कर्मै मेरो खोटी रहेछ…
हाओ चाप्पेती आमा !
कति बोक्नु हो दु:खको भारी
यो दुई दिनको जिन्दगीमा ?
पसिनाको तमर नै बगाए पनि
बगेर नजादो रहेछ दुखियाको दुस्ख !
सम्झेर ल्याउदै परान जाने यो उकाली चढ्नु अघि
आइज एकछिन बसौं यो शीतलु चौतारीमा ।
चाप्पेती आमा !
कहिले त विरक्त लाग्छ होला हैआफ्नो दुस्खिया जिन्दगीदेखि ?
यो तमरको पानी जति नै पसिना बगाएकै हो
दश नङ्ग्रा खियाएकै हो, पाखुरा बजारेकै हो
यो निधार पिल्सिने गरि भारी बोकेकै हो
खोइ के ताउजी नमिलेर हो ?
दुस्खको अक्करे भिरले लखेट्नु कहिले छोडेन !
हाम्रो त कर्मै खोटी रहेछ ! भाग्य नै रुखो रहेछ !
बुढापाकाहरुले त्यसै भनेको होइन रहेछन्
बारी रुखो मल गर्दा हुन्छ कर्मै रुखो क्यै गर्दा नहुने…
जिन्दगीको घामपानीले चुटिदा चुटिदा
अनुहारको चमक खोइ कता हराइ गयो ?
वर्षौ भएछ दिल खोलेर नहासेको पनि !
उहिले नै पुषे मेलामा भेट हुँदा त
कम्ती उज्यालो थिएन नि तिम्रो मुहार
सत्ते होला त्यति खेरको जस्तो हासो
तिम्रो मुहारमा देख्न नपाएको वर्षौ भयो !
हिजो आज माङेन्ना बिग्रिएको छ कि ?
सपनामा सधै ऐँठन मात्र हुन्छ
यो तमर जहिल्यै थुनिएको मात्र देख्छु
यो फक्ताङ्लुङ उधोमुन्टो देख्छु
के अनिष्ठ हुन लाग्यो यस्तो ?
अकाल मै मरिन्छ कि के हो ?
चारैतिर रगत गनाए झै लाग्छ ।
उ बेला बसाइ सरेर मधेस झरुङ
झोडा फाडेर भए नि बसुङ भन्दा
तिमी नै त हो नमान्ने !
सर्पदेखि सारै डर लाग्छ भन्यौ ।
सर्पको ठुँगाइ भन्दा त
धेरै खतरा रहेछ नियतिको ठुँगाइ !
छरछिमेक आफन्त सप्पै सप्पै
बसाइ सरी जादा पनि
कहिल्यै बसाइ सरेर गएन यो खोटो भाग्य !
घर खेत सबै पहिरोले लादा पनि
सोहोरी लगेन यो दुस्खको पहाड !
हेर्दाहेर्दै थुप्रै व्यवस्था फेरियो मुलुकमा
पन्चायत भन्यो ( बहुदल भन्यो
हुदा हुदा अहिले त गणतन्त्र आयो रे !
तर हाम्रो अवस्था कहिले फेरिएन
हाम्रो लागि त कुनै तन्त्र मन्त्र आएन
सुन्छु नयाँ संविधान लेखियो रे मुलुकमा
हाम्रो भागमा सुख चाहिँ लेखियो कि लेखिएन होला ?
चाप्पेती आमा !
छोडदिउङ यस्तो झिना मसिना कुरा
संविधान लेखियोस् कि लमंविधान लेखियोस् !
हामीले काम नगरी खान पाउने होइन
संविधान लेखिदैमा हाम्रो दुस्ख जाने होइन ।
हिड जाउ यो कलिलो घाम छिप्पिनु अघि नै
काटिसक्नु पर्छ सम्झेर ल्याउदै परान जाने यो उकाली ।