• तीज विरोधको अन्तर्य

    राज्यकोतर्फबाट धार्मिक चाड तीज मनाइएकोमा कन्सुल जनरल (दाँया)लाई विरोधपत्र बुझाउने क्रममा जनजाति महासंघ अध्यक्ष । तस्बिर: एभरेष्ट खबर ।
  •  

    अघिपछि तुलनात्मक रुपले शान्त रहने हङकङको नेपाली समुदाय महिला चाड तीजको बेला बढी नै कोलाहलमय हुने गर्छ । तीज आउन अगावै सामाजिक सञ्जाललगायतमा पक्ष–विपक्षमा तर्क–वितर्क हुने गरेका छन् । आदिवासी जनजातिका नेतृ र नेताका श्रीमतीलगायतका फोटोसहितका स्टाटस र कमेन्ट्स छ्यासछ्यास्ती देख्न पाइन्छ ।

    पोहोर साल मगर संघ हङकङकी अध्यक्ष युगमाया राना मगरको फोटोमा रातो घेरा लगाएर नेपाल आदिवासी जनजाति युवा संघका सचिव तिलक सोमै मगरले पोस्ट गरेको स्टाटस भाइरल भएपछि यस वर्ष ‘यस पटक को–को रातो घेरामा पर्ने हुन् ?’ भनेर हँस्सीमजाक नै चल्यो ।

    सोमैको स्टाटसले मगर संघमा ठूलै हलचल ल्याएको थियो । साइनोले देवर–भाउजूबीचको घोचपेच साम्य पार्न सल्लाहकारसहित अगुवाहरुको बैठक नै पटक–पटक भएका थिए । बैठकमा आक्रमण हुने आशंकासहित सोमैले बाहिर साथीभाइको ठूलै भीड जम्मासमेत गरेका थिए । अन्ततः अगुवाहरुको सुझाव र दवावमा माफी मगाउने काम भएको बैठकका सहभागीहरुले बताउँने गरेका छन् ।

    कोलाहलको भोलुम बढाउने काममा नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराई स्वयं तल्लिन रहने गरेका छन् । विरोधका बावजुद कन्सुलेट जनरलको आयोजनामा तीज कार्यक्रम हुने गरेको छ । करिव डेढ दशकअघि तत्कालिन कार्यवाहक महावाणिज्यदूत (कन्सुल जनरल) हेमलाल भट्टराईले पुरुषसहित तीज कार्यक्रमको आयोजना गर्दा आलोचना र खिसीटिउरी भएपछि यस्तो भएको थिएन ।

    कमलप्रसाद भट्टराईले कार्यकालको दोश्रो वर्ष सन् २०१७ मा औपचारिक रुपले तीजको आयोजना गरेपछि जनजाति महासंघले विरोधपत्र बुझाएको थियो र त्यही व्यहोराको विज्ञप्ति जारी गरेको थियो ।

    उक्त विज्ञप्तिमा नेपाल धर्म निरपेक्ष राष्ट्र रहेकोले कुनै पनि धर्मसंग सम्बन्धित चाड राज्यकोतर्फबाट आयोजना गरिनु संविधानको उलंघन भएको ठहरसहित भविष्यमा नगर्न र नगराउन अनुरोध गरिएको थियो । उक्त विज्ञप्तिमा जातीय तथा धार्मिक सद्भाव भड्काउन कन्सुल जनरल उद्दत रहेको आशंका व्यक्त गरिएको छ ।

    विरोध भएपछि गत वर्ष कन्सुल जनरल भट्टराईले तीज कार्यक्रम अनौपचारिक रुपमा र थोरै सहभागीबीच आयोजना गरेका थिए । तर यो पटक कार्यकालको अन्तिम वर्ष भने उनले तामझामका साथ तीजको आयोजना गरेका छन् । यो पटक त उनले केही पुरुषलाई पनि आमन्त्रण गरेका थिए ।

    नेपाली कन्सुलेट जनरलको आयोजनामा सम्पन्न तीज कार्यक्रमका सहभागी महिलाकासाथ कन्सुल जनरल कमलप्रसाद भट्टराई । तस्बिर श्रोत: फेसबुक ।

    यस पटक कार्यक्रमको आयोजना अघि नै जनजाति महासंघले विज्ञप्ति मार्फत विरोध जनाएको थियो । विरोधका कारण कतिपय आमन्त्रितहरु सहभागी नभएको पाइयो । नेवार समाजकी अध्यक्ष रचना प्रधानबाहेक अन्य जनजातीय संस्थाका कसैको पनि सहभागिता रहेन । जनजाति महासंघका ११ सदस्य संस्थामा मगर र नेवार बाहेक लिम्बूको संस्थामा पनि महिला अध्यक्ष रहेकी छन् ।

    यस पटकको विज्ञप्ति र त्यही अवसरमा फ्री प्रेस नेपालका जेबी पुनमगरले नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष किसन राईको अन्तरवार्ता लिएपछि परिस्थिति नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराईका लागि प्रतिकूल बनिएको थियो । स्वयं तीज मनाउने समुदायका अगुवा र सचेतहरुले कन्सुल जनरलको कार्य गलत भनेका छन् । त्यसका बारेमा सामाजिक सञ्जाललगायतमा टिकाटिप्पणी र आलोचना भएको देखिन्छ ।

    यस विषयमा प्रतिक्रिया लिनका लागि एभरेष्टको तर्फबाट प्रयास गर्दा कन्सुल जनरल भट्टराई सम्पर्कमा आउन चाहेनन् । पटकपटकको फोन रेस्पोन्स गरेनन् । उनी निकटका अनुसार आमा र श्रीमतीका लागि उनले कार्यक्रमको आयोजना गरेका हुन् ।
    आमन्त्रितहरुका अनुसार पनि निमन्त्रणा गर्ने काम श्रीमती रिमा भट्टराईले गरेकी थिइन् । नेपाली महिला संघकी अध्यक्ष राधिका गुरुङलगायतले फेसबुकको वालमा कार्यक्रमका फोटासहित ‘धन्यवाद रिमा भट्टराईज्यू !’ लेखेका छन् ।

    निवासको क्लव हाउसमा आयोजना गरिएको कार्यक्रममा कन्सुल जनरल कमलप्रसाद भट्टराईले सम्बोधन गरेको श्रव्यदृश्य सामाजिक सञ्जालमा रहेको छ । कार्यक्रम स्थलको हलमा ‘भिजिट नेपाल २०२०’का पोस्टर र ब्यानर राखिएका छन् । सम्बोधनको क्रममा उनले ती ब्यानर र पोस्टर राख्नुका औचित्य पुष्ट्याइ गर्न भरमग्दुर प्रयास गरेका छन् ।

    नेपालीको मात्र त्यही पनि सय भन्दा घटीको सहभागिता रहेको कार्यक्रममा भिजिट नेपालको प्रवद्र्धन कति भयो होला ? आश्चर्यजनक छ । मदिरा निषेधित सरकारी कार्यक्रममा स्वेच्छिक मद्यपान रहेको सहभागीहरुले बताएका छन् ।
    नेपाली कन्सुलेट जनरल श्रोतका अनुसार उक्त कार्यक्रमको आयोजनामा सरकारी वजेट खर्च गरिएको छ ।

    तीजको आयोजना

    हिन्दू र आर्य संस्कृतिको प्रभाव पूर्वी नेपालको तुलनामा पश्चिममा बढी रहेको छ । त्यही अनुरुप यहाँ रहेका संघसंस्थामा प्रतिविम्वित भएको पाइन्छ । मगर बाहुल्य पाल्पा, म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङजा समाजलगायतका संघसंस्थाहरुले तीजलाई औपचारिक कार्यक्रमको आयोजना गरी मनाउने गरेका छन् भने त्यस भेगका अन्य संघसंस्थाहरुले अनौपचारिक रुपमा मनाउने गरेका छन् । कतिपयले भेटघाट कार्यक्रमको नाममा तीजको आयोजना गर्ने गरेका छन् ।

    जेठो नेपाली संस्था सुदूर–पूर्वी प्रवासी नेपाली संघ (फियोना)ले शुरुवातमा तीजको आयोजना गर्ने गरेको भए पनि बढी आलोचना भएपछि गर्न छाडिएको वर्षौ भएको छ । फियोना निकट नेपाली घरेलु कामदार युनियनले तीजको आयोजना गर्ने गरेको छ ।

    औपचारिक रुपले गैर–जनजातिका लागि भनेर खोलिएको एकीकृत हङकङ नेपाली समाज (हिन्स)ले गृह मामिला विभागको प्रोजेक्ट सञ्चालन गरेसम्म तीजको आयोजना गर्ने गरेको थियो । तर प्रोजेक्ट सकिएपछि उक्त कार्यक्रमको आयोजना भएको छैन ।

    गैर–आवासीय नेपाली संघ (एनआरएनए)ले सन् २०१३–१४ तिर तीजको आयोजना गरेको पाइन्छ । त्यस अघि र पछि एनआरएनएको आयोजनामा तीज कार्यक्रम सम्पन्न भएको छैन । नेपाली महिला संघले पनि तीज कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
    ढिलो गरी स्थापना भएको क्षेत्री समाजले शुरुवातदेखि नै तीजको आयोजना गरिरहेको छ । जुन अस्वभाविक होइन, कार्यक्रम संस्थाको उद्देश्य अनुरुप नै रहेको छ ।

    तीजको बाई प्रडक्ट कार्यक्रम

    पश्चिममा रहेको प्रभाव पूर्वमा पनि फैलन शुरु गरेपछि त्यसबाट बच्न र त्यसको प्रतिरोध गर्न किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाले त्यही प्रकृतिका कार्यक्रमको आयोजना शुरु गरेको छ । समुदायका केही महिलाहरु तीजको आयोजनामा सहभागी हुन थालेपछि चुम्लुङ र यायोक्खाले ती महिलाहरुलाई खबरदारी नै गर्ने गरेको भुक्तभोगीहरु बताउँछन् ।

    चुम्लुङले ‘साम्याङफुङ साँझ’ र यायोक्खाले ‘तयामा–खियामा दिवस’ मनाउँन शुरु गरेका छन् । चुम्लुङको कार्यक्रम केही अगाडि हुने गरेको भए पनि यायोक्खाको कार्यक्रम तीजकै बेला हुने गरेको छ ।

    तीजकै अवसरमा आयोजित किरात राई चाम्लिङ खाम्बातिम महिला विभागको तयामा-खियमा दिवस । तस्बिर श्रोत: एभरेष्ट खबर ।

    यायोक्खाका भूतपूर्व अध्यक्ष तथा संरक्षक शशि मदन राई तीजको प्रभाव रोक्न कै लागि ‘तयामा–खियामा दिवस’को शुरुवात गरिएको बताउँछन् । उनले भने, ‘हाम्रा दिदी–बहिनीहरु नै तीजको आयोजना गर्न लागेपछि विकल्प दिएका हौं ।’

    ती संस्थाहरुले उक्त कार्यक्रममार्फत नयाँ पुस्तामा मौलिक भेषभुषा र संस्कार संस्कृति सम्बन्धी चेतना फैलाइरहेको छ भने तीजको आयोजनामा सहभागी हुने महिलाहरुलाई आयोजनाको जिम्मा दिने गरेको छ ।

    यायोक्खा अन्तर्गतको भाषिक संस्था किरात राई चाम्लिङ खाम्बातिमको महिला विभाग ‘ङामैचिमे’ले शुरु गरेको ‘तयामा–खियामा दिवस’मा भेषभुषा र नृत्य प्रतियोगिता हुने गरेको छ । साम्याङफुङ साँझमा पनि प्रतियोगितात्मक गतिविधि हुने गरेका छन् ।

    यी दुई कार्यक्रमको शुरुवात अघि माया सेलुनकी माया लिम्बू र ङामैचिमेका सरु राई तीजको आयोजक बन्ने गरेका थिए । अहिले भने माया र सरु साम्याङफुङ साँझ र तयामा–खियामा दिवसको आयोजनामा सक्रिय रहने गरेका छन् ।

    तीज कार्यक्रमका विकृति

    तीजको पृष्ठभूमि धार्मिक भए पनि आजभोलि व्यापार हुन थालेको छ । यो डान्स पार्टीको रुपमा विकसित भइरहेको छ । महिना दिनअघि शुरु हुने डान्स पार्टी लगभग दुई महिना चल्ने गरेको छ । शुरुवातमा कन्ट्रि पार्कमा आयोजना गर्ने संस्थाहरुले पनि अहिले तीज कार्यक्रम रेष्टुरेण्टमा गर्न थालेका छन् ।

    तीजको आयोजक संघसंस्थामात्र नभएर सेलुन, बुटिक र रेष्टुरेन्ट पनि रहने गरेका छन् । उक्त कार्यक्रमका टिकट कम्तिमा ३ सय ५० हुने गरेका छन् । आयोजकहरुका अनुसार ७०–८० जनाको सहभागिता रहने कार्यक्रमबाट ९–१० हजारसम्म नाफा हुने गरेको छ ।

    डान्स पार्टीको रुपमा आयोजित एक तीज कार्यक्रम । तस्बिर : ज्याप स्टुडियो ।

     

    आयोजकहरुले सहभागीलाई आकर्षित गर्नका लागि विभिन्न भाग्यशाली उपहार राख्ने गरेका छन् । ती उपहारका लागि व्यापार–व्यावसायीलाई प्रायोजन मागेर हैरान गर्ने गरेको पीडितहरुले दुःखेसो पोख्ने गरेका छन् ।

    चिनेजानेकाले टिकट कटाउने भएकोले कार्यक्रममा सहभागी हुनु पर्ने बाध्यता रहेको र त्यसले अनावश्य खर्च बढाउने गरेको पीडित महिलाहरुले बताउने गरेका छन् । विशेषतः पार्टीमा महिलाहरुबीच पहिरनको होडबाजी हुने गरेको देखिन्छ । एकातिर आयोजकहरुले फेसन प्रतियोगिता राखेका हुन्छन् भने अर्कोतिर अघिल्लो कार्यक्रममा लगाएको पहिरन दोहो¥याउन चाहदैनन् महिलाहरु ।

    तीज अघिपछिका आइतबार जङ्गल र रेष्टुरेण्टको कार्यक्रम हेर्ने हो भने एकै दिन एक दर्जनसम्म हुने गरेका छन् । महिला कार्यक्रमको टिकट पुरुषलाई समेत भिडाइएको दृष्टान्त छ्याप्छ्याप्ति पाइन्छ । एकै समयका एक भन्दा बढी कार्यक्रमका टिकट लिइदिनु पर्ने बाध्यता रहेको छ ।

    तीजको विरोध

    तीजको आयोजना व्यक्तिगत, जनस्तर र आन्तरिक व्यवस्थापन भएकोमा खासै विरोध भएको पाइन्न । केही उग्र व्यक्ति यदाकदा विरोधमा उत्रिए पनि संस्थागत विरोध भएको छैन । तर जब आयोजनामा सरकारी सहभागिता रहन्छ तब विरोध हुने गरेको छ ।

    फियोनाले आन्तरिक रुपमा आयोजना गर्दासम्म खासै आलोचना भएको थिएन तर गृह मामिला विभागको प्रोजेक्टको रुपमा आयोजना गर्न थालिएपछि चर्को विरोध र आलोचना भएको थियो ।

    कुनै संघसंस्थाको आयोजनामा मौन रहने नेपाल आदिवासी जनजाति महासंघ नेपाल सरकारको प्रतिनिधि कन्सुलेट जनरल नै तीज आयोजना गर्न उद्दत भएपछि विरोधमा उत्रिएको देखिन्छ ।

    यस विषयमा निवर्तमान अध्यक्ष मैनबहादुर थापा भन्छन्, “धर्म निरपेक्ष राष्ट्रको सरकारले धार्मिकजन्य कार्यक्रम गर्न लागेपछि हामी विरोधमा उत्रिएका हौं । ९८ प्रतिशत आदिवासी जनजाति रहेको नेपाली समुदायमा हिन्दू धर्मसंग सम्बन्धित कार्यक्रममा सरकारी वजेट खर्च गरिनु हामीलाई मान्य छैन ।”

    तीजलाई वजेट विनियोजन गरेको देखेपछि सोनाम ल्होसारको लागि निवेदन पेश गर्दा उपेक्षा गरिएको तामाङ घेदुङका सचिव टपराज तामाङ बताउछन् । उनले भने “तीजलाई वजेट दिने हो भने ल्होसारलाई पनि दिनु प¥यो, सरकारले भेदभाव गर्न भएन नि ! तर हाम्रो निवेदनको कुनै सुनुवाइ भएन ।”

    तीजमा सरकारी सहभागिताले हङकङका सम्पूर्ण नेपाली हिन्दू हुन् भन्ने म्यासेज सम्प्रेषण हुने डर आदिवासी जनजाति अभियन्ताहरुमा रहेको देखिन्छ । हङकङ सरकारले वार्षिक रुपमा प्रकाशन गर्ने ‘इयर बुक’को सन् २००३ को संस्करणमा रिलिजन एण्ड कस्टम शिर्षक अन्तर्गत ‘४० हजार हिन्दू नेपाली लगायत…..’ प्रकाशित भएपछि सम्बन्धित निकायमा नेपाली अभियन्ताहरुले विरोधसहित ध्यानाकर्षण गराएका थिए । विरोधपछिका संस्करणमा ‘नेपाली’ भन्ने शब्द हटाइएको छ ।

    विरोधी र पीडितका तर्क

    तीजका व्यक्तिगत विरोधीहरुको तर्क रहेको छ– आदिवासी जनजाति अभियन्ता, नेता र तिनका परिवारले कुनै पनि कार्यक्रममा भाग लिनु अघि सोच्न आवश्यक छ । उनीहरुको कृयाकलापले समुदायको अरुलाई प्रभाव पर्छ ।

    विरोधी मध्येका एक तिलक सोमै मगर भन्छन्, “मगर संघको अध्यक्ष भएको संस्थाले तीजको आयोजना गर्ने ? त्यही भएर मैले फोटोमा घेरा लगाएर सामाजिक सञ्जालमा पोष्ट गरेको हो ।”

    पाल्पा श्रीनगर समाजको कार्यक्रममा भाग लिएकी मगर संघकी अध्यक्ष युगमाया राना मगरको फोटोमा रातो घेरा लगाएर सोमैले फेसबुकमा पोष्ट गर्दै स्टाटस लेखेका थिए ।

    मगर संघकी अध्यक्ष युगमाया राना मगर सोमैको आरोप ठाडै अस्वीकार गर्छिन् । उनले भनिन्, “म त्यो कार्यक्रमको आयोजक नभएर अतिथिको रुपमा उपस्थित थिएँ ।”

    सोमैका अनुसार राना पाल्पा श्रीनगर समाज कार्यसमिति सदस्य रहेकोले तीज कार्यक्रमको आयोजना उनले रोक्नु प¥थ्यो । अतिथि नै गएको हो भने मगर भेषभुषामा जानुप¥थ्यो न कि रातो सारी र छड्के तिलहरीमा ।

    पाल्पा श्रीनगर समाज जातीय संस्था नरहेको र जुनसुकै कार्यक्रममा मौलिक भेषभुषा सान्दर्भिक नहुने रानाको स्पष्टोक्ति रहेको छ ।

    त्यसो त सोमैलगायतले आदिवासी जनजाति महासंघका भूपू अध्यक्ष भूपेन्द्र चेमजोङ र बहालवाला अध्यक्ष किसन राईलाई पनि बाँकी राखेका छैनन् । चेमजोङकी छोरी र राईकी श्रीमती तीज कार्यक्रममा सहभागी भएको फोटोसहित स्टाटस लेखिएका छन् ।

    यस विषयमा चेमजोङ भन्छन्, “सद्भावपूर्ण तरिकाले अतिथिको रुपमा आमन्त्रण गरे सहभागी हुन कुनै समस्या छैन । हामीले व्यक्ति, धर्म, संस्कार संस्कृतिको विरोध गरेका हैनौं । सरकार नै सद्भाव भड्काउने कार्यमा लागेपछि र भेदभावपूर्ण व्यवहार गरेपछि विरोधमा उत्रिएका हौं ।”

    एभरेष्ट खबर पत्रिकाको अगष्ट २०१९ मा प्रकाशित सामग्री ।

  • कमेन्ट गर्नुहोस्