५० वर्ष अघिको हङकङ: लिटल ड्रागन अफ एसिया
अकलबहादुर मेन्याङ्वो
February 28, 2021
सन् १९८० दशकको मध्यतिरको कुरा हो, न्यूज विकले एसियाका साना औद्योगिक राष्ट्रहरूको नाम प्रकाशित गरेको थियो ‘द लिटल ड्रागन्स अफ एसिया’ शीर्षकमा । ती राष्ट्रहरूमा सिंगापुर, ताइवान र हङकङ समावेश थिए । उक्त पत्रिकाको भनाइ थियो, ती तीन साना राष्ट्रहरू एसियाका सबैभन्दा धनी राष्ट्र हुन् । त्यसताका ६० लाख जनसंख्या भएको हङकङ ब्रिटिस साम्राज्यको एक प्रसिद्ध महानगर रहे पनि उक्त साप्ताहिकले आर्थिक हिसाबले राष्ट्रकै पंक्तिमा राखेको थियो । ताइवानको आर्थिक विकास भने संयुक्त राष्ट्र अमेरिकाको प्रत्यक्ष आर्थिक सहयोगबाट सम्भव हुन गयो । सिंगापुरको आर्थिक उन्नति त्यहाँका पूर्वप्रधानमन्त्री लि–क्वान यु र उनको दल पीएपीको कारणबाट भयो । उक्त पार्टीले सन् १९६१ देखि आजसम्म निरन्तर सत्ता सम्हालिरहेको छ । हङकङ मात्र त्यस्तो ब्रिटिस महानगरी थियो, जहाँ न कुनै राजनीतिक दल थियो न त ब्रिटिस सरकारको प्रत्यक्ष आर्थिक लगानी थियो । लिटल ड्रागनको उपाधि पाउन हङकङबासीहरूको लगानी र मेहनत नै मूल कारण हो ।
इतिहास
हङकङ टापु सन् १८४२ मा ब्रिटिस सरकारले चिनियाँ बादशाहबाट किनेको थियो । न्यू टेरिटोरी तथा काउलुन लगायत उत्तरी भू–भाग सन् १८९८ मा एक सय वर्षको लागि लिजमा ब्रिटिस सरकारले लियो । त्यसवेलाको उजाड हङकङ टापु कालान्तरमा विश्वकै चौथो ठूलो व्यापारिक तथा औद्योगिक क्षेत्र बन्न पुग्यो । दोस्रो विश्वयुद्धमा जापानको शासन प्रणाली भोगिसकेको हङकङले सन् १९५० सम्म आइपुग्दा मात्र औद्योगिकीकरण उन्मुख हुन चाहे पनि खासै आर्थिक विकास गर्न सकेको थिएन । सन् १९५० मा चीन कम्युनिष्टहरूको शासनमा परेपछि त्यहाँबाट भागेर आउने शरणार्थीको ओइरोले गर्दा हङकङको जनसंख्या बढ्न गयो, सँगसँगै आर्थिक बोझ पनि पर्यो हङकङ सरकारलाई । करिब १५ सय वर्ग माइल ओगट्ने हङकङ टापु र न्यू टेरिटोरीमा खेतीयोग्य जमिन थिएन । समुद्री माछा, आन्तरिक व्यापार, औद्योगिक उत्पादन हङकङबासीको जिउने आधार थियो ।
तीतो अनुभव
चिनियाँ क्रान्ति सन् १९४९ मा सफल भएपछि चीनबाट बारम्बार हङकङमाथि आक्रमण गर्ने धम्की आएपछि हङकङको सुरक्षाको लागि त्यहाँ ब्रिटिस सरकारले थल, जल र हवाई गरी ६० हजार सेना तैनाथ गर्यो । न्यू टेरिटोरीको डाँडाकाँडा पूरै ट्रेन्च र बंकरमा परिणत भयो । त्यसवेला यो पंक्तिकारको पल्टन २/७ जीआरको क्याम्प ताम्मई भन्ने ठाउँमा थियो । आइतबार र बिदाका दिनहरूमा डाँडापाखामा जीविकोपार्जनका लागि यौनधन्दामा लागेका युवतीहरूको भरिभराउ हुन्थ्यो । ताम्मई क्याम्प नजिकमा रहेको पोइन्ट ३७ तथा सानो डाँडामा साँझपख यौनकर्मीहरूको हाट नै लागे सरह हुन्थ्यो ।

पुरानो हङकङेली जनजीवन ।
एक दिन यो पंक्तिकार नम्बरी साथीसित काउलुनको साम सुई पो घुम्न पुग्दा बाटोको छेउछेउ हिंडिरहेको अवस्थामा २५/३० वर्ष उमेरका एक चिनियाँ पुरुषले केही आपत परिआए जस्तो हातको इसाराले हामीलाई बोलाए । हामी चिनियाँ भाषा बोल्न पटक्कै जान्दैन थियौं । हामी उनको पछि लाग्यौं, केही पर पुगेपछि उनको परिवार बसेको सानो कोठाभित्र लगे । त्यस कोठाभित्र उनकी श्रीमती काखमा नानी च्यापेर बसेकी थिइन्, त्यहाँ अन्य मानिस पनि थिए । सायद तिनीहरू ती पुरुषका परिवार थिए । उनले १० डलर मागेर आफ्नी पत्नीसित सहबास गर्न कर गर्न थाले । भाषा नबुझे पनि इसारामै इन्कार गर्न खोज्दा हातमा छुरी लिएर हामीमाथि जाइलाग्न थाले । घरभित्र हल्लाखल्ला मच्चियो । उनीहरूले के–के भने बुझिएन तर हामीले १०/१० डलरको नोट उनको हातमा थमाई त्यहाँबाट सुइँकुच्चा ठोक्यौं । त्यसपछि त्यहाँ कहिल्यै गएनौं । सायद हामी दुई त्यहाँ पुग्नु उनीहरूको लागि छाक टार्न भगवानले जुराएको होला जस्तो लाग्यो । यो सत्य घटना थियो सन् १९५५ को । पल्टन सन् १९५७ मा मलायाको कुलाङ भन्ने ठाउँमा सर्यो । सन् १९५९ मा सिंगापुरको वलाकानमती टापुमा सर्यो ।
सन् १९६१ मा सिंगापुरको एक प्रसिद्ध दैनिक पत्रिकाले लेखेको थियो, “गरिबीको कारण हङकङका ८० प्रतिशत महिला यौनधन्दा गर्छन् ।” यस्तो पढ्दा यो पंक्तिकारलाई पोइन्ट ३७ डाँडा याद आउँथ्यो ।
दोस्रो पटक हङकङ पुग्दा
मेरो पल्टन दोस्रो पटक हङकङ पुग्यो सन् १९६२ मा । म सपरिवार थिएँ । कम्युनिष्ट चीनको धम्की कम भएको थिएन । तर त्यहाँ पुग्दा ताम्मेइ क्याम्प फेमेली लाइनमा परिणत भएको पाइयो । त्यहाँबाट एक माइल दूरीमा बनेको क्यासिनो क्याम्पमा परिवारविहीन सिपाहीहरूलाई राखिएको थियो । ताम्मेइ क्याम्प पुग्दा हाउसमेडको लागि स्थानीय महिलाहरूको भिड थियो । मासिक ५० डलरमा काम गर्न राजी थिए उनीहरू । त्यसबाट के बुझ्न सकिन्थ्यो भने हङकङ अझ पनि औद्योगिकीकरण भइसकेको थिएन ।

पुरानो हङकङेली बजार ।
रोजगारी समस्या समाधानको आधार बनिसकेको थिएन । तर शहरहरू भने सन् १९५४ को भन्दा शतप्रतिशत माथि उठेको देखापर्यो । त्यसवेलासम्म भियतनामको युद्ध शुरू भइसकेको थिएन । सन् १९६५ मा भियतनाम युद्ध शुरू भएपछि भने त्यहाँ पर्यटकको रूपमा दैनिक हजारौंको संख्यामा अमेरिकी सैनिकहरू आउन थाले । त्यसबाट होटल व्यवसायको विकास हुन थाल्यो । सँगसँगै रोजगारीको अवसर पनि सर्जना हुन थाल्यो । हङकङ सरकारले होटल उद्योगका साथै पर्यटन उद्योग र औद्योगिकीकरणमा बढी ध्यान दिन थाल्यो । सन् १९६५ को अन्त्यतिर मेरो पल्टन मलायामा सर्यो ।
सन् १९६७ को आन्दोलन
यसरी २/७ जीआरले मलायाबाट दुवै ठाउँबाट ब्रुनियो क्याम्पिन तथा युद्धमा भाग लिइरहेको थियो । त्यही समय तथा सन् १९६७ मा ‘हङकङ छोड’ नारासहित ठूलो दंगा तथा आन्दोलन भयो । उक्त आन्दोलन विशेषगरी मेनल्याण्ड चीनको इसारामा भएको थियो । त्यो आन्दोलन तथा दंगालाई नियन्त्रण गर्न २/७ जीआरले पनि अवसर पायो । त्यसताका अफिसरहरूलाई दिइने दैनिक ब्रिफिङमा चीनको ६० प्रतिशत उद्योगहरू समुद्र तटमा स्थापित छन्, उनीहरूले हङकङमाथि आक्रमण गरेमा त्यसको प्रतिउत्तरमा ब्रिटिस र अमेरिकन फौजले गर्दा चीनका ती औद्योगिक क्षेत्रहरू नष्ट हुनेछन् जुन हङकङभन्दा महत्वपूर्ण छन् । अर्को; चिनियाँ उत्पादित औद्योगिक सामग्रीहरू हङकङबाट तेस्रो मुलुकमा निकासी हुने गर्छ र चीनको ७० प्रतिशत विदेशी मुद्रा आर्जन पनि हङकङबाटै हुने भएकोले हङकङमाथि आक्रमणको धम्की दिनु राजनीति मात्र हो । त्यसलाई कार्यान्वयन गर्दैनन् भनी ब्रिफिङमा भन्थे । अन्ततोगत्वा त्यो सही पनि भयो । धम्कीमै सीमित रह्यो चिनियाँ धम्की ३२ वर्षसम्म ।
सन् १९६८ तथा अन्तिम पटक
सन् १९६८ मा मलेसियाबाट पुनः हङकङ सरुवा भयो मेरो पल्टन । यसपटक पनि हाउसमेडको लागि धाउने महिलाहरूको संख्या अझ घटेको थिएन । उनीहरू मासिक ज्याला १ हजार देखि १५ सय डलरसम्म माग गर्थे । विचरा मासिक ६ सय डलर पाउने गोरखा परिवारले हाउसमेड राख्न सक्ने कुरै भएन । तर यति भने प्रष्ट भयो– हङकङले विगत २० वर्षमा ठूलो आर्थिक विकास गरिसकेछ । ठूला–ठूला उद्योगहरू निर्माण भएका थिए । भियतनामबाट बिदामा आउने अमेरिकन सिपाहीहरूको संख्या पहिलाभन्दा बढेको थियो ।

ब्रिटिसकालीन हङकङमा गोर्खाहरू ।
हङकङ बन्दरगाहामा संयुक्त राष्ट्र अमेरिकाको सेभेन फिल्टका युद्धपोत अथवा जंगी जहाजहरूको भिड नै हुन्थ्यो । मैले सपरिवार फेब्रुअरी १९६९ मा सधैंको लागि हङकङ छाडें । त्यसताका काउलन पारीको सेन्ट्रल भिक्टोरियामा सबैभन्दा अग्लो बिल्डिङ भनेको बैंक अफ चाइनाको १८ तले भवन थियो भने काउलनतर्फ २२ तले पार्क होटल मात्र थियो । तर, हिजोआज ती ठाउँहरू चिन्न नसकिने भइसकेका छन् अरे । त्यहाँको जनसंख्याले पनि ८० लाख नाघिसकेको सुनिन्छ । त्यति मात्र कहाँ हो र ! हङकङले यूएस डलर हैसियतका १८ जना विलिनियर्स उत्पादन गरिसकेको सुनिन्छ र बढ्नेक्रम निरन्तर छ ।
नेपाल र हङकङको सम्बन्ध
नेपाल र चीनको सम्बन्ध सदियौं पुरानो छ । यहाँसम्म पुरानो कि आजभन्दा हजारौं वर्ष पहिले नेपालबाट मूर्तिकार अरनिको चीनको राजधानी पुगेका थिए । त्योभन्दा पछि वि.सं. १७४७ र ४८ मा नेपाल र तिब्बतबीच भएको युद्धमा तिब्बतीहरू पराजित भएपछि उनीहरूलाई सहयोग गर्न चिनियाँ फौज त्रिशुली नजिकसम्म आइपुग्यो । नेपालले प्रत्यक्ष हार स्वीकार नगरे पनि चीनलाई दाजु मान्ने शर्तमा चीनसित सन्धि समेत भयो । यसलाई निरन्तरता दिन पटक–पटक तोकेको समयमा नेपालले उपहार लिएर चिनियाँ बादशाहसामु जाने नियम बन्यो ।
तर वर्तमानमा भने नेपाल र हङकङको सम्बन्ध ब्रिटिस गोरखालीको कारण भएको हो । आज उक्त सम्बन्धप्रति नेपाल सरकारले खासै चासो देखाएको छैन । वास्तवमा हङकङबासी चिनियाँहरूले गोरखाहरू भाडाका सिपाही हुन् भन्ने गर्थे भने चिनियाँ कम्युनिष्टहरू गोरखाहरू ‘रनिङ डग अफ ब्रिटिस’ भनी अपमान गर्थे । यो हुनुमा नेपाल सरकारको दोहोरो नीतिको कारण पनि हो । उदाहरण; भारत र पाकिस्तान दुवै मुलुकसित नेपालको द्वौत्य सम्बन्ध छ । दुवै मुलुक मित्र राष्ट्र हुन् । तर, नेपालका विशेषगरी आदिवासी मूलका गोरखाहरूलाई भारतले पाकिस्तान विरुद्धको युद्धमा पटक–पटक प्रयोग गरिरहेको छ । त्यस्तै इन्डोनेसिया र ब्रिटिसबीच भएको युद्धमा पनि ब्रिटिसले गोरखाहरूलाई प्रयोग गर्यो । इन्डोनेसियासित नेपालको द्वौत्य सम्बन्ध छ । द्वौत्य सम्बन्धको विषयमा चर्चा गर्नु पर्दा चीनसितको सम्बन्ध भारतभन्दा धेरै पुरानो हो । यी दुवै राष्ट्रहरू नेपालका घनिष्ट मित्र राष्ट्र हुन् । तर सन् १९६२ मा सीमा विवादका कारण दुवै मुलुकबीच भएको सीमा युद्धमा भारतले गोरखा फौजलाई युद्धमा उतार्यो । त्यस्तै, हङकङमा चिनियाँ जनताविरुद्ध गोरखाहरूलाई प्रयोग नगरेको पनि होइन । यसरी प्रयोग गरिएप्रति विचरा रोजगारीको खोजीमा देश बाहिर गएका गोरखालीहरूको के दोष ?
आईडी कार्ड
सन् १९८० को शुरूमै ब्रिटिस र चीनबीच सन् १९९७ जुलाई महिनाको पहिलो तारिखदेखि हङकङ र न्यू टेरिटोरीको सार्वभौमिकता चीनलाई फिर्ता गर्ने सम्झौता भएपछि भने ब्रिटेन र चीनबीचको तनाव कम हुन थाल्यो । जुलाई १९९७ देखि हङकङको सार्वभौमसत्ता चीनमा सरेपछि कम्युनिष्ट शासन लागू हुने त्रासको कारण हङकङका उद्योगपति, व्यापारी, धनाढ्य र बौद्धिक समूहको पलायन हुने सम्भावना देखा परेपछि त्यसलाई रोक्न ब्रिटिस सरकार र चीन सरकारबीच ५० वर्षको लागि एक ऐतिहासिक सन्धि सम्पन्न भयो । उक्त सन्धिले हङकङबासीलाई ५० वर्षसम्म स्वायत्त प्रजातान्त्रिक शासन प्रणाली अन्तर्गत मुद्रा र झण्डासमेत आफ्नै हुने भन्ने कुरामा चिनियाँ सरकार राजी भयो र त्यहाँको शासन प्रणाली प्रजातान्त्रिक हुनेमा सहमत भयो । उक्त ऐतिहासिक सहमतिले चीनको ‘वान कन्ट्री टु सिस्टम’को नामले प्रसिद्धी पायो ।

पुरानो हङकङेली व्यापार–व्यवसाय ।
त्यस ऐतिहासिक सन्धिमा ब्रिटिस सरकार र चिनियाँ सरकारबीच हङकङमा जन्मिएका ब्रिटिस गोरखाहरूको छोराछोरीलाई हङकङमा रोजगारीको अवसर दिइने र हङकङ सरकारले तोकेको समय अवधि पूरा गरेपछि त्यहींकै नागरिक बन्न सक्ने अवसर प्रदान ग¥यो । उनीहरूलाई चिनारी गराउने डकुमेन्ट ‘आईडी कार्ड’ प्रदान गरियो । तर, दुःखद पक्ष भने उनीहरूको छोराछोरीले मात्र आईडी पाउने तर बुबाआमाले भने नपाउने नीतिलाई दुर्भाग्य भन्नु कि दुःखद भनौं वा ब्रिटिस र चिनियाँ सरकारहरूले उनीहरूमाथि विभेद गरेको मानौं ? विशेषगरी ब्रिटिस सरकारले हङकङमा पटक–पटक गरी ५ वा ६ वर्ष भन्दा माथि सेवा गर्ने गोरखाहरूलाई सेवाबाट अवकाश प्राप्त गरेपछि आईडी प्राप्त गर्न सक्ने प्रावधान चीन सरकारसित राख्न सक्नुपर्थ्यो तर किन राख्न सकेन त्यो रहस्यको विषय छ ।
सन् १९९७ जुलाई १ तारिखदेखि लागू हुने ऐतिहासिक सन्धिले ब्रिटिस साम्राज्य र चिनियाँ बादशाहबीच भएको सन् १८४२ मा लागू भएको नानकिङ सन्धिलाई सधैंको लागि अन्त्य गर्यो । नेपाल सरकारले पनि आफ्ना नागरिकलाई चीनसित विगतमा भएको ऐतिहासिक सन्धिहरूको आधारमा हङकङमा रोजगारीको अवसर दिइनुपर्छ भनी ब्रिटिस र चीन सरकारसित वार्ता गरेको भए हङकङमा नेपाली महिलाहरूले हाउसमेड तथा क्षमता अनुसारको रोजगारी पाउँथे । हङकङसित त्यस्तो कुनै ऐतिहासिक सम्बन्ध नभएको फिलिपिन्सका २ लाखभन्दा बढी महिलाहरूले हङकङमा रोजगारी पाइरहेका छन् भने नेपाली महिलाहरू अरेबियन मुलुकहरूमा यौन शोषण र अपमान जस्ता अनेक पीडाहरू भोग्न बाध्य छन् ।
धरानमा हङकङ
नमूनाको रूपमा हङकङदेखि क्यान्टन छुट्ने रेल्वे टर्मिनल स्टेशनमा निर्माण भएको ऐतिहासिक घण्टाघर धरानको भानुचौकमा पूर्वमेयर मनोजकुमार मेन्याङ्वोको संयोजनमा निर्माण हुनुमा हङकङबासीको ऐतिहासिक योगदान छ । आज उक्त घण्टाघर धरानको सम्पदा भएको छ । घण्टाघरको फेद वरिपरि शिलालेखमा खोपिएका आर्थिक सहयोग गर्ने धराने र हङकङबासीहरूको नामले रंगिएको छ । हङकङबासीकै प्रेरणाको कारण उक्त घण्टाघर निर्माण हुन सम्भव भयो । त्यस ऐतिहासिक घण्टाघर निर्माणमा धरान नगरपालिकाले पनि सहभागिता जनायो ।

हङकङको चिनो धरानको घण्टाघर । तस्वीरः गोपाल दाहाल
आज सुप्रसिद्ध हङकङसित भौगोलिक र आर्थिक हिसाबले सानै भए पनि ऐतिहासिक धरानसित हङकङको गाढा सम्बन्ध हुनुमा हङकङमा बसोबास गर्ने धरानेहरूकै कारण हो । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धले पनि बल पुर्याएको छ धरान र हङकङको सम्बन्धलाई । निकै वर्ष अगाडि नेपालका लागि चिनियाँ राजदूत महामहिमले धरानमा खेलकुद मैदान बनाइदिने आश्वासन दिएका थिए । तत्कालीन मेयर मनोजकुमार मेन्याङ्वोको पालामा र त्यसै सिलसिलामा मेयर मेन्याङ्वो चीन भ्रमणमा पुगे ।
सन् १८१५ मा ब्रिटिस र नेपालबीच भएको सन्धिको वेला नेपालले हङकङको अनुपातमा निकै विकास गरिसकेको थियो तर आज २ सय वर्ष नाघिसक्दा पनि हङकङको तुलनामा नेपालको आर्थिक स्थिति कहाली लाग्दो छ । नेपाल सरकारले हङकङसित सिक्न सक्ने कैयौँ आधारहरू विद्यमान छन् । हङकङका उद्योगपतिहरू विश्वका विभिन्न देशमा लगानी गरिरहेका छन् । उनीहरूलाई नेपाल सरकारले एप्रोच तथा अनुरोध र उनीहरूको लगानीको ग्यारेन्टी गर्न सके उनीहरू पनि लगानी गर्न लालायित छन् । त्यसतर्फ सरकार सचेत र सकारात्मक हुन सक्नु पर्छ । तर, त्यसतर्फ सरकार उदासीन हुनु यो देशको लागि दुर्भाग्य हो ।
(पूर्व ब्रिटिस गोर्खा सैनिक मेन्याङ्वोले नोकरीका क्रममा लामो समय हङकङमा बिताएका थिए ।)
कमेन्ट गर्नुहोस्

















