• प्रत्युत्पादक बनेको नेपाली कन्सुलेट जनरलको प्रपञ्च

  •  

     

    नेशनल डेमा भएको सानो घटनालाई अतिरञ्जित बनाउन उद्दत नेपाली कन्सुलेट जनरल आफैले बनाएको चक्रव्यूहमा फसेको छ । एउटा व्यक्तिले संविधानमा असहमति जनाउदै प्रमुख अतिथि समक्ष केही कुरा राखेको घटनालाई ठूलै अपराध गरेको देखाउन गरेको प्रपञ्च उनकै लागि प्रत्युत्पादक बनेको छ ।

    टोपराज तामाङले जुन हर्कत गरे त्यो कुनै पनि हालतमा उचित होइन तर उसलाई कानुनी कार्वाही गर्न सकिने स्थिति थिएन । उनले होहल्ला गरेका थिएनन्, कार्यक्रममा बाधा पुर्याएका थिएनन् न त कसैमाथि हातपात गरेका थिए । उनले वरिपरिका दुई–चार जनाले सुन्ने गरी संविधानप्रति असन्तुष्टी व्यक्त गरेका थिए । समाजमा यस्ता घटना घट्छन् । नेपाली समाजमै होइन पुष्पकमल दाहाल र झलनाथ खनालको गाला चड्काएर असन्तुष्टी व्यक्त गरिएको ? उनले त त्यो हदको असन्तुष्टी व्यक्त गरेनन् ।

    संविधानकै कुरा गर्ने हो भने नेपालमै पनि त्यसको विरोध भइरहेको छ । शान्तिपूर्ण ढंगले विरोधलाई अन्यथा लिन आवश्यक छैन । नेपालीको आन्तरिक विषय बाहिर लगियो भन्ने तर्कमा कुनै तुक छैन । आजका सत्ता पक्ष र प्रमुख प्रतिपक्षले हिजो विद्रोही रहेको बेला भारतका नेता बोलाएर नेपालमै आन्तरिक विषय छताछुल्ल बनाएको नजिर छ ।

    निमन्त्रणा नगरिएको व्यक्ति कार्यक्रमस्थलमा घुसपैठ ग¥यो भन्ने आरोप लगाउने स्थिति छैन । कार्यक्रममा उपस्थित अनुहार नियाल्ने हो भने मात्रै पनि निमन्त्रणाको मापदण्डमा प्रश्न उठाउन सकिने ठाउँ छ र उठाइएका पनि छन् । एउटा नागरिक नेशनल डे कार्यक्रममा स्वेच्छाले सहभागी हुन चाहन्छ भने उसलाई के भनेर रोक्ने ?

    यस किसिमको घटनालाई आगामी दिनमा दोहोरिन नदिन र न्यूनिकरण गर्नमा कन्सुलेट जनरल केन्द्रित हुन आवश्यक थियो । त्यसको लागि समुदायमा जानुको विकल्प थिएन । संघसंस्थाका प्रतिनिधिको भेला डाकेर छलफल गर्न सकिन्थ्यो । तर त्यसो गर्न उचित ठानिएन । किन कि त्यसो गर्दा अरु विषय उत्खनन् हुने स्थिति देखिन्छ । टोपराज लामाको पेशा र कन्सुलेट जनरलले दिने सेवाबीच प्रश्न नउठ्ला भन्न सकिन्न । यस स्थितिमा एउटा यस्तो वातावरण बनाउने कुप्रयास गरियो, जसबाट सिङ्गो समुदाय उनको विरुद्धमा खनियोस् । जुन कामयाब हुन सकेन ।

    जुन डोरीको सहारामा झुण्डिन खोजियो त्यो नै पोयो खुस्किएको पर्यो । झुण्डिना साथ डोरी चुडिएर भुइँमा थुप्रिएको छ । अब त्यही डोरी बाट्ने कि अर्को विकल्प खोज्ने कन्सुलेट जनरलकै मर्जी !

  • कमेन्ट गर्नुहोस्