एक आउटडेटेड योद्वाको कन्फेसन (कविता)
कमरेड लालसलाम !
म हजुरले रोजेको व्यवस्थामा
फिट हुन नसकेको तपाईको सहयोद्वा
एक ‘आउटडेटेड’ योद्वा ।
त्यति बेला हजुर भन्नु हुन्थ्यो-
संसद भनेको खसीको टाउको राखेर
कुकुरको मासु बेच्ने ठाउँ हो
यो व्यवस्था परिवर्तन गर्नै पर्छ ।
तर आफै पस्नु भो त्यही संसद भवनभित्र !
त्यति खेर
अग्र मोर्चामा रहेर
बैरीको किल्ला कसरी कब्जा गर्ने
दुश्मनको ढाडमा टेकेर कसरी टाउकोमा हान्ने ?
गुरिल्ला युद्व कसरी लड्ने त्यो मात्र सिकाउनु भो !
यी त केही काम नलाग्ने रहेछन् हजुरले रोजेको व्यवस्थामा ।
कमरेड !
त्यो बेला चाकडी गरेर
कसरी आफ्नाको दिल कब्जा गर्ने
चुक्ली लगाएर कसरी सहयात्रीलाई पछार्ने
चाप्लुसी लाएर कसरी नेताको प्रिय बन्ने
यिनै सिकाउनु भएको भए आज काम आउने थिए छ ।
तपाईंले जे जे सिकाउनु भयो
त्यही मात्र सिकियो
र त अहिले पछि परियो…
गल्ती मेरै हो कमरेड !
म समय अनुसार चल्न सकिन ।
त्यति बेला
साम्यवादको सपना देखेकै हो
‘लङ मार्च’को चर्चा गरेकै हो
फरक यति हो
यति बेला ‘लङ मार्च’
बालुवाटार-सिंहदरबार-पेरिसडाडा-धुम्बाराही
चक्कर मार्नु मै अलमलिएको छ !
खोइ कता गयो शहिदले देखेको सपना ?
कता पुग्यो हामीले हिडेको साम्यवादी यात्रा ?
यो परिवर्तित समयमा
यो बदलिएको सन्दर्भमा
मैले आफूलाई समाहित गर्न सक्नु पर्थ्यो
मैले आफ्नाहरुकै पिठ्युमा छुरा रोप्न सक्नु पर्थ्यो
गल्ती मेरै हो कमरेड !
म समय अनुसार चल्न सकिन
‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गर्न सकिन
हो कमरेड ! मैले छेपारो बन्न जानिन ।