• मार्क सिक्स

  •  

    “सूर्यले पचास लाख पारेछ नि मार्क सिक्समा, सुन्यौ ?” रमेशले सुनाएको खबरमा “अरे हो र !” भनेर इर्ष्यापूर्ण थुक निल्यो लछुमनले । अझ जम्मा पुरस्कार त्यो भन्दा धेरै थियो, दामासाहीले बाँड्दा उसको भागमा यति पर्न आएको हो रे ! रमेशले सूचनाको पूर्ण विवरण पेश गर्यो । पचास लाखलाई नेपाली रुपैयाँमा मनमनै परिवर्तन गर्यो लछुमनले । बाफ रे ! चार करोड पचास दाख भन्दा बडी, झण्डै चिच्याएन ऊ । यति धेरै रुपैयाँ प्राप्त गर्दा सूर्य कति खुसी भयो होला, उसले सूर्यको उत्तेजित मुद्राको कल्पना गर्यो । ‘होइकोङ होइकोङ’ चिनियाँ फोरमेनको आदेशात्मक आवाजले लछुमनको सोचाईको तन्द्रा भङ्ग गर्यो । बिहानको आठ बज्नु अघि काममा लगाउने कपडा पहिरिदै गर्दा नयाँ खबर लछुमनले प्राप्त गरेको बुझ्नुहोस् ।

    पहिलाको र अहिले लछुमनमा आकाश पाताल फरक छ । ऊ एउटा औसत ग्रामीण युवक थियो उता अर्थात नेपालमा । एउटा ग्रामीण युवकमा कति नै ठूलो पो महत्वकाँक्षा हुन्छ र ! एउटा आफ्नै घर होस्, जीवनमा साथ दिने एउटी श्रीमती । खेतीमाती गर्ने आफ्नै जग्गा होस्, जहाँ आफ्नै पसिना सिंचित गरेर अन्न उपार्जन गर्न सकियोस् । केही छोरा छोरी होस् जसको लालन पालन गर्नका लागि समाधानको पापड बेल्नु परोस् । यस्तै सामान्य दिनचर्यामा आफ्नो जीवन बितोस् भन्ने ऊ कामना गर्दथ्यो । गाउँकै प्राथमिक विद्यालयमा दुईपटक परीक्षामा सामेल हुँदा पनि पाँच कक्षा उत्तीर्ण गर्न सनकेकोले पढाईलाई यत्तिकैमा बीट मार्ने काम भएको थियो । ‘पढी लेखी के काम, हलो जोती मिल्छ माम’ यो उखान सुन्दा गर्वले उसको छाती चौडा हुन्थ्यो । मेहनती भने असाध्यै उसको बाबु जस्तै गाउँमा अन्य मानिसहरुले आफ्ना छोराछोरीलाई उदाहरण दिनुपर्दा झण्डै झण्डै उसैको नाम उच्चारण गर्थे ।

    यस्तैमा एक दिन लछुमनलाई चिट्ठा पर्यो, त्यो पनि सानो हो र ! बम्पर धमाकाको धमाकेदार चिट्ठा नै हात लागी भयो । भएको के हो भने उसको श्रीमती जन्मिएको नाताले हङकङ जान पाउने भई । उसको श्रीमती मार्फत उसले पनि हङकङ प्रवेश गर्न पाउने भयो ।

    शुरुमा त लछुमनले विदेश गएर सुखसयलमा बस्नु भन्दा आफ्नै देशको झुपडीमा बस्नु वेश सम्झिएको थियो । यो विचार आउनुमा महाकवि देवकोटाको कविताको अंश ‘साग र सिस्नु खाएको वेश आनन्दी मनले’को प्रभाव परेको हुन सक्छ उसमा । ‘चिनियाँहरु नेपाली बोल्न जान्दैनन्, म अङ्ग्रेजी बुझ्दिन । लाटाको इशारा गर्न आउदैन, कसरी रहन सकिएला त्यस ठाउँमा ?’ उसको मनमा यस्तै तर्कना उठ्ने गथ्र्यो । गाउँमा केही बुज्रुकहरु त बाँकी रहन्छन् भलै टाठाबाठा सबै शहर पसे पनि । उनीहरुले नै लछुमनलाई धेरै कुरा सम्झाएको हुनुपर्छ । हङकङमा थुप्रै नेपाली प्रवेश गरेको खबर सुन्नेहरुले प्रोत्साहन दिएपछि बल्ल लछुमन हङकङ आएको हो भन्ने कुरा बुझ्नुपर्छ ।

    जीवनमै प्रथम पटक उसले विमान चढ्यो मात्रै होइन हङकङ पनि देख्यो । हङकङमा अग्ला घर र अत्याधुनिक प्रविधि त्यसमा पनि लिफ्ट र स्केलेटर देखेर तीन दिनसम्म विरामी पर्यो । अँ थलै पर्यो भन्दा अझ ठीक होला । उसको दिमागमा अटाउनै सकेन, अटाओस् पनि कसरी । आजसम्म देखेको अग्लो घर नै बजारको बर्मे बुढाको तीनतले घर हो । यति अग्लो घर कसरी बनाए होलान् । घरको उचाई देखेर उसलाई अत्यास लागेर आउथ्यो । भूइँचालो आएको त्रासद्मय स्थितिको कल्पनाले उसलाई अझ टाउको दुखाउने गथ्र्यो । कर भाषाको कोलाहलमय वातावरण । फरक भोजन–गन्धले उसलाई आजित नै तुल्यायो । यी सारा कुराको बाबजुद लछुमनले हङकङमा टिक्नै पर्थ्यो अर्थात् वास्तविकताको सामना गर्नै पर्थ्यो ।

    हङकङमा उसको पुनः न्वारन भएको छ । ऊ लछुमनबाट ‘आलेक्सी’ भएको छ । बढी जसो चिनियाँ कामदार भएको निर्माण कम्पनीमा ऊ काम गर्छ । चिनियाँहरुले उसको नाम शुद्ध उच्चारण गर्न नसक्दा ऊ आलेक्सी भएको छ । हुन त आफ्ना आमाबाबुले पनि उसलाई ‘लच्छे’ भनेर बोलाउथे । आमाबाबुले मायापूर्वक बोलाउने लच्छे र चिनियाँहरुले उच्चारण गर्न नसकेर बोलाउने आलेक्सीबीच पनि उत्तिकै अन्तर छ, जसरी हिजो र आजको लछुमनमा अन्तर छ ।

    ‘नो मनी, नो टक’ सर्वप्रथम चिनियाँहरुले बोलेको सग्लो अर्थ सहित बुझेको वाक्य यही हो । ऊ छक्क पर्यो मात्रै होइन तीन छक्क नै पर्यो यो कुरा सुनेर । गफ गर्न पनि पैसा माग्दो रहेछ चिनियाँहरु । बल्ल उसले यसको अर्को पाटा बुझयो । हङकङ यत्रो विकसित हुनुमा त यहाँको मानिसको परिश्रम पो रहेछ । गफ गर्दा खाली समयो नष्ट मात्रै हुने भएोले उक्त समयलाई रचनात्मक कार्यतर्फ लगाऔं । उसलाई सामान्य लाग्ने उसकै समकक्षी मजदुर साथीको महान उपदेश सुन्दा ढोगौ–ढोगौ लाग्यो । बाह्रैमास अर्काको घरमा गएर गफ लडाउदै, तीनलाई तेत्तीस बनाउँदै आकाश पातालको कुरा गरेर समय नष्ट गर्ने चिरविरे कान्छा, बाह्रै घण्टा तासको खालमा जम्ने सिरानघरे अन्तरे, क्यारेमबोर्डको गोटीमा दिन भुलाउदै सर्वाधिक आनन्द प्राप्त गर्ने तर आफ्नै पारिवारिक समस्या सुल्झाउन नसक्ने यस्ता थुप्रै गाउँलेहरुको तस्बीर र नेपालको विकासलाई दाँज्न उसलाई मन पर्यो । यो मुडमा उसको अनुसार हेर्ने हो भने कुनै दार्शनिक भन्दा कमको देखिन्दैनथ्यो ।

    कामको दौरानमा उसले ‘सेक्सी’ शब्द धेरै पटक सुन्यो । यिनीहरु कति छाडा बोल्दारहेछन् भन्ने उसलाई लागिरहन्थ्यो । सेक्सी भन्ने शब्द अङ्ग्रेजी र यो छाडा हो भन्ने कुरा ‘सेक्सी लोग बोले’ हिन्दी गीत गाउन रेडियोमा रोक लगाइएको बेला उनी नेपालमै भएकोले थाहा थियो । यिनीहरु यौन क्षमता बढाउन हरेक प्रयत्न गर्छन् र साह्रै कामुक हुन्छन् भन्ने कुरा साथीहरुले सुनाएको थियो । ‘यु सेक्सी’ भनेर एक चिनियाँ साथीलाई जिस्काएको थियो । उसको साथीले जवाफ फर्काएन टाउको मात्र नकरात्मक भावनाले हल्लायो । यसको दुईवटा अर्थ हुन सक्थ्यो, एक त उसले बेलको बुझेन अर्को ऊ सेक्सी होइने । सेक्सी भनको त चिनियाँ भाषामा ढलान गरिने कार्यलाई पो भनिदोरहेछ भन्ने बुझदा ऊ हासिरह्यो धेरै बेरसम्म ।

    आजभोलि लछुमनलाई हङकङ धेरै रमाइलो लाग्न थालेको छ । त्यो रमाइलो उसले सेभेन इलेभेनमा पहिलो केन वियर फुटाउँदा प्राप्त गरेको थियो, त्यसपछि डिस्कोमा र अर्को पटक विदेशी गर्लफ्रेण्डसंग गेष्टहाउसमा । हङकङको जीवन व्यतित गर्न ऊ हङकङको मान्छेजस्तै हुनुपर्छ भन्ने धारणा राख्न थालेको छ । टीभीमा ऊ घोडा रेस हेर्छ, तर आजसम्म उसले घोडा रेसमा बाजी हाल्न जानेको छैन र मात्रै । मार्क सिक्सको भने कुरा अर्कै छ ।

    सूर्यले मार्क सिक्समा पचास लाख पारेको खबरले त लछुमनलाई रातभरि निद्रा लाग्दै लागेन । जम्मा सतचालिस वटा त नम्बर छन् । त्यसमा छ वटा नम्बर पार्न सकिएला । उसले पार्ने जमर्को गरेको धेरै पटक भइसक्यो । ‘मौ छिन मौ खपखप’ घोडा रेसमा बाजी राख्नका लागि काटिएको नम्बरको टिकट देखाउदै लाकाकाले लछुमनलाई भनेको थियो । लछुमनले सोच्यो पैसा भएन भने घोडा रेस पनि खेल्न पाइदैन । हरेक कुरालाई खाली पैसासंग दाँज्ने यिनीहरुको बानीसंग लछुमनलाई दिक्क पनि लाग्यो । अँ अँ गरेर बुझेको झैं शिर हल्लायो लछुमनले । लाकाकामा वास्तवमा जिस्किने मुडमा रहेछ । उसले देब्रे हातको दुईटा औंलालाई कापे आकारमा राखेर अश्लील भङ्गीमाको संकेत प्रस्तुत गर्दा यो खपखपको अर्थ पत्ता लगायो । साह्रै छिल्लिन्छन् मोरा मजदुरहरु । उसको मुख कसैले नसुन्ने गरी फुसफुसायो । हुन पनि एकोहोरो र निराशलाग्दो काम । मान्छे होइन मेशिन चलिरहेको प्रतीत हुने व्यस्ततालाई चिर्न कहिलेकाहीँ स्त्रीविहीन स्थानमा यस्तै हाँसो ठट्टा चल्छ । लछुमन मात्र यस कुराबाट अनभिज्ञ भएको हो ।

    आज मङ्गलबार, हप्ताको तेश्रो दिन । हुन त यस्ता मङ्गलबार कति आए, गए । अरु मङ्गलबार भन्दा यो मङ्गलबार यस अर्थमा पृथक छ कि आजैको दिनले उसलाई नोकरबाट एकैचोटी मालिकमा बदल्यो । बेलुकी काम सकेर ऊ सदा झैं सेभेन इलेभेनमा पस्यो । एक बोलत वियर घुट्कायो । अन्य दिन भन्दा आज ऊ अलिक बढी गलेकोले घरमा सरासर गयो । घडी हेर्यो, आठ बजिसकेछ । मार्क सिक्सको परिणाम सुन्न उसले टेलिफोनको नम्बर डायल गर्यो । पहिलो पटक बिजि भयो, पुनः डायल गर्यो । टेलिफोनमा रेकर्ड गरिएका आवाजहरु बोल्न थाल्यो । एउटा नम्बर, दोश्रो नम्बर क्रमशः अन्य नम्बरहरु सुन्दै गयो । सुनेको नम्बरहरु हो कि होइन झैं टिप्दै गयो । एक्स्ट्रा नम्बर सहितको सातैवटा नम्बर आफूले पैत्तीस डलरमा काटको मार्स सिक्सको टिकटसंगै दाजेर मिलायो । अचम्म ! घोर अचम्म ! उसलाई विश्वास लागेन, हेरिरह्यो । पटकपटक हेरिरह्यो । मार्क सिक्सको ज्याकपट पारेछ उसले । ऊ यति खुसी भयो, यति खुसी त ब्रह्माले पृथ्वीको र मानिसको रचना गर्दा पनि भएका थिएनन् होला । सकिए लच्छे तेरा दुःखका दिन, आफैले आफैलाई बधाई दिए । संसारको सबैभन्दा सुखी मान्छे आफै भएको निर्क्यौल निकाल्यो । मुटुको ढुकढुकी छाम्यो, तीब्र गतिले ढुकढुकाइ रहेको छ । उसको कोठामा अभूतपूर्व खुसीले प्रवेश गर्यो ।

    खबर प्राप्त गर्नु मात्रै, चारैतिर फैलिइसके छ । बधाईको टेलिफोन ग्रहण गर्दा हत्तुहैरान भइसक्यो । मार्क सिक्समा पार्छु नै भनेको आखिर पारेरै छाडेँ । उसको आनन्दभाव यौन भोगपछि भर्खरौ स्खलित भएको जवान पुरुषको झैं थियो । कतिले उसलाईयस अघि मार्क सिक्समा पैसा नफाल्नु भनेको कुरा सम्झियो । घोडा रेसमा थुप्रै नेपालीले पैसा सकेको कुरा याद गर्यो । भाग्यमा हुनुपर्छ सबै कुरा जुर्छ । मार्क सिक्स नकाट्न भनेर उपदेश दिने आफन्तहरुलाई उसले खिसी गर्यो मनमनै । यो बेलुकीको कुरा थियो । भोलि कतिबेला बिहान होला र पुरस्कार लिन जाउँला भनेर अधर्यपूर्वक रात काट्यो । रातभरी योजना बनायो । प्रत्येक पैसालाई योजनामा विभाजन गर्यो । उसको योजनामा नेपालमा एउटा सुन्दर घर, एउटा प्राइभेट कार, टन्न बैंक व्यालेन्स । यस्तै यस्तै भव्य योजनाको पूर्ण निर्माण भयो ।

    आज बुधबार हङकङ जक्की क्लवको कार्यालय हाताभित्र उसले प्रवेश गर्यो । कार्यालयका मान्छेहरुले उसको आगमनको कारण बुझयो । यो पुरस्कार त विरलैले पाउछन् । तपाईँ धेरै भाग्यमानी मान्छे हो भने । मार्क सिक्को टिकटलाई कम्प्युटरमा हालेर पुनः जाँचे । लछुमनले ज्याकपट पारेकै हो । अब जक्की क्लबको सेक्रेटरीले लछुमनको आईडी र बैंक एकाउण्टको कार्ड माग्यो । लछुमनले गन्नै नसक्ने संख्याको रकम हेर्दाहेर्दै उसको बैंक एकाउण्टमा ट्रान्सफर भएको देख्यो । अरुले भन्थे ज्यादा पैसा पर्यो पैसा देखाउदैन, कारण धेरै पैसा एकै चोटी देख्यो भने मान्छे मुर्छा पर्छ । हो रहेछ, परेपछि उसले थाहा पायो । बाहिर निस्किनु मात्रै, हातमा फूलमाला र अबीर लिएका एक हुल मान्छे उसैको स्वागतमा लस्करै उभिइरहेका छन् । उसको जय–जयकार मनाइदैछ, साँच्चै नै ।

    लछुमन आलारामको आवाजले सपनादेखि झसङ्ग व्यझियो । बिहानको छ बजिसकेछ ।

    श्रोतः अविराम । तस्बीर इन्टरनेटबाट सन्दर्भको लागि लिएको हो ।

  • कमेन्ट गर्नुहोस्