• एचकेएनबीएले सफलताकै संगै अपनाउनु पर्ने सजगता

  • हङकङ नेपाल व्यापार संघ (एचकेएनबीए) लिमिटेडले ग्वाङझाउमा शाखा कार्यालय खोलेको छ । चीनको मूलभूमिमा त्यस किसिमको कार्यालय खोल्ने हङकङको पहिलो नेपाली संस्था रहेको छ । कार्यालयको लागि चीन सरकारको अंगको रुपमा रहेको चाइना काउन्सिल फर द प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) अन्तर्गत युरो–एशिया लिमिटेडमार्पmत भान्के डेभलपर्सबाट निःशुल्क (महिनाको एक अमेरिकी डलर) फ्लाट प्राप्त गर्नु पनि एचकेएनबीएको उपलब्धिको रुपमा लिन सकिन्छ ।

    चीनको व्यापारिक र औधोगिक शहरको रुपमा रहेको ग्वाङझाउमा नेपाली व्यापारीको उपस्थिति उल्लेखनीय रुपमा रहने गरेको छ । चीनबाट नेपालमा आयात हुने सामग्री प्राय यहीँबाट पैठारी हुने गरेको छ । यहाँबाट सिधा नेपालमा हवाई सेवा हुनुले पनि आवातजावतको चाप स्पष्ट हुन्छ । यसको साथै केही समयअघि नेपाली कन्सुलेट जनरलको स्थापना हुनुले पनि ग्वाङझाउबाट नेपालका लागि व्यापारिक कारोबार बढेको देखिन्छ ।

    नेपाल सरकारको प्रतिनिधिमूलक संस्था बाहेक नेपाली समुदायबाट व्यापारिक संस्थाको उपस्थिति आवश्यक रहेको छ । हुन त ग्वाङझाउमा गैर–आवासीय नेपाली संघ पनि स्थापना भएको छ, तर उक्त संस्थाको उद्देश्य र कार्य क्षेत्र व्यापार भन्दा पनि अरु नै रहेको छ । त्यहाँ रहने अधिकांश नेपाली स्थायी रुपमा बसोबास गर्ने नभएर चलायमान रहने भएकोले संघसंस्था संचालन गर्नु सजिलो रहेको छैन । कानुनी हिसाबले पनि संघसंस्था खोल्नु जटिल रहेको छ ।

    यस स्थितिमा त्यहाँबाट नजिक रहेको हङकङका नेपालीबाट पहल गर्नुको विकल्प रहेको छैन । हङकङका नेपाली स्थायी परिचयपत्रवाहक भएको कारण पनि त्यहाँ गएर संस्थागत काम गर्न सजिलो रहेको छ । हङकङमा दर्ता रहने कारण पनि ग्वाङझाउमा गतिविधि गर्न सहज हुनेछ । आवातजावतको लागि भिसाको पनि खासै समस्या रहेको छैन । व्यापारीका लागि प्राप्त हुने एपेक कार्डले सजिलो रहेको छ । जे होस् एचकेएनबीएको यस सफलतालाई नेपालीको उपलब्धिको रुपमा लिन सकिन्छ ।

    यति हुदाहुदै पनि एचकेएनबीएप्रति आशंका गर्नु पर्ने अवस्था रहेको छ । उक्त संस्था संस्थागत विकास भएको पाइन्न । संस्थामा अध्यक्ष हावी रहेको छ । पहिलो वार्षिकोत्सव अध्यक्षको कम्पनीको हो कि एचकेएनबीएको हो, बाहिरबाट आउनेले ढोकाको सूचना हेरेर छुट्याउन सक्ने अवस्था थिएन । यदि साच्चै नै संस्थालाई संस्था बनाउने हो भने व्यक्तिगत कम्पनी भन्दा अलग राख्न आवश्यक छ । संस्थापक महासचिवले अध्यक्षको रवैयाप्रति असमति जनाउदै पहिलो वार्षिकोत्सव अघि नै संस्था छाड्नुलाई पनि सामान्य रुपमा लिन सकिन्न । यदि सजगता अपनाउने हो भने उपलब्धिलाई संस्थागत गर्न सकिन्छ होइन भने यसको कुनै अर्थ रहदैन । यसमा एचकेएनबीएका अध्यक्षले ध्यान दिन आवश्यक छ ।

  • कमेन्ट गर्नुहोस्