• ५० वर्ष अघिको हङकङ: लिटल ड्रागन अफ एसिया

    पुरानो हङकङमा निर्माणाधीन घण्टाघर ।
  •  

    सन् १९८० दशकको मध्यतिरको कुरा हो, न्यूज विकले एसियाका साना औद्योगिक राष्ट्रहरूको नाम प्रकाशित गरेको थियो ‘द लिटल ड्रागन्स अफ एसिया’ शीर्षकमा । ती राष्ट्रहरूमा सिंगापुर, ताइवान र हङकङ समावेश थिए । उक्त पत्रिकाको भनाइ थियो, ती तीन साना राष्ट्रहरू एसियाका सबैभन्दा धनी राष्ट्र हुन् । त्यसताका ६० लाख जनसंख्या भएको हङकङ ब्रिटिस साम्राज्यको एक प्रसिद्ध महानगर रहे पनि उक्त साप्ताहिकले आर्थिक हिसाबले राष्ट्रकै पंक्तिमा राखेको थियो । ताइवानको आर्थिक विकास भने संयुक्त राष्ट्र अमेरिकाको प्रत्यक्ष आर्थिक सहयोगबाट सम्भव हुन गयो । सिंगापुरको आर्थिक उन्नति त्यहाँका पूर्वप्रधानमन्त्री लि–क्वान यु र उनको दल पीएपीको कारणबाट भयो । उक्त पार्टीले सन् १९६१ देखि आजसम्म निरन्तर सत्ता सम्हालिरहेको छ । हङकङ मात्र त्यस्तो ब्रिटिस महानगरी थियो, जहाँ न कुनै राजनीतिक दल थियो न त ब्रिटिस सरकारको प्रत्यक्ष आर्थिक लगानी थियो । लिटल ड्रागनको उपाधि पाउन हङकङबासीहरूको लगानी र मेहनत नै मूल कारण हो ।

    इतिहास

    हङकङ टापु सन् १८४२ मा ब्रिटिस सरकारले चिनियाँ बादशाहबाट किनेको थियो । न्यू टेरिटोरी तथा काउलुन लगायत उत्तरी भू–भाग सन् १८९८ मा एक सय वर्षको लागि लिजमा ब्रिटिस सरकारले लियो । त्यसवेलाको उजाड हङकङ टापु कालान्तरमा विश्वकै चौथो ठूलो व्यापारिक तथा औद्योगिक क्षेत्र बन्न पुग्यो । दोस्रो विश्वयुद्धमा जापानको शासन प्रणाली भोगिसकेको हङकङले सन् १९५० सम्म आइपुग्दा मात्र औद्योगिकीकरण उन्मुख हुन चाहे पनि खासै आर्थिक विकास गर्न सकेको थिएन । सन् १९५० मा चीन कम्युनिष्टहरूको शासनमा परेपछि त्यहाँबाट भागेर आउने शरणार्थीको ओइरोले गर्दा हङकङको जनसंख्या बढ्न गयो, सँगसँगै आर्थिक बोझ पनि पर्‍यो हङकङ सरकारलाई । करिब १५ सय वर्ग माइल ओगट्ने हङकङ टापु र न्यू टेरिटोरीमा खेतीयोग्य जमिन थिएन । समुद्री माछा, आन्तरिक व्यापार, औद्योगिक उत्पादन हङकङबासीको जिउने आधार थियो ।

    तीतो अनुभव

    चिनियाँ क्रान्ति सन् १९४९ मा सफल भएपछि चीनबाट बारम्बार हङकङमाथि आक्रमण गर्ने धम्की आएपछि हङकङको सुरक्षाको लागि त्यहाँ ब्रिटिस सरकारले थल, जल र हवाई गरी ६० हजार सेना तैनाथ गर्‍यो । न्यू टेरिटोरीको डाँडाकाँडा पूरै ट्रेन्च र बंकरमा परिणत भयो । त्यसवेला यो पंक्तिकारको पल्टन २/७ जीआरको क्याम्प ताम्मई भन्ने ठाउँमा थियो । आइतबार र बिदाका दिनहरूमा डाँडापाखामा जीविकोपार्जनका लागि यौनधन्दामा लागेका युवतीहरूको भरिभराउ हुन्थ्यो । ताम्मई क्याम्प नजिकमा रहेको पोइन्ट ३७ तथा सानो डाँडामा साँझपख यौनकर्मीहरूको हाट नै लागे सरह हुन्थ्यो ।

    पुरानो हङकङेली जनजीवन ।

    एक दिन यो पंक्तिकार नम्बरी साथीसित काउलुनको साम सुई पो घुम्न पुग्दा बाटोको छेउछेउ हिंडिरहेको अवस्थामा २५/३० वर्ष उमेरका एक चिनियाँ पुरुषले केही आपत परिआए जस्तो हातको इसाराले हामीलाई बोलाए । हामी चिनियाँ भाषा बोल्न पटक्कै जान्दैन थियौं । हामी उनको पछि लाग्यौं, केही पर पुगेपछि उनको परिवार बसेको सानो कोठाभित्र लगे । त्यस कोठाभित्र उनकी श्रीमती काखमा नानी च्यापेर बसेकी थिइन्, त्यहाँ अन्य मानिस पनि थिए । सायद तिनीहरू ती पुरुषका परिवार थिए । उनले १० डलर मागेर आफ्नी पत्नीसित सहबास गर्न कर गर्न थाले । भाषा नबुझे पनि इसारामै इन्कार गर्न खोज्दा हातमा छुरी लिएर हामीमाथि जाइलाग्न थाले । घरभित्र हल्लाखल्ला मच्चियो । उनीहरूले के–के भने बुझिएन तर हामीले १०/१० डलरको नोट उनको हातमा थमाई त्यहाँबाट सुइँकुच्चा ठोक्यौं । त्यसपछि त्यहाँ कहिल्यै गएनौं । सायद हामी दुई त्यहाँ पुग्नु उनीहरूको लागि छाक टार्न भगवानले जुराएको होला जस्तो लाग्यो । यो सत्य घटना थियो सन् १९५५ को । पल्टन सन् १९५७ मा मलायाको कुलाङ भन्ने ठाउँमा सर्‍यो । सन् १९५९ मा सिंगापुरको वलाकानमती टापुमा सर्‍यो ।

    सन् १९६१ मा सिंगापुरको एक प्रसिद्ध दैनिक पत्रिकाले लेखेको थियो, “गरिबीको कारण हङकङका ८० प्रतिशत महिला यौनधन्दा गर्छन् ।” यस्तो पढ्दा यो पंक्तिकारलाई पोइन्ट ३७ डाँडा याद आउँथ्यो ।

    दोस्रो पटक हङकङ पुग्दा

    मेरो पल्टन दोस्रो पटक हङकङ पुग्यो सन् १९६२ मा । म सपरिवार थिएँ । कम्युनिष्ट चीनको धम्की कम भएको थिएन । तर त्यहाँ पुग्दा ताम्मेइ क्याम्प फेमेली लाइनमा परिणत भएको पाइयो । त्यहाँबाट एक माइल दूरीमा बनेको क्यासिनो क्याम्पमा परिवारविहीन सिपाहीहरूलाई राखिएको थियो । ताम्मेइ क्याम्प पुग्दा हाउसमेडको लागि स्थानीय महिलाहरूको भिड थियो । मासिक ५० डलरमा काम गर्न राजी थिए उनीहरू । त्यसबाट के बुझ्न सकिन्थ्यो भने हङकङ अझ पनि औद्योगिकीकरण भइसकेको थिएन ।

    पुरानो हङकङेली बजार ।

    रोजगारी समस्या समाधानको आधार बनिसकेको थिएन । तर शहरहरू भने सन् १९५४ को भन्दा शतप्रतिशत माथि उठेको देखापर्‍यो । त्यसवेलासम्म भियतनामको युद्ध शुरू भइसकेको थिएन । सन् १९६५ मा भियतनाम युद्ध शुरू भएपछि भने त्यहाँ पर्यटकको रूपमा दैनिक हजारौंको संख्यामा अमेरिकी सैनिकहरू आउन थाले । त्यसबाट होटल व्यवसायको विकास हुन थाल्यो । सँगसँगै रोजगारीको अवसर पनि सर्जना हुन थाल्यो । हङकङ सरकारले होटल उद्योगका साथै पर्यटन उद्योग र औद्योगिकीकरणमा बढी ध्यान दिन थाल्यो । सन् १९६५ को अन्त्यतिर मेरो पल्टन मलायामा सर्‍यो ।

    सन् १९६७ को आन्दोलन

    यसरी २/७ जीआरले मलायाबाट दुवै ठाउँबाट ब्रुनियो क्याम्पिन तथा युद्धमा भाग लिइरहेको थियो । त्यही समय तथा सन् १९६७ मा ‘हङकङ छोड’ नारासहित ठूलो दंगा तथा आन्दोलन भयो । उक्त आन्दोलन विशेषगरी मेनल्याण्ड चीनको इसारामा भएको थियो । त्यो आन्दोलन तथा दंगालाई नियन्त्रण गर्न २/७ जीआरले पनि अवसर पायो । त्यसताका अफिसरहरूलाई दिइने दैनिक ब्रिफिङमा चीनको ६० प्रतिशत उद्योगहरू समुद्र तटमा स्थापित छन्, उनीहरूले हङकङमाथि आक्रमण गरेमा त्यसको प्रतिउत्तरमा ब्रिटिस र अमेरिकन फौजले गर्दा चीनका ती औद्योगिक क्षेत्रहरू नष्ट हुनेछन् जुन हङकङभन्दा महत्वपूर्ण छन् । अर्को; चिनियाँ उत्पादित औद्योगिक सामग्रीहरू हङकङबाट तेस्रो मुलुकमा निकासी हुने गर्छ र चीनको ७० प्रतिशत विदेशी मुद्रा आर्जन पनि हङकङबाटै हुने भएकोले हङकङमाथि आक्रमणको धम्की दिनु राजनीति मात्र हो । त्यसलाई कार्यान्वयन गर्दैनन् भनी ब्रिफिङमा भन्थे । अन्ततोगत्वा त्यो सही पनि भयो । धम्कीमै सीमित रह्यो चिनियाँ धम्की ३२ वर्षसम्म ।

    सन् १९६८ तथा अन्तिम पटक

    सन् १९६८ मा मलेसियाबाट पुनः हङकङ सरुवा भयो मेरो पल्टन । यसपटक पनि हाउसमेडको लागि धाउने महिलाहरूको संख्या अझ घटेको थिएन । उनीहरू मासिक ज्याला १ हजार देखि १५ सय डलरसम्म माग गर्थे । विचरा मासिक ६ सय डलर पाउने गोरखा परिवारले हाउसमेड राख्न सक्ने कुरै भएन । तर यति भने प्रष्ट भयो– हङकङले विगत २० वर्षमा ठूलो आर्थिक विकास गरिसकेछ । ठूला–ठूला उद्योगहरू निर्माण भएका थिए । भियतनामबाट बिदामा आउने अमेरिकन सिपाहीहरूको संख्या पहिलाभन्दा बढेको थियो ।

    ब्रिटिसकालीन हङकङमा गोर्खाहरू ।

    हङकङ बन्दरगाहामा संयुक्त राष्ट्र अमेरिकाको सेभेन फिल्टका युद्धपोत अथवा जंगी जहाजहरूको भिड नै हुन्थ्यो । मैले सपरिवार फेब्रुअरी १९६९ मा सधैंको लागि हङकङ छाडें । त्यसताका काउलन पारीको सेन्ट्रल भिक्टोरियामा सबैभन्दा अग्लो बिल्डिङ भनेको बैंक अफ चाइनाको १८ तले भवन थियो भने काउलनतर्फ २२ तले पार्क होटल मात्र थियो । तर, हिजोआज ती ठाउँहरू चिन्न नसकिने भइसकेका छन् अरे । त्यहाँको जनसंख्याले पनि ८० लाख नाघिसकेको सुनिन्छ । त्यति मात्र कहाँ हो र ! हङकङले यूएस डलर हैसियतका १८ जना विलिनियर्स उत्पादन गरिसकेको सुनिन्छ र बढ्नेक्रम निरन्तर छ ।

    नेपाल र हङकङको सम्बन्ध

    नेपाल र चीनको सम्बन्ध सदियौं पुरानो छ । यहाँसम्म पुरानो कि आजभन्दा हजारौं वर्ष पहिले नेपालबाट मूर्तिकार अरनिको चीनको राजधानी पुगेका थिए । त्योभन्दा पछि वि.सं. १७४७ र ४८ मा नेपाल र तिब्बतबीच भएको युद्धमा तिब्बतीहरू पराजित भएपछि उनीहरूलाई सहयोग गर्न चिनियाँ फौज त्रिशुली नजिकसम्म आइपुग्यो । नेपालले प्रत्यक्ष हार स्वीकार नगरे पनि चीनलाई दाजु मान्ने शर्तमा चीनसित सन्धि समेत भयो । यसलाई निरन्तरता दिन पटक–पटक तोकेको समयमा नेपालले उपहार लिएर चिनियाँ बादशाहसामु जाने नियम बन्यो ।

    तर वर्तमानमा भने नेपाल र हङकङको सम्बन्ध ब्रिटिस गोरखालीको कारण भएको हो । आज उक्त सम्बन्धप्रति नेपाल सरकारले खासै चासो देखाएको छैन । वास्तवमा हङकङबासी चिनियाँहरूले गोरखाहरू भाडाका सिपाही हुन् भन्ने गर्थे भने चिनियाँ कम्युनिष्टहरू गोरखाहरू ‘रनिङ डग अफ ब्रिटिस’ भनी अपमान गर्थे । यो हुनुमा नेपाल सरकारको दोहोरो नीतिको कारण पनि हो । उदाहरण; भारत र पाकिस्तान दुवै मुलुकसित नेपालको द्वौत्य सम्बन्ध छ । दुवै मुलुक मित्र राष्ट्र हुन् । तर, नेपालका विशेषगरी आदिवासी मूलका गोरखाहरूलाई भारतले पाकिस्तान विरुद्धको युद्धमा पटक–पटक प्रयोग गरिरहेको छ । त्यस्तै इन्डोनेसिया र ब्रिटिसबीच भएको युद्धमा पनि ब्रिटिसले गोरखाहरूलाई प्रयोग गर्‍यो । इन्डोनेसियासित नेपालको द्वौत्य सम्बन्ध छ । द्वौत्य सम्बन्धको विषयमा चर्चा गर्नु पर्दा चीनसितको सम्बन्ध भारतभन्दा धेरै पुरानो हो । यी दुवै राष्ट्रहरू नेपालका घनिष्ट मित्र राष्ट्र हुन् । तर सन् १९६२ मा सीमा विवादका कारण दुवै मुलुकबीच भएको सीमा युद्धमा भारतले गोरखा फौजलाई युद्धमा उतार्‍यो । त्यस्तै, हङकङमा चिनियाँ जनताविरुद्ध गोरखाहरूलाई प्रयोग नगरेको पनि होइन । यसरी प्रयोग गरिएप्रति विचरा रोजगारीको खोजीमा देश बाहिर गएका गोरखालीहरूको के दोष ?

    आईडी कार्ड

    सन् १९८० को शुरूमै ब्रिटिस र चीनबीच सन् १९९७ जुलाई महिनाको पहिलो तारिखदेखि हङकङ र न्यू टेरिटोरीको सार्वभौमिकता चीनलाई फिर्ता गर्ने सम्झौता भएपछि भने ब्रिटेन र चीनबीचको तनाव कम हुन थाल्यो । जुलाई १९९७ देखि हङकङको सार्वभौमसत्ता चीनमा सरेपछि कम्युनिष्ट शासन लागू हुने त्रासको कारण हङकङका उद्योगपति, व्यापारी, धनाढ्य र बौद्धिक समूहको पलायन हुने सम्भावना देखा परेपछि त्यसलाई रोक्न ब्रिटिस सरकार र चीन सरकारबीच ५० वर्षको लागि एक ऐतिहासिक सन्धि सम्पन्न भयो । उक्त सन्धिले हङकङबासीलाई ५० वर्षसम्म स्वायत्त प्रजातान्त्रिक शासन प्रणाली अन्तर्गत मुद्रा र झण्डासमेत आफ्नै हुने भन्ने कुरामा चिनियाँ सरकार राजी भयो र त्यहाँको शासन प्रणाली प्रजातान्त्रिक हुनेमा सहमत भयो । उक्त ऐतिहासिक सहमतिले चीनको ‘वान कन्ट्री टु सिस्टम’को नामले प्रसिद्धी पायो ।

    पुरानो हङकङेली व्यापार–व्यवसाय ।

    त्यस ऐतिहासिक सन्धिमा ब्रिटिस सरकार र चिनियाँ सरकारबीच हङकङमा जन्मिएका ब्रिटिस गोरखाहरूको छोराछोरीलाई हङकङमा रोजगारीको अवसर दिइने र हङकङ सरकारले तोकेको समय अवधि पूरा गरेपछि त्यहींकै नागरिक बन्न सक्ने अवसर प्रदान ग¥यो । उनीहरूलाई चिनारी गराउने डकुमेन्ट ‘आईडी कार्ड’ प्रदान गरियो । तर, दुःखद पक्ष भने उनीहरूको छोराछोरीले मात्र आईडी पाउने तर बुबाआमाले भने नपाउने नीतिलाई दुर्भाग्य भन्नु कि दुःखद भनौं वा ब्रिटिस र चिनियाँ सरकारहरूले उनीहरूमाथि विभेद गरेको मानौं ? विशेषगरी ब्रिटिस सरकारले हङकङमा पटक–पटक गरी ५ वा ६ वर्ष भन्दा माथि सेवा गर्ने गोरखाहरूलाई सेवाबाट अवकाश प्राप्त गरेपछि आईडी प्राप्त गर्न सक्ने प्रावधान चीन सरकारसित राख्न सक्नुपर्थ्यो तर किन राख्न सकेन त्यो रहस्यको विषय छ ।

    सन् १९९७ जुलाई १ तारिखदेखि लागू हुने ऐतिहासिक सन्धिले ब्रिटिस साम्राज्य र चिनियाँ बादशाहबीच भएको सन् १८४२ मा लागू भएको नानकिङ सन्धिलाई सधैंको लागि अन्त्य गर्‍यो । नेपाल सरकारले पनि आफ्ना नागरिकलाई चीनसित विगतमा भएको ऐतिहासिक सन्धिहरूको आधारमा हङकङमा रोजगारीको अवसर दिइनुपर्छ भनी ब्रिटिस र चीन सरकारसित वार्ता गरेको भए हङकङमा नेपाली महिलाहरूले हाउसमेड तथा क्षमता अनुसारको रोजगारी पाउँथे । हङकङसित त्यस्तो कुनै ऐतिहासिक सम्बन्ध नभएको फिलिपिन्सका २ लाखभन्दा बढी महिलाहरूले हङकङमा रोजगारी पाइरहेका छन् भने नेपाली महिलाहरू अरेबियन मुलुकहरूमा यौन शोषण र अपमान जस्ता अनेक पीडाहरू भोग्न बाध्य छन् ।

    धरानमा हङकङ

    नमूनाको रूपमा हङकङदेखि क्यान्टन छुट्ने रेल्वे टर्मिनल स्टेशनमा निर्माण भएको ऐतिहासिक घण्टाघर धरानको भानुचौकमा पूर्वमेयर मनोजकुमार मेन्याङ्वोको संयोजनमा निर्माण हुनुमा हङकङबासीको ऐतिहासिक योगदान छ । आज उक्त घण्टाघर धरानको सम्पदा भएको छ । घण्टाघरको फेद वरिपरि शिलालेखमा खोपिएका आर्थिक सहयोग गर्ने धराने र हङकङबासीहरूको नामले रंगिएको छ । हङकङबासीकै प्रेरणाको कारण उक्त घण्टाघर निर्माण हुन सम्भव भयो । त्यस ऐतिहासिक घण्टाघर निर्माणमा धरान नगरपालिकाले पनि सहभागिता जनायो ।

    हङकङको चिनो धरानको घण्टाघर । तस्वीरः गोपाल दाहाल

    आज सुप्रसिद्ध हङकङसित भौगोलिक र आर्थिक हिसाबले सानै भए पनि ऐतिहासिक धरानसित हङकङको गाढा सम्बन्ध हुनुमा हङकङमा बसोबास गर्ने धरानेहरूकै कारण हो । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धले पनि बल पुर्‍याएको छ धरान र हङकङको सम्बन्धलाई । निकै वर्ष अगाडि नेपालका लागि चिनियाँ राजदूत महामहिमले धरानमा खेलकुद मैदान बनाइदिने आश्वासन दिएका थिए । तत्कालीन मेयर मनोजकुमार मेन्याङ्वोको पालामा र त्यसै सिलसिलामा मेयर मेन्याङ्वो चीन भ्रमणमा पुगे ।

    सन् १८१५ मा ब्रिटिस र नेपालबीच भएको सन्धिको वेला नेपालले हङकङको अनुपातमा निकै विकास गरिसकेको थियो तर आज २ सय वर्ष नाघिसक्दा पनि हङकङको तुलनामा नेपालको आर्थिक स्थिति कहाली लाग्दो छ । नेपाल सरकारले हङकङसित सिक्न सक्ने कैयौँ आधारहरू विद्यमान छन् । हङकङका उद्योगपतिहरू विश्वका विभिन्न देशमा लगानी गरिरहेका छन् । उनीहरूलाई नेपाल सरकारले एप्रोच तथा अनुरोध र उनीहरूको लगानीको ग्यारेन्टी गर्न सके उनीहरू पनि लगानी गर्न लालायित छन् । त्यसतर्फ सरकार सचेत र सकारात्मक हुन सक्नु पर्छ । तर, त्यसतर्फ सरकार उदासीन हुनु यो देशको लागि दुर्भाग्य हो ।

    (पूर्व ब्रिटिस गोर्खा सैनिक मेन्याङ्वोले नोकरीका क्रममा लामो समय हङकङमा बिताएका थिए ।)

  • कमेन्ट गर्नुहोस्