• ग्रास आइल्याण्ड

  •  

    ग्रास आइल्याण्ड हङकङको उत्तर–पूर्वी भागमा अवस्थित रहेको छ, जसलाई क्यान्टोनीमा ताप मुन भनिन्छ । ताइपो जिल्ला अन्तर्गत पर्ने यस टापुको क्षेत्रफल १.६९ वर्ग किलोमिटर रहेको छ । ग्रास आइल्याण्ड क्याम्पिङको लागि उत्कृष्टमध्येको एक स्थल हो ।

    सन् १५७३ भन्दा अघि ग्रास आइल्याण्ड डङ्गन काउण्टी अन्तर्गत सुई र यिप वंशको नाममा दर्ता रहेको पाइन्छ । सत्रौं शताब्दीदेखि यो भू–भाग माछा शिकारी तान्का जातिले डुङ्गा राख्न प्रयोग गर्न थालेको इतिहास छ । उनीहरुले त्यहाँ मन्दिरहरु निर्माण गरेका थिए ।

    त्यस क्षेत्रका दुई भवनमा रहेका तीनमध्ये तिन हाउ मन्दिर दोस्रो दर्जाको र सुइ युत कुङ मन्दिर तेस्रो दर्जाको ऐतिहासिक भवनको रुपमा संरक्षण गरिएको छ । त्यहाँ तिन हाउ र कुन याम पर्वमा मेला लाग्ने गरेको छ ।

    ग्रास आइल्याण्डका ताप पुन गुफा, पत्रे चट्टान, किङ लाम स्कूल, ङाउ सी डोङ समाधिस्थल पनि आकर्षणका केन्द्र रहेका छन् । सन् १९५७ मा निर्माण गरिएको तीन कोठे किङ लाम स्कूल विद्यार्थीको अभावमा सन् २००३ देखि बन्द रहेको छ ।

    एक समय उक्त क्षेत्रमा २,००० जतिको बसोबास रहेको भए पनि अहिले अधिकांश शहरतिर बसाइँ सरिसकेका छन् । खेतिपाती र माछा मार्ने पेशामा रहेका केही मानिस अभैm पनि त्यहाँ रहेका छन् । केहीले भने आन्तरिक पर्यटकका लागि रेष्टुरेण्ट र पसल सञ्चालन गरिरहेका छन् ।

    यस टापुमा जानको लागि साइकुङदेखि प्रत्येक दुई घण्टामा एक फेरीको व्यवस्था रहेको छ । त्यसो त ताइपोस्थित चाइनिज युनिभर्सिटीको नजिकै मा लिउ सिउ पियरबाट पनि दैनिक दुई फेरी जाने–आउने गर्छन् ।

    तापक्रम र हावाको स्थितिको आधारमा यो टापु क्याम्पिङको लागि उपयुक्त मानिन्छ । यसको वरिपरी रहेका खुला सामुद्रिक दृश्य मनोरम रहेका छन् । भौगोलिक रुपले सामान्य भिरालो र डाँडाको पाखामा क्याम्पका टेन्टहरु यत्रतत्र देख्न सकिन्छ । शहरको कोलाहलबाट शान्त वातावरणमा रम्न चाहनेका लागि रोजाईको ठाउँ हो यो ।

    पारिवारिक क्याम्पिङको लागि पनि यो ठाउँ उपयुक्त रहेको छ । यातायातको साधनबाट ओर्लिएपछि नजिकै रहेकोले धेरै हिंड्नु पर्ने छैन । क्याम्पिङको लागि आवश्यकीय सामान प्रायः साथैमा लगिने भए पनि खाद्य तथा पेय सामग्रीलगायत नजिकै रहेको पसलबाट किन्न सकिने सुविधा रहेको छ ।

    हङकङका नेपालीमा पनि क्याम्पिङ जाने संस्कृतिको विकास भइरहेकोले दुई–तीन दिनको बिदाको समयमा कुनै न कुनै समूह त्यहाँ भेटिन सकिन्छ ।

    तस्वीरः विक्रम गुरुङ/शब्दः बाहिङ

  • कमेन्ट गर्नुहोस्