• कम्युनिस्ट पाल्ने साहुहरु

  •  

    आफू अखिलको सक्रिय कार्यकर्ता भइहिँड्दा लाग्थ्यो, धनकुटाको बजार क्षेत्रका नेवार खलक किन वामपन्थी नभएका होलान् ? शिवकुमार श्रेष्ठ (सहप्राध्यापक, इतिहासकार तथा लोकसाहित्यकार), इश्वरकुमार श्रेष्ठ (सहप्राध्यापक तथा प्राडा दयाराम ‘सम्भव’का भाइ) र पूर्णकृष्ण श्रेष्ठ (त्रिवि कर्मचारी)लाई मात्र देखिन्थ्यो, सक्रियताको हिसावले । माथिल्लो कोप्चेका रुद्र श्रेष्ठको सक्रियता देखिन्थ्यो । लाग्थ्यो, धनकुटा नगरको कोर बजार क्षेत्रमा यति नै हुन् वामपन्थीहरु ? चामलका कनिका केलाएजस्तै थिए, धनकुटा नगरको मुख्य बजार क्षेत्रमा नेवार कम्युनिस्टहरु ।

    त्यो समयमा सँस्कृतिकर्ममा मेरा आफ्नो रुची भएका कारण पनि तत्कालिन जनसाँस्कृतिक मञ्चको धनकुटाको अध्यक्षका रुपमा इश्वरकुमार श्रेष्ठ (इशदिव) र कलाकार श्रीकृष्ण जोशीलाई कोषाध्यक्षको रुपमा भएको प्राप्ति निक्कै महत्वपूर्ण थियो । किन कि धनकुटा बजार क्षेत्रबाट नेवार जातिबाट धनकुटामा कार्यकर्ता अप्राप्य थियो ।

    यस्तो अवस्थामा धनकुटा बजारका काँग्रेसजनको बाहुल्यतबाट खासगरी धनकुटा बहुमुखी क्याम्पसमा अखिलको वर्चस्व हुँदाहुँदै पनि हामी अखिल कार्यकर्ताले कुटाई खाइराख्नुपार्ने बाध्यता थियो । तर बजारबीचबाटै सुजनभाई जोशीको अखिलको विद्यार्थी राजनीतिमा देखिएको सक्रियतापछि नेविसंघले कुटाई खानुपर्ने दिनको प्रारम्भ भयो । मनमोहन अधिकारीका पुराना कार्यकर्ता भरतकृष्ण जोशीका यी सुपुत्रको धनकुटा अखिलमा भएको उदयसँगै धनकुटा नगरको विद्यार्थी राजनीतिमा शान्ति स्थापना भयो ।

    गौरवपूर्ण त्यो योगदान

    धनकुटामा कम्युनिस्ट पार्टीको उदयमा उनै बजारिया नेवारहरुको योगदान छ । माथि उल्लेख गरिएका इतिहासकार तथा लोकसाहित्यकार शिवकुमार श्रेष्ठ नेकपा, धनकुटाको संस्थापक सचिव हुनुहुन्छ । २०१५ सालको निर्वाचनमा नेकपाका तर्फबाट यस क्षेत्रका उम्मेदवारका रुपमा भरतराज जोशीलाई खडा गरियो । त्यो बेला निलम श्रेष्ठ असाध्यै सक्रिय कार्यकर्ता । २०१५ सालअघि इलाममा भएको बडाहाकिमविरुद्धको आन्दोलनलाई सघाउन धनकुटाबाट त्यहाँ पुगेका शिवकुृमार श्रेष्ठ र घुमाउने चौतारा निवासी दिपबहादुर श्रेष्ठलाई बिर्सिइने छैन ।

    २०१२ सालमा कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लाग्यो । त्यसको खुलेर कसैले विरोध गर्न सकेनन् । तर बजार क्षेत्रमा यस्ती एक महिला देखा परिन्, उनी एक्लैले त्यसको विरोध गरिन् । उहाँ हुनुहुन्छ, सरला कायस्थ । धनकुटाको संभ्रान्त अमात्य परिवारकी छोरी पछि धरानका कायस्थसँग विहे भएपछि सरला कायस्थका रुपमा चिनिनुभयो । उहाँको हालसम्मको जीवन नेपाल रेडक्रस सोसाइटीमा समर्पित छ ।

    धनकुटाका अमात्य परिवारबाटै हालः एकजना अमात्य सरकारी सेवाका विशिष्ट पदमा हुनुहुन्छ । उहाँ अर्थात् डीआईजी दिनेश अमात्य । पञ्चायतकालमा अखिलको सक्रिय कार्यकर्ता । उहाँ २०३६ साल ताका गोकुण्डेश्वर माध्यमिक विद्यालयमा अखिलको प्रारम्भिक कमिटीको सदस्य हुनुहुन्थ्यो । २०३८ सालमा प्रगतिशील लेखक कलाकार संघको पहिलो धनकुटा जिल्ला सम्मेलनमा उहाँले दिनुभएको जिन्सी सहयोगको लिखत मैले आफ्नै घरमा बाल्यकालमै पढ्न पाएको थिएँ । उहाँ माथिल्लो कोप्चेका ।

    तल्लो कोप्चेमा एक जना पहलमान साहु हुनुहन्थ्यो । उहाँका जेठा छोरा विजय प्रधान पनि घरको प्रतिकुलता वावजुद वामपन्थी आन्दोलनमा हुनुहुन्थ्यो । विजयका माहिला भाइ विकास चाहिँ धनकुटा बहुमुखी क्याम्पसको पहिलो स्ववियु निर्वाचनमा तत्कालिन विजयी अखिलका सभापति उम्मेदवार नारायण डाँगीबाट पराजित हुनुभयो । विकास चाहिँ नेवि संघबाट सभापतिको उम्मेदवार ।

    गजराम योगी अलि उपेक्षित नेवारजस्तो लाग्थ्यो मैले उहाँलाई देख्दा । टुँडिखेलदेखि अलि पर उहाँको घर थियो । कुनै जमानामा दार्जिलिङबाट एसएलसी पास गर्नु भएका उहाँले २००८ सालमा जगन्नाथ पोखरेल र नरबहादुर कुथुमीबाट नेकपाको सदस्यता लिनुभयो । उहाँ त दिवंगत भइसक्नुभयो । उहाँका छोराहरुले नै सुरुआत गरेका हुन्, धनकुटा र सुनसरीको सिमानामा रहेको पर्यटकीय स्थल भेडेटारमा आधुनिक होटल व्यवसाय ।

    तल्लो कोप्चेकै एक जना नन्दगोपाल श्रेष्ठ पनि बहुदल आएपछि एमालेको जुलुशमा सक्रियतापूर्वक हिडेको देख्थेँ । उहाँ २००८ सालतिरै कम्युनिस्ट भइसक्नुभएको रहेछ । धनकुटाको वाम आन्दोलनमा बिर्सन मिल्दैन तल्लो कोप्चेका विर्खबहादुर श्रेष्ठलाई पनि ।

    धनकुटा छारागाउँका एक जना कम्युनिस्ट कार्यकर्तालाई क्षय रोगले छोए छ । उनको उपचारको प्रबन्ध मनमोहन अधिकारीबाट भयो । उनलाई उपचारार्थ चीन पठाइयो । निको भएर फर्किए । उनै कर्णबहादुर श्रेष्ठले कम्युनिस्ट पार्टीप्रति सदभाव व्यक्त गर्दै छोरीहरुमध्ये एकको ‘चाइना’ अनि अर्कीको ‘रसिया’ नाम राखिदिए ।

    मनमोहन अधिकारी भूमिगत हुँदादेखि प्रधानमन्त्रीसम्म हुँदा अधिकारीको सेवा गरिरहने केदार श्रेष्ठ धनकुटा तल्लो कोप्चेका हुन् भन्ने पनि बिर्सनु हुँदैन ।

    कम्युनिस्ट पाल्ने ती साहुहरु
    एउटा घटना यहाँ स्मरणीय हुनेछ । अहिले पनि सक्रिय वाम नेता जीवप्रसाद पोखरेल माथिल्लो कोप्चेस्थित दियाले साहुको घरमा पुग्नुभएछ । यस घरका माहिला छोरा माणिक श्रेष्ठ रिसले चुर ! कुरा के परेछ भने उनलाई कसैले ‘बेइजिङ रिभ्यू’को केही पृष्ठ अनुवाद गर्न दिएछन् । रातारात गरी अनुवाद कार्य सकियो, तर, अनुवाद गराउने व्यक्ति अनुवाद गरिएको कपि लिन आउँदैनन् !

    आफ्नो पढ्ने र लेख्ने समय कटाएर गरिएको त्यो अनुवाद कार्य बुझ्ने व्यक्ति केही दिनपछि मात्र आउँदा माणिकले डाइलग मारे, ‘तपाईहरुजस्तो मान्छेले पनि यसो गर्ने ?’

    अनुवाद कपि बुझ्नेले क्षमा मागे र सर्सरी अनुवाद कपि पढे । त्यसपछि सम्पर्क व्यक्ति जीवप्रसाद पोखरेलतिर हेर्दै भने, ‘वाह, यति कम पढेका विद्यार्थीले पनि यति राम्रो उल्था गरेछन् । कहिँ कतै गल्ती छैन ।’

    यसो भन्ने चाहिँ धनकुटा जिल्लाका तत्कालिन सचिव चित्र निरौला । उहाँ आफै पुरेत लाहुरेका छोरा, अँग्रेजीमा पोख्त ।

    मैले पनि माणिक श्रेष्ठको मेधावीपनको बारेमा प्रशस्तै सुनेको छु, तर भेट्न पाएको छैन । दियाले साहुको घरले त मदन भण्डारीसम्मलाई आश्रय दिएको छ ।

    माणिकका दाजु ज्ञानेन्द्र र भाउजु मनका पार्टीप्रति समर्पित हुनुहुन्थ्यो । त्यहीँ भएर उहाँका बुबा दियाले साहुको घरमा नेताहरु आश्रित हुन पाउँथे, भूमिगतकालमा ।

    हरेक चुनावमा एकजना मोटो व्यक्ति पार्टीलाई सघाउन हप्ता दिनअघि नै धनकुटा आउँथे । बजार क्षेत्रका नेवारमध्येले हसिया हथौडा अंकीत झण्डा समाएर जुलुशमा हिडेको देख्दा आश्चर्यकित खुसी उर्लन्थ्यो मनमा । उहाँको नाम हो अशोक श्रेष्ठ ।

    किन्ताङे साहुको घरमा त्यो बेला पार्टीले सेल्टर त पाएन, तर राम्रा कार्यकर्ताहरु पाए । साहुका छोरा चन्द्र श्रेष्ठ र अशोक श्रेष्ठ । अनि हाल ललितपुर क्षेत्र नम्बर ३ की प्रदेश सभाका सभासद देवकी श्रेष्ठ किन्ताङे साहुकै सन्तान हुन् ।

    धनकुटाका साहुमध्ये कृष्ण साहुलाई कसरी बिर्सने ? धनकुटामा त्यो बेला सबैभन्दा ठूलो होटल नै कृष्ण साहुको थियो, ‘कृष्ण होटल’ । हालः ‘सुरभी होटल’ । यस घरकी एक चेलीले धनकुटा नगरको वाम आन्दोलनको नाक राखेकी छन् । सावित्री शाक्य धनकुटा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिलका तर्फबाट निर्वाचित कोषाध्यक्ष ।

    यसैगरी काठमाडौ महानगरपालिका वडा नम्बर ३३ बाट २०५४ सालमा साविकको एमालेबाट निर्वाचित रञ्जना मास्के पनि धनकुटाकी चेली हुनुहन्छ, भरतकृष्ण जोशीकी बहिनी ।

    तर, अहिले धनकुटा बजार क्षेत्रमा किन नेवार कम्युनिस्ट कार्यकर्ता भेटिदैन, अहिलेको नेतृत्वले खोजी गर्नु पदैैन ?

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad