• तुङलुङ चाउ

  •  

    तुङलुङ चाउ हङकङको पूर्वी–दक्षिण भागमा अवस्थित एक निर्जन टापु हो । निर्जन यस अर्थमा कि पर्यटकीय प्रयोजनका लागि केही घरहरु रहेका भए पनि ती आवासका रुपमा रहेका छैनन् । सप्ताहन्त र सार्वजनिक बिदाका दिन खुल्ने रेष्टुरेण्ट तथा पसलहरु अरु बेला प्रायः बन्द रहन्छन् ।

    २.४२ वर्ग किलोमिटर मात्र क्षेत्रफल रहेको टापु साइकुङ जिल्ला अन्तर्गत पर्दछ । क्लियर वाटर वे प्रायद्वीपको दक्षिणी भागको नजिकै रहेको यो टापु दक्षिण–पूर्वबाट भिक्टोरिया बन्दरगाह प्रवेश गर्ने जलमार्गको बीचमा रहेको छ । यस टापुलाई नामतोङ र नामफाततोङ पनि भनिन्छ ।

    यहाँको आकर्षण भनेको चट्टाने भीर, गुफा र सङ्लो सामुद्रिक पानी रहेको छ । रक क्लाइमिङको एक गन्तव्य रहेको तुङलुङ चाउका ऐतिहासिक विशेषता पनि रहेका छन् । तीन सय वर्ष अघि क्विङ वंशकालमा निर्माण गरिएको तुङलुङ गढी र तुङलुङ चट्टान चित्र रहेको छ ।

    ३३.५ मिटर लम्बाई र २२.५ मिटर चौडाई रहेको गढीमा ३ मिटर अग्लो ढुङ्गाको पर्खाल लगाइएको छ । सामुद्रिक डकैतीलाई मध्यनजर गरेर टापुको पूर्व–दक्षिणमा बनाइएको गढीलाई सन् १९७९ मा मर्मतसंभार गरी ऐतिहासिक स्थलको रुपमा संरक्षण गरिएको छ ।

    हङकङकै सबैभन्दा ठूलो चट्टान चित्र टापुको उत्तर–पूर्वमा रहेको छ । १.८ उचाई र २.४ मिटर चौडाई रहेको चट्टानमा ड्रागनको चित्र कोरिएको छ । यसलाई सन् १९७९ मा ऐतिहासिक स्मारकको रुपमा घोषणा गरिएको हो ।

    क्याम्पिङको लागि कहलिएको यस टापुको पूर्व–दक्षिणमा रहेको फाँट क्याम्प साइटको रुपमा रहेको छ । त्यसो त तुङलुङ गढीको पश्चिमतर्पmको चौरलाई पनि क्याम्प साइट र बीबीक्यू स्पट बनाइएको छ ।

    तुङलुङ चाउको सबैभन्दा अग्लो भूभाग २ सय ५० मिटरको नामतोङ डाँडा रहेको छ । यस डाँडाको फेदमा रहेको फाँट पनि क्याम्पिङको लागि उपयुक्त रहेको छ । हाइकिङको लागि पूर्वपट्टिबाट डाँडाको टुप्पोसम्मको रुट निकै चुनौतीपूर्ण रहे पनि उत्तर–पश्चिम हँुदै दक्षिणतर्पm सजिलो रहेको छ ।

    यस ठाउँमा जानका लागि लेइयुमुन (काउलुन) र साउकिवान (हङकङ)बाट शनिबार, आइतबार र सार्वजनिक बिदाका दिन बिहान ८ बजेदेखि बेलुका ५ः३० बजेसम्म सार्वजनिक फेरि चल्ने गरेको छ । फेरिको यात्रा ३५–४० मिनेटको छ ।

    उत्तर–पश्चिमतर्पm हङकङ र काउलुनका कतिपय भाग देख्न सकिन्छ भने यस टापुको पूर्व र दक्षिणतर्पm क्षितिजसम्म सफा समुद्र रहेको छ । सफा मौसममा सामुद्रिक क्षितिजबाट सूर्योदयको मनमोहक दृश्य हेर्न सकिन्छ ।

    तस्वीरः विक्रम गुरुङ, शब्दः बाहिङ

     

     

     

     

  • कमेन्ट गर्नुहोस्