• दिलबहादुर हत्याकाण्ड : श्रीमती र छोरीको आईडीसंगै पटाक्षेप

    हङकङ प्रहरीमा जाहेरी दिन अघि (अप्रिल ७, २००९)को पत्रकार सम्मेलनमा सोनी राईलगायत अन्य सहयोगी । तस्बिर एभरेष्ट अर्काइभ ।
  • ‘दिलबहादुर हत्याकाण्ड’ मार्च १७, २००९ का दिन निहत्था एक नेपालीलाई हङकङ प्रहरीले गोली हानेर मारेको घटना । मृतककी श्रीमती र छोरीले हङकङ स्थायी परिचयपत्र (परमानेन्ट आईडी) प्राप्त गरेपछि उक्त घटनाको पटाक्षेप भएको छ ।

    हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङका अनुसार सोनी राई र उनकी छोरी तान्छोमा लिम्बूले गत वर्ष नै हङकङ स्थायी परिचयपत्र प्राप्त गरेका छन् । यसको साथै उनीहरुलाई सरकारले घर समेत उपलब्ध गराएको छ ।

    महासंघका भूपू अध्यक्ष हेम लिम्बूले क्षतिपूर्ति वापत करिव चार लाख नगद पनि प्रदान गरिएको बताएका छन् । मुद्दामामिला कै क्रममा सरकारले केही रकम दिएर नेपाल फर्काउन चाहेको उनको अनुभव रहेको छ । नेपाल फर्कनु भन्दा आईडी प्राप्त गर्न सके आमाछोरीको जीविकोपार्जन सहज हुने भएकोले उपायको खोजि गरिएको थियो ।

    डिपेन्डेन्ड आईडीको लागि स्पोन्सरको रुपमा रहेका दिलबहादुर लिम्बूको मृत्यु भइसकेकोले कानुनी व्यवधान रहेको थियो । यस स्थितिमा उनीहरुको बसाइ ७ वर्ष लम्बाउनुको विकल्प थिएन । यसका लागि छोरीलाई स्टुडेन्ट र आमालाई संरक्षकको रुपमा भिसा प्राप्त भएको भूपू अध्यक्ष लिम्बूको भनाइ रहेको छ । अदालती कार्वाही चलिरहेकै बेला तान्छोमा लिम्बूलाई डेलिया स्कूल भर्ना गरिएको थियो । हाल उनी फर्म २ मा अध्ययनरत छिन् ।

    हङकङको अध्यागमन ऐन (इमिग्रेसन अर्डिनेन्स) अनुसार वैधानिक कागजातसहित ७ वर्ष लगातार बस्ने व्यक्तिलाई स्थाई परिचयपत्र प्राप्त हुने सोलिसिटर एकनारायण शर्मा बताउछन् । सोही अनुसार आमा–छोरीले स्थाई परिचयपत्र प्राप्त गरेका हुन् ।

    उक्त घटनालाई लिएर बनिएको छानबिन समिति (कोरोनर्स कोर्ट)ले ‘न्यायिक हत्या’ भन्ने प्रतिवेदन दिएपछि हत्या सम्बन्धी मुद्दा लगाइएको थियो । सन् २०११ जनवरी २१ का दिन अदालतले समितिको प्रतिवेदन सदर गर्दै मुद्दा खारेज गरेपछि सोनी राईको परिवारले क्षतिपूर्ति सम्बन्धी दावी गर्ने बताएको थियो । पुनरावेदनको लागि आर्थिक समस्या परेपछि कानुनी लडाइँ सकिएको थियो । शुरुवाती मुद्दाका लागि सरकारी आर्थिक सहयोग (लिगल एड) प्राप्त भएको थियो ।

    बितेका नौ वर्षमा दिलबहादुर हत्याकाण्ड, उनकी श्रीमती र छोरीको अवस्था के छ भन्नेमा चौतर्फी चासो र जिज्ञासा रहेको थियो । घाटनाको पटाक्षेप भएपछि अन्तिम समाचार सम्प्रेषण गर्ने एभरेष्टको प्रयासमा सोनी राई असहयोगी बनिन् । ‘माइकल भिडलर (अदालती कार्वाहीका सोलिसिटर)लाई सोधेर खबर गर्छु’ भनेर उनले महिनौं टारिन् । यही बीचमा उनी नेपाल गइन्, सम्पर्क हुन सकेन । उनी फर्केर आएपछि पनि उनको जवाफ त्यही रह्यो । हामीले चाहेका थियौं अन्तिम जानकारी उनैबाट आओस् ।

    हत्याकाण्डको बेला दिलबहादुर लिम्बूको पहिचान गर्ने र नेपालमा रहेका परिवारसंग सम्पर्क गर्ने सूत्रको रुपमा एभरेष्टले भूमिका निर्वाह गरेको थियो । गैर–नेपाली मिडियाको श्रोतको रुपमा र सूचना सम्प्रेषणको माध्यम रहेको थियो एभरेष्ट । माइकल भिडलरसंग इमेलमार्पmत भएको सम्पर्कमा ‘सोनी राईको अनुमति बेगर आपूmले केही भन्न नमिल्ने, जे जानकारी लिन पर्ने हो उसैसंग सम्पर्क गर्नु’ भन्ने जवाफ प्राप्त भएपछि यो सामग्री तयार गरिएको हो ।

    माइकल भिडलरको जवाफ पछिको सम्पर्कमा उनले रीता गुरुङले केही पनि नभन्नु भनेकोसमेत बताइन् । कुनै विभागले कसैलाई पनि केही बताउदिन भनेर कागज गराएको समेत उनले भनिन् । आईडी पाए–नपाएको समेत उनले बताउन चाहिनन् । समाचारको लागि केही भन्ने आग्रह उनले नकारिन् र केही पनि नबोल्ने भनिन् ।

    महासंघकी अध्यक्ष रीता गुरुङले सोनी राईले सहयोग र समन्वय नगरेको बताउदै भनिन्, ‘कम्तिमा सहयोगीलगायत समुदायलाई धन्यवाद दिने सोच बनाएको हो, सोनी बहिनी नै सहयोग र समन्वय गर्न तयार भइनन् ।’ उनका अनुसार आमाछोरीको आईडी प्राप्त गरेको दिन महासंघको कर्मचारी संगै रहेका थिए । सरकारी घर हेर्ने क्रममा सोनीको नखरा पनि उनले सुनाइन् ।
    महासंघका भूपू अध्यक्ष हेम लिम्बू पनि सोनी राईको पछिल्लो व्यवहारबाट असन्तुष्ट रहेका छन् । उनले धरातल बिर्सिएको उनको आरोप रहेको छ । विरोध प्रदर्शनदेखि मुद्दामामिला, क्षतिपूर्ति र आईडीको लागि पहल गर्दा निकै सास्ती भोग्न परेको उनी स्मरण गर्छन् ।

    सोनी राई सामान्य व्यक्ति भए पनि उनीसंग जोडिएको ‘दिलबहादुर हत्याकाण्ड’को पटाक्षेप नभएसम्म सार्वजनिक चासोको विषय हुन् । घटनाको १२ दिनपछि हङकङ नेपाली महासंघद्वारा आयोजित कार्यक्रममा हजारौं (नेपाली लगायत अन्य)ले विरोध प्रदर्शन गरेका थिए । उक्त घटना संसारभरका सञ्चार माध्यममा समाचार बनेको थियो ।

    नेपालमा रहेकी उनी छोरीसहित घटनापछि यहाँ आएकी हुन् । भिजिट भिसामा आएका आमा–छोरीको सहयोगका लागि पछि विभिन्न निकायले व्यवस्था गरेको भए पनि शुरुवातमा नेपाली समुदाय नै लागि परेको थियो । उनका लागि आर्थिक सहयोग संकलन लगायत भएका थिए । अदालती कार्वाहीलगायतमा पनि महासंघलगायत समुदायको साथ र सहयोग रहेको थियो ।
    सार्वजनिक चासो र जिज्ञासा मेटाउने कर्तव्य सोनी राईको हो, जुनबाट उनी चुकेकी छन् । अदालतको निर्णयसम्म महासंघको संयोजनमा प्रेस सम्मेलनमार्पmत वास्तविकता सार्वजनिक हुने गरेका थिए ।

     

    हङकङ प्रहरीमा जाहेरी दिन अघि (अप्रिल ७, २००९)को पत्रकार सम्मेलनमा सोनी राईलगायत अन्य सहयोगी । तस्बिर एभरेष्ट अर्काइभ ।

  • कमेन्ट गर्नुहोस्