देउरालीको सगरमाथा अनुभव
गत वैशाखको पाँच गते पाँच जना पत्रकार महिला संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको शिखरमा पाइला टेक्न काठमाडौंबाट हिंडेका थिए । ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ अभियान’ को टिममा रोशा बस्नेत, देउराली चाम्लिङ, रोजिता बुद्धाचार्य, प्रियालक्ष्मी कार्की र कल्पना महर्जन थिए । कल्पना स्वास्थ्य अवस्थाका कारण चुचुरो पुग्न सकिनन् बाँकी चार जना शिखरमै पुगेर फर्किए ।
काठमाडौंबाट सिधै लुक्ला पुगेका उनीहरू त्यहाँबाट नाम्जे, पिरामिडको बाटो ट्रेकिङ गर्दै वैशाख १३ मा बेसक्याम्प पुगे । त्यहाँ पुगेपछि उनीहरू एकदम एक्साईटेड भए रे । बेसक्याम्पबाट माथि कसरी चढ्ने, के के गर्ने भन्ने विषयमा पहिला लिएको तालिमको २ दिन अभ्यास गरे ।
आरोहीहरू बेसक्याम्प पुगेपछि सिधै सगरमाथाको बाटो लाग्दैनन् । त्यहाँको हावापानी बुझ्न र शरीरको सहजताका लागि केही दिन विभिन्न क्याम्पमा पुग्दै फर्किनु पर्छ । उनीहरू पनि बेसक्याम्पबाट क्याम्प १ पुगेर एकरात बसे । त्यसपछि क्याम्प २ मा तीन रात । क्याम्प २ बाट क्याम्प ३ छोएर मात्र फर्किए । उनीहरू पुनः बेसक्याम्प आए । बेसक्याम्पबाट कहिले कालापत्थर त कहिले अन्य ठाउँमा उकालो–ओरालो गरे । जेठ पाँच गते बेसक्याम्पबाट आरोहणका लागि उनीहरू बाटो लागे र सिधै क्याम्प २ मा पुगेर बसे । भोलिपल्ट क्याम्प ३ मा पुगे । क्याम्प ४ मा पुगेर केही घन्टा आराम गरेपछि बेलुकाको ७ः४५ मा उनीहरू शिखरतर्फ अघि बढे । रातभर हिंडेर १२ घन्टामा देउराली र रोशा चुचुरोमा पुगे । रोजिता र कल्पना उनीहरू भन्दा एक घन्टा अघि पुगिसकेका थिए । त्यो दिन थियो जेठ ९ गते ।
चुचुरोमा पुग्दा उज्यालो भइसकेको थियो । शेर्पाले ‘समिट प्वाइन्ट यहि हो’ भनेपछि देउरालीका आँखा रसाए, नाकमा पिरो भयो । मन भक्कानिएर आयो रे । ‘भिरालो ठाउँ रहेछ, अर्को टोलीले फोटो खिचिरहेको थियो । म त्यहिं थचक्क बसें ।’ उनले शिखर पुग्दाको क्षण सम्झिइन् ‘त्यहाँबाट त हिमालै हिमाल देखिंदोरहेछ । घाम पनि तल देखें । संसारको अग्लो ठाउँमा छु भन्ने विश्वासै लागेन ।’
उनिहरूले शिखर टेकेपछि टिम म्यानेजरले बेसक्याम्पमा फोन गरेर खबर गरिदिए । बेसक्याम्पबाट उनिहरूका परिवारलाई खबर गरियो ‘अहिले तपाईकी छोरी समरमाथाको चुचुरोमा हुनुहुन्छ ।’
देउराली सानैछँदा उनकी आमा पासाङ ल्हामु शेर्पा सगरमाथा चढेको समाचार सुनेर ‘शेर्पाको छोरीले ग¥यो ।’ भन्दै खुसी हुन्थिन् । आमा रमाएको त्यहि क्षण उनका लागि सगरमाथा चढ्ने प्रेरणा बन्यो । अहिले उनि आफैं शिखरमा थिईन् । त्यहिबेला बेसक्याम्पबाट आमाले खबर पाएको सम्झिंदा आँखा रसाए । त्यो क्षण उनको जीवनमा अविष्मरणीय क्षण बन्यो । उनि सुनाउँछिन् ‘वरिपरि हे¥यौं । फोटो खिच्यौं । विभिन्न सहयोगीका झन्डा पहराएर तस्वीर र भिडियो खिच्यौं । मैले मेरा बुवा आमा र बाजे बज्यूको तस्वीरपनि लगेकी थिएँ । फोटो खिच्दै उनिहरूकै कारण म यहाँ छु भन्ने सम्झिएँ । त्यसरी चुचुरोमा आधा घन्टा बितायौं ।’
बाटामा शव देखिए
सगरमाथा चढ्दा चढ्दै देउरालीले क्याम्प २ मा पुगेपछि नजिकै लडिरहेको एउटा शव देखिन् । २ वर्षअघि सगरमाथा चढ्ने क्रममा मृत्यु भएका व्यक्तिको शव रहेछ त्यो । क्याम्प ३ मा पनि त्यस्तै अर्को शव देखियो । ‘२ र ३ को बीचमा पनि शव थियो ।’ उनी सुनाउँछिन्, ‘तर शव देख्दा पनि न डर लाग्यो, न त कुनै दुःख लाग्यो । कुनै फिल नै भएन । हाम्रो दिमाग शून्य थियो, एकोहोरो माथि पुग्ने लक्ष्य मात्र थियो ।’
देउरालीलाई अहिले सम्झिँदा चाहिं कुनै क्षण दुःखदायी र कुनै क्षण रमाइलो लाग्छ । तर त्यो बेला उनी समवेदना विहीन जस्तै बनेकी थिइन् । दिमाग खाली जस्तै लाग्थ्यो ।
आरोहणको मौसममा बाटैभरी आउने र जाने मान्छेको भीड हुँदोरहेछ । त्यसबेला त सामान्य लाग्यो । अहिले सम्झिंदा देउरालीलाई त्यो लस्करै आरोहीको भीडको चित्र मानसपटलमा आउँछ । त्यो बेलाका दृश्यहरू सम्झिंदै मनमनै रमाउँछिन् ।
अक्सिजन सिद्धियो, शेर्पाले बचाए
सगरमाथाको आरोहण गरेर फर्किनेहरूको कुरा सुन्दा यो एउटा खतरैखतरा भएको ठाउँमा पुग्ने दुस्साहस हो ।
त्यो चिसो यात्रामा आरोहीहरूलाई खाना नपच्ने, निन्द्रा नलाग्ने जस्ता अनेक समस्या भए । बाटो त अहिले सम्झिंदा पनि जीउ नै सिरिंग हुन्छ । यात्राका क्रममा खतरनाक बाटोमा पर्छ हिलारी स्टेप । ‘हिउँको कहाली लाग्दो भीरमा हिउँ खोपेर बनाइएको निक्कै डर लाग्दो बाटो छ । एकजना हिंड्न पनि मुस्किल पर्छ । त्यहाँ निकै जाम हुँदोरहेछ ।’ उनी भन्छिन्, ‘त्यहाँ हिंड्दा खोपेर बाटो बनाइएको हिउँ चर्किएर खस्यो भने वा हावाले उडायो भने सक्कियो ।’
खुम्बु आईसफल क्षेत्रमा कतिबेला हिउँ पहिरो जान्छ थाहै हुँदैन । जस्तोसुकै खतरा भए पनि देउराली आफ्नै सुरमा माथि चढिरहिन् । सुरुदेखि नै काममा फोकस हुनुपर्छ भनिएकाले पनि होला उनलाई अरु कुरा दिमागमा आएनन् । उनी विस्तारै माथि चढ्दै थिइन् । उनको साथमा थिए शेर्पा लाक्पा नुरु शेर्पा । क्याम्प ४ पुग्ने बेलामा ७ हजार ९ सय मिटर उचाईमा पुगेपछि उनलाई झपझपी निन्द्रा लाग्ने, थकाई लाग्ने हुन थाल्यो । वान्ता आउन खोजे जस्तो, कमजोरी भएजस्तो लाग्न थाल्यो । शेर्पाले थाहा पाए देउरालीको अक्सिजन सकिएछ । ‘ला अब के गर्ने भनेर म त आत्तिएँ । तर शेर्पाले आफ्नो अक्सिजन मलाई दिएर बचाउनुभयो ।’ उनले सुनाइन्, ‘शेर्पालाई तपाईं अघि जानुस् भारी पनि छ, अक्सिजन पनि छैन भनेर सम्झाएँ तर उहाँ मलाई पर्खिएर सँगै लिएर जानु भयो । त्यसो गर्नु उहाँका लागि पनि रिक्स थियो ।’
क्याम्प छेउछाउ फोहोरको थुप्रो
सगरमाथा चढ्ने क्रममा देउरालीले आरोहीहरूले छाडेका सिलिन्डर, टेन्ट, म्याट र लुगाहरूको थुप्रो बढ्दै गएको देखिन् । राम्रा र काम लाग्ने चिजहरू पनि ल्याउन असम्भव भएर धेरैले त्यहाँ छाड्दा रहेछन् ।
बेसक्याम्पमा अस्थायी किसिमको शौचालय हुन्छ । त्यहाँ दिशापिसाब गरेपछि जोखेर प्रतिकेजी २ सय रुपैयाँका दरले तिर्नु पर्छ । त्यो मलमुत्र पछि बोकेर अन्यत्र लगेर फ्याँकिन्छ । देउराली सुनाउँछिन्, ‘बेसक्याम्पबाट माथि चढेपछि चाहिं त्यस्तो व्यवस्था पनि छैन । जहाँ आयो त्यहिं खुल्ला रुपमै दिशा पिसाब गर्नु पर्दोरहेछ । लुगाले अफ्ठ्यारो हुन्छ, उठेर दिशा पिसाब गर्नु पर्ने अवस्था हुन्छ, त्यहाँ लाज, घिनको पनि मतलब हुँदैन ।’
सगरमाथा क्याम्पहरूमा थुप्रंदै गएको फोहोरले भविष्यमा समस्या निम्त्याउन सक्ने उनको अनुमान छ । त्यसलाई बेलैमा व्यवस्थित गरिनु जरूरी ठान्छिन् उनी ।
बेसक्याम्पबाट लाईभ
पाँचथरबाट धरान आएपछि देउरालीले पत्रकारिता र साहित्यकारितासँगै गरिन् । सगरमाथा आरोहणका क्रममा पनि उनीले यी दुवै क्षेत्रलाई प्रस्तुत गरिन् । बेसक्याम्प पुगेपछि उनले आफ्नो मौलिक पहिरनमा सजिएर कविता वाचन गरिन् र फेसबुकबाट लाईभ गरिन् । उनिसँगै उनिहरूको टिमले नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणपनि ग¥यो ।
उनीहरूको लक्ष्य त सगरमाथाको चुचुरोबाटै प्रत्यक्ष प्रशारण गर्ने थियो । त्यहि अनुसार उनीहरूले उपकरण जुटाएका थिए । तर नेपाल टेलिभिजनको उपकरणले काम नगरेपछि उनीहरूले लाइभ गर्न सकेनन् ।
ऋणमा डुब्यो आरोहण टिम
सगरमाथा आरोहण गर्न उनीहरूलाई प्रतिव्यक्ति ३५ लाखका दरले १ करोड ७५ लाख आवश्यक थियो । राधिका शाक्य, अनिता लामा, फुर्वा तेञ्जिङ शेर्पा लगायत धेरैले आर्थिक सहयोग जुटाउन मद्धत गरे । तर अनेक कोसिस गर्दापनि पुरै रकम जुट्न सकेन । उनीहरूलाई आरोहण गराउने कम्पनी ड्रिमर्स डेस्टिनेसनले पछि चुक्ता गर्ने सर्तमा आरोहण गरायो तर उनीहरूले अझै ८१ लाख रुपैयाँ र शेर्पा वोनस तिर्न बाँकी छ । देउराली भन्छिन्, ‘आरोहण गरेर फर्किएपछि धेरैले बधाई दिए, स्याब्बास भने, सम्मान गरे तर हामीले खुसीयाली मनाउनै सकेका छैनौं । ऋण कसरी तिर्ने भन्ने मात्र तनाव छ ।’
सगरमाथाबाट फर्किएपछि अहिले उनीहरूलाई तिब्बत साईटबाट चढ्न र अमेरिकाको हिमाल चढ्न स्पोन्सर गर्नेहरू भेटिएका छन् । तर उनीहरूलाई ऋण नतिरी केही गर्ने जाँगर छैन । देउराली सहयोग जुटाउन धरान आईपुगेकी छिन् । अन्य आरोहीहरू काठमाडौंमै पहल गरिरहेका छन् । हुन त उनीहरूलाई सगरमाथा चढ्ने कुरा गर्दा ‘पत्रकारले समाचार पो लेख्ने त, किन सगरमाथा चढ्नु प¥यो ?’ भनेर प्रश्न पनि गरेका थिए । उनीहरूलाई सगरमाथाको शिर छुनु थियो, अरुका त्यस्ता कुरा वास्ता पनि गरेनन् र जीत हासिल गरे । तर अहिले ऋणले उनीहरूलाई खुसी हुन दिएको छैन ।
शेर्पा त भगवान रहेछन्
सगरमाथा चढ्नुअघि देउरालीलाई शेर्पा भनेका तालिम प्राप्त मान्छे हुन् । उनीहरू हिमाल नजिक जन्मिएका, हुर्किएकाले पनि हाम्रा सहयोगी बन्न सक्छन् , यसबारे ज्ञान छ भन्ने सम्म थाहा थियो । तर माथिमाथि चढ्दा शेर्पा सामान्य मान्छे होइन भगवानै रहेछन् भन्ने लाग्यो रे ।
माथि चढ्दा त आफु कोक्रोको बच्चा र शेर्पाहरू आफुलाई स्याहार गर्ने अभिभावक जस्तो लाग्यो । हिड्न नसक्दा अगाडीबाट तान्ने, पछाडीबाट धकेल्ने देखि खुवाउनेसम्म शेर्पाहरूले नै गर्छन् । ‘हिमालमा त शेर्पा भनेपछि हाम्रा भगवान, दाजुभाई, ब्याईफ्रेन्ड सबै हुन् । ’ उनी भन्छिन् ‘अक्सिजन बिना सगरमाथा सम्भव होला तर शेर्पा बिना असम्भव छ ।’