• एक पुस्तकप्रेमीलाई सम्झदा

  •  

    बीच बजारमा रहेको साझा प्रकाशनको धनकुटा शाखामा साहित्यिक मासिक ‘गरिमा’का पुराना अङ्कहरु भारी छुटका साथ विक्रीमा रहेछन् । म आफूलाई त ती पत्रिकाका चाहियो नै, ती अङ्कहरुको बण्डल उठाइरहेको बेला हाम्रा टोलका एक जना पुस्तकप्रेमीलाई पनि सम्झना गरेँ ।

    नयाँ प्रकाशन केही फेला पर्नासाथ किनिहाल्ने पर्यो आफ्नो बानी । त्यहीँ मेसोमा केही नयाँ प्रकाशन किनिल्याएको बेला ती पुस्तकप्रेमी मेरो घरमा टुप्लुक्क आइपुगिहाल्ने । म आफूले पढ्न सुरु गरेको वा आधाउधि पढ्दै गरेको अवस्थामा पनि ती पुस्तकप्रेमी मेरो घरमा आएको बखत म त्यस्ता प्रकाशन उनलाई सुम्पिहाल्थेँ । ‘गरिमा’का पुराना अङ्कहरु साझाबाट किनिरहेको बेला उनलाई मैले नसम्झने कुरै भएन ।

    ‘गरिमा’का पुराना अङ्कहरु किनेर तिनीहरुलाई डोरीले कसी भारी बनाउँदा दुई बण्डल भए । दुई वटा हातले उठाई बीच बजारबाट आफ्नो घरतिरको उकालो चढ्दा जति गह्रुङ्गा थिए ती बण्डल, त्यति नै हलुका थिए र प्रफुल्ल थियो मेरो मन ।

    यो कुरा पर्यो, २०५६-५७ तिरको ।

    योभन्दा दुई दशकअघिका प्रसङ्गहरुतिर मोडिन चाहन्छु, अब ।

    ‘यो किताब तिम्रो लाईब्रेरीबाट तिमीलाई नसोधिकनै झिकेर लगेको थिएँ, आज फर्काएको छु है !’, मञ्जुलको कविता संगालो ‘गायक यात्री’ मेरा दाइ डम्बरलाई फिर्ता गर्दै ती पुस्तकप्रेमीले भने ।

    हुन त त्यो हाम्रो घर सार्वजनिक थियो, तत्कालिन पार्टीमा आस्था राख्नेहरु कोही पूर्वसूचना अनुसार आइपुग्थे, कोही बिना सूचना । आस्थावान स्थानीयहरु चाहिँ बिना सूचना त्यहाँ आउँथे । ती पुस्तकप्रेमी त हाम्रै छिमेक भएकोले हाम्रो त्यो घरमा आउन पूर्वसूचनाको आवश्यकता नै परेन ।

    २०३६ देखि २०३९ सम्मको समयका ती स्वप्नजिवीहरुको आवतजावत भइरहने घरको कोठालाई सम्झेर गौरव गर्छु, आत्मा भएको शरीरजस्तै पुस्तक भएको कोठा थियो । २०३९ पछि पार्टीको सेल्टर अन्तै कतै सारियो ।

    हो, हाम्रो घरको एउटा कोठामा ‘फुच्चे’ पुस्तकालय पनि थियो । त्यो बेलाको म फुच्चेले त्यहीँ पुस्तकालयबाट आफ्नो टोलबाट उता पनि अरु संसार हुँदोरहेछ भन्ने थाहा पाएको हुँ । सिसेरोको भनाई यहाँ राख्न चाहन्छु । उनले भनेका छन्,‘पुस्तक नभएको कोठा र आत्मा नभएको शरीरमा केही फरक हुँदैन ।’

    हाम्रो घरको त्यो कोठा पनि आत्मा भएको शरीरजस्तै रहेछ, आहा ! यहीँ कोठामा कुनै बेला मदन भण्डारी, अशोक राई, राजेश बान्तवा, रमेश खनाल, चित्र निरौला, गोपाल गुरागाईंलगायतका स्वप्नजिवीहरुको बास परेको छ । त्यसैले हाम्रो घरको यो कोठाले आत्मा मात्र पाएन, महात्मा पनि पाएको रहेछ भन्ठान्छु, यतिखेर म ।

    पोस्टर लेखिदै गर्दा

    मेरा दाइ डम्बर लगायत खासगरी छिमेकी दाइ चन्द्र ब्लोन धमाधम सेतो कागजमा बाँसको कलमले पत्ति रङको झोलमा चोप्दै ठूला ठूला अक्षरमा लेख्दै थिए । म चाहिँ खेल्दै दर्गुदै त्यो कोठामा बेलाबेलामा पुग्थेँ ।

    ‘ला, यसले लेख्’, मलाई जहिल्यै पनि बुबाको सामु छुनुमुनु गरिरहनुपर्ने । बुबाले दाइ डम्बरलाई मज्जाले खिपेर बाँसको कलम बनाई दिनुभएको रहेछ । त्यहीँ कलमको प्रयोग गरी रातो पत्ती रङको झोलमा डुबाउँदै फुल्स्केपमा धमाधम पोस्टर लेखिँदैरहेछ । मेरा लाहुरे बुबाको नेपाली वामपन्थी आन्दोलनमा ठूलो योगदान छैन, तर उहाँले नै निर्माण गरेको एउटा घरलाई उहाँको माहिला छोराले आश्रय बनाउँदा कुनै विरोध नगर्नु र पोस्टर लेख्ने बाँसका कलमहरु आफैले खिपिदिनु उहाँको महत्वपूर्ण कर्म थियो । धानको चामलको जोहो गरी भूमिगत नेताहरुलाई खाना खुवाउने जिम्मा त आमाको थियो ।

    पोस्टरको नारा बदलियो

    म फेरि त्यो कोठामा टुप्लुक्क पुगेँ । त्यतिबेला सुन्तले पावर हाउसबाट निकालिएको धनकुटा नगरमा आपूर्ति हुने बिजुलीमा लोडसेडिङ भएको थियो । धिपधिपे कुपीको उज्यालोमा ती पुस्तकप्रेमी आइपुगे । यसअघि लेखिएका पोस्टरका नाराहरु हेरिसकेपछि उनको अनुहारमा असन्तुष्टिका भावहरु देखा परेको देखियो ।

    ‘के लेखेको यस्तो, विरोध गरेको कि अनुरोध गरेको ?’ पुस्तकप्रेमीको प्रश्न ।

    डम्बरको स्पष्टिकरण,‘नारा लेखेको नि दाइ ।’

    ‘यस्तो पनि नारा हुन्छ ?’ त्यसपछि ती पुस्तकप्रेमी यसअघि लेखिएका सबै पोस्टरहरु सार्वजनिक नगर्न भन्दै आफै खराखर लेख्न थाले ।

    ‘पञ्चायती व्यवस्थाको अन्त्यै हुनैपर्छ, नमिता–सुनिताको हत्यारालाई कारबाही हुनै पर्छ’, यस्तो थियो पहिलो पटकको पोस्टरको भाका ।

    तर ती पुस्तकप्रेमी आफै अघिसरा बनेर धमाधम पोस्टर लेख्न थाले, ‘पञ्चायती व्यवस्था मूर्दावाद, नमिता–सुनिताका हत्यारालाई कारवाही गर् ।’

    पुराना पोस्टरहरु सबै जलाइए । नयाँ पोस्टरको थाक लाग्यो ।

    ती पोस्टरहरु कहाँ कसरी सार्वजनिक गर्ने भन्ने व्यवस्थापकीय छलफल भइरहेको बेला फेरि म फुच्चे टुप्लुक्क त्यहीँ कोठामा पुगेँ । दाइ रेख ब्लोन निर्देशनात्मक अवस्थामा हुनुहुन्थ्यो भने डम्बर चाहिँ व्यवस्थापकीय ।

    पोस्टर त दुःख सुख तयार भयो, टाँस्ने चाहिँ केले ? त्यहाँ उपस्थित रामप्रसाद वाग्लेबाट फुत्त उपाय आयो, ‘गोबरले ।’

    भातले टाँसौं, त्यहाँ उपस्थितमध्ये अधिकाँशको घरमा धानको भात कमै पाक्ने । गमले टाँसौं त किन्ने पैसा कहाँबाट ल्याउने ? रामप्रसाद दाइ (दिवंगत)का बुबा गुरुप्रसाद वाग्ले (उहाँ पनि दिंवगत) स्थानीय पुरोहित भई जनैपूर्णिमामा जनै लगाइदिने र नागपञ्चमीमा नाग टाँसिहिड्ने भएकोले पनि नागको फोटो गोबरले टाँस्ने चलन हाम्रो टोलमा थियो । त्यहीँ प्रचलनलाई अनुशरण गरी गोबरले पोस्टर टाँस्ने प्रस्ताव रामप्रसाद दाइले ल्याउँदा त्यो स्वीकृत भयो ।

    खासगरी मुख्यमुख्य ठाउँमा पोस्टर टाँस्न निर्देशन दिइयो । रातको समय पोस्टर टासिन्थ्यो । मानिसहरुको अलि बढी जमघट हुने स्थानमा जस्तै बरपिपल चौतारी, सार्वजनिक पाटी आदि पोस्टर टाँस्नका लागि आकर्षक स्थलका रुपमा चुनिन्थे ।

    यस्तो पोस्टर लेख्ने र टाँस्ने धेरै काम भए । त्यतिखेर म फुच्चेलाई पनि त्यो क्रान्तिकारी कदममा सहभागी हुन मन लाग्थ्यो । म जिद्दि गर्थेँ,‘म पनि जान्छु ।’ तर अग्रजहरु रोक्थे ।

    यस्तो पोस्टरिङ धेरैपटक भयो ।

    ती पुस्तकप्रेमी

    लामो समय जो विरामी हुनुभयो । अहिले साधारण अवस्थामा हुनुहुन्छ । म कक्षा २ मा गणेश प्राथमिक विद्यालयमा पढिरहेको बेला उहाँ प्रधानाध्यापक हुनुहुन्थ्थो । उहाँबाटै मैले पहिलो पटक जानेँ ‘शब्दलाई वाक्यमा प्रयोग गर्ने तरिका ।’

    उहाँ लामो समय प्राथमिक विद्यालय तहको प्रधानाध्यापक हुनुभयो । पेशागत धर्म र आस्थागत सक्रियतासँगै उहाँले पुस्तकप्रतिको प्रेममा कहिल्यै सम्झौता गर्नुभएन । त्यसैले ‘गरिमा’का पुराना अङ्क दुई बण्डल किनेर असिनपसिन हुँदै उकालो हिँडेर घर पुग्दा पनि तिनै पुस्तकप्रेमीको अनुहारको प्रतिविम्व आँखाभरि सजाउँदै मन हल्का गरेको थिएँ ।

    तर आज जिवितै भए पनि सत्तासीन वा सत्ताउन्मुख कमरेडहरुबाट यी पुस्तकप्रेमी विस्मृत प्रायः हुनुहुन्छ । अप्ठ्यारो समयका खोला तार्ने यी लौरोमाथि खोला तर्नेहरुले नजर लगाइरहेको मेरो आँखाले देख्न पाएको छैन ।

    त्यो स्वप्न युगको म फुच्चेले अग्रज पुस्ताबाट गाइएको गीत सुनेको थिएँ,

    बसाईं हिड्नेको तातीले बस्नेको मन रुवाउँछ
    लाखौैको लागि उजाड यो देश मुट्ठिभरलाई त स्वर्ग छ…।

    परदेशमा बसेर ती पुस्तकप्रेमी दाजु दिलबहादुर बम्जनलाई सम्झेर माथि उल्लेखित गीतलाई प्यारोडी बनाएर गाउन मन लाग्यो,

    बिर्सी जाने ती नेताले, योद्धाको मन रुवाउँछ
    लाखौँको लागि उजाड पार्टी, मुट्ठिभरलाई त स्वर्ग छ…।

    यो प्यारोडी पीडित स्वरहरुबाट समवेत रुपमा गुञ्जन गर्न नपरोस्, कृपया !

  • कमेन्ट गर्नुहोस्