टापु
बिहान सूर्य अर्घ्य दिदैं
गंगा किनारको ब्राह्मणजस्तो
दिउँसो नदीमा जाल हानिरहेको
बुढो माझीजस्तो
साँझ कमलको फूलमाथि
ध्यानमग्न बुद्ध जस्तो
आँसु र पसिनाको समुन्द्रमा
कम्मरसम्म डुबेको
टापु पनि कस्तोकस्तो मान्छेजस्तो
फेरि कहिले देख्छु
रगतमा डुबेको काङ्सोरेजस्तो
बतास नचल्दा
कहिले माटोबाट आधा निस्केको विरुपाक्षजस्तो
भोलि कहिँ दुर जान्छु
कल्पनाले कविता बुनेर
शब्दहरूमा भाव उनेर
उभिरहने छैन म
गम्भीरताको आँखा यो टापु अगाडि
घुमिरहने छैन म
बोधिचित्तको माला यो टापु वरिपरि
म हुन्न त…… भोलि ?
म नभए पनि
तर यो टापु भैरहन्छ
कि मजस्तै यो टापु पनि समुन्द्रको फेदमा कहिँ बिलाउँछ, हँ ?
सूर्यले छुन्छ
बिहानदेखि साँझसम्म
रूपरङ्ग फेर्दै बस्छ यो टापु
म हुन्न तर यो टापुको माथि
खुट्टासम्म लत्रेको आकाश हुन्छ
इजिप्टको डुङ्गा चढेर
सूर्य डुब्दै जान्छ यमलोकका फाटकहरू खोल्दै
अनि अँध्यारोमा जून आउँछ
तारा छेलो हान्छ
नाङ्लोभरि कनिकाहरू
थालमा सुनको रोटी
चल्लाहरू रमाउँछ्न् हल्लाभन्दा अलिपर
एकान्तमा गीत गाउँछ्न् छालहरू
आँधीले टापु बाटो फेर्दैन
तिहीँ बसिरहन्छ आमाजस्तो
पानीझरीमा कुखुराको पोथीजस्तो
आफै लुथ्रुक्क रुझेर
छोपेर स्नेहले भोलिको क्षितिजको एक धर्का उज्यालो
हुन्छन् चराहरू पखेटा फिँजाएका
हुन्छन् रुखहरू जरा फैलाएका
हुन्छन् बादलका रेशा तानका धागोजस्तै
यो टापुको सादृश्यबाट
म कहिँ गइसकेको हुन्छु
सिङ्गो पृथ्वीभरि म कहिँ हुन्न
ओजोनको चेपबाट
म डल्लै चेतनाको यात्री निस्किसकेको हुन्छु
कुनै ब्रह्माण्डमा
अघि पुगिसकेको आइस्टाइन हेर्दै
म अर्को ब्रह्माण्डतिर बढिरहेको हुन्छु
पृथ्वी बाहिर
प्रतेक मान्छे एउटाएउटा ब्रह्माण्ड भएर बाँच्दो हो
त्यतिबेला कति धेरै पृथ्वी ऊसँग हुँदो हो
आम्बी ! मन किन यति धेरै पर गएको होला ?
यो टापु एक ठाउँ बसेर पनि
समयजस्तो चलिरहन्छ, चलिरहन्छ….
र त मैले हिँडिरहनु पर्छ ।