कम्युनिष्ट ‘जार्गन’हरुको भुमरी
अनिल राई
August 1, 2018
पाठक वर्गलाई पहिले नै भनिहालौं, ‘जार्गन’को अंग्रेजीमा अर्थ खोज्दा ‘एउटा समूहले बोल्ने विशेष भाषा’ भन्ने अर्थ लाग्दछ।’कम्युनिष्ट’ शब्दावली नै यस्तो शब्द हो जुन सुन्दा लाग्छ साँच्चै नै यसले समानताको प्रतिनिधित्व गर्दछ। तर, कहिलेकहीँ यिनका प्रवर्तक र अनुयायी नेताहरुको शब्दहरु र वाक्यहरु सुन्दा चाँहि गोलचक्करमा फसेको अनुभव हुन्छ।
नेपाली सेरोफेरोमा भन्नुपर्दा यिनका धेरै जस्ता शब्दावलीहरु सामान्य जनताले बुझदैनन् भन्दा अतिस्योक्तिपुर्ण होला जस्तो लाग्दैन । उदाहरणको लागि ‘दक्षिणपन्थी’ भन्ने शब्दलाई लिन सकिन्छ। विरोधीहरुको उछितो काढ्न पर्दा ‘घोर दक्षिणपन्थी’ भन्ने आरोप लगाईन्छ । म यो दावाका साथ भन्न सक्छु कि धेरै जस्ता मनिसहरु यसको सही अर्थ नै बुझदैनन् । उनिहरु त केवल यही सम्झँदा हुन् कि यहाँ भारत जो हाम्रो दक्षिणमा पर्छ, उ तर्फ नै ईङ्गित गरिएको होला र गाली गरिएको पार्टीलाई भारतको पठ्ठु भनेको अर्थ लगाउँदा हुन्। म आँफै पनि धेरै समयसम्म यि शब्द सुन्दा भ्रममा परेकै हो। भारतविरोधी मानसिकता केही मात्रामा नेपालका नागरिकहरुमा भएको राम्रैसँग बुझेका नेताजीहरुलाई केही मात्रामा राजनितिक लाभ भएकै होला।
एउटा भनाई प्रख्यात छ। भनिन्छ ‘जिन्दगीमा एक पटक कम्युनिष्ट नभएको मानिस, मानिस नै हैन र चालिस वर्षसम्म एउटा मानिस कम्युनिष्ट नै रह्यो भने सायद त्यो पागल हो।’ माओवादीहरुले उनिहरु कै भाषामा भन्ने गरेको ‘महान जनयुद्ध’ ताका यस्ता शब्दजाल उनिहरुको भाषणमा छयापछयाप्ती पाईन्छ। ‘सामन्तवाद’, ‘विस्तारवाद’, ‘अधिनायकवाद’, ‘जड्सुत्रवादी’, ‘सामराज्यवादी’ आदी जस्ता धेरै शब्दहरु छन जसले हाम्रो मस्तिष्क भरीभराउ छन्। युद्धको समयमा होस् या शन्तिवार्ता पछि आएको समयमा एक समय माओवादी नेताहरु आफ्नो मुखबाट आगो ओकल्थे। यस्ता शब्द भण्डार भएका पुस्तकहरु प्रशस्त हुँदो हो नेताजीहरुसँग। तर, आजकल यस्ता शब्दवाणहरु कम सुनिन थालेक छन्। शायद नेताहरुले बुझे होलान् यी शब्द भुमरीको अब काम छैन भनेर। नभए त एक समय यस्तो पनि थियो शायद यस्ता शब्द कनिकुथी उच्चारण गर्न सक्ने लडाकुहरु यस्को अर्थ राम्रोसँग बुझ्न नपाई ‘महान जनयुद्ध’को शाहीद हुन पुगे।
विशेषत: कम्युनिष्टहरुमा एउटा जन्मजात खुबी पाईन्छ। एउटा समुह वा शक्तिलाई प्रधान शत्रु मानेर ‘पानी पिउँदै’, सत्तोसराप गर्दै, गरीब र थिचोमिचोमा परेकाहरुको पार्टी हौं भन्दै तथानाम गाली गर्दै रहन्छन्। अनि त्यो समुह वा शक्तिलाई परास्त गरेपछि फेरी अर्को प्रधान शत्रु घोषणा गर्दछन्। फेरी पुरानै कर्म चालु हुन्छ। यो कृया-प्रकृया चली नै रहन्छ। यिनिहरु प्रोपोगाण्डा मचाउन माहिर हुन्छन्। गुलिया-मीठा कुराहरुको पुलिन्दा बाँधेर कहिले पनि थाक्दैनन्।
माअोवादी द्वन्दको बेला उनिहरुले मोरङको बेल्बारी प्रहरी कार्यालयमा आक्रमण गरेको घटना सम्झन्छु। त्यो घटनामा माअोवादी विद्रोहीहरुले प्रहरी कार्यालय कब्जा गरेर ध्वस्त पार्न सकेनन्। आफु प्रत्यक्षदर्शी नभए पनि, सुनेअनुसार त्यो आक्रमण भएको रातको अर्को बिहान पाँच वटा माओवादी लडाकुका लाश भेटियो रे। त्यसमध्ये एकजनाको लाश ‘लाल सलाम’ गरेको अवस्थामा मुठ्ठी उठाएर मृत्यु भएको अवस्थामा भेटिएको थियो रे। सायद ‘लाल सलाम’ भन्दा-भन्दै तिनले प्राण त्यागे र आफ्नो पार्टीको ‘महान शहीद’ बन्न पुगे। त्यस्ता राजनीतिक रूपले प्रतिबद्ध लडाकु र कार्यकर्ता आज कहाँ गए होलान्? सारा प्रतिबद्ध कार्यकर्ता र लडाकुहरु कि त गुमनाम शहिद भए वा पलायन भए र बाँकी छट्टुहरु नै पार्टीका सर्वैसर्वा भए भन्दा अन्यथा नहोला। आखिर त्यस्ता शब्दजाल केही समयको आवेग उत्पन्न गराउन र राजनीतिक फाईदा उठाउन नै धेरै प्रयोग भएका छन्। अहिले उनिहरुका ‘सुप्रिम’ नेताहरु बडा-बडा महलमा बस्छन् र वातानाकुलित गाडीहरुमा हुईकिन्छन्। शाहीदहरुको सपना यही थियो त? उनिहरुलाई अहिलेको यो अवस्था देख्न पाएको भए टिठ लाग्दो हो।
अब आउँ लेखाईको सनदर्भमा। वामपन्थी(शायद कम्युनिष्ट विचारधारा भएको विचारलाई सम्बोधन गर्दा प्रयोग गरिने अर्को शब्दावली) लेखकहरु पनि हाम्रो समाजमा धेरै छन्। उनिहरुको लेखाईमा पनि यि शाब्दिक खुराकहरु प्रशस्तै पाईन्छ। सामान्य पाठकले पनि बुझ्नसक्ने गरी यस्ता धारणाहरु प्रवाहीत भएमा पाठकहरुको पनि कल्याण नै हुने थियो। लेखक र लेखाईको पनि महत्व बढ्ने थियो कि? नभए त आफुले नै राम्रोसंग नबुझ्ने शब्दहरुको शब्दजाल बुनेर आफैलाई त्यो भुमरीमा डुबाउनुको के मज्जा होला र?
कम्युनिष्ट कार्यकर्ताहरु पनि धेरै छन् हाम्रो देशमा। राजनीति मात्र यस्तो उद्योग जसमा लगानी नै नगरी टन्नै प्रतिफल पाईन्छ, काम नगरी भाषणको भरमा नै टन्न कमाउन सकिन्छ। जनता यसमा आकर्षित नहुने कुरै भएन। हुन त अरु विचारधाराका पनि राजनीति गर्दा हुन्, तर कम्युनिष्ट कार्यकर्ताहरुमा एउटा विशेष गुण छ। उनीहरु आफ्ना नेताहरुले प्रयोग गर्ने ‘जार्गन’हरु कनिकुथी उच्चाहरण गर्छन् । शब्द त उच्चाहरण गर्न नजान्ने मनुवाहरुले त्यसको अर्थ जान्दा हुन भनेर विश्वास गर्न अरुले सक्लान्, तर म चाहिँ कदापि सक्दिन।
अन्तमा, आफुलाई मात्र सर्वगुणसम्पन्न सर्वज्ञानी ठन्ने नेताहरु र केहीकेही मात्रामा कार्यकर्ताहरुले यि ‘जार्गन’को भुमरी बारे पनि केहि चिन्तन गर्ने हो कि? ‘यस्ता शब्दावलीहरु हाम्रा कर्तकर्ताहरुले बुझे भयो, अरुले किन बुझ्नु नि?’ भन्दै नेताजीहरु पन्छन खोज्लान्, तर सार्वजनिक खपतका लागि बोलिएका शब्दहरु जनताले पनि बुझ्ने अधिकार भएको कुरा विर्सन हुन्न।
*