• गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकाको टोली घान्द्रुकमा

  • गुरुङ जातिकोे संस्कृति अध्ययनका लागि संयुक्त गुरुङ समाज अमेरिकाको टोली घान्दु्रक आइपुगेको छ । गुरुङ जातिको मौलिक पहिचान, भाषा, धर्म, संस्कार संस्कृतिका बारेमा खोज, अध्ययन र अनुसन्धानका लागि संयुक्त गुरुङ समाज अमेरिकाको पाँच सदस्यीय टोली गुरुङ जातिको बाहुल्य रहेको स्थल घान्द्रुक पुगेको हो ।

    घान्द्रुक पुगेको टोलीले त्यहाँ रहेको गुरुङ जातिको पच्यु, घ्याप्री खेगीहरुसँग अन्तरक्रियासमेत गरेको छ । अन्तरक्रिया कार्यक्रममा पच्यु खेगी गुरु चित्रबहादुर गुरुङले हालसम्म गुरुङहरुको मौलिक भाषा, धर्म, संस्कार संस्कृतिका बारेमा कोही कसैले चासो नदिइरहेको बेला अमेरिकामा बसोवास गर्ने गुरुङहरुले यसका बारेमा चासो देखाएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

    गुरुङ जातिको मुख्य धर्म बोन धर्म रहेको बताउँदै गुरुङले गुरुङ जातिको हरेक संस्कारमा वोन्पोलम, पच्यु, घ्याप्री र खेगीहरुद्वारा पूजाआजा गरिने बताउनुभयो । घ्याप्री खेगीका तर्फबाट बोल्दै खेगी आसबहादुर गुरुङले पच्यु र घ्याप्रीको कुनै पनि लिखित प्ये नरहे तापनि वोन्पोलमको भने प्ये रहे तापनि पछिल्लो समय युवा पुस्ताहरुले यस बारेमा जानकारी नभएको बताउनुभयो ।

    नयाँ पुस्ताले चासो नदेखाउँदा लोप हुने अवस्था पुगिरहेको सन्दर्भमा ढिलै भए पनि अमेरिकामा बसोवास गर्ने गुरुङ युवाहरुले चासो देखाएर अनुसन्धान गरेकामा खुशी व्यक्त गर्दै उहाँले सम्पूर्ण गुरुङ एकजुट भएर आफ्नो संस्कृतिको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो । चोगी किसम गुरुङले वोन वादी गुरुङको संस्कारलाई समयक्रमअनुसार रुपान्तरण गर्दै वोन्पोलम, पच्यु र घ्याप्रीहरुको संस्कार संरक्षण गर्नुपर्ने बताउनुभयो ।

    संयुक्त गुरुङ समाज अमेरिकाका अध्यक्ष प्रदीप कोने गुरुङले अमेरिकामा बसोवास गरिहँदा आफूहरुले आफ्नो जातिको संस्कारहरुका बारेमा भावी युवा पुस्तालाई समेत जानकारी दिनुपर्छ भन्ने उद्देश्य लिएर पाँच सदस्यीय टोली अध्ययन अनुसन्धानका लागि नेपाल आएको बताउनुभयो । गुरुङको उद्गम थलो क्होलासोथर नजीकै रहेको सिक्लेसबाट शुरु भएको अध्ययन भ्रमण ताङ्तिङ, तप्राङ, धम्पुस, हँुदै घान्दु्रक आइपुगको बताउँदै लम्जुङ, चितवन हँुदै भारतको सिक्किम र दार्जलिङ लगायतका स्थानमा पुग्ने बताउनुभयो ।

    घान्द्रुकका मिमबहादुर गुरुङ, पूर्णमान गुरुङ, जगन गुरुङ, वैशबहादुर गुरुङ लगायतले वोन धर्म र संस्कारका बारेमा जानकारी दिनुभयो । उक्त अवसरमा संयुक्त गुरुङ समाज अमेरिकाका उपाध्यक्ष एन बी गुरुङ, समाजको परराष्ट्र मन्त्रालयको प्रमुख पदम गुरुङ, सञ्चारकर्मी सहज गुरुङ र सल्लाहकार गङ्गाराम गुरुङ लगायतको सहभागिता थियो ।

  • कमेन्ट गर्नुहोस्