नवगठित नेकपा कम्युनिष्ट सिद्धान्तबाट बिचलित पार्टी हो : सिंह
नेपालको कम्युनिष्ट आन्दोलनका जिवित नेताहरुमध्ये मोहनविक्रम सिंह सबैभन्दा शिर्ष नेता हुन् । नेपाल कम्युनिष्ट पार्टी(मसाल) का महामन्त्री सिंह सबैभन्दा लामो समयसम्म पार्टी नेतृत्वमा रहने नेता समेत हुन् । ८४ वर्षिय सिंहका लागि राजनीति पद प्रतिष्ठा भन्दा पनि कम्युनिष्ट सिद्धान्त र आदर्शप्रति लगाव छ । उनले आफ्नो जीवन माक्र्सवादको ब्याख्या र माक्र्सवादी आदर्श प्राप्तिको संघर्षमा बिताएका छन् ।
सिंहले वि.सं २००७ सालको राणा विरोधि संघर्षबाट आफ्नो राजनीतिक जीवनको सुरुवात गरे । सुरुमा नेपाली कांग्रेसको राजनीतिबाट प्रभावित सिंह २००८ सालको क्रान्तिपछि कांग्रेसबाट राजीनामा दिए र २०१० सालमा कम्युनिष्ट पार्टीमा लागे । नेपाल कम्युनिष्ट पार्टीको २०१४ सालमा सम्पन्न दोस्रो महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । सिंहले नै कम्युनिस्ट आन्दोलनभित्र संविधानसभाबाट संविधान बन्नुपर्छ भनेर वि. सं.२०१७ सालदेखि लगातार संघर्ष गर्दै आए ।
पञ्चायतविरुद्धको संघर्षका क्रममा २०१७ सालमै नेता सिंह गिरफ्तार भए र २०२७ सालको अन्तमा जेलबाट छुटे । जेल परेका कांग्रेस र कम्युनिष्टका धेरै नेताहरुले जेलबाट छुट्न आत्मसमर्पण गरे र राजासँग माफि मागे । तर, नेता सिंह ति थोरै नेतामध्ये पर्छन्, जसले कहिल्यै आत्मसर्पण गरेनन् ।
सिंह जेलमै रहेको बेला नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिबेशन भयो । त्यो महाधिबेशन पछि नेकपामा कैयौं फुटहरु आए । सिंह २०२७ चैत २७ गते जेलमुक्त भएपछि उनले छरिएर रहेका कम्युनिष्टहरुलाई एकत्रित गर्नपट्टि लागे । सिंहको नेतृत्वमा २०२८ सालमा नेकपाको केन्द्रीय न्युक्लस बन्यो । त्यसैको तत्वाबधानमा २०३१ सालमा पार्टीको चौथो महाधिबेशन सम्पन्न भयो, जुन पार्टी (नेकपा–चौथो महाधिबेशन) २०३० को दशकमा नेपालको सबैभन्दा शक्तिशाली कम्युनिष्ट पार्टी थियो । तर, पछि त्यसमा पनि बारम्बार फुट पैदा भयो ।
मोहन विक्रम सिंहले कम्युनिष्ट आन्दोलनमा ल्याएका र प्रशिक्षित गरेका कैयौं नेताहरु देशको प्रधानमन्त्री, मन्त्री भए । यतिबेला देशमा सिंहले भने जस्तै लोकतान्त्रिक गणतन्त्र आएको छ । धर्मनिरपेक्षता कायम छ । देशमा कम्युनिष्ट पार्टीकै सरकार छ । तैपनि अझै अर्धभुमिगत अवस्थामा रहेका वयोबृद्ध नेता सिंह कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद हावी रहेको निष्कर्षका साथ कम्युनिष्ट आन्दोलन र सिद्धान्त रक्षाका लागि संघर्षरत छन् ।
राजनीतिसँगै प्रगतिशील साहित्यका पनि यि शिखरपुरुषसँग समसामयिक राजनीतिसँगै उनको पछिल्लो प्रकाशोन्मुख बहुचर्चित उपन्यास ‘जलजला’का विषयमा बिद्यानाथ अधिकारीले कुराकानी गरेका छन् ।
एमाले र माओवादीबीचको एकतालाई कसरी लिनुभएको छ ?
एमाले र माओवादीबीचको एकतालाई हामीले सकारात्मक मानेका छौँ । त्यसलाई स्वागत गरेका छौँ । यसलाई सैद्धान्तिका कारणले स्वागत गरेका होइनौँ, राजनीतिक कारणले हो । सैद्धान्तिक रुपमा हाम्रो उहाँहरूसँग धेरै मतभेद छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनदेखि नीति तथा कार्यक्रमका पक्षमा धेरै मतभेद छन् र ती बेग्लै छलफलका विषय हुन् । तर अहिले यी दुई पार्टीबीच एकता भएको छ, यसलाई देशको तत्कालीन सन्दर्भमा र राजनीतिक परिस्थितिबाट हेर्दा एकता राम्रो भएको छ । भारतीय विस्तारवाद, मधेसी शक्तिहरू, नेपाली कांग्रेस, तराईलाई अलग्गै प्रदेश बनाउने कुराहरू, राजतन्त्र फर्काउने कुरा, धर्मनिरपेक्षतालाई उल्ट्याउने कुराहरूको पृष्ठभूमिमा एमाले माओवादीबीच जुन एकता भयो, त्यसलाई हामीले सकारात्मक भनेका छौँ र स्वागत गरेका हौँ ।
यो एकताले देशमा कस्तो प्रभाव पार्छ ?
उहाँहरुको एकताले निश्चित रूपमा राजनीतिक स्थायित्व र स्थिरता आउँछ । देशमा फेरि राजतन्त्र आउन खोजिरहेको छ, धर्मनिरपेक्षतालाई खत्तम गरेर हिन्दु राष्ट्र आउन खोजिरहेको छ । भारतले आफ्नो किसिमले षडयन्त्र गरिरहेको छ । यी सबै पृष्ठभूमिमा पार्टी एकता हुँदैनथ्यो भने त्यसको असर सरकारमा पर्थे ।
पहिले ओली र प्रचण्ड मिलेर सरकार बनेको थियो । त्यो टुट्यो अनि नेपाली कांग्रेसको सरकार आयो र राजावादीहरू हावी भए । त्यस कारण अहिले यो एकता टुट्थ्यो भने यसको परिणाम सरकारमा पथ्र्यो र अस्थिरता हुन्थ्यो । भारतले आफ्नो विस्तारवादी भूमिका बढाउने सम्भावना बढ्थ्यो । यस कारण देशको वर्तमान अवस्थामा यो एकताले अत्यन्त ठूलो भूमिका खेलेको छ । सैद्धान्तिक रूपमा हामीबीच मतभेद छन् तर उहाँहरूबीच गठबन्धन भएर नै चुनावमा ठूलो सफलता भयो । अहिले पनि एकता भयो र त्यसले राजनीतिमा सकारात्मक योगदान हुनेछ । हामीले बारम्बार भनेका थियौँ, तपाईंहरूबीच एकता हुँदैन भने वाम गठबन्धन भने टुट्नुहुँदैन । यो एकता भएन र गठबन्धन पनि टुट्यो भने देशमा अस्थिरता पैदा हुन्छ । अहिले पार्टी एकता भयो, यसलाई सकारात्मक मानेका छौँ ।
नयाँ गठन भएको पार्टीले लिएको सिद्धान्तका बारेमा के टिप्पणी गर्नुहुन्छ ? उहाँहरुमा कम्युनिस्ट सिद्धान्तबाट विचलन आइसकेको छ । जुन माक्र्सवाद लेनिनवाद वा क्रान्तिकारी सिद्धान्त हुन् यिनीहरूलाई छाड्नु हुँदैन । यिनलाई छाड्यो भने हामीहरू बाटो बिराउँछौँ । हामी पुँजीवादतिर जान्छौँ । हाम्रो स्पष्ट कुरा के भने उहाँहरु माक्र्सवादी÷लेनिनवादी सिद्धान्तबाट विचलित हुनुभएको छ र दक्षिणपन्थी बाटो अपनाउनुभएको छ । यी सिद्धान्त अपनाउनुभयो भने देशमा सच्चा कम्युनिस्ट पार्टीको स्थापना हुन्छ । कम्युनिष्ट सिद्धान्त छाडेकाले हाम्रोे उहाँहरूसँग मतभेद छ । खासमा सैद्धान्तिक पक्षलाई नसमाती हुँदैन । उहाँहरूले एकताका नाममा धेरै कुराहरू छोड्नुभएको छ । यसरी पार्टी एकता त भयो तर कम्युनिस्ट पार्टीको निर्माण भएन ।
नवगठित नेकपाले त समाजवाद नै ल्याउने भनेको छ, के त्यो सम्भव छ ?
समाजवाद त नेपाली कांग्रेसले पनि भनेको छ । भन्दैमा त हुँदैन । त्यसका लागि सही कार्यक्रम र संगठन प्रणाली हुनुपर्छ । सैद्धान्तिक पक्षहरू छन्, जसबारे कम्युनिस्टहरूमा धेरै बहसहरू चलेका छन् । रणनीति र कार्यनीतिका प्रश्नहरू हुन्छन् । हाल सरकारले समाजवाद उन्मुख कार्यक्रम बनाएको भनेको छ । हाम्रो भनाइ के हो भने देशमा तत्काल समाजवादका लागि वातावरण तयार भइसकेको छैन । देशमा अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्था रहेको छ । तत्काल त्यसलाई खत्तम पार्नुपर्ने भएको छ । त्यसका लागि नयाँ जनवादी क्रान्ति गर्नुपर्ने अवस्था छ । त्यो अवस्था नआईकन हामी समाजवादमा जान सक्दैनौँ । यसमा हामी र उहाँहरूका बीच मतभेद छ । जस्तोः प्रचण्डजी र माओवादीले भन्यो ‘हामी समाजवादी क्रान्तिको अवस्थामा पुगिसक्यौँ ।’ त्यसमा हाम्रो सहमति छैन । संविधानमा पनि समाजवाद लेखिएको छ र उहाँहरूको सिद्धान्त पनि समाजवाद हुने सुनिएको छ । समाजवाद उन्मुख भन्ने जानकारीमा आएको छ । त्यसलाई भने हामी समर्थन गर्छौं । समाजवाद भन्ने एक कुरा हो, समाजवाद उन्मुख दिशामा भन्ने अर्को कुरा हो । समाजवाद भनेको व्यक्तिगत सम्पतिको अन्त्य र सामूहिक समृद्धि हो । नयाँ जनवादी क्रान्तिले त्यो काम गर्दैन । किसानको व्यक्तिगत स्वतन्त्रता कायम गर्छ । राष्ट्रिय सम्पतिको संरक्षण गर्छ । यो अवस्थामा व्यक्तिगत सम्पति नष्ट गर्न सकिने अवस्था छैन । त्यसैले नयाँ जनवादी क्रान्तिले यी काम गर्छ । समाजवाद भनेको त व्यक्तिगत सम्पतिको अन्त्य हो । त्यो उहाँहरूले अहिले गर्न सक्नुहुन्न । त्यसैले हाम्रो भनाइ तत्काल देशमा समाजवादी व्यवस्था कायम गर्न सक्ने अवस्था छैन । यसका लागि राजनीतिक तथा आर्थिक रूपमा आमूल परिवर्तन हुनुपर्छ । भूमि सुधार आमूल रूपमा लागू गर्नुपर्छ । त्यो संविधानले नै गर्न सकिरहेको छैन भने समाजवाद त धेरै परको कुरा हो । तैपनि हामीले समाजवाद उन्मुख दिशामा जानु सकारात्मक हो । समाजवाद उन्मुख भनेको समाजवाद त होइन, त्यसको छाया मात्रै हो, प्रयत्न तथा नीति हो । हामीले यो भन्दै आएका छौँ । संविधानमा तय गरिएका समाजवादका कुरा लागू गर्नुपर्छ ।
एमाले र माओवादी मिलेर बनेको नेकपाको भविष्य कस्तो देख्नुभएको छ ? राजनीतिमा सम्भावनाहरू जति पनि हुन्छन् । मनमोहनको नेतृत्वको र मदन भण्डारीको नेतृत्वको पार्टी मिलेका थिए, जुन अहिलेसम्म मिलेर काम गरिरहेका छन् । ठीक त्यसै गरेर कतिपय मतभेदहरू देखिएलान् र छन् । सँगसँगै काम गरेपछि ती मतभेद समाधान हुँदै जान्छन् र एकता कायम हुन्छ । अर्कोतिर एउटै पार्टीमा पनि मतभेद देखिएर फुटहरू देखिन्छन् । नेपालमा सुरुमा एउटै कम्युनिस्ट पार्टी थियो । पुष्पलाल र रायमाझीबीच फुट भयो अनि हामीबीच नै पनि फुट भयो । यस कारण एउटा पार्टी पनि विभाजित हुन्छ र कहिलेकाहीँ दुईवटा पार्टी एक भएर आपसमा मिलेर जान्छन् । यस कारण यस्तै हुनेछ भनेर किटानीपूर्वक भन्न सकिने अवस्था छैन । नयाँ परिस्थितिमा नयाँ किसिमबाट फुट देखिने गर्छन् । त्यसैले किटानीसाथ भविष्यवाणी गर्न सकिने अवस्था छैन । देश र राजनीतिका लागि के सही हुन्छ भन्ने मात्रै हामीले भन्न सक्छौँ ।
नेपाल कम्युनिस्ट पार्टीले सबै कम्युनिष्टहरुलाई एकत्रित गर्ने कुरा गरेको छ नि ?
हाम्रो सोचाइ के हो भने जुन पार्टी संगठनको बीचमा विचार राजनीति मिल्छ । १० टुक्रामा रहनुभन्दा एकै ठाउँ जानु राम्रो हो । त्यस कारण उहाँहरूसँग कोको मिल्न सक्छन् भन्ने हामीले भन्न सक्ने र हामीसँग सम्बन्धित कुरा पनि भएन । जहाँसम्म हाम्रो प्रश्न छ, हाम्रो र उहाँहरूको बीचमा माक्र्सवादी सिद्धान्तलाई लिएर धेरै नै भिन्नता छ, मौलिक भिन्नता छ । आधारभूत भिन्नता रहेकाले हामी र उहाँहरूको बीचमा पार्टी एकताको सम्भावना रहेन । तैपनि उहाँहरूले समाजवाद उन्मुख, राष्ट्रियता र समृद्धिका पक्षमा तथा जनताका हक र अधिकारका पक्षमा गर्ने कामहरूलाई हामी समर्थन गर्छौं ।
नेपालमा कम्युनिस्ट पार्टीमा फुट कसरी र कहिलेबाट सुरु भएको हो ?
पहिलो फुट केशरजंग रायमाझीले राजावादी लाइन लिएपछि आएको हो । महाधिवेशनले गणतन्त्रको लाइन पास ग¥यो । रायमाझीको भित्रभित्रै राजासँग साँठगाँठ थियो । त्यसको विरुद्ध हामीले संघर्ष ग¥यौँ । त्यसो नगरेको भए पूरै पार्टी राजाको पक्षमा हुन्थ्यो र देशमा गणतन्त्रको आन्दोलन कमजोर हुन्थ्यो । त्यस कारण त्यो फुट सही थियो । तेस्रो महाधिवेशनमा रायमाझीविरुद्ध विद्रोह ग¥यौँ । त्यसपछि पुष्पलाल र तुलसीलालका बीचमा जुन फुट भयो, त्यो सकारात्मक थिएन । त्यसले कम्युनिस्ट आन्दोलनलाई ठीक गरेन । त्यसपछि चौथो महाधिवेशन गरेर न्युक्लियस बनाएर एकजुट पार्ने प्रयास ग¥यौँ । त्यसमा प्रचण्ड र मोहनचन्द्र अधिकारी हुनुहुन्थ्यो । पछि उग्रपन्थी धारले गर्दा पार्टीमा फुट आयो, जुन नक्सलवादी र रिमको कारणले फुट आएको थियो । रिमले नेपालमा सशस्त्र संघर्षको वातावरण छ भन्यो र प्रचण्डहरू त्यसमा लाग्नुभयो । मोहनचन्द्रहरूले अर्कै लाइन समानत्नुभयो । पछि सच्चिएर आएर एमाले र माओवादी शान्तिपूर्ण र वैधानिक संघर्षमा आयो ।
किन कम्युनिष्ट पार्टीमा बारम्बार फुट हुने गरेको हो ?
कम्युनिस्ट आन्दोलनको टुट र फुटको समस्या वास्तवमा सिद्धान्त र राजनीतिसँग जोडिएको छ । अरू पार्टीहरूमा पैसा लेनदेन, पद इत्यादिका कारणले फुटहरू हुने गर्छन् । कम्युनिस्टहरूमा बढी सिद्धान्त र राजनीतिक प्रश्नहरूमा फुट हुने गरेको छ । यो समस्या नेपाली कम्युनिस्टको मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको पनि हो । विश्व कम्युनिस्ट आन्दोलन हेर्नुहुन्छ भने यो देखिन्छ । सोभियत समाजवादी व्यवस्था कायम भएपछि रूस र चीनमा भएको फुट हाम्रा अगाडि छ । त्यसैगरी कम्युनिस्ट राजनीतिमा कतिपय धारहरू रहेका छन् । अराजकतावादी धार, दक्षिणपन्थी धार, माक्र्सवादी, लेनिनवादी, ट्राटस्कीवादी आदि । यी सबैको परिणामस्वरूप कहीँ पनि कम्युनिस्टहरूमा फुट हुने गर्छ । अहिले पनि नेपालमा देख्यौँ, यहाँ कयौँ समस्याहरू पैदा भए । कुनै बेला डा. केशरजंग रायमाझी र पुष्पलालबीचको फुट थियो । त्यो फुटमा व्यक्तिगत कुराहरू देख्छन् कतिपयले तर ध्यान दिनुपर्ने कुरा त्यो राजतन्त्रको प्रश्नमा विवाद उठेको थियो । रायमाझीले राजतन्त्रलाई समर्थन गर्ने नीति अपनाए, पुष्पलालको गणतन्त्रको नीति भयो । मूल रूपमा त्यो सिद्धान्तमा आधारित थियो र राजनीतिमा आधारित थियो । पुष्पलाल र रायमाझी पद, प्रतिष्ठा र इगोका लागि फुटे भन्नेमा ध्यान दिन्छन्, जुन गलत थियो । ठीक पछि हाम्रो पार्टीबाट केही साथीहरू अलग हुनुभयो र मालेको गठन गर्नुभयो । केही साथीहरू अलग हुनुभयो र माओवादीको गठन गर्नुभयो । ती फुटहरू संघर्षका विषयहरूमा भएको मतभेदका फुट थिए । मसालबाट प्रचण्डहरु अलग हुने बेलामा पनि अहिले नेपालमा सशस्त्र संघर्ष गर्ने बेला भएको छैन भनेर हामीले भन्यौं । तर उहाँहरूमा नक्सलवादीको असर परेर सशस्त्र नीति अँगाल्नुभयो र हाम्राबीचमा फुट पैदा भयो ।
ब्यक्तिगत ईगो र जुँगाको लडाईंले पनि कम्युनिष्टहरु फुट्छन् भन्छन् नि ?
कम्युनिस्टहरूका बीचमा फुट हुनुका पछाडि सैद्धान्तिक र राजनीतिक कारणले, संगठनका प्रणालीहरू, संघर्षका रूपहरूका विषयले प्रशस्त काम गरेका छन् तर बाहिर भने व्यक्तिहरूको इगो मुख्य देखिने गरेको छ । त्यो वास्तविक होइन । व्यक्तिगत कारण, प्रलोभन, दुश्मनहरूको षड्यन्त्र, देशी÷विदेशी शक्तिलगायतका कारणले पनि केही फुटहरू हुने गरेका छन् तर त्यो पक्ष गौण हो ।
प्रशंग बदलौं, तपाईंको बहुचर्चित ‘जलजला’ कस्तो खालको उपन्यास हो, पाठकले कहिले पढ्न पाउँछन् ?
‘जलजला’ उपन्यास एउटा जीवनप्रतिको विश्व दृष्टिकोण हो । उपन्यासमा कैयौं काल्पनिक र वास्तविक पात्रहरु छन् । सुनन्दा र जलजला उपन्यासका प्रमुख दुई पात्र हुन् । तर, तिनिहरुको उपन्यासभरि कहिं पनि भेट भएको छैन । खगुलाल गुरुङ, चित्रबहादुर केसी, निर्मल लामा, सत्यमोहन जोशी जस्ता वास्तविक पात्र पनि उपन्यासमा छन् तर, तिनीहरुको भूमिका पनि औपन्यास्यीक रुपमै प्रस्तुत गरिएको छ ।
खासगरी यसले पश्चिम नेपालको प्युठान देखि कर्णाली र सुदूर पश्चिम तथा भारतको कुमाउ, गढवालसम्मको कथा र परिवेश प्रस्तुत गरेको छ । तर, कथा अनुसार उपन्यास विश्वब्यापी बनेको छ । भारतको दिल्ली देखि काठमाडौंसम्म, जर्मन, फ्रान्स र रुससम्मै उपन्यास पुगेको छ । तत्कालिन विश्व परिवेश, कम्युनिष्ट आन्दोलन, समाजवादका विषयहरुको अध्ययनका लागि म तत् तत् ठाउँमा पुगेको छु । केही च्याप्टरहरु अन्तरिक्षसँग सम्बन्धित समेत छन् ।
मैले खासगरी तीनवटा कारणले यो उपन्यास लेखेको हुँ । प्रथम, मैले पिएचडीको लागि गरेको अध्ययन पछि थेसिस लेख्ने क्रममा पार्टी काम र जेलजीवनका कारण त्यो पुरा हुन पाएन । दोस्रो, कपिलबस्तु जेलमा बस्दा मैले २०१८ सालदेखि लगातार चार वर्ष लगाएर एउटा उपन्यास तयार पारेको थिएँ । तर जेल सार्ने क्रममा प्रहरीले खोस्ने डरले मैले त्यो एकजना साथीलाई दिएको थिएँ । पछि म जेलबाट छुट्दा ति साथीको मृत्यु भइसकेको थियो र मैले त्यो उपन्यास पाउन सकिन । जसले गर्दा मलाई अत्यन्त पिडा दिएको छ । तेस्रो, कुरा जलजलासँग मेरो प्रेम थियो । तर, २०३८ सालमा दिल्लीमा एउटा दुर्घटनामा उनको मृत्यु भयो । ति सबै कारणले मैले जलजला लेखेको हुँ ।
यो उपन्यासमा २ खण्ड, ६ भाग, १४० जति च्याप्टर छन् । १५ वर्षअघिदेखि लेख्न सुरु गरेको भएपनि पार्टी कामले फुर्सद नपाएर लगातार लेख्न पाएको छैन । अब यसलाई सम्पन्न गर्ने प्रयासमा छु । यसैवर्ष यो उपन्यास तयार हुन्छ ।