जापानको कुरा, साकुरा र फुजी टाकुरा
कर्णजी, ललित, प्रेम, विक्रम, लगायतको हाम्रो भ्रमण टोली चढेको हङकङ एक्सप्रेस एयरको उडान जापानको नारिता एयरपोर्टमा बेलुकी झमक्क हुँदा अवतरण गर्यो ।
गाइड भाइ एलेक्स कट्टेल हामीलाई लिन आएका रहेछन् । नारिताबाट टोकियो २ घन्टाको दूरी रहेछ । बाटोमा गाइड र ड्राइभरबाट धेरै स्थानीय कुराको जानकारी पाइयो । नेपालीको अवस्था (काम–कमाई, डेमोग्राफ, विद्यार्थी भिसामा जापान प्रवेश गर्ने बढ्दो चलन; आदि)को बारेमा जानकारी लिइयो । अझ; जापानी श्रीमती हुने नेपालीहरूको अवस्थाबारे मेरो पुरानो बुझाई– ‘जापानी वाइफ सबैभन्दा असल हुन्छन्’ भन्ने सोच नै गलत सावित गरे यी भाईले । कर्णजीले ‘लसुन’ पसल (जापानको सेभेनइलेभेन)बाट जापानी आसाही बियर किन्नुभएछ, खाँदै आउने क्रममा थोरैले रमरम हुने प्रेम भाइलाई हलुका मात लागेछ । ‘टोक्यो डुम’ पुग्दा राति अँध्यारो नै भयो । जीपीआरएसको सहयोगमा होटलसम्म पुगियो । जापानमा ‘भरसक बाटो नसोध्नु’ भन्ने मन्यता रहेछ किनकि सोधिएको मानिसको कर्तव्य बन्दो रहेछ कि, नजिकै भएसम्म घर नै पुर्याउने नभए पनि रेल वा बस स्टेसनसम्म पुर्याउनुपर्ने ।
होटलमा चेक इन गरेर खाना खान नजिकैको रेष्टुरेण्टमा गइयो । प्रेमले वालेट त्यहीं रेष्टुरेण्टमा झारेछ । खोजतलास, सोधखोज गर्दागर्दै आधा रात बित्यो । जापानमा चोरी हुँदैन, सामान हराउदैन, बाटोमा झरे पनि पाइन्छ भन्ने सुनेको थिएँ, साँचो रहेछ । वालेट सही सलामत भेटियो तर सुताइ चाहिं अलि ढिलै भयो ।
साकुरा र फुजी टाकुरा
हाम्रो भ्रमणको दोस्रो दिन फुजी टाकुरा र आसपासमा साकुरा हेर्ने निर्णय अनुसार हामी समयमै तयार भए पनि गाइड भाइ अलि ढिलो आयो । १०:३० तिर लागियो सिधै फुजी हिमाल ताकेर । यो साल प्रिडिक्टेड समयभन्दा १/२ हप्ता अघि नै चेरी फुलेछ । जति–जति उचाई लिंदै गइयो– मस्तै फुलेको चेरी र सांकुराको जंगल । मनै एक तमास बनाउने गरी सेताम्मै । अझ माथि–माथि त फुल्न सुरसार मात्र हुँदै रहेछ ।
फुजी टाकुराको माथिल्लो पिक पोइन्ट जाने बाटो हिउँ परेर बन्द भएकोले अलि तलको भागबाटै एक चक्कर लगाएर अर्को पाटो हुँदै फर्किने क्रममा नजिकैबाट उडेको भान दिने तस्वीरहरू पनि खिचियो फुजीको टाकुरासँगै । उफ्री–उफ्री समय र ताल मिलाएर ।
जापानको नारास्थित प्रसिद्ध बुद्ध मन्दिर जाने बाटोमा भेटिएका हरिणका बथान ।
बाटोको सुन्दर प्रकृति । अति नम्र, हँसमुख स्थानीय बासिन्दाहरू । नवपरिचित लिम्बू जातिको सोल्टी–सोल्टिनीबीचको जस्तो घरी–घरी निहुरिएर ‘ओहायो गोजाइमासु’ भनेर सेवाढोग गर्ने चलन । सुन्दर पोस्टरको जस्तो हरियाली रंगीचंगी फूलहरू । प्राकृतिक छटासँगैका बस्तीहरू देखेर साथीहरू भन्दै थिए, “यो ठाउँमा बस्न पाए १०/२० वर्ष आयु जसको पनि बढ्छ ।” हो पनि; सफा, स्वच्छ र सबै खुस भए यो सम्भव छ ।
सेभेन एलेभेन जस्तै ‘फेमिली मार्ट’, ‘ल–सुन’ जस्ता २४ घण्टा खुला रहने ठूला–ठूला कन्भेनियन्ट स्टोर जहाँ दैनिक जीवनका अत्यावश्यक सबै सामग्री र शौचालयको सुविधा समेत हुने रहेछ । हामी पुरुष शौचालय पस्दा एक युवती गीत गाउँदै शौचालय सफा गर्दै थिइन् । प्रयोगकर्ताहरू सफाइकर्मी दिदीलाई आधी झुकेर प्रणाम (ओहायो गोजाइमासु) गरिरहेका थिए । काम र काम गर्नेको सम्मानको एक उत्कृष्ट उदाहरण । हामी पनि अप्ठेरो मान्दै शौचालय उपयोग गरी निस्कियौं । अनि; ‘कुटुमा कुटु सुपारी दाना…’ गीत सुन्दै लागियो अर्को रमणीय स्थल ‘आशी लेक’ । जापानको फेवाताल नै रहेछ । फुजीको छर्लङ्ग छायाँ देखिने, त्यसमा साकुरा फुलेको । यहाँ चाहिं साकुराले हामीलाई भव्य स्वागत गर्यो । सुन्दर ताल, मस्तीले फुलेको साकुरा छायाँमा फुजी हिमाल । यदि स्वर्ग हुँदो हो त यस्तै हुँदो होला । यथार्थमा देखेर आनन्दित हुन पनि पाइयो ।
स्थानीय वफेट टाइपको चेन रेष्टुरेण्ट रहेछ फुजीमियामा । फुजीकै फेदमा आनन्दको दृश्यावलोकन गर्दै लञ्च सकेपछि फुजीलाई फन्को मार्दै फर्किइयो टोकियोको मिनि नेपाल ।
डाँडाकाँडा, पहरा र खोंचमा पनि बाटो । न घुमाउरो न उकालो न त ओरालो नै । प्राकृतिक बनावट अनुसारको बाटो होइन कि प्रकृतिविरुद्ध आफ्नो तालमा निर्माण गरिएको रहेछ । मतलब; प्रकृति जस्तोसुकै होस्; ठूला डाँडामा टनेल, स–साना डाँडालाई गहिराएर, खाल्डो र गहिरोमा पुल बनाएर सरल रेखामा तेर्सो बाटो सरररररर । आफ्नै गतिमा बेफिक्री गुड्न मिल्ने चौडा बाटो । सयकडौं पुल र टनेलहरू यो एउटा विकसको छुट्टै अध्याय जस्तो पो रहेछ । विश्वको कुनै पनि मुलुकमा देखेको थिइनँ मैले यस्तो सडक सञ्जाल ।
ओशाका जाने बुलेट ट्रेनको टिकटको बन्दोबस्त आजै गर्नुछ र एनआरएनए स्थानीय र केन्द्रीय पदाधिकारीहरूसँग भेटघाट । साथमा डिनरको कार्यक्रम पनि ।
एनआरएनए, जापानका अध्यक्ष टासी लामा, प्रवक्ता पर्शु बस्नेत, पूर्व अध्यक्ष तथा आईसीसी सदस्य ओम गुरुङ, आईसीसी प्रवक्ता भूषण घिमिरे, सुदन थापा लगायतका साथीहरूसँग भेट र खानपान भयो । हङकङ–जापानका समान समस्या एनआरएनएबारे केही छलफल भए, जापानकै व्यापारी एवं नेपाली वकिल महेश श्रेष्ठ जसले नयाँ संविधानको धारा २९१ विरुद्ध नेपालको सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यसबारे केन्द्रीय प्रवक्ता धेरै जानकारी राख्दा रहेछन् । यसबारे पनि छलफल गरियो ।
टोकियो सिटीको सेरोफेरो
सन्देश कोरङ्गी; सहयात्री साथी कर्ण कोरङ्गीको भाइ । आफूले काम गर्ने शहरबाट टोकियो बेलुकी नै आइपुगे । जो जापानमै ३ वर्षदेखि कार्यरत छन् । हाम्रो लागि आगामी बसाईका लागि सहयोगी र दोभाषे हुने छन् । आज स्थानीय सिटी टुर गरियो । स्ट्याचु अफ लिबर्टीको रिप्लिका पनि रहेछ । बैंस ढल्किन लागेकी सुन्दरीझैं भर्खरै फुलिसकेर हरियो हुँदै गएको चेरीको जंगल हुँदै टेम्पल अफ मर्सी पुगियो । जहाँ श्रद्धालुहरूको घुइँचो खासगरी आफूले जान–अन्जानमा गरेका सबै गलत कामको लागि माफी माग्नेहरू यहाँ आउने रहेछन् । हामीले पनि दर्शन गरेर वरिपरी अवलोकन गर्यौं । यो एउटा अति पुरानो हजारौं भूकम्पको धक्काले कुनै असर नगरेको दयाकी देवीको मन्दिर रहेछ ।
एउटै सुटुनी धार्नी–धार्नीको । त्यसको लामो–लामो चिरा बनाएर तेलमा फ्राई गरेको हेर्दा निकै स्वादिष्ट छ जस्तो लाग्यो तर फ्राई भएकोले खाने आँट गरिएन ।
दयाकी देवीको मन्दिर, टोकियो ।
दिनेश भाइको सहजकारी भूमिकामा टोकियो स्टेसन सेरोफेरोका ठाउँहरूको अवलोकन गर्न पाइयो । जेब्राक्रसमा चराहरूको विभिन्न आवाजलाई सिगनल साउण्ड बनाइएको रहेछ, एउटा राम्रो प्रयोग । यहाँ गज्जब चाहिं फोहोरमैला नगण्य मात्र । रद्दीका टोकरीहरू अन्य मुलुकको दाँजोमा अति सानो साइज र सीमित मात्रामा हुने । खाली क्यान फाल्न नपाएर दिनभरि बोकी हिंड्नुपर्यो । यहाँका बच्चालाई सानैदेखि ‘टिस्यू पेपर बनाउन रुखहरू काट्नुपर्छ, रुख हाम्रो मित्र हो’ भनेर सिकाइँदो रहेछ । त्यसैले टिस्यू अति कम मात्र प्रयोग हुने । त्यस्तै; ‘फोहोर फाल्नु हुँदैन, कसैले बाटोमा फालेको भेटिएमा टिपेर डस्टविनमा हाल्नु पर्छ’ भनेर विद्यालयमा पढाइँदो रहेछ । यहाँका सडकमा स्वीपरले पातपत्कर मात्र बढार्ने रहेछ ।
भोलिपल्ट ओशाका जाने गोली–रेलको टिकट टोकियो स्टेसनमै बन्दोबस्त गरेर गुरुजी एलेक्स कट्टेलको सल्लाहमा टोकियो डोम परिसरमा खाना खान गइयो । लालीगुराँसको रातो, सेतो र गुलाबी रंग फुलिरहेका बोट रहेछन् । लालीगुराँसको राजधानी आफ्नै ठाउँ तिनजुरेको याद आयो । टोकियो ब्रदर्श र जापानको अन्डरवल्र्ड ह्याकुजाबारे राम्रै ज्ञान भएका कट्टेल भाइसँग खानपिनपछि एक फन्को ‘इभिनिङ वाक’ गर्दै होटेल फर्किइयो । “आज त एकछिन दुक्की तान्ने हो दाइ टिम पुग्छ,” कलब्रेक खेल्ने इच्छा व्यक्त गरे प्रेम तामाङ ।
गोली–रेलमा टोकियो–ओशाका
विभिन्न रेलवे लाइनमा छुट्टाछुट्टै कम्पनीको स्वामित्व हुने रहेछ र छुट्टै लाइन छुट्टै टिकट काट्नुपर्ने रहेछ । यावत् झञ्झटले केही समय अगावै रेल स्टेसनमा पुगेर पनि हाम्रो गोली–रेल छुट्यो । तर, सोही टिकटबाट अर्को रेलमा जान पाइने रहेछ । अर्को रेलबाट लागियो ओशाका गोलीगतिमा ।
मसिना मसिना १/२ तले घरहरू । कतै बेस्सरी बाक्लो, कतै पातला बस्तीहरू । बाँसको रुख जस्तै जंगल, कतै खेतिबारी हुँदै २ घण्टाको यात्रामा पुगियो जापानको अर्को प्रख्यात शहर ओशाका ।
‘माई नेम इज समर, आई विल बि योर्स फर नेक्स्ट ७२ आवर्स’ । हाम्रो समूहको नाम लेखेको प्लेकार्ड लिएर हामीलाई लिन तैनाथ थियो हाम्रो गाइड समर । चीनको इनर मंगोलियाबाट कीरा–फट्याङ्ग्राको वंशवृद्धि र बसाई–सराईमा पीएचडी गर्न आएको विद्यार्थी रहेछ । रमाइलो स्वभाव, विज्ञानबारे विद्वान गाइड भेटेर मनमनै खुसी थिएँ । होटेल चेक इनपछि एक फन्को लोकल सिटी टुर र स्थानीय जापानी रेष्टुरेण्टमा डिनर गराएर समर बिदा भयो आजलाई ।
जापानीहरू सफल हुनुको मुख्य कारणमध्ये इमान्दारिता, लगनशीलता, मिहिनेती, अर्काको सम्मान गर्ने, पर्फेक्टिनेस हुनु हो । जापानमा चोरले ढाँट्यो भने पनि विश्वास गर्छन् रे जापानिजहरू । यो एउटा विकासको अर्को रुप देखें जीवनमा । जबसम्म कुनै मानिस गलत हो भन्ने यकिन हुँदैन तबसम्म सम्पूर्ण विश्वास र भरोसा हुने रहेछ ।
विश्वयुद्धताकाको चाइनिजहरूसँगको वैरभावले गर्दा होला चाइनिजसँग खानपान, उठबस गर्न नरुचाउने रहेछन् जापानिजहरू । आफ्नै भाषामा ‘डेन्जर मेन’ भन्दा रहेछन् चाइनिजलाई । पूरै चाइनिज जातिसँगै परहेज राख्ने उनीहरू हङकङका चाइनिजलाई पनि चिनियाँ ‘डेन्जर मेन’ नै भन्दा रहेछन् । नेपालीलाई ‘नेपारु’ भन्दा रहेछन् । उनीहरूको लागि ‘नेपारु’ अति प्रिय । नेपालीहरूसँग सँगै खान, बस्न, सँगै काम गर्न खुसी हुन्छन् रे । प्रिफेक्चर (हाम्रोमा जिल्ला) पिच्छे आफ्नै तलबमान तोकिएको हुन्छ र सबैलाई समान कामको लागि समान ज्याला । देशी, विदेशी सबैलाई समान बराबर, भेदभाव शून्य । तर, करको दर चाहिं अलि उच्च रहेछ । बाटोमा नाङ्लोमा व्यापार गर्नेले पनि हरेक दिन बेलुकी बिक्रीको हिसाबले कर कार्यालयमा लगेर रकम जम्मा गर्ने रहेछन् । मुलुकको विकास त्यसैले गर्ने हो भन्ने भावना भएका जनताहरू ।
कोवेनारा
भोलिपल्ट बिहानै कोवे शहरको ऐतिहासिक हार्वर पोर्टतिर लागियो । कोवेमा साकेको विशाल फ्याक्ट्री रहेछ । साके चामलको जाँड र रक्सी बनाउने सो फ्याक्ट्रीले निर्माण गरेको म्युजियममा सयौं वर्ष पुरानो तकनिकी संरक्षित छ । युरोप, अमेरिकामा वाइनरी जस्तै जापानको ‘शाके’, नेपालमा ‘भाती जाँड’, छनुवा जाँड भनिन्छ । दुःख लाग्छ– हाम्रो पुरानो जाँड रक्सी, किनिमा, यांगवेन, तामाको अचार लगायत जडिबुटीको विकासको सट्टा खोया बिर्के, पाखे डबके भनेर आफ्नो मानमर्दन आफैं गर्दो छौं ।
हार्वर पोर्टबाट बोटानिकल गार्डेन हेर्न केवलकारबाट जाँदा कोवे शहरको रमणीय दृश्य हेर्न पाइयो । हाम्रो गाइड यहींकै स्थानीय बासिन्दा । उनले सुनाए अनुसार, कोवेमा १९९५ मा विनाशकारी भूकम्प गएको बखत कोवे–टोकियो पुल डिजाइन भैसकेको थियो । भूकम्पले गर्दा पुलको लम्बाई १ मिटर बढाउनु परेको रहेछ । त्यहाँ कोवे विफ स्टिक निकै प्रसिद्ध रहेछ । कोवे व्रायन्ट जो गत जनवरीमा एउटा दुःखद् हेलिकप्टर दुर्घटनामा दिवंगत भए । एल–ए लिकर्सका प्रसिद्ध बास्केटबल खेलाडीको नाम उनको बाबु यहाँ आएका बखत दिएका रहेछन्– ‘कोवे व्रायन्ट’ ।
नाराको बिग बुद्ध ।
जापानमा नेपालीले खोलेको रेष्टुरेण्ट ‘ताजमहल’ अचानकै पुगियो । नाम सुन्दा भारतीय लाग्ने उक्त रेष्टुरेण्ट गुल्मीतिरका साथीहरूले सञ्चालन गरेका रहेछन् । सञ्चालकहरूसँग गफ गर्दै लञ्चको मज्जा छुट्टै थियो ।
खानापछि नाराको प्रसिद्ध विशाल बुद्ध मन्दिर हेर्न गइयो । बाटोभरि हरिणका बथान खानेकुरा पाउने आशमा लामबद्ध हुँदा रहेछन् । यो गुम्बा हजारौं वर्ष पुरानो हो । विश्वयुद्धताका अमेरिकाले मुख्य मन्दिरलाई निशाना बनाएर बमबारी गरेकोले उसबखत क्षत–विक्षत गुम्बालाई पछि जिर्णोद्वार गरिएको रहेछ । यसका सबै पिलर बडेमानका सिङ्गै–सिङ्गै रुखहरूले बनेका रहेछन् उसबेला । पछि काठहरू जोडेर बनाइएको रहेछ । प्रवेशद्वार भवन पुरानै रहेछ, यसका पिलर–खम्बा यथावत् छन्, यसले मुख्य गुम्बा कस्तो थियो आँकलन गर्न सकिन्छ । यहाँ जापानको सबैभन्दा ठूलो बुद्धको मूर्ति अवस्थित भएकोले पनि पर्यटकको ठूला घुइँचो हुने रहेछ ।
अटोमिक बम, हिरोसिमा र सोयोनारा !
आज हाम्रो यात्राको अन्तिम दिन । बिहान ८ बजे चेकआउट गरेर लगेज कारमा राखियो । ब्रेकफास्टपछि पूर्व सल्लाह अनुसार अटोमिक बमको म्युजियम हेर्न हिरोसिमातर्फ हान्नियौं । बाटोभरी साकुरा मात्र होइन पूरै वन–जंगलै फुलेको रमाइलो दृश्यावलोकन गर्दै सयौं टनेल र हजारौं पुल पार गरेर पुगियो । अमेरिकाले ६ अगस्ट १९४५ मा अमानवीय तरिकाले २ लाख निर्दोष जनको क्रुर संहार गरेको ठाउँ हिरोसिमा शहर । पहिलो अटोमिक बम झारेको केन्द्र सिटी टाउन सेन्टरको अवशेषलाई संरक्षण गरेर राखिएको रहेछ । नजिकै बमले गरेको कहालीलाग्दो विनासको अवशेषहरूको म्युजियम रहेछ । सम्भव हुने सबै कुराको संरक्षण गरेर प्रदर्शनमा राखिएका । कोही कोही बम झर्दाको समय आफू बच्चा हुँदाका अनुभव, कोही आमाबाबुबाट सुनेका जीवन्त सत्यकथा सुनाइरहेका थिए भने यहाँ आउने पर्यटकहरू गहभरी आँसु पारेर प्रदर्शनीमा राखिएका वस्तुहरूको अवलोकन गरिरहेका थिए । डिस्प्लेमा राखिएको कोकाकोलाको बाक्लो बोतल र गुच्चा अटोमिक बमको ७००० डिग्री तापले पग्लेको हेर्दा पनि कल्पना गर्न सकिन्छ कि कस्तो भयावह अवस्था थियो होला ६ अगस्ट १९४५ को त्यो बिहानी !
हिरोसिमा म्युजियममा अटोमिक बमले पग्लेको गुच्चा ।
मानवजातिले मानवजातिमाथि गरेको यति क्रुर कार्य यो पहिलो र अन्तिम होस् । यस्तो कार्यको निर्णयकर्ताहरू नै दोषी हुन् । उनीहरूको भलो हुने छैन । हुनतः त्यसबखत जापानीहरूको बाहिरी विश्वसँगको अर्घेलो हर्कत पनि दोषभागी छ । हिरोसिमामा बम खसालेपछिको लगभग ३ दिनपछि नागासाकीमा भएको डेढ गुना शक्तिशाली अटोमिक बम झारेपछि मात्र जापानी सेनाले सेतो झण्डा उठाएको थियो ।
लाखौं निर्दोषजनको र जीव चराचरको हठात् र निमेषभरमा चोला उठेको विनाशको त्यस दर्दनाक कहानीको सम्झनारुपी अनेक थपना प्रतिमाहरू निर्माण गरिएको रहेछ । यो सबको अवलोकन गर्दै फर्कियौं फेरि अरु सयौं पुल तथा टनेलहरू पार गर्दै । आज बेलुकीको उडान जो छ हङकङ फिर्तीको ।
१३ घण्टे लगातार यात्रापछि राति ९ बजे ओशाका एयरपोर्ट पुगियो । हाम्रो गाइड समर र गुरुजीलाई सायोनाराको हात हल्लाएर हाम्रो यो एकहप्ते जापान यात्रामा पूर्णविराम लगायौं । बाईबाई सायोनारा !