धमिलो आकाश
“आम्मा…मा…मा… कति धेरै मान्छे ! छिचिमिरोको गोलो फुटे झैं
‘किन नहुन् ? वान हण्ड्रेड थाउजेण्ड मान्छे सडकमा उतार्ने घोषणा गरेका छन् प्रोटेष्ट ग्रुपले ।’
‘कति अप्ठ्यारो गरि भन्नु भा’को ? एक लाख भन्नुस् न ।’
‘होइन होइन त्यस्तो ।…स्थानीयले बोलेको भाषा कपि मात्र गरेको हुँ ।’
आ–आफ्ना प्रतिकृया राख्छन् देवेन्द्र र टीबी भाइ विरोध रयाली हेरेर । विना प्रतिक्रिया चुपचाप सुनिदिन्छु तर्कनाहरु । हात हातमा रहेको स्मार्ट फोनको सदुपयोग गर्न चुकाउँदैन बोलिरहँदा पनि । धमाधम फोटो खिच्न तल्लिन हुन्छन् अचानक नौलो देखिए झै गरेर । सच्चिकै
विशाल देखिन्छ रयाली । तल्लो किनार आँखाले भ्याउँदैन । वान–चाईको एक्जुभेसन भवनको हराहारीसम्म मान्छेको हुल देखिन्छ । त्यो भन्दा तल झन् कति कति ! यस्तो ठूलो जुलुस विरलै हुने गर्छ हङकङमा । नेपाल बसाईको क्रममा ठूलठूला जुलुस रयालीमा नारा लगाउँदै ढुङ्गामुढा गरेको अतीतलाई डोर्याउँछ यो विरोध रयालीले । तर त्यस्तो उच्छृङ्खलता कतै देखिदैन यो मानव सागर । शान्त छ संयमी छ मनभरि आक्रोश बोकिरहे पनि । सडकको दायाँ बायाँ होसियारीपूर्वक हिँडिरहेछन् बोट बिरुवालाई जोगाउँदै । अनि बगिरहेछ मानव सागर आस्था र सपनाहरुलाई समेट्दै ।
अचानक भइरहेछ यसरी जुलुसमा मिसिने क्रम । कुनै चासो समर्थन वा विरोधको लागि पुगिएको होइन न त कुनै पूर्व तयारी नै । हल्ला सुनिएको थियो तर ध्यान नदिएको एक बिर्सिएको समाचार मात्र । मिसियौं समर सिजनको उपयोगमा स्विमिङ खेल्न रिपल्स–वे हिँडेको योजना विफल भए पछि । एमटीआर चढ्दा देखिनै भिडभाड देखिन्थ्यो स्टेसन वरिपरि । तीनवटा ट्रेन छोडिए भिडदेखि जोगिन खोज्दा । फेरि उस्तै देखिए पछि खाँदियौ भिडमा । एडमिरल्टी पुगियो तर रित्ताछन् बसपार्क र सडकहरु । छिटपुट प्राइवेट कार र ट्याक्सीहरु गुडेको देखिन्छ सडकमा । नाम निसान छैन सिटी बसको । बस स्ट्याण्डमा बस पर्खिदै अलमललियौ झण्डै आधा घण्टा जति हुस्सु बनेर ।
प्यासेफिक प्यालेसको ग्राउण्ड फ्लोर क्रस हुदै गर्दा जम्काभेट हुन्छ एउटा विशाल मानव सागरसँग । असहज देखिन्छ विरोध रयाली छिचलेर जान । पूरै बाटो ढाकेको छ प्लेकार्ड बोकेका काला सर्टधारीहरुवाट । बन्द गरिएका छन् ससाना स्पेसहरु पनि नो ईन्ट्रीको फिता टाँगिएर । मुस्किले पुगिन्छ सि साईडको खुल्ला भागमा । सरकारी कार्यालय विशेषत संसद् भवन र केन्द्र सरकारको प्रतिनिधि जनसम्पर्क अधिकारीको कार्यालय रहेकाले सधै विरोध प्रदर्शनको निगरानीमा पर्ने गर्छ यो ठाउँ । रयाली बिस्तारै सेन्ट्रलतिर बढिरहेछन् तातो घाम तापेर ।
लामो पंक्तिबद्ध रयालीमा विशेष उपस्थिति देखिन्छ युवाहरुको । युनिभर्सिटीका विद्यार्थी युनियनहरुले नेतृत्व गरिरहेकाले युवा आकर्षित भएको अडकल गर्छन् सहभागीहरु । स–साना स्कूल लेभलका विद्यार्थीहरु पनि भेटिन्छन् । बुझेर लागेको महसुस हुन्छ जेष्ठ र प्रौढ नागरिकहरुको हुल भेटिदा । ठीकै लाग्छ महिला सहभागिता । कति बेलादेखि हिँडेका हुन् ? अझै कति हिड्ने ? तन्किरहेछ ¥याली । खुल्ला आकाश मुनि मौका छोपेर सेकिरहेछ वर्षात्को तातो घामले ।
दुई कित्तामा उभाइदिएको छ मान्छेलाई यो बाटा माथि हिडिरहेको मानव सागरले । भूगोलमा वारि हङकङ र पारि काउलोनबीचको समुद्र जस्तो । तर उता पट्टीको सागर शान्त छ, मौन छ अनादि कालदेखि अरुले टाउकामा टेकेर हिँडिरहँदा पनि । झन आज भोलि उद्यत छन् मान्छे सागरलाई पाता कसेर साना नहरमा समेट्न । दोहण गरिरहेछन् मौनता माथि । यो नयाँ मानव सागर अघिसम्म ऊ जस्तै शान्त, सालिन, सुन्दर थियो तर अहिले अशान्त छ, त्रसित छ, कसैले टाउकामा टेक्ला भनेर । र त एउटा सागर शान्त छ अर्काे आक्रोशित । त्यही आक्रोश सागर तरेर शान्त सागरको किनारमा पुगिन्छ सहजता खोज्न । सहजता लाग्छ अलिक खुल्ला आकाश र जमिन टेक्दा ।
निर्वाध साना ठूला वोटहरु दौडिन्थे कुनै बेला यो क्षेत्रमा । धेरै भएको छैन समुद्र अतिक्रमण गरेर यस्तो पार्क वा खुल्ला क्षेत्र बनाएको । कति धेरै प्राकृतिक दोहण गरिरहेछन् मान्छेले विकासको नाममा देख्न सकिन्छ यहाँ पुगेपछि । दुई द्वीपलाई अलग गर्ने सानो सामुद्रीक क्षेत्रलाई दुवै तिरबाट कंक्रिटले च्यापेर नहर जस्तो बनाइएको छ । समुद्र आफै बाटोमा नियन्त्रित छ मानव संयन्त्रसँग हारेर ।
छेउको सानो दुवे भुइँ निक्कै आकर्षक लाग्छ सायद वरिपरि कंक्रिटको संरचनाले भरिभराउ हुँदा । विदा मनाउनेहरुको ससाना झुण्डहरु दुवे–चौरको उपयोग गरिरहेछन् यो गर्मी याममा । ठाउँ ठाउँमा ससाना टेण्ट हालेर बसेका छन् तातो घाम छल्न । कतै केटाकेटीहरु खेलिरहेछन् । छेउमा विशाल मानव सागर विस्तारै सेण्ट्रलतिर बढिरहेछ तर बेखबर छन् यी हुलहरु । कलाकारको एउटा सुन्दर चित्रकारिता जस्तै लाग्छ मानव सागर । हेरिरहन्छु मन भरिञ्जेल । फोटो लिन्छु मोवाइल फोनको उपयोग गरेर । चलायमान विशाल रयाली हेरेर थोरै डराउँछु पनि । काश ! यो मानव सागर कुनै दुर्घटनामा नपरोस् कामना गर्छु मनमनै ।
विधिको शासनमा सरकारले विधेयक ल्याउन सक्छ ।
विधिको शासनमा जनताले विधेयक माथि विरोध जनाउन सक्छ ।
सारमा यस्तै बुझ्छु टीबी र देवेन्द्र भाइको अभिमत ।
सदनमा छलफलको लागि प्रस्तुत हुन अगावै निक्कै ठूलो विवादमा फसेको छ सुपर्दगी विधेयक । विधेयक के कस्तो छ ? स्पष्ट आइसकेको छैन तर सदनमा प्रस्तुत हुने भए यता निक्कै सशंकित छन् एक थरि जनताहरु । सरकारले नियम कानून व्यवस्थापन गर्न सक्छ आवश्यकताको आधारमा । आश्वस्त पार्न विफल देखिन्छ सरकार । विपक्षको आँखाले सदुपयोग भन्दा दुरुपयोगको सम्भावना बढी देखिरहेछन् नयाँ प्रस्तावित कानुनमा । यदि दुरुपयोग भएमा गम्भीर असर पर्न निश्चित छ सुचारु पद्घतिमा । र निम्त्याउन सक्छ नसोचेका परिणामहरु भावी दिनहरुमा । त्यही अदृष्य आशंकाभित्र आतंकित छन् एक थरि मानिसहरु । डर छ कतै भोलि यो खुल्ला आकाशमा कालो बादलले राज गर्ने त होइन एउटा नाङ्गो तरवार शीर माथि झुण्ड्याएर । सायद त्यही अदृष्य आशंकामा आतंकित होलान् यो मानव सागर ।
निक्कै रोचक छ यो विधेयकको औचित्य र आवश्यकताको रामकाहानी । प्रस्तावित कानूनको अभावमा तेश्रो मुलुकमा अपराध गरेर सजिलै लुक्न सक्छन् अपराधीहरु । र लुकिरहेछन् कानूनको कमजोरीमा फाइदा लिन सक्नेहरु । एक स्थानीय युवाले आफ्नी गलफ्रेण्डलाई ताइवानमा लगेर हत्या गरेर फर्कियो । अपराध ताइवानमा भयो कार्वाहीको लागि सम्वन्धित ठाउँमा पठाउँन कानूनी समस्या । अपराध गरेर पनि उन्मुक्त छ अपराधी । मुकदर्शक भएर हेरिहेछ सरकार कानुनी रिक्ततामा । प्रतिनिधि पात्र मात्र हुन् यी । धेरै छन् यस्ता अपराधीहरु अपराध पछि उन्मुक्ति पाउने । दुःखेसोको फेहरिस्त सुनाउछ सरकार । यस्तै एकजना टाईकुन व्यवसायी मकाउमा अपराध गरेर हङकङ बस्छ । कार्बाही गर्न नसकि टलुुटुलु हेरेर बस्नु पर्छ सरकार । भित्रभित्रै लुकेर बसेका अपराधीहरु त कति छन् कति ।
सहमत छैनन् विपक्षीहरु यो तर्क र कानूनको आवश्यकतामा । आवश्यकता आफ्नो ठाउँमा छ तर मुख्यभूमिसँग आश्वस्त छैनन् स्थानीयहरु । विशेषत न्याय प्रणालीमा । पारदर्शिता छैन । आतंकको जड त्यहीँ भएको बताउँछन् विपक्षमा उभिएकाहरु जो खुल्ला आकाशको निरन्तरतामा दौडिरहेछन् दायाँ बायाँ केही नहेरि ।
मानिसको बाक्लो उपस्थिति देखिन्छ तमोर पार्क क्षेत्रमा पनि । विविध खालका छन् मानिसहरु । केही प्रोटेष्टेन्ट, केही हामी जस्तै रमिते र केही आफ्नmै दुनियाँमा रमाएर हिड्ने मस्तरामहरु । पार्कदेखि बाटो क्रस गर्ने ओवरहेड ब्रिज पुलिसको नियन्त्रणमा देखिन्छ सुरक्षाको कारण देखाएर । क्रस ब्रिजमुनि मानव सागरको बिस्तारै बगिरहेछ सेण्ट्रलतिर आफ्नै गतिमा । सभा भवनको आँगनमा निरन्तर फर्रफराई रहेछन् दुईवटा राता झण्डाहरु । निक्कै उचाईमा भएर होला समान रुपमा हल्लाइरहेछ हावाले । एउटा विशेष प्रशासकीय क्षेत्र र अर्काे मुख्यभूमिको । कुनै अहंकार र प्रतिस्पर्धा देखिन्न झण्डाहरुमा । उस्तै गरी हल्लिरहेछन् फरफराइरहेछन् । तर सडकमा हिँड्ने र वरपर रमिता हेर्ने मान्छेहरुको जस्तो फरक छैन मन । काश ! सबैको मन यसरी नै मिलिदिए…………।
मध्य जुन महिनामा तातिने नै भयो घाम । अहिले नतातिए कहिले तातिने । नजिकको साँगुरो सागरले तातो हावा नै फ्याँकिरहेछ । निस्फिक्री डामी रहेछ घाम । मनभित्र त्यो भन्दा ठूलो घामको राप बढेर होला सडकमा हिँडिरहेका मानिसहरु घाम जस्तै तातो लाग्छ । आवाजमा तातो आगाका लप्का ओकल्छन् । आगो जस्तै धपक्कै वलिरहेछन् आक्रोशित अनुहारहरु ।
बेलुकीको पाँच बज्छ मानव सागर हेर्दाहेर्दै । टुप्पो कहाँ पुगिसके तर जारी छ आउने क्रम । हल्ला छ¬– आउदो बुधवार झन् ठूलो हुनेछ । दशौं लाख उतार्ने अरे सडकमा ! सरकारले सुपर्दगी विधेयक सदनमा लैजाने घोषणा गरेको दिन भएकोले । रोक्ने कसरतमा छन् विपक्षहरु । लाग्छ त्यो रस्सा कस्सी र रयाली झन ऐतिहासिक हुनेछ आउँदो बुधवारको दिन ।
ठूलठूलो विरोध रयाली विरलै हुन्छ हङकङमा । कुनै घट्ना वा मुद्दामा घरदेशतिर हडताल सडक कज्जा गरेर सरकारको ध्यान खिच्ने प्रचलन भन्दा केही फरक देखिन्छ यहाँ । यसप्रकारको ठूलो ¥याली टु थाउसेन्ड फोर्टिनमा भएको थियो अक्कुपाइ मुभमेण्टको नाममा ।
ठ्याकै उनासी दिनमा विसर्जन भयो आन्दोलन । शासन प्रणालीमा प्रमुख कार्यकारिणीको छनौट बालिक मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचनको माग राखेका थिए जो जस्ताका तस्तै छ अहिलेसम्म । सिमित निर्वाचन मण्डलबाट छनौट अनि सेन्ट्रल गभरमेण्टको इच्छित व्यक्ति मात्र छनौट हुने भएकोले खासै देखिदैन जनचासो । एडमिरल्टी र सेन्ट्रलस्थिति बैंक एरियामा कबजा गरेर शुरु गरिएको थियो आन्दोलन । केही दिनमा ती सबै एरिया भरिए । बिस्तारै यो क्रमले एडमिरल्टीको सरकारी भवन एरिया हुदै मङकोकस्थित नाथन रोड नै कव्जामा लियो । नयाँ वस्ती वा नयाँ गाउँ बस्यो शहरभित्र । ठाउँ कब्जा गरेर विरोध वा अवज्ञा जनाउने भएकोले अक्कूपाई मुभमेण्ट भनिए पनि पछि यो अम्ब्रेला आन्दोलनले प्रख्यात भयो । ठूलो समूहगत भिडलाई तितरबितर गर्न शुरुमा पुलिसले पेपर स्प्रे प्रयोग गरे ।
त्यसबाट सुरक्षित हुन अक्कूपाई ग्रुपले छाताको प्रयोग गर्न थाले । यो प्रयोग बढ्दै गयो । छाताको रङ्गमा एकरुपता दिन थाले पहेलो रङ्गमा । आन्दोलनकारीको परिचय बन्यो एलो अम्ब्रेला । अनि बन्न पुग्यो आन्दोलनको रुपान्तरित नाम अम्ब्रेला मुभमेण्ट ।
धेरै पल्ट हेर्न पुगेको छु त्यसताका अक्कूपाई एरियामा । ती एरियामा मुख्य सडक कब्जा गरिएकाले अन्तै मोडिएका थिए गाडीका बाटाहरु । युवाहरुको सहभागिताले एउटै छुट्टै मिसनमा हिँडेर बास बसिरहे जस्तो लाग्थ्यो आन्दोलनकारीका गतिविधि देख्दा । रात दिन सडकमा टेन्ट टाँगेर बस्ने गर्दथे । चौछा यामछा लाईछा छा लञ्च डिनर र पानी स्वास्थ सेवा नियमित थियो एउटा मिसनकै रुपमा । अनि पुलिस प्रशासन संरक्षण पनि । एउटा छुट्टै संसारमा जस्तो लाग्थ्यो ती सब गतिविधि गर्दा । रोड र आसपासका भवन पसलहरु बन्द भए महिनौ दिनसम्म । वरिपरिका भवन र भित्ताहरु माग र विरोधका नाराहरु लेखिएर सहरको रुप कुरुप वन्ने गरि । मुख्यभूमि प्रति तिब्र असन्तुष्टि र विरोध प्रष्ट हुन्थ्यो आन्दोलनकारी र तिनीहरुको गतिविधि हेर्दा ।
शुरुका दिनमा बल प्रयोग भएका थिए अक्कुपाई ग्रुपलाई हटाउन । यो प्रयास पुलिस प्रशासन र सरकारको ठूलो पब्लिक निन्दाको विषय बन्यो जताततै । पछि हट्यो बल प्रयोगवाट । पछिको दिनहरुमा पर्ख र हेर गलाउने नीति लियो बल प्रयोग नगरेर । क्रम निरन्तर चलिरहँदा बजारको व्यापार व्यावसायमा प्रतिकूल असर देखिन थाल्यो । विशेषत व्यापार र पर्यटनबाट चलेको बजार बिस्तारै ओरालो झर्न थालेपछि आन्दोलनको छवि र समर्थन स्वतः झर्ने नै भयो । अन्तत उनासियौं दिनमा आन्दोलन टुङ्गियो विना उपलब्धी । आन्दोलनको समाप्ति पछि केही नेता वा अगुवाईहरुलाई कार्वाही गरि दण्ड सजाय समेत तोक्यो अदालतले । केही सजाय काटेर छुटे, केही अझै जेलमा छन् यो आन्दोलन ताकासम्म ।
दुई दशक नाघि सकेको छ हङकङ हस्तान्तरण गरिएकोे । अनि ‘एक देश दुई पद्धति’को सिद्घान्त अनुरुप पचास वर्षे सम्झौताले पनि आधा उमेर पचाउन लागि सकेको छ अहिले । धेरै छालहरु छल्किसके स्टार फेरितिर यो बीचमा । विशेषतः निक्कै ठूलो छलाङ मारेको छ विकास निर्माणमा र जनसँख्याले । अनि त्यस्तै असाध्य महँगीले । यातायातको सञ्जाल माकुराको जाल जस्तै फैलिरहेछ र निरन्तर चलिरहेछ यो क्रम । कुमारी छैनन् कुनै पहाड र वरपरका समुद्र । छियाछिया पारेको छ विज्ञान र प्रविधिले विकासको नाममा आदिम अनुहार र वैंशलाई । सहरमा जनसंख्या एक्कासी ह्वात्तै बढेको छ एक्कासी शेयर वजारको भाउ उकालो चढे झै । अनि हङकङ विश्वको महङ्गो एक सहरको प्रमाणपत्र थापेर उभिरहेछ गिनिजवुकको बैशाखी टेकेर । समामान्य मानिसको ढाड भाँचिरहेछ सिधा उभिन नसक्ने गरि । खन्न, पुर्न, खोल्न, जोड्न, कहीँ बाँकी छैन यी पोखरीमा तैरिरहेका नरिवलको दानाजस्ता आइल्याडहरु । त्यही व्यापार र व्यावसायमा पालिएका छन् मान्छेहरु ।
व्यस्त छ, स्वास्थ छ देखिन्छ सहर । तर थाहा छैन सहर स्वास्थ्य छ कि व्यस्त ? वा पाकेको फर्सी ? अघिसम्म शान्त देखिएका सहरका मान्छे अहिले मुस्लो ओकल्दै सडकमा आगो लगाई रहेछन् ज्वालामुखी बनेर । जुन महिनाको घामले पोल्दैन । आफै थाकेर गल्दै गइरहेछ पर समुद्रको पल्लो स्थिरतिर । यता नथाक्ने अठोट बाधेर ¥यालीमा उभिएका मानव सागर उर्लिरहेछन् दुवै किनारलाई विद्रोहका ताता छालहरुले धक्का दिदै ।
प्रत्यक्ष हेर्न पाइएन बुधवारको रयाली । सकिएन काम छोड्न । अरु विकल्प छैन । बेला बेला फेसबुक र अनलाइन खबर हेरेर चित्त वुझाउने गर्छु । हल्ला छ दसौं हजार मानिस सडकमा ओर्लिएको । यति ठूलो मानव सागर पहिले नदेखिएको । रयाली शान्तिपूर्वक चलिरहेको व्यापक जनसमर्थनमा आदि आदि । अनि बेला बेला लाईभ हेर्ने गर्छु समय चोर्न पाउदा । सेन्ट्रल गभरमेण्ट अफिसदेखि कज्वे बेको भिक्टोरिया पार्कसम्म ताँती छ । प्रर्दशनकारी सरकारी भवन भित्र पस्न खोज्दा केही ठाँउमा झडप भएको खवर पनि आउछ । भिडन्तमा दुवै पक्षका केही मानिसहरु घाइते भएको र एकजनाको आँखामा शक्त चोट लागे आदि आदि । बेलुकी घर पुग्ने बित्तिक्कै टीभी अन गर्दा सबै घट्नाहरु ठूलो न्यूज बनिसकेको रहेछ । टिभीले प्रसारण गरिरहेछ दोहो¥याई दोहो¥याई । यसरी हेरिरहँदा साँच्चै भयानक लाग्छ सहरको वर्तमान कथा ।
केही स्थानीय साथीहरुले रयालीमा जान आग्रह गरेका थिए बिहान काममा भेट्दा । शुभकामना भने जान असमर्थतामा । छोड्न सकिन काम । किन प्रस्तावित विधेयकको विरोध गर्नु ? सरकारको तर्क पनि ठिकै लाग्छ अपराधी लुक्ने स्थान वनाउनु हुँदैन हङकङलाई भन्ने । मेरो प्रश्न भन्दा बिलकुलै फरक मत राख्छन् साथीहरु । यस्ता तर्कहरु ठिक देखिए पनि विश्वास गर्न सकिन्न केन्द्रीय सरकारको । पारदर्शी छैन न्याय प्रणाली । जसलाई जहिले पनि अपराधी घोषित गर्न सक्छन् । एकजना स्थानीयको उदाहरण दिदै बताउछन् विगतको सत्य घट्ना । एक जना चीन विरोधी पुस्तक पसलेलाई अपहरण गरेर गायब बनाएको । धेरै छन् यस्ता कथाहरु । केही असन्तोष र केही आक्रोश पोखिरहे स्थानीय साथीहरु । थप तर्क राख्न बेकार ठान्छु अनि फेरि थपि दिन्छु धेरै शुभकामना ।
यति बेला उता घरदेशमा पनि निक्कै विवादित छ नयाँ विधेयकहरु । गुठी विधेयकले सडक ततायो अझै तातिरहेछ । विधेयक फिर्ता लियो सरकारले । यता कार्यकारी प्रमुखले फिर्ता नलिइ स्थगनको घोषणा गरिन प्रस्तावित विधेयक । प्रजातान्त्रिक पद्धति भित्र समर्थन र विरोध सामान्य प्रक्रिया हुन् जसले पद्धतिलाई गतिशील बनाइराख्छ । यिनै समर्थन र विरोधमा सरकारको सफलता र विफलता निर्भर गर्दछ । विधेयक स्थगन र मृत भैसकेको भनेर रोएकी थिइन् माफि माग्ने क्रममा कार्यकारी प्रमुख । तर छोएन उनको यो आग्रह र स्थगनको घोषणाले आन्दोलनकारी मन झन् फरक ढङगमा तातिरहेछ सडक दिन प्रतिदिन ।
अहिलेसम्मको ठूलो हो संसद भवन घेर्ने विरोध रयाली । आक्रामक बनेका प्रदर्शनकारी रोक्न अश्रुग्याँस, रबरका गोली समेत प्रयोग गरिए सुरक्षाकर्मीद्वारा । ठूलो क्षति हुन पाएन त्यो दिनको रयालीमा । राम्रो भयो । यस्तो परिस्थितिमा धेरै असहजता जन्मिन सक्छ फरक नेस्नालिटीका अल्पसंख्यक समुदायमा । धेरै थोरै जे जति भए पनि पक्ष विपक्षको कित्तामा उभिनु पर्ने वाद्यता । यस्ता कित्तावन्दीले धेरै असामान्य अवस्था जन्माएको उदाहरणहरु छन् विभिन्न मुलुकहरुमा । अल्पसंख्यक समुदायले ठूलो ठूलो मूल्य चुकाउनु परेको इतिहास साक्षी छ । टाढा हेर्न पर्दैन । असीको दशकमा इण्डोनेसियाको निर्वाचनलाई सम्झे पुग्छ । हजारौं चिनियाँ मारिए एउटा सानो असमझदारीमा । बलात्कृत भए सयौं महिलाहरु । अनि लुटपाट आतंक । सामाजिक सदभाव बिग्रियो जातीय हिंसाले । पटक पटक दोहोरिएका छन् यस्ता घटनाहरु । पिरोल्न आउछन् यस्ता आन्दोलनहरु असमयमा अल्पसंख्यक समुदायहरु माझ । हिज शुभकामना भनिरहँदा कतै यस्ता कारणहरुले अभिप्रेरित गरिरहे झै लाग्छ कता कता ।
रोकिएको छैन आन्दोलन सरकारले विधेयक स्थगनको घोषणा गरे पनि । थपिने जोडिने क्रम बढिरहेछ मुख्य मागको सेरोफेरोमा । गएको सण्डे विरोध रयाली यथावत देखियो मुख्य प्रशासन भवन वरिपरि । केही अवेर शुरु भए पनि विशाल थियो ¥याली । उर्वर खेति बनिरहेछ मिडियाको लागि विरोध आन्दोलन ।
अघिल्लो सण्डे मिस भएकोले बेलैमा लागियो एडमिरल्टीतिर । हेर्न जानेमा सामेल भईन् सुमी मसँग । अफसोस् यो सण्डे रहेनछ कुनै औपचारिक रयाली वा विरोध कार्यक्रम । आएपछि हिज–अस्ति भएको गरिएको एरिया घुम्न रहर गरिन् सुमीले । सुनसान छ मुख्य प्रशासनिक भवन वरपर । पातलो उपस्थिति वास्ता लाग्दैन रयाली हेर्ने आँखाहरुमा । केही युवा युवतीहरु सुतिरहेको देखिन्छ सरकारी भवनको ग्राउण्ड फ्लोरमा मुस्किलले सात आठजना जति । केही मानिसहरु छेउमा क्रिश्चियन धर्म सम्बन्धी बताइरहेछन् कागजका पर्चाहरु राखेर । रातभरि बसेको अनुमान गर्न सकिन्छ सुतेका टोलीलाई । रातमा गर्मी र मच्छरबाट बच्न होला पर परवाट तानिएकाछन् इलेक्ट्रिक केवलहरु । अनुमान गर्छु यस्तै यस्तै । सुनसान देखिदा बस्न मन गरिनन् सुमीले । लागियो बाटो क्रस गरेर पारीपट्टि पुलिस हेडक्वाटरतिर ।
प्रदर्शनकारीको नजरमा परेको मुख्य केन्द्र मध्ये एक हो पुलिस हेडक्वाटर । समय समयमा घेराउ धर्ना चलिरहेछ यसको वरिपरि । कतिपल्ट काम कार्वाही रोक्ने प्रयासहरु गरेका छन् घेराउ गर्नेबाट । शान्त भेटिन्छ आज । सहजतामा समय नापिरहेछन् सुरक्षाकर्मीहरु हरेक गेटहरुमा । हिज अस्ति प्रयोग गरिएको सुरक्षाका सामानहरु मिलाएर राखिएका छन् भित्र पट्टी । लाग्छ विश्राममा छन् सुरक्षा कवचहरु । तर आशंकाको नजरले हेर्न छोड्दैन बाटामा हिड्ने जो कोहीलाई । अगाडिको भागमा रोकिन कर लाग्छ हेर्ने क्रममा पूरै एक चक्कर लगाउँदा । प्रशस्त स्टीकर टाँगिएका छन् ओवर हेड व्रिजको सिँढीमा लेनन वालको झझल्को दिने गरि । र राखिएकाछन् आन्दोलन र सरकार विरुध्द लेखिएका ठूला साना पर्चा पम्पप्लेटसँगै हस्ताक्षरहरु । प्रयोग गरिएका नाराहरु निक्कै लामो एरिया ढाक्ने गरी टाँगिएका छन् फरक फरक भाषा र रङ्गमा । धमाधम फोटो खिच्न थालिन् सुमी, खोजिरहेको कुरो पाइए जसरी । सरकार र चीन विरोधी नाराहरुले नै ढाकिएकाछन् यो भाग । अंग्रेजी भाषामा लेखिएको मात्र खोजी खोजी पढ्छु किन कि स्थानीय भाषामा कुनै पहुँच छैन मेरो यतिका वर्ष बिताए पनि । शर्मिन्दा छु , विवश छु अरु उपाए नलागे पछि ।
फरक फरक हुन्छन् आँखाहरु आन्दोलनलाई हेर्ने । आन्दोलन विशुद्ध नागरिक न्यायको लागि बहस गर्नेदेखि विदेशी घुसपैठसम्मको । यस्तो चलन चल्ती नेपालमा पनि छ आन्दोलन भए विदेशी घुसपैठ मान्ने वा भन्ने । यस्तै तर्क राखिन् सुमीले यो आन्दोलनप्रति । कतिपय असान्दर्भिक नाराहरु देखेर होला सायद । विगतको अम्ब्रेला मुवमेण्टमा जस्तै अस्तिका विरोध प्रदर्शनमा ठाउँ ठाउँमा उचालिएका थिए बेलायत र अमेरिकाको झण्डा र समर्थनका प्ले कार्डहरु । यस्तै यो नाराहरुको भिडमा ‘स्टप सुटिङ क्रिस्चियन’ लेखिएकाछन् निक्कै महत्वका साथ । अलिक असान्दर्भिक लाग्छ यस्ता मागहरु राजनीतिक मुद्दाहरु माँझ ।
केही मिटर पर यस्तै विरोधमा लेखिएका नाराका पम्प्लेट र प्लेकार्डहरुको थुप्रो भेटिन्छ पुलिस हेडक्वाटरको मुख्य गेट पुग्न अगावै । फर्कि फर्कि हेर्ने गर्छन् बाटा हिँड्ने मान्छेहरु ती थुप्राहरुलाई । फोटा उतार्न भ्याउँछन कोही स्मार्ट फोनको कमाल देखाउँदै । नपुगी रहन सकिएन । यस्तो गरी राखिएछन् लाग्छ समाधि स्थल हो जहाँ श्रद्धाञ्जलि चढाउन आइरहेछन् श्रद्धालुहरु । दुई चारवटा फोटो लिइन् सुमीले । त्यही नारा र कार्टुनहरु दोहोरिएकोमा खासै ध्यान दिइन मैले ।
सुनसान छ वातावरण । सुनसाइन छन् सरकारी भवनहरु । ओवरहेड व्रिजको ठाउँ ठाउँ पनि टाँगिएका र टाँसिएका छन् यस्तै पोष्टरहरु । सण्डे, मनाउने हुल बसेकाछन् त्यतातिर शितलता खोजेर । बिथोल्न मन मान्दैन नयाँ खोज्ने क्रममा । यात्रा विट मारेर मोडियौ चिसो हावा खोज्दै हार्वर फेरितिर ।
यस्तै तीन बजेको हुनुपर्छ अर्को दिनको । छकक पार्छ भिडियो कलले । सुमीले गरेकी रहेछिन् आन्दोलनको नयाँ रुप प्रत्यक्ष देखाउन । काममा छु जोगिदै हेर्न भ्याउँछु । प्रदर्शनकारीहरु सेन्ट्रलस्थित अमेरीकी महावाणिज्यदूतावासमा ज्ञापनपत्र बुझाउन आएका रहेछन् ठूलो तामझामका साथ प्लेकार्ड र झण्डा हललाउदै । दूतावासका प्रतिनिधिले ज्ञापनपत्र बुझेपछि फर्किए प्रदर्शनकारीहरु । तिनीहरुले बोकेको प्लेकार्डमा लेखिएको थियो ‘प्लिज लिबरेट हङकङ प्रेसिडेण्ट ट्रम्प, वन्ली यु इन द वल्र्ड क्यान सेभ हङकङ ।’
फर्किएको समूहको माझमा फेरि देखियो बेलायतको टाटेपाटे झण्डा । यतिबेला निक्कै खिन्न हुन्छ मन । युवाका सोचमा । नेताहरु यस्तै पढाउँछन् जहाँ पनि । जसरी नेपालमा आन्दोलन गर्ने राजनीतिक पार्टी र नेताहरुले भारतीय नेताहरुलाई गुहारेका थिए कुनै बेला । उस्तै हुन्छ कि क्या हो राजनीतिक रोग ।
निक्कै गर्मी बढिरहेछ केही हप्ता यतादेखि । भरखरै न्युज पढेको छु युरोपमा अत्याधिक गर्मी बढेको छ यसपाला । रेकडृ तोड गर्मी । तातिएकोछ रे सिनो–अमेरिकी ट्रेडवार जतिकै । कतै त्यही रापमा यो आन्दोलन दन्किने त होइन ह्वार्र ह्वार्र ! अलि अलि दुःख पनि लाग्छ युवाहरुलाई कहिले माटोको कथा पढ्न दिएको रहेछ यति लामो अंग्रेजको औपचारिक शासनकालमा । नत्र विदेशीलाई निम्ताउने दस्ुसाहस कहिले गर्दैनथे आफ्नो माटोमा ।
आन्दोलन जारी छ अघिसम्मको खुल्ला आकाश धमिलो बन्दैछ विस्तारै विस्तारै ।
२९ जुन २०१९