• भूपाल राईको प्रतिबन्धित त्यो गीत

  •  

    पत्रकारितामा बामे सर्दै थिएँ, चालिसको दशकको उत्तराद्र्धमा । पचासको दशकको सुरुआतमा त पेशागत रुपमै पत्रकारिता सुरु गरिहालेँ । त्यो बेला घरमा फोन थिएन । सञ्चार साधनहरुको अभावग्रस्त समयमा थालिएको पत्रकारिता जीवनमा धनकुटा नगरको हुलाक टोलस्थित रुपकला फोटो स्टुडियोका सञ्चालक दाइहरु शुक्र र बुद्ध लिम्बूले मलाई लगाएको गुण अविस्मरणीय छ । यस्तै पुनम पुस्तक पसलको रेखदेख गर्ने भाइ निश्चल राईले मेरो पेशागत पत्रकारिताको सुरुआतीका दिनमा लगानी गरेको गुणलाई यस प्रसङ्गमा थप सम्झना गर्न चाहन्छु । तत्कालिन रुपकला फोटो स्टुडियो चाहिँ मेरो सम्पर्क केन्द्रजस्तै थियो ।

    एक राष्ट्रिय दैनिकको ज्यालादारी समाचारदाता थिएँ । कुरा प¥यो २०५० सालको । शुक्र र बुद्ध दाइकी आमा पाराम लिम्बूले एक दिन मलाई सोध्नुभयो, ‘भाइ, तपाईं भुपाल राईलाई चिन्नुहुन्छ ?’

    ‘मैले उहाँलाई भेटेको त छैन, तर उहाँको लेखरचनाहरु पढिरहेको छु’, मैले आमालाई भनेँ ।

    आमाले खुलस्त पार्नु भए अनुसार भूपाल राईले धनकुटामा बाल बचाउ कोष (एससीएफ)मा एक दुई वर्ष काम गर्नु भएको रहेछ । जागिर सकिएपछि धनकुटाबाट विदा हुँदै गर्दा भूपालले आमालाई भन्नुभएछ, ‘दिदी रेडियो नेपाल सुन्दै गर्नुहोला है । मेरो स्वरमा चाडै एउटा गीत बज्नेछ ।’

    नभन्दै भूपालले धनकुटा छाडेको लगत्तै रेडियो नेपालमा एउटा लोकगीत घन्कियो,
    पूर्वै जाने रेल
    हाँसेर बोल न साथी दुई दिन बाचुन्जेल..

    यो गीतको सङ्कलन र स्वर भूपाल राईकै हो । त्यो बेला सर्वाधिक लोकप्रिय लोकगीत थियो यो, रेडियोमा घन्किने । रेडियो नेपाल सुन्ने त्यो पुस्ताको जनजिब्रोमा भिजेको छ, अहिले पनि यो गीत ।

    जीवनमा अनेकौ रेलयात्रा हुृन्छन् । ती समान्छिन् र कतिपय छुट्छन् । मेरा पनि कैर्यौ रेलहरु जीवनबाट छुटेका छन् । तीमध्ये एक रहेछ, ‘भुपाल राई सम्मान साँझ २०७२’ । यो कार्यक्रमको आयोजना हुँदा म नेपालमै रहेछु । म आफैले छुटाएँ कि कसैले छुटाइदिए, थाहा पत्तो छैन मलाई । तर यो साताको मेरो फुर्सदको समयमा युट्युवमार्फत ‘भुपाल राई सम्मान साँझ’को भरपुर आनन्द लिएँ । यो आनन्दीसँग केही महत्वपूर्ण नोस्टाल्जियाहरुमा पग्लिएँ ।

    भूपाल राई धनकुटामा जागिर खाँदै गर्नुहुँदा म चाहिँ स्कुले जीवनमा रमाउँदै रहेको रहेछु ।

    रानो मौरी
    भूपाल राईको सम्मानमा आयोजित साँझ किरात राई कलाकारहरुको काठमाडौं जिल्ला कार्य समितिले आयोजना गरेको रहेछ । म आफै नेपालमा हुँदा पनि किरात राई कलाकार साथीहरु कवि तथा गीतकार भुपाल राई भनेपछि मरिहत्ते गर्ने गर्थे । भूपाल राईको कविता र गीतको सामथ्र्य किराती सौन्दर्यशास्त्र र नेपाली माटोको लागि अतुलनीय छ । त्यसो त किरात राई समुदायबाटै राम्रो गीत र कविता लेखेर चर्चित बन्ने अरु कोही पनि छन् । तर किन भूपाल राईप्रति नै किरात राई गायक गायिकाहरु यति हुरुक्कै ? मनमा प्रश्न उठ्छ ।

    यस बारेमा केही घटनाहरुको छायाँ पस्कन मन लाग्यो ।

    काठमाडौं नजिकैको एउटा जिल्लामा गजबको साहित्यिक कार्यक्रम लिएर एउटा साहित्यिक टोली त्यसतर्फ प्रस्थान गर्यो । तर कार्यक्रम पूर्ण रुपमा असफल मात्र भएन, सहभागीहरुले काठमाडौं आएर दम लिनु परेको थियो । अघिल्लो रात एक चर्चितले त्यहाँ स्थानीय एक चेलीप्रति पाँच सय रुपैयाँको नोट देखाउँदै साँस्कृतिक समस्या उत्पन्न गर्ने दुस्साहस गरेका रहेछन् । त्यसको भोलिपल्टै स्थानीय आयोजकमा सम्बन्धितले पोल खोले । कार्यक्रम रद्द भयो । १० वर्षअघि म हङकङ पुग्दा पनि यस्तै विवरण सुनेँ । ‘नाम चलेको भनी बोलाएको साथी त, रेडलाइट एरिया पो खोज्छन्’, आयोजकमध्येका एक उनलाई इंगित गर्दै ‘व्होरा सकिएको’ भन्दै थिए ।

    सुरापानपछि होश गुमाउने ती ‘चर्चित’का यस्ता अनगिन्ति साँस्कृतिक समस्याका घटना छन् । यसतर्फ नजाऊँ

    तर भूपाल राईमा अन्तरनिहित सिर्जनाशक्तिसँगै उहाँमा स्थापित सत्चरित्रता पनि छ, कविजस्तै कविता र कविताजस्तै कविको छवि । त्यसैले किरात राई गायक गायिकाहरु फूलमा मौरीजस्तै भुन्भुनाएका होलान् भन्ने मेरो अनुमान छ । बारुलाको कुरा धेरै गर्नुहुँदैन । मौरीले त फूलमा रस ल्याउँछ र मह दिन्छ । बारुलाले चिल्ने बाहेक अरु के काम गर्छ ? यस अर्थमा मलाई भूपाल राई त रानो मौरीजस्तै लाग्छ । उहाँका कर्महरुबाट पनि यसको पुष्टि भइसकेको छ ।
    एउटा अविस्मरणीय क्षण के भने २०६२-६३ को आन्दोलनमा म भुपाल राईसँगै थिएँ ।

    गीतमा प्रतिवन्ध
    डेढ वर्षजति म रेडियो नेपाल, क्षेत्रीय प्रशारण केन्द्रको स्टुडियोभित्र छिरेँ । सुरुमा पाक्षिक र त्यसपछि साप्ताहिक रुपमा जिल्ला विकास समिति, धनकुटाले विभिन्न दातृ निकायबाट आर्थिक सहयोग लिई करारमा मलाई नायव सुब्बा सरहको तलबमा ‘सामुदायिक विकास’ रेडियो कार्यक्रमको उत्पादकमा नियुक्त गरेको थियो । कुरा पर्यो, २०५६ सालको ।

    रेडियो कार्यक्रमका लागि कच्चा सामग्री भेला गरी स्क्रीप्ट तयार पारी रेकर्डिङका लागि हरेक साता रेडियो नेपालको स्टुडियोमा छिर्नुपथ्र्यो । त्यतिबेला रेडियोका हाकिम बसन्तकेशर पण्डित हुनुहुन्थ्यो ।
    पण्डित सर मप्रति त्यति सकारात्मक हुनुहुन्नथ्यो । बोलीले होइन, उहाँको व्यवहारबाट त्यो प्रकट भएको अनुभव गर्थेँ । कार्यक्रम उत्पादकका रुपमा मैले अन्तरवार्ता दिदा उहाँ अन्तरवार्ता लिने मध्येको एक हुनुहुन्थ्यो । उहाँले रेडियो कार्यक्रमको उत्पादन प्रक्रियाबारे प्रश्न सोध्नुभएको थियो । म आफू पत्रकारिता गरिरहेको मान्छे, सरसरी समाचार वा फिचरसम्बन्धी सङ्कलन, सम्पादन र सम्प्रेषण जस्तै गरी रेडियो कार्यक्रम उत्पादन हुन्छ भन्ने सुनाउँदा त्यो उत्तर उहाँलाई सम्भवतः ठीक लागेन । उहाँले भन्नुभयो, ‘रेडियो कार्यक्रम उत्पादन गरिसकेपछि रेकर्ड गरेर सम्बन्धित समुदायसम्म पु¥याई यो ठीक भयो कि भएन भन्ने स्वीकृति लिनुपर्छ, स्वीकृति लिएपछि मात्र प्रशारण गर्न मिल्छ ।’

    पञ्चायतकालिन सेन्सरसीप जस्तै लाग्ने उहाँको तर्क मलाई ठीक लागेन । मौखिक परीक्षाकै क्रममा मैले भनेँ, ‘मबाट यस्तो काम सम्भव छैन ।’

    विभिन्न ठाउँमा स्थलगत भ्रमण गरेर, त्यहाँबाट आवाज सङ्कलन गरेर त्यसलाई स्टुडियोमा बसेर आवश्यक आवाजलाई प्रयोग गरेर रेडियो फिचर उत्पादन गरी फेरि सम्बन्धित व्यक्तिलाई सुनाउँदै यो ठीक भयो कि भएन भनेर स्वीकृति लिन सम्भव हुन्छ ? मैले यस्तो सम्भावना मबाट हुँदैन भनेर रेडियोका हाकिमलाई अन्तरवार्ताकै क्रममा भनेको थिएँ ।

    सायद यसैको प्रभावले होला, उहाँ मेरो सम्मुख कहिल्यै हँसिलो मुद्रामा देखिनु भएन । तर म छानिएँ ।

    त्यसपछि रेडियो नेपालका खासगरी मातृभाषाका समाचारवाचकहरुसँग मेरो सम्बन्ध सघन बन्दै गयो । उहाँहरु पनि पत्रकारिता क्षेत्रमै सम्बद्ध हुनुभएको कारण यस्तो सम्भावना भयो । त्यसो त कार्यक्रम सञ्चालकहरु अनि प्राविधिक मित्रहरुसँग पनि घुलमिलका प्रशस्तै अवसरहरु प्राप्त भए ।

    एक बिहान मन छुने अलग धारको एक महत्वपूर्ण गीत रेडियो नेपालको यही क्षेत्रीय प्रशारणबाट सुन्न पाएँ । रेडियो नेपालको परिसरमा भेट हुँदा प्राविधिक मित्र टिकाराम राईलाई सोधेँ, ‘आज एउटा गजबको गीत सुन्ने अवसर पाइयो, कति माया पिरतीको गीत सुन्नु हौ रेडियो नेपालबाट ?’

    तर टिकारामजीले आँखा सन्काउनुभयो, र चोर औंला आफ्नो ओँठतिर लगाएर मलाई थप नबोल्न इशारा गर्नुभयो ।

    उहाँले अलि परतिर लगेर सुटुक्क भन्नुभयो, ‘हामीलाई यो गीत नबजाउने आदेश छ । यो गीतमा अघोषित प्रतिबन्ध लागेको छ । तर म मौका पर्नासाथ बजाइदिन्छु । फेरि पनि बजाएँ भने मेरो जागिरमात्र होइन, ज्यान पनि धरापमा पर्न सक्छ ।’

    कुरा के परेछ भने गोपाल किरातीको तत्कालिन खम्बुवान पार्टीले यो गीतलाई आफ्नो मुख्य गीत बनाएर गाउँबस्तीमा घन्काउँदो रहेछ ।

    खम्बुवानको गतिविधिबारे मलाई पनि थोरबहुत थाहा थियो । खासगरी सहकर्मी मित्र जनकऋषि राईलाई आएको सूचनामार्फत् हामीले सञ्चालन गरेको ‘न्यूज टाइम्स’ साप्ताहिकमा खम्बुवानका गतिविधिहरु पनि प्रकाशित हुन्थे । यसरी खम्बुवानको समाचार आएको बेला दुई तीन सय प्रति बाँधेर ठिक्क पारिदिनु पथ्र्यो । एक जना नवयुवक त्यसबापतको मूल्य भुक्तानी गर्दै अखबार उठाएर लैजाने गर्थे । उनी त पछि आफूलाई ‘गड एञ्जल’ घोषित गरी धार्मिक गुरु भइनिस्केका उदयपुरका भक्तकुमार राई पो रहेछन् !

    रेडियो नेपालका टिकारामजीले मलाई खुसुक्क बताइसकेपछि उहाँले पनि त्यो गीत बजाउन छाड्नुभयो । सम्भवतः रेडियो नेपालमा पूरै त्यो गीत प्रतिवन्धमा पर्यो ।

    रेडियो कार्यक्रम उत्पादकको त्यो जागिर छाडी म २०५८ सालको बैशाखको पहिलो साता काठमाडौं छिरेँ, काम गर्दै अधुरो रहेको पढाईलाई पूरा गर्ने उद्देश्यका साथ । त्यसपछि मैले कवि तथा गीतकार भूपाल राईलाई भेटेँ र उहाँको प्रतिबन्धित गीतको वृत्तान्त सुनाएँ । गीत प्रतिबन्धमा उहाँ त्यति दुःखी हुनुभएको देखिएन । भन्नुभयो, ‘मेरा अरु गीत पनि यस्तै प्रतिबन्धमा पर्नुपर्छ । रेडियो नेपालले नबजाएर के हुन्छ ?’

    कहिले काहिँ भूपाल राई र उहाँका दाजु वरिष्ठ पत्रकार गोपाल छाङ्छालाई देख्दा लाग्छ, उहाँहरु डुङ्गा तार्ने माझी हुनुहुन्छ । नरबहादुर भण्डारीको कोपभाजनमा परी नेपालमा शरण पर्दा पवन चाम्लिङका काठमाडौंमा आश्रयदाता गोपाल छाङ्छा हुनुहुन्थ्यो । गोपाल किरातीलाई भूमिगत आश्रयसँगै वैचारिक परिस्कार प्रदानका लागि भूपाल राईको योगदान कम महत्वको छैन । उहाँहरुको योगदान गुणगान गर्दा यस्तो लाग्छ, गोपाल र भुपाल राईहरु पद र प्रतिष्ठाका लागि शक्तिकेन्द्रको ढोकामा ढोगभेटका लागि धाउँदैनन् । स्वाभिमानलाई बन्धकमा राख्दैनन् । र साँस्कृतिक समस्यामा परेर लखेटिदैनन् ।

    भूपाल राईको प्रतिवन्धित गीत यस्तो छ:

    यो माटो तिम्रै हो तिमीले टेकेको
    यो आकास तिम्रै हो तिमीले ओढेको
    आमा यसरी कथा सुनाउँछिन्
    अघि बढ्नेलाई खुला बाटो छ
    पछि अड्नेलाई मुरी माटो छ

    यी चिहान चौतारी निशानीका चित्र
    इतिहास नमाग्ने तिमी भूमिपुत्र
    तिमी आवादी हौ, भस्मे खोरिया हौ
    सिस्नुको जरामा फुल्ने सारङ्गी हौ
    उठी हिड्नेलाई यात्रा दाँया छ
    थाकी बस्नेलाई छाँयै छाँया छ

    पुर्खाले रोपेको तिमी फुल्दो हाँगा
    तिमी आफ्नै घरमा आफै बास नमाग
    तिमी मूलढोका हौ सर्वस्वका धनी
    सृष्टिमै जो थियौ तिमी हिमालमुनि

    माथि चढ्नेलाई चुली बाँकी छ
    तल झर्नेलाई फेदि काफी छ ।

  • कमेन्ट गर्नुहोस्