• प्रहरी–नागरिक सहकार्यको नमूना : दुई करोड लागतमा सुधार केन्द्र

  • धरान शहर कुनैबेला लागुऔषधको अत्यधिक प्रयोगका कारण बद्नाम थियो । कतिपयले ‘एडिक्टको शहर’, ‘गुन्डागर्दी हुने ठाउँ’, ‘बद्मासको ठाउँ’ आदिइत्यादि भनेर धरानलाई खराब ठाउँका रुपमा प्रस्तुत गर्थे । अझैपनि त्यो पुरानो दाग धरानले पूर्णरुपमा मेट्न सकेको छैन ।

    धरानका धेरै उर्जाशील उमेरका युवालाई लागुऔषधको नशाले बिगा¥यो । नशाले उनिहरूको परिवार र जीवन मात्र विगारेन धरानको छविपनि उसैगरी बिगारी दियो । धरानको त्यो नकारात्मक छवि बदल्न स्थानीयवासी र प्रहरी मिलेर सुरु गरेको अभियान अहिले सफलता नजिक पुगेको छ ।

    प्रहरी र नागरिकको सहकार्यमा धरानको पानबारीमा २ वर्षदेखि आसरा सुधार केन्द्र निर्माण भइरहेको छ । प्रहरी र नागरिक मिलेर गरेको यो कामलाई नमूनाका रुपमा लिन सकिन्छ । जहाँ एक पटकमा २ सय जनालाई काउन्सिलिङ, प्रशिक्षण दिएर सुधार्ने योजना छ ।

    हाल सुधार केन्द्र निर्माण भईरहेको स्थान पहिला लागुऔषध कारोबारी र प्रयोगकर्ताको जक्सन थियो । नशाकै सुरमा पटक पटक झगडा हुन्थ्यो त्यहाँ । तीन वर्षअघि नशाको सुरमा आफ्नै साथीको खुकुरी प्रहरबाट एक युवाले ज्यान समेत गुमाएका थिए । त्यो ठाउँमा सुधार केन्द्र निर्माण सुरु भएपछि अहिले शान्ति छाएको स्थानीय नरकुमार लिम्बु बताउँछन् । भन्छन् ‘अहिले पहिला जस्तो डराउनु पर्ने अवस्था छैन, सुधार केन्द्र सञ्चालनमा आएपछि अझै राम्रो ठाउँ बन्छ भन्ने आशा गरेका छौं ।’

    धरानमा हरेक दिनजसो लागुऔषधका प्रयोगकर्ता समातिने, झैझगडा हुने क्रम बढ्न थालेपछि स्थानीयवासी र प्रहरीले आआफ्नो तरिकाले नियन्त्रणको उपाय अपनाउँदै आएका थिए । लाहुरेबहुल बस्ती धरानमा उनिहरूले नै विभिन्न समूह बनाएर पनि सचेतना र दुव्र्यसन न्युनिकरणको अभियान चलाए । लागुऔषधकै क्षेत्रमा काम गर्न एनजिओको जन्मभयो । विभिन्न नामका सुधार केन्द्र खुले । तर लागुऔषध दुव्र्यसनमा युवाहरू फस्ने क्रम रोकिएन । प्रहरीले पक्राउ गर्ने, छाड्ने, थुन्ने क्रम चलिनै रह्यो । इलाका प्रहरी कार्यालय धरानमा प्रहरी प्रमुख फेरिने वित्तिकै पहिलो काम लागुऔषध कारोबारी पक्रिने र विस्तारै पक्राउ पर्ने क्रम घट्दै जाने हुन्थ्यो ।
    खुला भारतीय सिमाका कारण मुख्यगरी विराटनगरसँग जोडिएको भारतीय नाका जोगवनी, झापाको काँकडभिट्टा, सुनसरीको भन्टाबारी क्षेत्रबाट पूर्वमा लागुऔषधको कारोबार बढि रह्यो । दुव्र्यसनमा फसेकालाई सुधार्न भनेर खुलेका सुधार केन्द्रहरू अहिलेपनि छन् तर तिनीहरू त्यति व्यवस्थित छैनन् । अधिकांशले त्यसलाई कमाउने माध्यममात्र बनाएका छन् ।

    दिनका दिन लागुऔषध प्रयोगकर्ता पक्राउ गर्दा एकातिर प्रहरी हैरान थियो अर्कातिर स्थानीयवासी वेचैन थिए । त्यसबेला पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरका प्रमुख भएर आएका डिआईजी नवराज सिलवालले प्रहरी र नागरिक मिलेर व्यवस्थित सुधार केन्द्र सञ्चालन गर्ने अवधारणा ल्याए । स्थानीय र प्रहरी अधिकारीको छलफलपछि काठमाडौंमा प्रहरी श्रीमति संघको नाममा सञ्चालित आसरा सुधार केन्द्रको शाखाका रुपमा गैरनाफामुलक ‘पूर्वाञ्चल आसरा सुधार केन्द्र’ सञ्चालन गर्ने निर्णय भयो । धरानका तत्कालिन डिएसपी सञ्जय सिंह थापा, पूर्वमेयर मनोजकुमार मेन्याङ्वो, महिला सञ्जालकी अध्यक्ष शिला बज्राचार्य लगायतको समूह सहयोग संकलन अभियानमा लाग्यो । त्यसका लागि धरान उपमहानगरपालिकाले पानबारीमा ७ कठ्ठा सरकारी जग्गा उपलब्ध गरायो भने धरानका समाजसेवी रामहरी हाडाले १८ धुर जग्गा दिए । दुई वर्षअघि सोहि ठाउँमा सुरु भएको सुधार केन्द्रको भवन हाल निर्माणको अन्तिम चरणमा छ । हाल नेकपाका सांसद रहेका सिलवाल यो अभियानलाई प्रहरी र नागरिक मिलेर बनाएको नेपालकै नमूना कामका रुपमा लिन सकिने बताउँछन् । ‘पूर्वमा दुव्र्यसनको ठूलो समस्या थियो तर गतिला सुधार केन्द्र थिएनन् । त्यसपछि गैरनाफामुलक योजनाको प्रस्ताव ल्याएँ, त्यसलाई धरानका साथीहरूले सहयोग गर्नुभयो। ’ उनि भन्छन् ‘यहाँ उपचार मात्र होईन, सचेतना र सुधार भएकालाई समाजमा पुनस्र्थापना पनि गर्ने योजना हो ।’

    सहयोगकै भरमा भवन

    करिब २ करोड खर्च भइसकेको यो भवन बनाउन विभिन्न सहयोगीबाट संकलन गरेको पैसा खर्च भएको छ । भवन बनाउनका लागि उपमहानगरपालिकाबाट १४ लाख र आसरा काठमाडौंबाट १० लाख पाएको र बाँकी विभिन्न मनकारीले सहयोग गरेपछि यत्रो भवन निर्माण गर्न सकिएको निर्माण समिति कोषाध्यक्ष शीला बज्राचार्य बताउँछिन् । उनका अनुसार व्यवसायी भीम पौडेलले १५ लाख भन्दा बढीको निर्माण सामाग्री उपलब्ध गराए भने अन्य दाताहरूले रकम दिए । सुधार केन्द्रले २५ हजार रुपैयाँ सहयोग गर्नेलाई संस्थापक सदस्य बनाउने गरेको छ । हालसम्म २ सय ५० जना संस्थापक सदस्य बनिसकेका छन् । त्यसबाहेक १ लाख, २ लाख, ४ लाख सहयोग गर्नेहरू पनि धेरैजना छन् ।

    प्रहरी र नागरिक मिलेर सुरु गरिएको अभियान भएकाले यसमा प्रहरी अधिकारीहरूले व्यक्तिगत रुपमा पनि सहयोग गरे । धरानका तत्कालिन डिएसपी सुदाम सिजापतीले प्रहरीका तर्फबाट पहिलोपटक संस्थापक सदस्य बनेपछि अन्य प्रहरी अधिकारीहरू पनि २५ हजार रुपैयाँ तिर्दै संस्थापक सदस्य बने । सिलवालपछि आएका डिआईजी केशरीराज घिमिरेले पनि यो अभियानलाई निरन्तरता दिए । डिएसपी ढकेन्द्र खतिवडा, धरानवासी डिएसपी भीमबहादुर दाहाल, असई गणेश श्रेष्ठ पनि सुधार केन्द्रका लागि आफुपनि सहयोग गर्ने र अरुबाट पनि सहयोग जुटाउने अभियानमा लागे । प्रहरी अधिकारीहरू र पूर्वमेयर मनोजकुमार मेन्याङ्वोको संयोजकत्वमा बनेको निर्माण समितिले निर्माण सुरुभएदेखि कुनैदिन काम नरोकि भवन तयार पारेको छ । २ सय जनालाई राख्न सकिने यो भवनमा जिमहल, साउनाबाथ, योगा कक्षासँगै प्रहरी बिट, कार्यालय रहने कोषाध्यक्ष बज्राचार्यले बताईन् । यो भवन अबको दुई महिनाभित्र सक्ने योजनामा छ ।

    निर्माण समिति अध्यक्ष मेन्याङ्वोका अनुसार सुधार केन्द्रका लागि सहयोग माग्ने क्रममा विभिन्न व्यक्तिबाट करिब २ करोडको प्रतिबद्धता आएको थियो । तर हालसम्म १ करोड ७० लाख जम्मा भयो तर ३४ लाख अझै आएको छैन । उनि भन्छन् ‘पहिला दिन्छु भनेर बोल्नेहरू अहिले फोन गर्दा स्विचअफ गर्छन् । अहिले भवन त बन्यो तर त्यहाँभित्र फर्निचर छैनन् । हामीले पुलिसलाई पनि ताकेता गरिरहेका छौं ।’

    सहयोगी खोज्दै समिति

    सवा ३ करोडमा सुधार केन्द्र सुरु गर्ने भनेर काम थालिएको थियो । अहिले २ करोडजति खर्च भइसकेको छ । बाँकी रकम कहाँबाट जुटाउने समितिलाई पनि थाहा छैन । अझैपनि निर्माण समिति सहयोग खोजिरहेको छ ।

    समितिको अनुरोधमा धरानका मात्र होइन पूर्वका धेरै व्यापारी, व्यवसायीले सुधार केन्द्रका लागि सहयोग गरेका छन् । हालै गायक एपी शेर्पाले आफ्नो तर्फबाट २५ हजार र ससुराको तर्फबाट २५ हजार नगद समितिलाई हस्तान्तरण गरे । उनि जस्तै धेरैको सहयोगले सुधार केन्द्र निर्माण भईरहेको छ । गायक शेर्पा भन्छन् ‘हामीले दिएको सहयोग सदुपयोग हुन्छ र दुव्र्यसनमा फसेका दाजुभाईहरूले नयाँ जीवन पाउँछन् भन्ने आशा छ ।’

    निर्माण समितिकी कोषाध्यक्ष शीला बज्राचार्य सहयोग गर्न सक्ने कोहि भेट्दा ‘आसरालाई सहयोग गर्नु प¥यो’ भनेर अनुरोध गरिहाल्छिन् । उनी सुनाउँछिन् ‘अनुरोध गर्दा धेरैले सहयोग पनि गरेका छन्, त्यहि सहयोगले यहाँसम्म काम भईरहेको छ । अझै देशविदेशबाट सहयोगको अपेक्षा गरेका छौं ।’

    महिलालाई कहाँ राख्ने ?

    पूर्वमा युवाहरूसँगै युवतीको ठूलो संख्या छ लागुऔषधमा फसेको । युवाहरूका लागि धेरैतिर सुधार केन्द्र खुलेपनि युवतीहरूका लागि व्यवस्थित सुधार केन्द्रको अभाव छ । तर पूर्वकै नमूना र ठूलो सुधार केन्द्रका रुपमा निर्माण गरिएको आसरामा पनि महिलाहरूलाई कहाँ राख्ने भन्ने टुंगो छैन । यो विषयमा समितिभित्र पनि पटक पटक कुरा उठ्ने गरेको छ । सुरुमा हाल निर्माण भएको भवन पुरुषहरूका लागि र त्यसभन्दा पछाडि अर्को भवन महिलाहरूका लागि निर्माण गरिने योजना थियो । महिला सुधार केन्द्रका लागि जग्गा छुट्याएर भवनको नक्सा समेत कोरिएको थियो तर एउटा भवन बनाउन आर्थिक जुटाउनै समस्या भएपछि समितिका पदाधिकारी अर्को भवन बनाउने आँट गर्न सकेका छैनन् । निर्माण समिति अध्यक्ष मेन्याङ्वो त्यहि भवनमा महिला पनि राख्न सकिन्छ कि भनेर छलफल गरिरहेका छन् भने कोषाध्यक्ष बज्राचार्य ढिलै भएपनि छुट्टै भवन चाहिने भनिरहेकी छिन् । उनि भन्छिन् ‘एकै ठाउँमा राख्न गाह्रो हुन्छ त्यसैले सहयोग जुटाएर महिलाको बेग्लै भवन बनाउनु पर्छ । सहयोगीहरू जुट्लान् भन्ने आशा छ ।’

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad