एकलव्य (कविता )
धनुर्विद्याका
एकमात्र अजेय एकलव्य
तिमीलाई धिक्कार छ
जसले तिमीलाई
शिक्षा दिन अस्वीकार गर्यो
शिर झुकाएर स्वाभिमान बन्दक राख्दै
उसैलाई
बुढी औंला दान गर्यौ
त्यसैले आजसम्मै हार्यौँ हामी
सदा–सदाको लागि हरुवा बन्नलाई
उपल्लो कूलका अर्जुनको एकछत्र शासन खातिर
द्रोणको सट्टा
पारुहाङको मूर्ति स्थापना गरेको भए
षड्यन्त्रकारी साम्प्रदायिक कथित गुरुको सट्टा
तक्सङबाको मूर्ति राखेर
धनुर्विद्या आर्जन गरेको भए
डुँडो हात लिएर कुरुक्षेत्रमा
शायद तिमीले
भकाभक आफ्ना सन्तान ढलेको हेर्नु पर्ने थिएन
तागेराको मूर्ति रोपेको भए
मलाई विश्वास छ
युगौंसम्म तिमी अपमानित हुने थिएनौ
अर्जुनहरुको शासनमा तिमी विवश भएर
भुइँमा लम्पसार पर्ने थिएनौ
एकलव्य…………. थुइक्क !
अझै पनि फिरेन तिम्रो बुद्धि
आजसम्म औंला काटेर चढाइरहेका छौ
कथित साम्प्रदायिक गुरुहरुलाई
सिंहको मन्दिरमा, बालुवाको मन्दिरमा
र नागको मन्दिरमा
अन्य धेरै–धेरै साना–तिना मन्दिरहरुमा
तिम्रा सिपयुक्त औंलाहरु सिद्धियो
अब दिन्छौ दान के ?
तिम्रो द्रोणाचार्यले
अब तिम्रो टाउको दान माग्न आउँदैछन्
के तिमी तयार छौ ?
पौराणिक त्यस युगमा उनीहरुलाई
तिम्रो औंलादेखि डर थियो
आज तिम्रो टाउकोसंग कत्रो त्रास छ
तिम्रो पाखुरासंग डर छ
यसर्थ अब,
तिम्रा दुवै हात दान माग्न आउँदैछन्
तिम्रा गुरु द्रोण
म भन्छु
ए ! कातर एकलव्य
अब औला दान चढाउने बेला यो होइन
बरु झट्ट जाउ दान दिएको औला फर्काई ल्याउ
छिट्टै……..चाँडै…….झट्टै……….
चाँडो माग तिम्रो औंला
न्यूरो सर्जन गरेर तुरुन्तै गाँस्नु छ
तिम्रो औलाले अब धनुको ताँदो होइन
मिसाइलको स्वीच दवाउनु छ
लाचार भएर महाभारत हेर्नु छैन
एटम बम भएर
अब युद्धभूमिमा पड्कनु छ
ड्याङ……. ड्याङ…… ड्याङ…….
एकलब्य जाउ
माग्दा अवश्य दिने छैनन्
ताँदो तान्ने तिम्रो बुढी औंला
खोसेरै ल्याउ
प्रतिकार गर्नेछन् अवश्य
तर
तिम्रो पछि हामी
थुप्रै–थुप्रै धर्तिपुत्रहरु लाम लाग्ने छौँ
जाउ…………..माग…………..
जाऔँ……….. खोसौँ……..
आइलागे युद्ध गरौँ……………
तिमी मात्र अघि लाग ।