आर्यघाटमा
सदियौंदेखि मौन
भगवान भएर
आर्यघाट मास्तिर
सुनको गजुरमुनि
आँखा चिम्लेर
कानमा हल्ला खाँदेर
योनिमा निर्लिप्त लिङ्ग उभेर
निन्द्रामा भएको महादेव !
आर्यघाटमा
अब त ब्युँतिएला कि
उसको अन्तर्चक्षुले देख्यो कि
लासघरको डिपफ्रीजले
कालै खाएको फूलको शरीर
जसलाई उनीहरूले
बोक्सी भनेर निमोठे
उसको अन्तर्मनले सुन्यो कि
दुई कोपिलाको हृदयविदारक
विलाप चर्काएर मस्तिष्क
दक्षप्रजापतिको विभेदले जलेको
तिमीले त टाउको काट्यौ र बहुलायौ
महाशक्ति तिमी
तिमी ओमकार ब्रह्माण्डको गति नै फेरिदियौ
तिमी भयङ्कर
आज हेर
तिम्रै छेउमा कोपिला दुई
आमाको लासमा
रोई बध गर्न तैयार
अब त ब्यूँत महादेव
मान्छेहरूको आर्तनादमा आनन्दले
निदाउन तिमीलाई
यो पृथ्वीको कुनै नियमले दिदैंन
संविधानको कुनै धारा र मर्मले दिदैंन
अब त ब्यूँत महाअराजक !
मान्छेले आफ्नो स्वार्थमा कोरेका
हरेक विभेदकारी रेखाहरू
मेटाइदेऊ
फुटेर रोएका ताराहरूको आँसु
हरेक चित्कारले धारिलो हुँदै
भुइँमा झरेर भाला भइरहेछ, भाला
नमीठो समाज जहाँ
अन्धविश्वासले खनेको छ बाटो
अन्धविश्वासले खनेको छ कुवा
अब त्यसले भत्किनै पर्छ
एकएक थोपा आँसुको बमले
ध्वस्त गर्नु यो साँघुरो बाटो
जहाँ हामीलाई छाती तन्काएर
हिँड्न बन्देज छ
तिहींनेर तिम्रो मन्दिर छ,
आर्यघाटमा ।