• पढ्न–पढाउन नेपालबाट हङकङ

  •  

    सन् २००५ देखि नै हङकङमा नेपालीलाई शैक्षिक, रोजगार तथा घरेलु कामदारको भिसा बन्द छ । यही कारणले नेपाली विद्यार्थी उच्च शिक्षाका लागि सहजै यहाँ आउन पाउँदैनन् । तर पनि कतिपय हङकङ आएर अध्ययन–अध्यापन गरिरहेका छन् ।

    कलेज अफ मेडिकल साइन्स भरतपुर, चितवनबाट एमबीबीएस गरेकी डा. श्रद्धा खड्का हङकङको विश्वविद्यालयले स्पोन्सर भिसा पठाएपछि यहाँ आइपुगिन् । ब्रिटिस मेडिकल जर्नलमा चाइनिज युनिभर्सिटीको विज्ञापन देखेर आवेदन गर्दा नेपाली विद्यार्थीको लागि अध्ययन भिसा बन्द भएकोले शुरूमा उनको आवेदन रिजेक्ट भयो । पछि पुनः आवेदन दिएपछि युनिभर्सिटीले स्वीकृति दियो ।

    २०१६ सेप्टेम्बरमा आएकी श्रद्धा अहिले चाइनिज युनिभर्सिटी, हङकङमा डिपार्टमेन्ट अफ पेडियाट्रिक्समा पीएचडी इन मेडिकल साइन्स गर्दैछिन् । उनी बच्चामा हुने निमोनिया, ब्रोकालाइटिसहरूमा आधारित इमर्जेन्सीमा रिसर्च गर्दैछिन् । अबको ७ महिनापछि उनको पीएचडी सकिदैंछ । (हे. प्रोफाइल  हङकङमा पीएचडी गर्दाको अनुभव)

    दृष्टि विशेषज्ञ मिलन राई हङकङ पोलिटेक्निक विश्वविद्यालयमा आँखाको जलबिन्दु रोगका विषयमा पीएचडी गरिरहेका छन् ।

    कोरोना कहरका बीचमा ६ महिनाअघि हङकङ आइपुगेका उनी अहिले यहीं अध्ययनमा व्यस्त छन् । भारतमा ब्याचलर डिग्री सकेपछि भारतकै पञ्जाबको एउटा अस्पतालमा काम गरेका मिलनको यहाँका विश्वविद्यालयका प्रोफेसरहरूसँग विभिन्न वैज्ञानिक सम्मेलनहरूमा भेटघाट भइरहन्थ्यो । त्यसैले पनि हङकङका विश्वविद्यालयमा एप्लाई गरे । (हे. प्रोफाइल जलबिन्दुमा विद्यावारिधि)

    भारतमा पढ्दा उनले आफ्नो विषयमा गोल्डमेडल नै जितेका थिए । त्यसैका आधारमा पनि उनले विद्यावारिधिको अवसर पाएका हुन् । हङकङमा सन् २००५ देखि नेपाली विद्यार्थीका लागि भिसा बन्द भए पनि मिलन जस्ता उत्कृष्ट विद्यार्थीलाई यहाँको विश्वविद्यालयले नै भिसा पठाएर बोलाउँछ ।

    एभरेष्ट खबर, मार्च २०२१ काे आवरण ।

    विराटनगरको नोवेल मेडिकल कलेजमा बीएससी नर्सिङ पढाउने डेजिना थापा चाइनिज युनिभर्सिटी, हङकङमा नर्सिङमा पीएचडीका लागि आइपुगेकी छिन् ।

    विश्वविद्यालयले नै अध्यागमनलाई चाहिने सबै डकुमेण्ट मागेर भिसा आवेदन गरिदिएर उसैले भिसा पठाएपछि आफू आउन पाएको थापा बताउँछिन् । उनले छात्रावृत्ति पनि पाएकी छन् । केही महिना अघि मात्र आएकी उनको पीएचडी पूरा हुन ३ वर्ष लाग्नेछ । उनको भनाइमा सन् २०१० यता विद्यार्थीका लागि विश्वविद्यालयले आवेदन दिन पाउने गरी नियम खुकुलो भएपछि विद्यार्थीले अवसर पाउन थालेका हुन् । डेजिना भन्छिन्, “हङकङमा पनि विश्वप्रसिद्ध विश्वविद्यालयहरू छन् भनेर नेपालमा धेरैलाई थाहा छैन । प्रयास गर्ने हो भने यहाँ आउन असम्भव छैन ।”

    त्यसैगरी भाषा, समाज र शिक्षाका विषयमा अनुसन्धान गरिरहेका प्रेम फ्याक ६ महिनायता चाइनिज युनिभर्सिटी अफ हङकङमा सहायक प्रोफेसरका रूपमा कार्यरत छन् ।

    चाइनिज युनिभर्सिटीले विश्वव्यापी रूपमा ‘जब अनाउन्समेन्ट’ गरेको देखेपछि उनले एप्लाई गरेका थिए । नेपालीलाई ‘वर्किङ’ र शैक्षिक भिसा बन्द भए पनि फ्याक अन्तर्राष्ट्रिय व्यक्तित्वका रूपमा यहाँ आएका हुन् । आवेदनपश्चात् युनिभर्सिटीले सर्ट लिष्ट गरेर उनलाई यहाँ बोलाएको हो । फ्याक भन्छन्, “यहाँ आएर मैले रिसर्च प्रेजेन्टेसन गरें । उहाँहरूको इन्टरभ्यु प्यानल छ त्यसले मलाई छान्यो ।’ (हे. प्रोफाइल इलामदेखि अमेरिका, लण्डन हुँदै हङकङसम्म)

    हङकङमा अहिले १२ जना जति नेपाली विद्यार्थी श्रद्धा र मिलन जस्तै पीएचडी गरिरहेका छन् भने हङकङ आएर यहाँको विश्वविद्यालयमा विदेशीहरूलाई पढाइरहेका प्रेम फ्याक एक्ला नेपाली हुन् ।

    यहाँका विभिन्न विश्वविद्यालयमा नेपालबाट आएर अध्ययन गर्ने अन्य नेपालीमा आस्था भट्ट, सुबिल पौड्याल, निश्चल प्रधान, प्रेमप्रसाद पौडेल, अर्जुन चापागार्इं, चाँदनी शाक्य, हेमराज भट्टराई, प्रभात ढुंगाना, उपेन्द्रकुमार शाह, निरज सिंह थारु आदि रहेका छन् ।

    हुन नसकेको पहल

    हङकङ सरकारको भिसा नीतिअनुसार एप्लाई गरेपछि शैक्षिक योग्यता हेरेर युनिभर्सिटीले भिसा पठाए मात्रै यहाँ आएर पढ्न पाइन्छ । तर, यसरी आउनेहरू ग्राजुएट भएपछि फर्किनुपर्छ ।

    सन् २००५ बाटै भिसा बन्द भए पनि नेपाल सरकारबाट उचित पहल नहुँदा १५ वर्ष बितिसक्दा पनि नेपाली विद्यार्थीले हङकङमा पढ्ने अवसरबाट वञ्चित हुनुपरेको छ । त्यस्तै; आएकाहरूले पनि पढाइपछि अन्य देशकाले पाउनेखालको अवसर गुमाउनुपरेको छ ।

    हङकङमा अध्ययनरत नेपाली विद्यार्थी ।

    अन्य देशका विद्यार्थीका लागि यहाँ आईएएनजी भिसा हुन्छ । हङकङ सरकारले दिने उक्त भिसाले ग्राजुएट भइसकेपछि काम खोज्न वा यहीं बसेर केही गर्न पाइन्छ । तर, नेपाली विद्यार्थीले त्यो सुविधा पाउँदैनन् ।

    डा. श्रद्धा खड्काले यो विषयमा नेपाली महावाणिज्यदूतावासमा गएर महावाणिज्यदूत उदय राना मगरलाई पनि भेटिन् । त्यहाँ उनले नेपाली विद्यार्थीले भोगिरहेको समस्या र आईएएनजी भिसाका बारेमा कुरा राखिन् । उनी भन्छिन्, “उहाँले आफू भर्खरै आएकोले समस्या बुझेर पहल गर्ने कुरा गर्नुभयो ।”

    यही भिसा समस्याका कारण नेपाली विद्यार्थीहरू सजिलै यहाँ आउन सकेका छैनन् । आएकाले पनि अन्य देशकाले जस्तो सुविधा पाउन सकेका छैनन् । अष्ट्रेलिया वा अमेरिकामा गएको भए ग्राजुएसन गरेपछि पोष्ट ग्राजुएसनका लागि भिसा पाइन्छ, भिसा बढ्दै गएर त्यहीं सेटल हुन पनि सकिन्छ तर हङकङमा यो सम्भव छैन ।

    हङकङस्थित नेपाली महावाणिज्यदूत उदय राना मगर लामो समयदेखि बन्द रहेका विद्यार्थी, कामदारलगायतका भिसाबारे अध्ययन गरिरहेको बताउँछन् । नेपालले हङकङ मात्रै नभएर चीन सरकारमार्फत समेत कुटनीतिक कदम चल्नुपर्ने आवश्यकता राना मगर देख्छन् । बेइजिङस्थित नेपाली राजदूतावाससँग समन्वय गरेर आफूले पहल गर्ने राना मगर बताउँछन् ।

  • कमेन्ट गर्नुहोस्