• दुई दशकको अनुभव : भाषा सिकाई र अध्ययन फरक हुन्

  • स्थानीय भाषामा पोख्त बनाउन सके जागिर पाउनदेखि जीवनयापन गर्नसम्म सजिलो हुन्छ भनेर शुरुवातमा कतिपय नेपाली अभिभावकहरुले नानीहरुलाई चाइनिज एज मिडियम इन्सट्रक्सन (सीएमआई) स्कूलमा भर्ना गर्ने गरेका थिए । तोते बोल्ने नानीले चिनियाँ शब्द उच्चारण गर्दा र अभिभावकसंग चिनियाँ भाषामा संवाद गर्न खोज्दा गर्व गर्ने परम्पराको विकास हुन थालेको थियो ।
    यो दुई दशकको अनुभवले अभिभावकमा भ्रम परेको रहेछ भन्ने प्रष्ट हुन थालेको छ । यस हप्ता हङकङ नेपाली महासंघको आयोजनामा सम्पन्न शैक्षिक बहसमा युनलङस्थित चान लुइ चुङ ताक मेमोरियल कलेज अध्ययन गरेकी प्रिन्सेस गुरुङले पछुतो व्यक्त गर्नुले पनि त्यसैलाई पुष्टि गरेको छ ।

    सीएमआई विद्यालय अध्ययन गरेकी प्रिन्सेस गुरुङको अभिव्यक्तिले भाषा सिकाई र अध्ययनबीच नेपाली अभिभावकमा भ्रम रहेको दर्शाएको थियो । स्थानीय भाषा सिक्ने नाममा मौलिकता सबै गुमाउन पुग्दा आफ्नै अभिभावक पराई भएको अनुभव उनले सुनाएकी थिइन् । भाषाकै कारण आफ्नो समुदायबाट टाढिनु परेको, मौलिक चाडबाड, रितिरिवाजलगायत आफ्ना–आफन्तको बारेमा केही थाहा पाउन नसकिएको कठिनाई उनले व्यक्त गरेकी थिइन् । उनले स्थानीय भाषा सिकाईका फाइदाहरु पनि बताएकी थिइन् । तर भन्ने गरिएकोजस्तो जागिर पाउनको लागि भाषा खासै सहयोगी नभएको उनको ठम्याई रहेको थियो । उनको अनुभवमा राम्रो जागिर पाउनको लागि भाषा भन्दा ज्ञान बढी आवश्यक छ ।

    केही वर्षदेखि नेपाली विद्यार्थीहरुले पनि हङकङ डिप्लोमा अफ सेकेण्डरी एजुकेसन (एचकेडीएसई) पूरा गरिरहेका छन् । उक्त परीक्षाको नतिजाले पनि भाषा जान्दैमा विश्वविद्यालय भर्ना हुन सजिलो छैन भन्ने देखाएको छ । एचकेडीएसई गरेका धेरै नेपाली विद्यार्थीहरुले विश्वविद्यालयमा भर्ना नपाएर वैकल्पिक बाटो अपनाउन बाध्य भएका छन् । त्यसो त प्राइमरी पूरा गरेर माध्यमिक विद्यालय भर्नाकै क्रममा पनि सीएमआई अध्ययन गरेका नानीहरुले राम्रा विद्यालय पाउने नगरेको अनुभव अभिभावकहरुले सुनाउने गरेका थिए ।

    सीएमआईबाट एचकेडीएसई गरेका स्थानीय विद्यार्थीहरु नै पनि विश्वविद्यालय अध्ययन गर्नबाट बन्चित हुनु पर्ने हङकङको नियती रहेको छ । हरेक वर्ष उत्तिर्ण हुने विद्यार्थीको अनुपातमा विश्वविद्यालयका कोटा कम रहेको छ । जसका कारण कतिपय विद्यार्थीले पढाई छाडेका उदाहरण प्रशस्त रहेका छन् । आर्थिक अवस्था राम्रो हुनेले विदेश गएर अध्ययनलाई निरन्तरता दिए पनि कतिपयका लागि संभावना रहेको छैन ।

    त्यसो त इङ्लिस एज मिडियम इन्सट्रक्सन (ईएमआई) स्कूलमा अध्ययन गर्नेमा कुनै समस्या रहन्न भन्ने होइन । अंग्रेजी पनि नेपालीका लागि मातृभाषा होइन तर पनि अभिभावक लगायतलाई चिनियाँको अनुपातमा ज्ञान रहेको छ । स्थानीय भाषा सिक्नु हुन्न भन्ने पनि होइन तर भाषाकै कारण स्तरीय जागिर पाइन्छ भन्नु भ्रम हो । स्थानीय भाषा सिक्दैमा नेपालीलगायतको जीवनस्तर उकासिने होइन, ज्ञानको स्तर उक्सिन आवश्यक छ ।

  • कमेन्ट गर्नुहोस्