चक्रवात (कविता)
हरे ! मैले ठानेको म,
म नहुनु
कस्तो विषाद विडम्वना
मेरो विचार, मेरो भावना
प्रयोगशालामा कसी नलाग्नु
कस्तो अनौठो सत्य
मेरो यश, मेरो ऐश्वर्य
मरेपछि मैले लान नपाउनु
कस्तो कठोर न्याय
शरीर र आत्मा दुई अलग
वस्तु होइनन्
आइन्सटाइन भन्छन्
तर एउटै वस्तुलाई हेर्ने
दुईटा शैलीमात्र
मरेपछि मैले यो शरीर
संगै लान पाउदिन भने
यो शरीर मेरो र म कसरी हुन्छ ?
अहँ मेरो प्रतिरुप
यो शरीर कदापि होइन
त्यसो भए म के हो ?
म एउटा आत्मा हो
शरीर यसको डेरा
शास्त्र भन्छ–
आत्मा नै ईश्वर हो
र ईश्वर अमर छ
त्यसैले सायद बाटो सत्य र
जीवन म नै हुँ येशुले भने
‘अन्तिम सत्य ईश्वर नै हुन्’
गान्धीले भने–
त्यसो हो भने म पनि ईश्वर हुँ
किन कि म पनि आत्मा हुँ
शरीर मेरो डेरा हो
र स्वर्ग नपुगुञ्जेल म
डेरा सरिरहन्छु
अर्थात शरीर फेरी रहन्छु
अर्थात चौरासी लाख योनीभित्र
छिरिरहन्छु
शरीरभित्र नछिरेको बेला
म फगत अदृष्य आत्मामा बाच्छु
याने प्रेतात्मामा, पिशाचमा, मसानमा बाच्छु
भूतप्रेत, टुनामुना, तन्त्रमन्त्र, धामीझाँक्रीमा
बाच्छु
समय सकिएपछि म पुनः
मानव योनीमा छिर्छु
र म शरीरमा जन्मन्छु
र म पुनः मोक्ष, निर्वाण, मुक्ति
प्राप्त गर्ने ध्याउन्नमा लाग्छु
सके प्राप्त गर्छु, वैकुण्ठ जान्छु
नसके उही जीवन र मरणको
अन्तहीन चक्रमा फँसिन्छु । फँसिरन्छु ।
अनेकानेक योनीमा पस्तछु । निस्कन्छु ।
पसिरहँदछु । निस्किरहँदछु ।