यो निकै जोखिमयुक्त छ, हामीले यसलाई कसरी व्यवस्थित र सुरक्षित गराउन सक्छौँ भनेर आवश्यक पहल थालेका छौँ,” अध्यक्ष छन्त्यालले भने । मह शिकारका लागि डिभिजन वन कार्यालयमार्फत प्रतिलिटर रु १०० राजश्व तिरेर सङ्कलन पुर्जी लिनुपर्ने प्रावधान रहेको छ भने धवलागिरि गाउँपालिकाले समेत प्रतिलिटर रु १५ रुपैयाँ निकासी कर तोकेको छ । निकै साहसिक मानिने मह शिकारलाई पर्यटनसँग जोडेर संरक्षण र व्यवस्थित गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् ।

    –– कमल खत्री 

  • कमेन्ट गर्नुहोस्