• एक चिठी

  • प्रिय साथी,

    सप्रेम सम्झना, आरामै छु भन्नु प¥यो ।

    आज मे १ तारिक, मजदुर दिवस त्यही भएर मजदुरी गरेर थकाइ लागेको यो ज्यानले थपक्कै कलममा हात लगेर तिमीलाई यो चिठी लेख्दैछु । अँ अनि साथी त्यो कतारको मरुभूमिमा त झन थकाइ र गर्मीले हैरान नै पारेको होला, होइन त ?

    हेरन साथी, मैले भरखर इन्टरनेट खोलेको नेपालको खबर के छ भनेर तर, नेपालको समाचार त भनी साध्य छैन । काठमाण्डौको रोडभरि मान्छेको हुल हिडिरहेको । हिमाल, पहाड र तराई सबै क्षेत्रको मान्छे बटुलेर काठमाण्डौमा ल्याएइको रहेछ । के अचम्म ! हुन लाग्यो । रोडमा नै बसेर रोडमा नै खाना पकाएर खाएर रोडमा नै पाल टाँगेर सुतेको पनि टीभीले देखाइरहेको छ ।

    सपनाजस्तो लाग्छ त्यो दृश्य देख्दा, अनि के छ स्थिति भनेर बहिनीलाई बेलुकी फोन गरेको त सबै पसल बन्द हुदैछन् रे ! अनि किन मान्छे धेरै भएको बेला त झन पसल खोलेर पसलेले सामान धेरै बेच्नु पर्ने भनेको त बहिनीले भनी “खाओवादीहरुले मौका छोपेर पसल लुट्ने र चन्दा माग्न थाले रे ! र पसल बन्द गरेको रे !”

    अनि बजार भाउ बढेर आकाश छुन लागेको छ रे नेपालमा । १ किलो बोडीको त ५० रुपियाँ रे ! अनि १ किलो बन्दाको ४५ रुपियाँ रे ! हुन त साथी तिमीले पनि नेपालतिर फोन घुमाउँदै हौला । के गर्ने जहिले पनि आन्दोलन, नेपाल बन्द छ भनेको मात्र सुनिन्छ । हामी विदेशमा बसेर सुन्नेलाई त कस्तो दिक्क लागिसक्यो भने त्यहीँ दिनभरि काम गरेर बेलुकीको छाक टार्नु पर्नेहरुलाई कस्तो हुदै होला ? ती नेता भनाउँदा र कुर्सीका मालिक भनाउँदाहरुले किन त्यो दुःख नदेखेको होला ? कुर्सीको मोह पनि कति भएको ती ब्वाँसाहरुलाई । जनताले दुःख पाएको नदेख्ने ब्वाँसाहरुलाई भोट दिएर पठाइएछ अबदेखि यो गल्ति हामी जनताले दोहोराउनु हुदैन ।

    आफ्नो देशको स्थितीको बारेमा कुरा गर्न थालियो भने अहिले महाभारतको कथा नै तयार होला तर, त्यो समाचार हेरेर चुप लाग्न नसकेर नै तिमीलाई यो पत्र कोरिरहेको छु । ठूलो असिना–पानी आउनलाई बिग्रेको दिनजस्तो भएको छ अहिलेको नेपालको स्थिति । उकुस–मुकुस भइरहेको होला त्यहाँका मानिसलाई । हुन पनि अहिले काठमाण्डौ रणभूमिमा परिणत हुदैछ ।

    काठमाण्डौ वरिपरिबाट ल्याइएका गाडिका गाडि जनता लड्ने सुरसारमा आइरहेका छन् भने सेना, प्रहरी पनि त्यतिकै तयारी पोजिसनमा रहेका देखिन्छन् ।

    हुन त हामी पनि यो हङकङको भिक्टोरिया पार्कदेखि सरकारी भवन, सेन्टरसम्म ¥यालीमा हिडेका छौं । यसपालि पनि मजदुर दिवसमा त्यही रुट भएर ज्ञापनपत्र बुझाइयो मजदुरको हक हितको लागि । त्यहाँ नारा, जुलुस भए पनि कसैको कसैले विरोध गरेको सुनिएन । आफ्नो माग राखेर हिंडियो । नेपालकोजस्तो ढुंगा हानिएन, गाडी फोडिएन र रेलिङ भाचिएन । नेपालमाजस्तो प्रहरीद्वारा कसैको टाउको फुटाइएन, कोही गिरफ्तार भएनन् । सबै शान्तसाथ भयो ।

    नेपालले यो शिक्षा कहिले सिक्ने हो र देशको स्थिति कहिले सुध्रारेर लाने हो ? साह्रै चिन्ता लाग्छ । र भोलिको नेपाल के हुने हो भनेर कम्ता चिन्ता लागेको छैन । हामीले अरुको देश राम्रो छ भनेर, शान्त छ भनेर के गर्व गर्नु ।

    हवस् त साथी । हङकङमा अहिले रातको २ बज्न लाग्यो । अहिले सुत्छ भोलि काममा जानु पर्छ । जय देश !

     

  • कमेन्ट गर्नुहोस्