डिपार्चर
जसरी न्यानोको खोजीमा हरेक हिउँद
बसाइँ सरी जान्छन् चराहरु…..
ठीक त्यसै गरी
हरेक दिन सुखको खोजीमा
यहाँबाट प्रस्थान गर्छन्
देशका हजारौं नौजवानहरु
कोही मलाया अनि कोही अरबको खाडीमा ।
जहाँबाट ल्याउनु छ उनीहरुले
आफ्नो लागि थोरै खुशी
परिवारका लागि थोरै हाँसो
आफन्तका लागि थोरै मुस्कान !
यहीँबाट प्रस्थान गरेर….
रेगिस्तानी भूमिमा पसिनाको मूल फुटाएर
पराइका लागि जीवनका हरियाली उमार्नेहरु
भर्भराउँदो जवानीको महत्वपूर्ण समय खर्चेर
अरुकै लागि सम्मृद्विको बुर्ज खलिफा ठड्याउँनेहरु
‘शान्त बिहानीको भूमि’मा
यन्त्रमानव झै खटिनेहरु
आफूले खाएको कसमको जालोमा
जेलिएर उपनिवेशवादको विजय झण्डा फहराउँन
फकल्याण्डमा धावा बोल्न लामबद्व हुनेहरु
सम्राज्यवादको दादागिरी बरकरार राख्न
इराक-अफगानिस्तानमा बम-बारुदबीच परेड खेल्नेहरु
आफ्नो जिन्दगी नै दाउमा राखेर
सपना खरिद गर्न निस्केका सपनाका सौदागरहरु
फर्केलान् त साथमा लिएर
बुढी आमाको लागि फन्के साडी ?
बुढो बाउको लागि हातको घडी ?
छोराका लागि एक थान नयाँ मोबाइल ?
छोरीको लागि ऊ जस्तै पुतली खेलौना ?
श्रीमतीका लागि केही थान गहना ?
अनि छातीको देब्रे पाटोमा सकुशल चल्दै गरेको
देशको माया बोकिहिड्ने आफ्नो ढुकढुकी ?
कि सबै-सबैलाई रुवाएर फर्केलान्
काठको बाकसमा आफै प्याक भएर ?
जनावर झै आफ्नो नागरिक बेचेर
रेमिट्यान्समा रमाउने सरकारलाई
केही नसोध्नु
किन कि यतिबेला ऊ
‘सम्मृद्व नेपाल- सुखी नेपाली’को
मन्त्र जप्न व्यस्त छ !