कविताले जुराएको हङकङ यात्रा
दरबारमार्गको नाङ्लो क्याफेमा कफी खाँदै मैले किसन राईलाई भनें, “दाजु, लु त्यो हङकङ मलाई पनि बोलाउनुपर्यो ।” साथमा सगरमाथा आरोही पत्रकार देउराली चाम्लिङ पनि हुनुहुन्थ्यो । मैले यति भनेपछि किसन राई हाँस्दै बोल्नुभयो, “हन, आउने नै विचार गर्यौ त ?”
“बोलाए आउँछु ।”
उहाँ हतारमा हुनुहुन्थ्यो । त्यो दिन छुट्टिएपछि हाम्रो दोहोरो भेट भएन । न त फोनमै कुराकानी भयो । तर एकदिन अचानक फोन गरेर भन्नुभयो, “डकुमेन्ट पठाउ त !”
मैले सुनिरहें ।
उहाँले अगाडि भन्नुभयो, “लिम्बूहरुले यहाँ धुमधाम चासोक मनाउँछन् । कार्यक्रम भव्य हुन्छ । यही मौकामा गर्न पाए राम्रो हुन्छ ।”
तर, यो पटक मैले उहाँलाई डकुमेन्ट पठाउन सकिनँ ।
सञ्चारिका समूहको साधारणसभाको चटारो थियो । कवि दिपा एवाई राई अहिले पढ्नकै लागि काठमाडौं आउनु भएको छ । यो बीचमा हामी भावनात्मक रुपले नजिक भयौं । भृकुटीमण्डप हाम्रो चिया अखडा । दिपाजीको पनि मलाई हङकङ लाने ठूलो हुटहुटी ।
मैले दिपाजीलाई सो कुरा भनें ।
भिसा किसन राईले पठाइदिने कुरा पक्का भयो ।
“तपाईं मेरै लागि भए पनि हङकङ जानुपर्यो साथी ।” एकै वचनमा ‘हुन्छ’ भन्नुभयो ।
जनवरी १८ मा उहाँको परीक्षा, १९ तारिखको राति हामी उड्ने ।
त्यो समयमा कोभिड–१९ नेपालमा आइसकेको थिएन । तर, हङकङको परिस्थिति जटिल भैसकेको थियो । स्कूल बन्द थिए । सार्वजनिक सभा–समारोह गर्न सरकारले बन्देज लगाएको थियो । जनजीवन भयभीत थियो ।
किसन दाजुलाई भनें, “कि नआऊँ दाजु ?”
“हन आऊ न, जे पर्ला–पर्ला । कार्यक्रम राम्रै हुन्छ पिर नगर !”
उहाँले यति भनेपछि मलाई आँट आयो । किसन राई लामो समयदेखि हङकङ बसेर नेपाली राजनीति, भाषा–साहित्य र पत्रकारितामा सक्रिय । नेपाल र हङकङको एउटा भरपर्दो सेतु । हामीले नेपालबाट सम्झिँदा उहाँलाई यसरी नै सम्झन्छौं । मैले नेपालबाटै चिनेजानेका आफन्त र ईष्टमित्रलाई फेसबुकमार्फत् सम्पर्क गरें । सबैबाट सकारात्मक र प्रेमील व्यवहार पाएँ । आदरणीय बसन्तकुमारी राई, क्रान्ति सुब्बा, देउमान लिम्बू, देवेन्द्र खापुङ, भूपेन्द्र चेमजोङ, सुनिता गिरी, राजकुमार फोम्बो, श्याम इङनाम, खड्ग तिगेला, मुक्साहाङ तिगेला, असली वनेम, मोती चाम्लिङ, बज्रकुमार थुलुङ, विष्णुकुमार इङनाम, डम्बरकृष्ण श्रेष्ठ, जय राई, कृष्ण इन्द्र लोप्साङ, मिना खापुङ, विष्णु राई, बालिका वान्तवा, रोशन यक्सो; साँच्चै उहाँहरुले प्रकट गर्नुभएको साथ, हौसला र सहयोग कति आत्मीय !
जनवरी २० को बिहान कवि दिपा एवाई राई र म हङकङ एयरपोर्ट ओर्लंदा सुनसान थियो । बाहिर निस्कँदा ट्याक्सी थिएन । बाटो सुनसान र एकदमै सफा । भुईंमै सुते पनि हुनेजस्तो । आधा बाटो बस र आधा ट्याक्सी गरेर घर पुग्यौं । दिपाजीको घर पुग्दा छर्लङ्गै उज्यालो भैसकेको थियो । छोराहरु सुतिरहेका थिए । एउटा बिरालो रहेछ, नाम सोजु । दिपाजीले रेस्क्यू गरेर पालेको । अति मायालु अनि साह्रै शान्त । म बसिन्जेल म्याउँसम्म गरेन । सोधेको उसको जातै यस्तै अरे । किचनमा नुडल्स बनाउँदै, “किन्दा यो बिरालोलाई धेरै महङ्गो पर्छ” भन्नुभयो, “यसको खाने कुरा साह्रै महङ्गो, यसले महिनाभरि खाने पैसाले नेपालमा दुईजना नानीहरुलाई बोर्डिङ स्कूलमा पढाउन सकिन्छ ।” फेरि पुलुक्क हेरें बिरालोलाई र मनमनै सोचें– यो १३ तलामाथि अब यसको एउटा साथी भैदिए कति भाग्यमानी हुने थियो ! फेरि दिपाजीलाई सोधें, ‘‘यसलाई नेपाल लान मिल्छ ?’’
‘‘धेरै प्रक्रिया पुर्याएर मात्र पाइन्छ ।’’
तर मलाई भने यो बिरालो कसरी जीवनभर एक्लै १३ तल्लामाथि बस्छ जस्तो लाग्यो ।
तपाईंहरुको माया र सम्मान, कविताको कारण मात्र नभएर एउटा नेपालीले अर्को नेपालीलाई प्रेम हो । अझ भन्नुपर्दा; हाम्रो चेली कविता लेख्छु भन्छ, सहयोग गरौं, प्रोत्साहन गरौं भन्ने मनोभाव हो । हो; मैले यी र यस्तै अनुभूत गरें, यो यात्रामा । जसलाई म जीवनभर अनुभूत गरिरहनेछु । शायद यही प्रेमील भावनाले संजोग जुराएको थियो र मैले आँट गरेको थिएँ । नत्र त यही नेपालमा पहाडी एरियामा ड्राइभरले कुदाएको बसको गति देख्दा मुटु छिया–छिया हुन्छ । पथरी घर जाँदा–आउँदा त्रिशूली खोला उकालो लागेपछि सातोले ठाउँ छोड्छ । आँखा झिमिक्क नगरी काठमाडौं र पथरी कयौंपटक गरेको छु । भो, बरु महिनौं लगाएर पैदल यात्रा नै गर्नु परोस् जस्तो लाग्छ ।
साथीहरु ! यहाँ एउटा प्रसङ्ग भन्छु है !
बर्खाको समयमा जहिले पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो जाने । अहिले पनि यस्तै–उस्तै छ परिस्थिति । बर्खा लाग्यो कि पहिरो जाने, बाटो भत्किरहने । त्यो बेला म ब्लाष्ट टाइम्समा पत्रकारिता गर्थें । पत्रकारिता गरेकै कारण क्राइम रिपोर्टिङ तालिमको निम्ति छनौटमा परें । घटना काठमाडौं आउँदाको हो । बसका दुईवटा चक्का भीरमा दुईवटा सडकमा । त्यहीबेला हो, कृष्णभीरमा पहिरो गएपछि बाटो रोकियो । माथिबाट झरेको पहिरो रोकिने छाँट देखिएन । पहिरोकै बीचबाट बाटो काटें । माथिबाट झरेको ढुङ्गा झण्डैले लागेको । त्यो बेला अलिकताले बचें । लागेको भए चल्नीमा लागेर ठहरै हुने । त्यो दिन गएको आँट कहिल्यै फर्किएन । पाठकवृन्द, कहाँको कुरा कहाँ पुर्याएर अल्मलाएँ है ?
फेरि प्रसङ्ग यतैको जोडौं ।
२० तारिखको बेलुकी सुनसान वेस्ट काउलुन पार्कमा दिपाजी, म ‘हङकङभित्र’ नियात्रा संग्रहका लेखक आदरणीय क्रान्ति सुब्बा भाउजू र फोटो पत्रकार देउमान लिम्बू सुटिङमा व्यस्त भयौं । थकानलाई बिर्सिएर बिताएको त्यो पल साँच्चिकै सुन्दर थियो । सुनसान त्यो साँझमा, समुन्द्रमा छचल्किएको पानी र चिसो बतास सधैं सम्झनामा रहनेछ । त्यो रात हामी घर फर्कंदा १२ बजेको थियो ।
२१ तारिख बेलुका वीपी चिन्तन प्रतिष्ठानले भेटघाट र सम्मान कार्यक्रम राखेको थियो । बेलुकीपख हामी तात्तातो मःम सँगै रमायौं— रिता गुरुङ, हर्क राना र म । अनि, छुटियौं त्यो रात । उहाँहरुको न्यानो माया र सम्मानले नसोचेको संजोग साँच्चिकै उल्लासमय भयो । गगनचुम्बी घरहरु । कहिंकतै फोहोर नदेखिने । साँच्चै देश बन्न नागरिक पनि त्यत्तिकै जिम्मेवार र सजग हुनुपर्ने रहेछ । नत्र त हाम्रो देशको इन्द्रचोक भन्दा पनि बाक्लो जनघनत्व रहेको त्यो ठाउँ, यति सफा कि, झिङ्गा पनि चिप्लिने !
२२ तारिख बेलुकी । पथरी हङकङ समाजको सम्मान र भेटघाट कार्यक्रममा मेरो वचपनका साथीहरु काजी दयन, चिराग र भद्रालाई २० वर्षपछि यहीं आएर भेटें । त्यो बेलुकी म हङकङ होइन, पथरीमै छु जस्तो लाग्यो । सानोमा हामी गुच्चा र माटोका भाँडाको टुक्राहरुको खोपी खेल्थ्यौं । भद्रा त अहिले पनि त्यस्तै बिन्दास रहेछ । एकैछिनमा लाप्पा खेल्थ्यौं । एकैछिनमा मिल्थ्यौं । पुरानो दिन सम्झिएर हामी भावुक भयौं । समग्रमा त्यो साँझ खुसी भयौं । भिम दाजुले रमाइलोसँग कार्यक्रम सञ्चालन गर्नुभयो । बसन्ता फुपू नेपाल छँदा पनि घरको मुली । हाम्रो सम्बन्ध बाझ्दै–जुझ्दै तर सधैं–सधैंको । माटोको भर ढुङ्गा र ढुङ्गाको भर माटो जस्तो । धेरै वर्षपछि हामी फुपू–भदैनी भेट भयौं । दुःखसुखका कुरा गर्यौं । अतीतलाई स्मरण गर्यौं । कहिले हाँस्यौं, कहिले भावुक भयौं । साँच्चै भन्ने हो भने हामी दुवै नोस्टाल्जिक भयौं ।
“मैले कमाएको भए अझै धेरै दिने थिएँ ।’’ मेरो हातमा लाइसी थमाइदिनु भयो ।
म निःशब्द भएँ । यसरी त रहेछ आफ्नोहरुलाई सहयोग गर्ने तरिका ।
लाइसी यहाँको प्रचलन रहेछ । सिमको ब्यालेन्स, पकेट खर्च, ब्याग, साडी, चकलेट, मायाको चिनो पनि कति–कति । मैले त सोचेकै थिइनँ । यो सबै जीवनमा पहिलोपटक अनुभव गर्दै थिएँ । माया नै माया गर्ने आफन्तहरुको बीचमा सानो नानीलाई माया गरे जस्तो । कति धेरै आफ्नोपन कति धेरै न्यायोपन । अचम्म लागिरहेको थियो, यी सबै घटनाक्रमले । कविता लेखेकै कारणले मैले यति धेरै प्रेम पाएको थिएँ । पहिला कहिल्यै भेट नभएको साथीहरुले उपहार दिनुभयो । जस्तो; विष्णु राई, मिना खापुङ र बालिका राईको आत्मीयता । हाम्रो कहिल्यै सशरीर भेट भएको थिएन तर उहाँहरुको माया देखेर निःशब्द भएँ । गएको चाहिं कविता सुनाउन तर बिहे भएको चेली माइती आए जस्तो भयो । हङकङ नेपाली कला–साहित्य र संगीतको क्षेत्रमा लाग्ने जोकोहीको निम्ति कति प्रेमील छ भन्ने दह्रो प्रमाण हो यो । किताब त बहाना न हो । तर उहाँहरुको भावना आर्थिक रुपमा केही सहयोग गर्नु हो अनि यो सहयोग कति महत्वपूर्ण छ भन्ने कुराको ज्ञात भयो । ज–जसले मेरो निम्ति प्रेम देखाउनुभयो । नाम उल्लेख गर्यो भने निकै लामो लिष्ट तयार हुन्छ । साँच्चै भनेको; उहाँहरुले देखाउनुभएको हार्दिकता शब्दमा व्यक्त गर्न सक्दिनँ ।
फेरि; हङकङ उड्नु एक दिन अघि योनछेनलाई ज्वरो आएर कत्रो आपत् ! सुनिता गिरीजीले “विमलाजी, पिर नगर्नुस्, नानी सञ्चो हुन्छ, ढुक्क हुनुहोस् !” भन्ने ढाडस दिएको अहिले जस्तै लाग्छ । योनछेन ठीक भयो । ए, साँच्चि ! मलाई ज्वरो आएको त झन्डै भन्न बिर्सेको । योनछेनलाई अस्पतालबाट ल्याएपछि धपेडीले कामज्वरो नै आएको । सामाजिक सञ्जालमा साथीहरुको थेगी नसक्नु शुभकामना र निरन्तर पोष्टले मनमा एक हिसाबको प्रेसर थियो । यो पिर फेरि कसलाई भन्नु ?
मुख्य कार्यक्रम विषम परिस्थितिको बीचमा हङकङको ब्लु ओसन रेष्टुरेण्टमा भव्यताका साथ सम्पन्न भयो । क्रान्ति सुब्बाको उद्घोषण र बज्रकुमार थुलुङको कवितामाथिको विश्लेषण साँच्चिकै शानदार ! जीवनमा बिर्सनै नसक्ने क्षण दिपेन्द्र राई, जो हङकङको प्रसिद्ध चित्रकार हुनुहुन्छ, उहाँले दिनुभएको सरप्राइज उपहार— मेरो तस्वीर । यो एउटा चित्रकारले लेखकलाई हृदयबाट गरेको सम्मान थियो । कार्यक्रम सकिएपछि उपस्थितमध्ये कसैले भन्नुभयो, “यस्तो अवस्था नभएको भए यो हलमा खुट्टा राख्ने ठाउँ नहुने रहेछ । यस्तो विषम परिस्थितिमा पनि तपाईंलाई माया गरेर यतिका मान्छेको उपस्थिति भयो । तपाईं भाग्यमानी !” यो कार्यक्रमपछि किरात याक्थुङ–चुम्लुङ, हङकङको सम्मान कार्यक्रम थियो । चुम्लुङले यो परदेशमा आफ्नै भवन बनाएको रहेछ । त्यो देखेर औधी खुसी लाग्यो । कोही मर्दा–पर्दा लिम्बू समाज जुरुक्कै उठ्ने माहौल बनेको रहेछ । आफ्नोपन कस्तो हुन्छ, चुम्लुङको हलमा पाइला राख्दा मनन गर्न पाएँ ।
भोलिपल्ट; मोति चाम्लिङ, दिपाजी र म भीडहरु छिचोल्दै समुन्द्री किनारमा पुग्यौं । पैसा नभए एकै पाइला चाल्न गाह्रो यो शहरमा त्यस दिनको सबै स्पोन्सर मोतिजीले गर्नुभयो । जंगल, पहाड र समुन्द्र छिचोल्दै करिब एक घण्टापछि नेपालकै कुनै शान्त गाउँ पुगे जस्तै समुन्द्र र गाउँ मिसिएको स्थानमा पुग्यौं । गाउँको बाटो पनि एकदमै सफा र शान्त । मान्छेको अनुहार मेरो अनुहारसँग मिल्ने । साँच्चै ! उहिले यो ठाउँमा दोस्रो विश्वयुद्धपछि हङकङ पठाइएका ११ हजार ब्रिटिस आर्मीमध्ये कति यहीं मरे, कति फर्किए होलान् नेपाल ? लाउरेहरुको हकको निम्ति आन्दोलनरत् अभियन्ता ज्ञानराज राईको फुक्लिएको दाँत सम्झिएँ र बिरक्तिएँ । त्यो पहाडको पाखाहरुमा कति गोर्खालीले आफ्नो पसिना बगाए होलान् ? सोचेर नोस्टाल्जिक भएँ । ट्याक्सी तेज गतिमा हुँइकिरहेको थियो । हामी ‘बिग बुद्ध’ पुग्दा पहाडमाथि हेलिकप्टर घुमिरहेको थियो । मोतिजीलाई सोधेको, हाइकिङ जाने कोहीलाई समस्या भएपछि रेस्क्यूको निम्ति आएको रे ! आफ्नो देशमा सुत्केरी व्यथाले च्याप्दा सिटामोलसम्म खान नपाएर अकालमा ज्यान गुमाएका ती तमाम नागरिकलाई सम्झिँदै पर पहाडको भित्ता हेरें ।
राति दिपाजीको घर आइपुग्दा बेलुकीपख समुन्द्र नजिकको शान्त टेबलमा बसेर तीनजनाले खाएको बियरको नशा अलि–अलि मात्र बाँकी थियो ।
हङकङ शहर मान्छेको विवेक र श्रमले निर्माण भएको संसारकै उत्कृष्ट नमूनामध्ये एक हो । मान्छेहरु कति सभ्य छन् भन्ने बुझ्न त्यो शहरको सडक हेरे पुग्छ ।
भोलिपल्ट साँझ तेह्रथुम समाज र मेरो बुढामामलीहरुले भेटघाट र सम्मान कार्यक्रम राखेका थिए । आदरणीय रविनकुमार नाल्बो, खड्ग तिगेला, हङकङ–तेह्रथुम समाजका अध्यक्ष देवेन्द्र खापुङ, सुरेश इस्बो, दिल पोम्बो, त्रिभुवन लुम्फुङवा, हेमराज अन्छङबो, हिम सिंघक सम्पूर्णलाई धन्यवाद भन्छु । व्यस्तताबीच समय निकालेर आइदिनुभयो । जन्म र खुनको साइनो पनि साँच्चिकै प्रगाढ हुँदोरहेछ । उहाँहरुको प्रेमलाई म जीवनभर सम्झिरहनेछु । त्यो रात म काकाकै घरतिर लागें, दिपाजीलाई छोडेर । हङकङको जोर्डन काठमाडौंको इन्द्रचोक जस्तो । काका–भतिजी दुःखसुखका कुरा गर्यौं । ओख्रे पुग्यौं । खाल्ले पुग्यौं । समग्रमा गाउँका ती नमेटिने स्मृति, जो हृदयको भित्री कुनामा लुकेर बसेका थिए, ती सबै अतीतका बारेमा कुरा गर्यौं । अघिल्लो दिन, मुक्साहाङ भाइले आईसीसी टावर घुमाएर ल्याउँदा–फर्कंदा बाटोमा रामप्रकाश काकासँग भेट भयो । उहाँसँग २५ वर्षदेखि भेट भएको थिएन । हामी दुवैको त्यो साँझ हङकङको त्यो अनाम गल्लीमा कतिखेर आँसु झर्यो थाहै भएन । मुक्साहाङ भाइ हेरेको हेर्यै हुनुभयो । समग्रमा त्यो खुसीको आँसु थियो ।
समय गएको पत्तै भएन, एक सातापछि नेपाल फर्कने दिन पनि आइहाल्यो । हामीलाई विमानस्थलसम्म पुर्याउन किसन दाजु, बसन्ता फुपू, दयन, चिराग, क्रान्ति दाजु र भाउजू आउनुभएको थियो । चिराग र दयन मेरा बालसखाहरु, जोसँग म लड्दै–जुझ्दै हुर्किएँ । कति अमिट हुँदोरहेछ त्यो आत्मीयता भने, वर्षौंपछि भेट हुँदा पनि हाम्रा अनुभूतिहरु अझै जिउँदै रहेछन्, र त फेरि एकपल्ट गुच्चा खेल्दाका ती दिनहरु सम्झियौं र फर्कियौं बाल्यकालका ती दिनहरुमा । समय हरेक पल फुत्किँदै थियो । मनको भित्री कुनामा योनछेनको यादले औडाहा भएको थियो । आदरणीय बसन्ता फूपू, किसन दाजु, क्रान्ति दाजु–भाउजू, दयन, चिराग सबैले एकैपटक बिदाइको हात हल्लाइरहनुभएको थियो । दिपाजी र म हतारमा दौडिरहेका यात्रुहरुको हुलसँगै अगाडि बढ्यौं । निकै पर पुगेपछि फर्किएर हेरें— बसन्ता फुपू र किसन दाजु हामी गएतिर हेरेर उभिइरहनुभएको थियो ।