• नवनियुक्त नेपाली कन्सुल जनरलको कार्यभार (सम्पादकीय)

  •  

    नेपाली कन्सुल जनरल उदयबहादुर राना मगरले कार्यभार सम्हालेका छन् । कोरोनाभाइरस (कोभिड–१९)को महामारीले उत्पन्न विश्वव्यापी प्रतिकूलताका कारण उनलाई कार्यभार सम्हाल्न व्यवधान उत्पन्न भएको थियो । विलम्ब गरी कार्यभार सम्हाल्न आइपुगेका नवनियुक्त कन्सुल जनरललाई हङकङमा स्वागत साथै बधाई !

    सन् १९९७ मा हङकङमा नेपाली कन्सुलेट जनरल (महावाणिज्यदूतावास) स्थापना भएपछि नेपाल सरकारले लगातार कन्सुल जनरल (महावाणिज्यदूत) नियुक्त गरिरहेको छ । उदयबहादुर राना मगर आठौं कन्सुल जनरल हुन् । नियमित प्रक्रिया भएकोले एक अर्थमा उनको नियुक्ति सामान्य रहेको छ, अर्को अर्थमा भन्ने हो भने यो नियुक्ति असामान्य रहेको छ । असामान्य यस अर्थमा कि— उनी हङकङका लागि पहिलो नेपाली आदिवासी जनजाति मूलका कन्सुल जनरल बनेका छन् । असामान्य यस अर्थमा कि— यस नियुक्तिका लागि नेपाल आदिवासी जनजाति महासंघ हङकङ सन् २००६ सालदेखि लगातार आन्दोलनरत थियो । असामान्य यस अर्थमा कि— १४ वर्षे आन्दोलनको उपलब्धिको रूपमा उदयबहादुर राना मगर हङकङका लागि नेपाली कन्सुल जनरल नियुक्त भएका हुन् ।

    प्रवासको ठाउँमा जनजाति र गैर–जनजातिको विषय उठान निश्चय पनि स्वाभाविक होइन । नेपाल बाहिर सबै नेपाली, हुनुपर्ने यसै हो । तर यसका लागि सरकार जिम्मेवार हुन आवश्यक छ । नेपाल सरकारको गैर–जिम्मेवारपनाले गर्दा ‘हङकङमा आदिवासी जनजाति मूलको नेपाली महावाणिज्यदूत (कन्सुल जनरल)’ भन्ने मागको उठान र त्यसका लागि लामो समय आन्दोलन भयो । सरकारको कामकारवाही निष्पक्ष भएन, भेदभावपूर्ण, जातिवादी र नश्लीय रह्यो । यो पूर्वाग्रह होइन, अहिलेसम्म नियुक्त भएका अनुहारले नै प्रष्ट पार्दछ । प्रद्युम्न विक्रम शाह, जैनेन्द्रजीवन शर्मा, माधवप्रसाद घिमिरे, केशवप्रसाद भट्टराई, विनोदकुमार उपाध्याय, महेशकुमार दाहाल र कमलप्रसाद भट्टराई अहिलेसम्म भएका नेपाली कन्सुल जनरलहरू हुन् ।

    एभरेष्ट खबर स्थापनाकालदेखि सामुदायिक पत्रिकाको रूपमा रहेको छ । शुरूवातदेखि नै समुदायका गतिविधि यसको प्राथमिकतामा रहने गरेको छ । समुदायमा घटेका प्रमुख घटनामा एभरेष्ट  प्रत्यक्ष र परोक्ष रूपमा जोडिने गरेको छ । यसकारण १४ वर्षसम्म चलेको नेपाल आदिवासी जनजाति महासंघको आन्दोलनमा एभरेष्ट सहयात्रीको रूपमा रहेको थियो । यस आन्दोलनमा मात्र होइन दिलबहादुर लिम्बू हत्याकाण्डलगायतका ‘इष्यू’मा समेत एभरेष्टको संलग्नता प्रत्यक्ष रूपमा रहेको छ । यस अर्थमा उदयबहादुर राना मगरको नियुक्ति एभरेष्ट खबरको लागि पनि उपलब्धिको रूपमा रहेको छ ।

    नयाँ अध्याय शुरू भएको छ । पुराना विषयमा अल्झिएर बस्ने होइन, नयाँ ढंगले अघि बढ्न आवश्यक छ । यहाँस्थित नेपाली कन्सुलेट जनरलबाट हङकङका नेपाली र नेपालको सर्वाङ्गीण विकासको पक्षमा काम हुनुपर्छ । यसका लागि सबैभन्दा पहिला अनुकूल वातावरणको आवश्यकता छ । १४ वर्षे आन्दोलनका कारण खजमजिएको वातावरणलाई सामान्य बनाउनुपर्ने छ । आन्दोलनको क्रममा कन्सुल जनरललाई बहिष्कारको कार्यक्रम सम्पन्न भएका थिए । आन्दोलनकारीको माग पूरा भएको स्थितिमा नयाँ ढंगले अगाडि बढ्न आवश्यक छ । यसका लागि कन्सुलेट जनरलको नेतृत्व भएकोले कन्सुल जनरलको भूमिका महत्वपूर्ण रहनेछ ।

    नवनियुक्त कन्सुल जनरल राना मगरले ध्यान दिनुपर्ने पहिलो विषय यो छ कि, आन्दोलनको क्रममा ‘कन्सुल जनरल हाम्रो होइन राम्रो हुनुपर्छ’ भन्ने बहसको विषय बनेको थियो । आन्दोलनकारीले यो माग अनाहकमा गरेको होइन । विगतका नेपाली कन्सुल जनरलबाट भेदभावपूर्ण व्यवहार भएको थियो । नेपालको अन्तरिम संविधान, २०६३ ले समावेशीकरणको प्रत्याभूत गरेको भए पनि सरकारबाट हङकङका लागि कन्सुल जनरल नियुक्तिमा एकलकाँटे प्रवृत्तिको अन्त्य भएको थिएन । आन्दोलनकारीहरूले ‘हाम्रा मान्छे पनि राम्रा हुन्छन्’ भन्ने जिकिर गरेका थिए । यसर्थ उदयबहादुर राना मगरका लागि नेपालका आदिवासी जनजाति पनि राम्रा र सक्षम छन् भन्ने उदाहरण पेश गर्नुपर्ने चुनौती छ । उनको व्यवहार हिजोका कन्सुल जनरल भन्दा पृथक हुन आवश्यक छ । यहाँ जातीय रूपमा अल्पसंख्यक नेपाली पनि रहेका छन् । त्यसकारण कन्सुलेट जनरलको सेवा सुविधा र कन्सुल जनरलको व्यवहार तथा कामकारवाही समान, भेदभावरहित, कानूनसम्मत अनि नेपाल र नेपालीको पक्षमा हुनु पर्दछ ।

    कार्यकाल पूर्ण सफलताको कामना !

  • कमेन्ट गर्नुहोस्